कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

उँधौलीमा वाचिप्पा

गणेश राई

काठमाडौं — उँधौली पर्व विशेष गरी नयाँ अन्नबाली पाकेपछि पितृलाई चढाएर मात्र दैनिक व्यवहारमा चलाउने परम्पराको निरन्तरता हो ।

उँधौलीमा वाचिप्पा

संस्कृतिविद् तीर्थराज मुकारुङ राईका अनुसार किराँती राई समुदायले उँधौलीमा नयाँ धान कुटेर बनाइएको चामल, अदुवालाई मिसाएर कुखुराको मासुसित परिकार बनाएर खाने गर्छन् । यो परिकारलाई ‘वाचिप्पा’ भनिन्छ । ‘कुखुराको भुत्लालाई आगोमा डढाएर धुलो पारिन्छ,’ उक्त परिकारबारे चर्चा गर्दै उनी भन्छन्, ‘कुखुराको पखेटा, खुट्टा र भित्रांसलाई मसिनो टुक्रा पारेर तेलमा, मसलामा पकाइन्छ ।’ 

यो खाना विशेष स्वादको हुनुको साथै पाचनप्रक्रियामा समेत मद्दत गर्ने र सर्दी हटाउन सघाउने मुकारुङको दाबी छ । त्यसैगरी सुँगुरको मासुबाट ‘मासिलाङ’ परिकार बनाउने चलन छ । यो सुँगुरको खुट्टा सफा गरी टुक्रा बनाई उसिनेपछि तेल, मसला र कालो माससँग पकाएर खाने परिकार हो । पेयपदार्थको रूपमा भने घरेलु जाँड र रक्सी पिउने गरिन्छ । मद्यपानलाई किराँतहरूले जन्मदेखि मृत्युसम्मको संस्कारगत कार्यमा अनिवार्य रूपमा प्रयोग गर्छन् । ‘जाँड र रक्सी कोदो, मकै, गहुँ, जौ, उवा, जुनेलोबाट बनाउने प्रचलन छ,’ संस्कृतिविद् मुकारुङ भन्छन् । 

किराँती कोइँचले भने उँधौलीमा नयाँ बाली पाकेपछि गिंजा (न्वागी) गर्छन् । कोइँच युवा समाजका अध्यक्ष चेरेहाम्सो क्याबाका अनुसार उँधौली चाडमा नयाँ धानको खिर, ग्वार्माली, चाम्रे, खट्टेचिरो, प्वाँडजस्ता परिकार बनाएर खाने गरिन्छ । सुँगुरको मासुको ग्वाम्बोल र कुखुराको मासुको परिकार बनाएर पनि खाने चलन छ । 

संस्कृतिविद् मुकारुङका अनुसार किराँत राईहरू प्रमुख मसलाको रूपमा अदुवा, लसुनलाई प्रयोग गर्छन् । तीन ढुंगा चुलामा पकाएर डबकामा खाने राईहरूको अन्य खानपानमा कोन्ढोक, चाम्रे, किनामा, झ्याउ, सिस्नो, पाङलाङ, वाचिप्पा, मासिलाङ, पाहा, पक्कु, अरिंगाल, तोङ्बा, होते, हुर्रे, छोलेवा, झोलेवा, निगार लगायत प्रचलनमा छन् । 

बनाउने तरिका 
    - कुखुराको भुत्लालाई आगोमा डढाएर धुलो पार्ने 
    - पखेटा, खुट्टा र भित्र्यांशलाई टुक्रा पार्ने 
    - मसला मिसाएर तेलमा भुट्ने 
    - भुत्ला डढाएको धुलो मिसाउने 

प्रकाशित : मंसिर २९, २०७३ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?