कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सेलेब्रिटीका डिजाइनर

सजना बराल

विदेशी सेलेब्रिटीहरू आफू जहाँ गयो त्यहीँ आफ्ना फेसन डिजाइनर साथ लिएर हिँड्छन् । बलिउड हस्तीहरूले पनि कुन समारोह वा ठाउँमा के लगाएर वा कसरी प्रस्तुत हुने भन्ने चिन्ता लिनु पर्दैन । तिनका डिजाइनरले सबै ठिक्क पारिदिएका हुन्छन् । पहिरन प्रबलम तिनलाई खासै हुँदैन ।

सेलेब्रिटीका डिजाइनर

हामीकहाँ भने सेलेब्रिटीले आफ्ना लागि छुट्टै ड्रेस डिजाइनर, बडिगार्ड, पर्सनल एसिस्टेन्ट आदि राख्ने गरेका छैनन् । कलाको बजार त्यति व्यापक नभएकाले यस्ता (अतिरिक्त) चीजबिजमा सेलेब्रिटीले ध्यान दिन नसक्नु स्वाभाविक हो । तैपनि हिजोआज हाम्रा फेसन डिजाइनर र सेलेब्रिटीबीच सहकार्य बढ्दै गएको देखिन्छ । कलाकारले डिजाइनरहरूसँग सरसल्लाह गरी अवसरअनुसारका पोसाक लगाउन थालेका छन् ।

अधिकांश लुगाफाटो विदेशमै किन्ने गरेकी गायिका इन्दिरा जोशी केही समययता चाबहिल, केएल टावरछेवैको मिस्टिक बुटिककी विमला गुरुङसँग पहिरन बनाइमाग्न थालेकी छन् । गाउन, वान पिस, कुर्ती, लेहेंगालगायत पोसाक विमलाकै डिजाइनमा लगाउँछिन् । ‘म लुगामा क्रिएटिभिटी खोज्छु,’ जोशीले भनिन्, ‘साथै म्याटरियल पनि राम्रो होस् भन्ने लाग्छ ।’

विमलासँगै गाबी ब्रान्डकी प्रणेता बिना घलेसँग इन्दिराको सहकार्य छ । उनले लगाउने कतिपय लुगा डिजाइनरकै क्रिएसनमा आधारित हुन्छन् । धेरैजसो चाहिँ छलफल गरेर तयार पारिन्छ । ‘मज्जाले सल्लाह गरेर लुगा सिलाउँदा डिजाइनर र लगाउने मान्छे दुवैको चित्त बुझ्छ,’ उनले भनिन्, ‘आफ्नो रुचि बुझ्न सक्ने डिजाइनर भए अझ सजिलो हुन्छ ।’ अभिनेत्री प्रियंका कार्की, साम्राज्ञी राज्यलक्ष्मी शाह, मोडल नगमा श्रेष्ठ लगायतले घलेको डिजाइन रोज्ने गरेका छन् ।

मिस नेपाल एवं अभिनेत्री सृष्टि श्रेष्ठ फेसन डिजाइनर आस्तिक शेरचनसँग आफ्नो लवाइको मत मिल्ने बताउँछिन् । त्यसैले उनी आस्तिकसँगै ड्रेस डिजाइन गरिमाग्छिन् । प्राय: फिक्का कलरसँग खेल्न रुचाउने आस्तिक सृष्टिलाई सुहाउँदो पहिरन निर्माण गर्न खप्पिस छन् । ‘उनलाई जस्तो लुगाले पनि सुहाउँछ,’ आस्तिकले भनिन्, ‘धेरै चम्किलोभन्दा धिमा रङ बढी खुल्छ ।’

डिजाइनर उत्तम बनेपाली, राजेश धख्वा, विश्व गौतम, शुभेच्छा भडेल, पुष्पा जोशी लगायतले थुप्रै कलाकारलाई पहिरन तयार पार्छन् । उनीहरूका बुटिकमा प्राय: कलाकारकै लुगाफाटोको काम ज्यादा हुन्छ । आफूसँग दुई–चार पटक डिजाइन गरिमागेपछि ग्राहकको रुचि चाल पाइने बनेपाली बताउँछन् ।

‘मेरोमा प्राय: लेहेंगा, कुर्ती र साडीको काम बढी हुन्छ,’ कुपन्डोलमा उत्तम्स क्रिएसन्स सञ्चालन गर्दै आएका बनेपालीले भने, ‘अचेल ढाका मिक्स्ड भएको पहिरन कलाकारले मन पराउँछन् ।’ आधुनिक पहिरनमा स्थानीय फेब्रिक (ढाका, अल्लो) मिसाउँदा नौलो र आकर्षक देखिने उनको भनाइ छ । त्यसमाथि कलाकारको नक्कल गरिने हुँदा उनीहरूको पहिरनमा एथ्निक लुक्स दिए स्थानीय फेब्रिकको प्रवद्र्धन हुने बनेपाली बताउँछन् ।

पहिलो मिस नेपाल रुबि राणाको ‘रुबिज कलेक्सन’ मा पनि कलाकारको राम्रै लर्को लाग्छ । अभिनेत्री सुषमा कार्की र करिश्मा मानन्धर कुर्ती किन्न उनीकहाँ नै पुग्छन् । कुपन्डोलका ओडनी, काव्या सोल अफ फेसनलगायत बुटिक कलाकारको रोजाइमा पर्ने गरेका छन् । तिनमा प्राय: ले पार्टी वेयर, सभा र समारोह विशेषका पहिरन डिजाइन गर्छन् ।

गायिका कोमल ओली, अञ्जु पन्त, सहिमा श्रेष्ठ, जुनु रिजाल, मञ्जु पौडेल, देविका केसीसँगै कलाकार दीपाश्री निरौला, अभिनेत्री गरिमा पन्त, बेनिशा हमाललगायतले काजल्स क्रिएसनलाई रोज्ने गरेका छन् । गायिका रिजालको साडीमा बुट्टा भर्दै गर्दा डिजाइनर काजल खनालले सेलेब्रिटीसँग काम गर्दा रमाइलो हुने बताइन् । ‘कोमल दिदीको चित्त बुझाउन अलि गाह्रो पर्छ,’ उनले अनुभव सुनाइन्, ‘अरूसँग चाहिँ सामान्य सरसल्लाह गरेपछि भनेजस्तै बनाइदिन सकिन्छ ।’

आम ग्राहकभन्दा सेलेब्रिटीका ड्ेरस डिजाइन गर्न बढी दिमाग खियाउनुपर्ने डिजाइनरहरू बताउँछन् । बजारमा भेटिनेभन्दा फरक र अरूको भन्दा बेग्लै किसिमको पहिरन सेलेब्रिटीलाई चाहिन्छ । तसर्थ, कलाकारको जीउडाल, छालाको कम्प्लेक्सनसँगै उनीहरूले अटेन्ड गर्ने कार्यक्रमको प्रकृतिसमेत बुझेर त्यही अनुरूप पहिरन डिजाइन गर्नुपर्ने डिजाइनर खनाल बताउँछिन् । ‘भीडमा पनि हाइलाइट हुने गरी लुगा बनाइदिनुपर्छ,’ उनले भनिन्, ‘अरूभन्दा फरक र आकर्षक पनि देखिनुपर्‍यो ।’

क्याजुअल पहिरन बाहिरफेरो किन्न मिले पनि पार्टी वेयरका लागि बुटिक र डिजाइनरकै खाँचो पर्छ । कलाकारहरू थुप्रै कार्यक्रममा गइरहनुपर्ने भएकाले उनीहरूलाई निकै लुगाफाटो चाहिन्छ । तसर्थ, निश्चित डिजाइनरसँग सहकार्य गरे भनेका बेला र खोजेजस्तै पहिरन हात पर्ने कलाकारहरू बताउँछन् । ‘सबै डिजाइनरसँग राम्रो सम्बन्ध भएकाले चाहेकै बेला पहिरन बनाइदिनुहुन्छ,’ गायिका जोशीले भनिन्, ‘विमला र बिना अहिले मेरा फेभरेट डिजाइनर हुन् ।’

प्रकाशित : मंसिर १७, २०७३ १२:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?