कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३७

चासोकलाई याङ्बेन र तोङ्बा

प्रदीप मेन्याङबो

धरान — लिम्बू समुदाय यतिबेला पर्वको रमाइलोमा छ । मौलिक पर्व चासोक तङनाम आइतबारदेखि नै सुरु भएको छ ।

चासोकलाई याङ्बेन र तोङ्बा

धरानस्थित चुम्लुङ हिम परिसरमा आइतबारदेखि सुरु पाँचदिने ‘चासोक तङ्नाम सांस्कृतिक पर्यटन उत्सव’ मा कोदोको जाँड हालेर तयार पारेको तोङ्बाको चुस्कीसँगै याङ्वेन, किनेमा, चाम्रे, फाँदो अचार, सिगोले, फापरको रोटीको स्वादसँग रौसिनेहरू थुप्रै देखिए । 

हाक्पारे, पालाम र च्याब्रुङको सांस्कृतिक मनोरञ्जनका बीच मौलिक लिम्बू खाना याङ्बेनप्रति गैरलिम्बूहरू पनि झ्याम्मिएका छन् । उत्सवमा लिम्बू परिकारको स्वाद लिन चाहनेहरूको भीड जमेकोप्रति चुम्लुङकी केन्द्रीय उपाध्यक्ष चन्द्रमाया लिम्बू मख्ख छिन् । उत्सव स्थलमा मात्र नभएर चासोकको बेला लिम्बू समुदाय घरघरमा रमाइलो गर्ने, एकआपसमा शुभकामना साटासाट गर्ने, घरमा बनाएका मौलिक परिकार हुक्वा आदानप्रदान गर्दै खुसियाली साट्ने चलन छ । 

याङ्वेनलाई नेपाली भाषामा झ्याउ भनिन्छ । उपाध्यक्ष लिम्बूका अनसार उच्च लेकाली क्षेत्रको वनस्पतिहरू उत्तिस, गुराँस, कटुसको रूखमा पलाउने एक प्रकारको परजीवि वनस्पतिलाई हजारौं वर्षदेखि पूर्वका लिम्बू समुदायले खानाको रूपमा प्रयोग गर्दै आएका छन् । ‘लिम्बू समुदायले परम्परागत रूपमा उहिलैदेखि याङ्वेनलाई खाद्यपदार्थको रूपमा प्रयोग गर्दै आएको छ,’ उनले भनिन्, ‘यस्तो खाना तयार पार्नका लागि सबैभन्दा पहिले त लेकका रूखमा पलाएको झ्याउ चिन्नुपर्छ ।’ यसपछि टिपेर बटुल्नुपर्छ । खरानी पानीमा निकैबेर उमाल्नुपर्छ । फेरि सुकाएर खान योग्य भएपछि सुंगुर, कुखुरा, खसी, राँगाको मासुसँग पकाउनुपर्छ । ‘निकै मिठो पो हुन्छ हाउ,’ उनले भनिन् । 

संस्कृति र मुन्धुमका जानकार भरत तुङघङका अनुसार कृषि युग सुरु हुनु अगाडि मानिसले अन्नबालीका बीउविजन रोप्ने, छर्ने, खाद्यान्न उत्पादन गर्ने चलन बसेको थिएन । त्यतिबेला सिकार गरेको जीवजन्तुको मासु र रगतसँग रूखमा पलाएको झ्याउ पकाएर भोक मेटै शरीरमा शक्ति सञ्चय गर्ने चलनको उनको दाबी छ । ‘त्यही परम्पराको निरन्तरता हो याङ्वेन,’ उनले भने, ‘चासोकमा लिम्बू समुदायसँगै गैरलिम्बूले पनि याङवेन र सेरगेङ निकै मन पराएका छन् ।’ 

धरान १५ एभरेस्ट लाइनकी शान्ति लिम्बू अरूबेला पनि याङ्वेनको परिकार बनाउँछिन् । चासोक पर्वमा भने गैरलिम्बूहरू पनि याङ्वेनको स्वाद चाख्न आउने उनले बताइन् । उनका अनुसार अन्य खाद्यपदार्थ जस्तो खेतबारीमा मानिसले बीउ रोपेर उत्पादन गर्ने नभएकाले लिम्बू समुदायले मात्र प्रयोगमा ल्याएको याङ्वेनको महत्त्व बेग्लै छ । चुम्लुङ सुनसरीका जिल्ला अध्यक्ष मोहन हुक्पाचोङबाङले भने केही वर्षअघिसम्म लिम्बूवान्को उच्च लेकाली भेगमा याङ्वेन प्रशस्तै पाइने बताउँदै अहिले ती सबै सामुदायिक वन भएकाले र याङ्वेनको व्यापार व्यवसाय बढेकाले अभाव हुन थालेको सुनाए । 

चासोक उत्सवको याक्सा घरमा याङ्वेनसँगै घ्यूमा चालम पकाएर बनाए चाम्रे, भटमास भुटेर ओख्लीमा नुन, अकबरे खोर्सानी र अन्य मसला लगाएर पिठो बनाएपछि तयार हुने फाँदो अचार, किनेमा, गुन्द्रुकको विभिन्न परिकार, संगुरको आन्द्राको याङ्वेन, रक्ती, चामल र अन्य मारमसला लगाएर पकाएको सेरगेङ लिम्बू टिपिकल खानाहरू राखिएका छन् । ‘चासोक पर्व एक प्रकारले फुड फेस्टिभलजस्तै बनेको छ,’ चुम्लङ धरान उपमहानगर समितिका सदस्य बालकृष्ण सिंगकले भने । 

यसरी बन्छ याङ्वेन 
-    लेकाली रूखमा पलाएको झ्याउ पहिचान गर्ने 
-    टिपेर बटुल्ने 
-    खरानीपानीमा उमाल्ने 
-    सुकाउने 
-    सुंगुर, कुखुरा, खसी या राँगाको मासुसँग पकाउने 

प्रकाशित : मंसिर २९, २०७३ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?