कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९३

बेजोड सिटी

यो सिजनमा सिटीलाई च्याम्पियन बनाउन भूमिका खेल्नेमध्येका एक हुन्– फिल फोडेन । उनी भन्छन्– कसैले चारपल्ट माथिल्लो डिभिजनको लिग जित्न सकेका थिएनन्, तर सिटीले जित्यो, यो सानदार उपलब्धि हो । 
हिमेश

जति जति बेला म्यानचेस्टर सिटीले केही न जित्छ, सर एलेक्सन फर्गुसनको त्यो भनाइ फेरि पनि याद आइहाल्छ । म्यानचेस्टर युनाइटेडको प्रशिक्षक रहेको बेला फर्गुसनले भनेका थिए, ‘सिटी भनेको हल्ला मात्र गर्ने छिमेकी हो । यो जुनीमा मैले देख्न पाउने गरेर यसले केही ठूलो जित्ने छैन ।’

बेजोड सिटी

अब त यो भनाइ रहेन, ‘जोक्स’ भएको छ । किनभने यो त असाध्यै मिथ्या दाबी सिद्ध भइसकेको छ । फर्गुसनलाई समेत अहिले लाग्दो हो, किन बेकारमा यस्तो छुच्चो बोल्नुपरेको थियो ।

बरु भन्न चाहिँ के सुरु भएको छ भने फर्गुसन पालोको युनाइटेडभन्दा अहिलेको सिटी कति राम्रो कति । यसका लागि पेप ग्वार्डिओलालाई धन्यवाद भने दिनैपर्छ । युनाइटेडसँग सिटीलाई दाँज्ने काम भएपछि फर्गुसनसँग ग्वार्डिओलालाई पनि त भिडेर हेर्नुपर्छ । अनि यसमा पनि यस्तै भन्नेहरू निस्किसकेका छन्, फर्गुसनभन्दा ग्वार्डिओला नै बेस । एउटा तथ्य के निश्चित छ भने फुटबल होस् अथवा अरू कुनै खेल, कोहीसँगै कसैलाई दाँज्नु ठीक हुन्न ।

अझ तिनले बिताएको समय नै फरक छ भने यो दाँज्ने काम अझ बेकार हुन्छ । तर, कुनै समय फर्गुसनले गरेको तिनै दाबीका कारण सिटीले जित्दा बढी हल्ला हुने हो । फर्गुसनले आफ्नो समयमा अरू क्लबलाई त गन्दै गन्दैनथे, सिटीलाई त अझ सक्दो हेप्नै खोज्थे । तर, अब समय र स्थिति दुवै फेरिएको छ । र हो, ग्वार्डिओलालाई अब त सिधा–सिधा यो आधुनिक फुटबलकै सबैभन्दा महान् प्रशिक्षक भन्दा हुन्छ । उनलाई फुटबल रणनीति बुन्न महारथ प्राप्त छ ।

अनि उनले तयार पारेको अहिलेको सिटी टिमलाई सर्वकालीन महान् टिम भन्दा हुन्छ, इंग्लिस फुटबलको इतिहासकै । यसका लागि सिर्फ एउटै तर्क पर्याप्त छ । फुटबलको जन्मघर हो, इंग्ल्यान्ड । त्यहाँ माथिल्लो डिभिजनको लिग फुटबल सुरु भएको पनि १ सय ३६ वर्ष भइसकेको छ । सन् १८८८ मा पहिलो पल्ट इंग्ल्यान्डमा बकाइदा लिग फुटबल सुरु भएको हो । यति धेरै समयबीच पनि एउटै टिमले कहिले पनि लगातार चारपल्ट माथिल्लो डिभिजनको फुटबल जितेन ।

यसैले थाहा हुन्छ, लिग जित्न सायद सजिलो होला, त्यसलाई रक्षा गर्न अति गाह्रो छ । तर, अहिले सिटीले त्यो काम गरेको छ, जसबारे कसैले कल्पना पनि गरेका थिएनन्, फर्गुसनले जस्तै । सिटीले एकपल्ट होइन, दुईपल्ट होइन, लगातार चारपल्ट लिग उपाधि जितेको छ, त्यो पनि एकपछि अर्को । भर्खरै सिटीले यस सिजनको अन्तिम लिग खेलमा वेस्ट ह्यामलाई सजिलै ३–१ ले हरायो र लिग फेरि एकपल्ट आफ्नो नाममा लेखायो ।

अन्तिम दिनसम्म एकखाले दुविधा भने थियो, कतै आर्सनलले सिटीलाई रोक्ने त होइन ? सिटीलाई जसरी पनि वेस्ट ह्यामविरुद्धको त्यो खेल जित्नु थियो । जित्यो पनि । अन्तिम दिन आर्सनल पनि एभरटनमा विजयी रह्यो । तर उसले सिटीलाई निर्णायक मोडमा पछार्न सकेन । सिटीको एउटा बानी छ, लिगको सुरुआती दिनमा त्यस्तो प्रदर्शन गर्ने जसले केहीलाई लाग्दो हो, यसपल्ट लिग जित्ने अरू नै हो । सिटीको सुरुआती प्रदर्शन धुलमूल हुने गर्छ ।

तर, जति जति बेला लिग समाप्तितिर अग्रसर हुन्छ, धेरैलाई लाग्ने गर्छ, आखिरमा सिटीलाई पन्छाउन सक्ने कोही रहनेछ । जति लिग अन्त्यतिर लाग्छ, सिटी आफ्ना प्रतिद्वन्द्वी टिममाथि अझ बढी निर्दयी हुन थाल्छ । तथ्यांककै कुरा गर्दा, ग्वार्डिओला आएयता सिटीले लिग जितेको यो छैटौंपल्ट हो, सात सिजनको अन्तरमा । बीचमा एकैपल्ट मात्र लिभरपुलले लिग जित्यो, अन्यथा सात सिजनमा ६ पल्ट लिग जित्नु भनेको कसरी कम्तीको उपलब्धि हुन सक्छ र ?

त्यति मात्र कहाँ हो र भने ? यी सात वर्षमा सिटीले एक–एक पल्ट क्लब वर्ल्डकप पनि जितेको छ, युरोपेली च्याम्पियन्स लिग पनि जितेको छ । अझ त्यसमाथि दुईपल्ट एफएकप र चारपल्ट लिगकप । अझ आजै एफएकपको फाइनल पनि छ । सिटीसामु वेम्बलीमा एउटा अर्को मौका छ, यो उपाधि जित्ने, त्यो पनि युनाइटेडलाई नै हराएर । सबैलाई थाहा छ, म्यानचेस्टर सहरमा दुई क्लब छन्, युनाइटेड र सिटी । युनाइटेडको शृंखलाबद्ध सफलता अगाडि सिटी लामै समय ओझेलमा जस्तै रह्यो ।

फर्गुसनको युनाइटेडले एकपछि अर्को उपाधि जितिरहँदा सिटी कता थियो कता । सिटीले त्यो बेला प्रिमियर लिगभन्दा मुनिको लिगमा पनि खेल्यो । तर एकपल्ट सिटी के ब्युँझिन थाल्यो, कमजोर हुने पालो युनाइटेडको रह्यो । युनाइटेडले त्यो जमानामा जे जस्तो जितेको छ, त्यो सबैलाई अहिले सिटीले उछिन्न थालेको छ । युनाइटेडले त्यो जमानामा कायम गरेको कीर्तिमानहरू अब सिटीको नाममा सर्न थालेका छन् । अब त युनाइटेडले सिटीको उपलब्धिमा ईर्ष्या मात्रै गर्न सक्छ ।

सन् १९९८/१९९९ मा युनाइटेडले धुमधामले एकै सिजन तीन उपाधि जितेको थियो । यो ट्रेबल उपलब्धि थियो, प्रिमियर लिग, एफएकप र च्याम्पियन्स लिग जित्नु । त्यति बेला फर्गुसनको युनाइटेडले नौ वर्षमा सातपल्ट प्रिमियर लिग जितेको थियो । त्योभन्दा केही समय अगाडि जाने हो भने लिभरपुल यस्तै सबथोक जित्ने टिम थियो । लिभरपुलले सन् सत्तरी र अस्सीको दशकमा इंग्लिस फुटबलमा भए भएका उपाधि जितेको थियो ।

त्यति बेला लिभरपुलले १५ सिजनको समयमा १० पल्ट लिग त जित्यो नै, चारपल्ट युरोपेली कप पनि चुम्यो ।

धेरै होइन, सन् २००३/२००४ को एक सिजन त आर्सनलले पनि गज्जब नै गर्‍यो । गज्जब के र, त्यो त असाध्यै अद्वितीय नै थियो । आर्सनलले त्यो सिजन लिग जित्ने क्रममा एकै खेल पनि गुमाएन् । आर्सन वेन्गर प्रशिक्षक रहेको त्यो आर्सनल टिमलाई अझै पनि गर्वले ‘इन्भिन्सिबल’ भनिन्छ । अब भनिरहनु पर्दैन, त्यो आर्सनल टिम पनि आफैंमा उत्कृष्ट थियो ।

तर ती युनाइटेड, लिभरपुल र आर्सनलका पुराना दिनका टिमभन्दा अहिलेको सिटी टिम साँच्चै राम्रो छ । अहिले तत्कालका लागि सिटी सबै खाले प्रतियोगितामा गरेर ३५ खेलमा अपराजित रहेको छ । प्रिमियर लिग सुरु भइसकेयता यो पनि आफैंमा कीर्तिमान हो । यसपल्ट पनि सिटीले ९० अंकभन्दा माथि नै छोयो । तिनै पछिल्लो सात सिजन सिटीले ९० अंक छोएको यो चौथोपल्ट हो । फर्गुनसले आफ्नो पूरा युनाइटेड करियरले यस्तो उपलब्धि दुईपल्ट मात्रै आत्मसात् गर्न सक्यो ।

यो सिजन सिटीलाई च्याम्पियन बनाउन सबैभन्दा बढी भूमिका खेल्नेमध्ये एक रहे, फिल फोडेन । उनले ठीकै भनेका छन्, आफ्नो टिमबारे । उनको भनाइ थियो, अहिलेसम्म कुनै पनि क्लबले लगातार चारपल्ट माथिल्लो डिभिजनको लिग जित्न सकेन, तर अहिले सिटीले यस्तै गरेर देखाएको छ । भनेपछि यसमा केही विशेष त छ नै । स्वयं ग्वार्डिओला पनि लगातार चारपल्ट लिग जित्नुलाई ठूलै मान्छन् र भन्छन्, यो काम सजिलो हुन्थ्यो त धेरैले गर्थ्यो, हो पनि ।

प्रकाशित : जेष्ठ १२, २०८१ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?