कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

‘सहरमा ढुक्कले लेखपढ गर्नु सम्भव छैन’

दीर्घ जीवनभर ज्ञानमणि नेपालको साधनाबाट इतिहास लेखनले फड्को मारेको छ
ज्ञानमणिको खोजी राजनीति र राजवंशको इतिहासमा मात्रै सीमित छैन, संस्कृत भाषाका कृति र नेपाली भाषामा रचिएका ग्रन्थको सम्पादनमा पनि उनको ठूलो अवदान छ

साढे तीन महिनाअगाडि ९२ वर्षमा टेकेका ज्ञानमणि नेपाल यही जेठ १ गते दिवंगत हुँदा झन्डै ७२ वर्ष यतादेखि चलिरहेको एउटा सुदीर्घ साधनाको अन्त्य भयो । ज्ञानमणिका साना–ठूला गरी दुई दर्जनभन्दा बढी कृति पुस्तकाकारमा प्रकाशित छन् त सयौं लेख पत्रपत्रिकामा छापिएका छन् । उनको खोजी राजनीतिको किंवा राजवंशको इतिहासमा मात्र सीमित छैन, नेपालमा रचित संस्कृत भाषाका कृतिको र नेपाली भाषामा रचिएका ग्रन्थको सम्पादनमा पनि उनको ठूलो अवदान छ ।

‘सहरमा ढुक्कले लेखपढ गर्नु सम्भव छैन’

वि.सं. १९८९ श्रीपञ्चमीको दिन भोजपुर सिक्तेलमा पण्डितवंशमा जन्मेका ज्ञानमणिका पितामह वैयाकरण नेपाल (वि.सं. १९१२–१९७९) का केही कृति नाति ज्ञानमणिकै उद्योगबाट प्रकाशित छन् । नेपाली भाषामा छन्दोबद्ध रूपमा लेखिएका ती कृतिका उपजीव्य ग्रन्थ तात्कालिक अरू लेखक–कविका जस्तै खास गरी ‘रामायण’, ‘महाभारत’ र अरू पुराण देखिन्छन् । आफ्ना पितामहको कीर्ति फैलाउन वि.सं. २०६७ मा वैयाकरण स्मृति प्रतिष्ठानको र वैयाकरण पुरस्कारको स्थापना ज्ञानमणिले गरेको पनि यस प्रसंगमा स्मरणीय छ ।

वि.सं. १९८५ तिर ओखलढुंगा माम्खाबाट काठमाडौं आई रानीपोखरी संस्कृत पाठशालामा पढ्न थालेका लक्ष्मीप्रसाद पोखरेलको खास संगत उमेर र कुरा मिल्ने भएकाले होला, उनको संगत त्यही पाठशालामा पढ्ने नयराज पन्त (वि.सं. १९७०–२०५९) र ऋषभदेव रेग्मी (वि.सं. १९७०–२०४७) सँग भयो । लक्ष्मीप्रसादको ‘सुरिलो गला, कुरा गर्ने शैली र कविताले म बढी प्रभावित भएँ’ (‘विश्रान्ति’, काठमाडौं : नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान, २०५०, ‘प्रस्तावना’ ७ पृ.) भनी नयराजले लेखेका छन् । उता लक्ष्मीप्रसादले पनि ‘म आफूले रचना गरेका पद्यहरू नयराज पन्तज्यूलाई सबै सुनाउने गर्थें (‘पुनरागता मदालसा’, विराटनगर : लक्ष्मीप्रसाद पोखरेल, २०५१, ‘भूमिका’, ६ पृ.) भनी लेखेका छन् । पाठशाले साथीहरूको त्यस समूहमा खोटाङका जयदेव अधिकारी पनि थिए । नयराजको मूल विषय ज्यौतिष, लक्ष्मीप्रसाद र ऋषभदेवको साहित्य र जयदेवको चाहिँ व्याकरण थियो । वि.सं. १९८९ मा मध्यमा परीक्षा पास गरी नयराज बढी पढ्न भनी बनारस गए । पछि ऋषभदेव पनि मध्यमा पास गरी त्यतै लागे । जयदेवचाहिँ पढाइ मध्यमामै टुङ्ग्याई घर पायक पर्ने गरी खोटाङको भाषा पाठशालामा अध्यापक भए । लक्ष्मीप्रसाद भने ज्ञानमणि नेपालको शब्दमा ‘मध्यमासम्म पढेर परीक्षा नदिई घर–व्यवहार गर्दै पौराणिक पेसामा लागे’ (‘अतीतका स्मृति र अनुभूति’, काठमाडौं : रत्नपुस्तक भण्डार, २०६५, १२८ पृ.) ।

‘वि.सं. १९९१ माघमा म बनारस गएको थिएँ । त्यस बेला नयराज पन्तज्यू पनि त्यहीं हुनुहुन्थ्यो । म उहाँकै डेरामा बसें, त्यहाँ बस्दा आफूले बनाएको यो मदालसा सप्ताङ्की मैले उहाँलाई हेर्न दिएँ । ... मेरा कविता पढेपछि उहाँ निकै सल्लाह दिने गर्नुहुन्थ्यो । उहाँले आफ्नै हस्ताक्षरले ठाउँठाउँमा सच्याइदिनुभएको मदालसा नाटकको कापी मसँग सुरक्षित छ’ (‘पुनरागता मदालसा’, ‘भूमिका’, ६–१० पृ.) भनी लक्ष्मीप्रसादले लेखेका छन् । बनारसमा त्यस बेला २५ दिन जति लक्ष्मीप्रसाद बसेका थिए । उनी, नयराज र ऋषभदेव बसी त्यस बेला खिचेको फोटो हाम्रो संग्रहमा छ ।

रानीपोखरी संस्कृत पाठशालामा पढी घर फर्केका लक्ष्मीप्रसाद पोखरेलको ओखलढुंगा–भोजपुरतिर त्यसताका दबदबा थियो । पौराणिक वृत्ति पनि अँगालेका उनले चन्दादाताहरूबाट खेत दान गराई वि.सं. १९९८ मा गोगनेमा विद्येश्वर संस्कृत पाठशालाको नाउँले एउटा पाठशाला खोले । खोटाङको भाषा पाठशालामा अध्यापक भइरहेका जयदेव अधिकारीलाई त्यहाँबाट छुटाएर गोगनेको पाठशालामा अध्यापकमा नियुक्त गरियो । आफ्ना सात वर्षका छोरा पेशलराज (वि.सं. १९९१–?) लाई पनि लक्ष्मीप्रसादले त्यहीं भर्ना गरे (उही : १०–११ पृ.) । पछि यिनै पेशलराज राजनीतिमा लागी पेशलकुमारको नाउँले वि.सं. २०१६ मा संसद्मा नेपाली कांग्रेसका तर्फबाट ह्विप अर्थात् आजभोलि चलेको भाषामा सचेतक भएका थिए ।

बनारसबाट वि.सं. १९९४ मा सिद्धान्तज्यौतिषमा प्रथम श्रेणीमा आचार्य पास गरी काठमाडौं फर्केपछि नयराज पन्तले प्रचलित शिक्षा प्रणालीमा चित्त नबुझाई प्राचीन ढंगले समग्र पाठ्यवस्तु उपस्थित राख्नुपर्छ भन्ने धारणा बमोजिम वि.सं. १९९७ देखि केही विद्यार्थी बटुली पढाउन थाले । नयराजको पढाइको प्रशंसा चल्न थालेपछि, गोगनेको पाठशालामा पढिरहेका छोरा पेशललाई त्यस पाठशालाबाट झिकी वि.सं. २००२ को आखिरमा लक्ष्मीप्रसादले नयराजकहाँ भर्ना गरे ।

ज्ञानमणि नेपालको पहिलो पाठशाला भोजपुर टक्सारको भाषा पाठशाला रहेछ । त्यहाँ अरूहरूले नेपाली भाषाका पाठ्यपुस्तक पढ्ने गरेका भए पनि ज्ञानमणिको शब्दमा ‘मैले चाहिँ संस्कृत, वेद, रुद्री पढ्नुपर्ने’ थियो (‘मेरो गुरुकुलीय शिक्षा र सहपाठी’, काठमाडौं : ज्ञानगुन प्रकाशन, २०५४, १२ पृ.) । त्यसपछि आफ्ना मामा जयदेव अधिकारीे अध्यापक भएको गोगनेको पाठशालामा मध्यमा परीक्षामा पढाइने पाठ्यग्रन्थ पढीवरी १५ वर्षको उमेरमा लक्ष्मीप्रसाद पोखरेलसँग ज्ञानमणि काठमाडौं आए । तिनै लक्ष्मीप्रसादको प्रभावमा परी वि.सं. २००४ को हिउँदमा नयराजको पाठशालामा उनी भर्ना भए । ८ वर्षे पढाइ सिद्ध्याई प्रमाणपत्र लिई वि.सं. २०१२ माघमा उनी घर फर्के ।

त्यस पाठशालामा पढ्दापढ्दै ज्ञानमणि नेपालको नाउँमा वि.सं. २००९ देखि कृति छापिन थाले । उनी घर फर्किनुभन्दा अगाडिसम्म ‘रघुवंश पाठ्यपुस्तक’ र ‘कौटलीय अर्थशास्त्रको ऐतिहासिक व्याख्या’ १–२ संख्या वि.सं. २००९ मा, ‘इतिहास–संशोधन’ १–५ संख्या वि.सं. २०१० देखि २०१२ भित्र छापिए । तिनमध्ये ‘रघुवंश पाठ्यपुस्तक’ र ‘इतिहास–संशोधन’ धनवज्र वज्राचार्य (वि.सं. १९८८–२०५१) र उनको नाउँमा तथा ‘कौटलीय अर्थशास्त्रको ऐतिहासिक व्याख्या’ भोलानाथ पौडेल (वि.सं. १९७८–२०६६), धनवज्र वज्राचार्य र उनको नाउँमा छापिए । ज्ञानमणि फर्कनुभन्दा अगाडि नै धनवज्र र उनले मिली सम्पादन र उल्था गरेको शक्तिवल्लभ अर्याल (वि.सं. १७८१–१८६३) को ‘जयरत्नाकर नाटक’ र पृथ्वीनारायण शाह (वि.सं. १७७९–१८३१, राज्यकाल वि.सं. १७९९–१८३१) देखि उनका पनाति गीर्वाणयुद्धविक्रम (वि.सं. १८५४–१८७३, राज्यकाल वि.सं. १८५५–१८७३) सम्मका अप्रकाशित पत्रहरूको सँगालो ‘ऐतिहासिक पत्रसंग्रह’ व्याख्यासहित तयार भइसकेको थियो । ती दुई पुस्तक केशरशमशेर (वि.सं. १९४८–२०२१) को पैसाबाट खुलेको नेपाल–सांस्कृतिक परिषद्बाट त्यस संस्थाका सचिव ईश्वर बराल (वि.सं. १९८०–२०५४) को प्रबन्धमा वि.सं. २०१४ मा प्रकाशित भए ।

योगी नरहरिनाथ (वि.सं. १९७१–२०५९) को अग्रसरतामा चलेको ‘संस्कृत–सन्देश’ मासिक पत्रिकामा खास गरी नयराज पन्त र उनका शिष्य र प्रशिष्यहरूका कृति छापिन थालेका थिए । धनवज्र र ज्ञानमणिको विद्वत्ता क्रमश: प्रकट हुँदै गएपछि योगी नरहरिनाथले ती दुवैलाई ‘संस्कृत–सन्देश’ को सम्पादक मण्डलमा राखे । त्यसभन्दा अगाडि नै वि.सं. २००६ देखि नयराज पन्तको पाठ्यक्रम योगी नरहरिनाथ, कविराज हरिप्रसाद खकुरेल (वि.सं. १९४९–२०३०), बुद्धिप्रकाश पाँडे, बुद्धिसागर पराजुली (वि.सं. १९७०–२०४९) र अरू लब्धप्रतिष्ठ मानिसहरूले खोलेको ब्रह्मचर्याश्रममा चलाइयो । त्यहाँ पढाउन भनी नयराजका तर्फबाट वि.सं. २००६ फागुनमा भोलानाथ र ज्ञानमणि गए । राणा शासनमार्फत प्रतिष्ठित, ब्रह्मचर्याश्रमका अधिकारीहरूले विद्यार्थीहरूलाई राणा शासनको समर्थनका लागि प्रयोग गर्न खोज्दा नयराजका शिष्यहरूबाट भएको विरोध उनीहरूलाई सह्य भएन र दुई पक्षमा संघर्ष चर्किंदै गयो । त्यसपछि ब्रह्मचर्याश्रमका अधिकारीहरूकै विरोधमा गई त्यहाँ बसिरहनु राम्रो नभएकाले १४ महिनापछि भोलानाथ र ज्ञानमणि ब्रह्मचर्याश्रमबाट बाहिरिए ।

नयराज पन्तको पाठशालामा माथिल्लो कक्षाका विद्यार्थीले तल्लो कक्षाका विद्यार्थीलाई पढाउनुपर्ने भएकाले धनवज्र वज्राचार्य, ज्ञानमणि नेपाल र केशवमणि आ.दी. (वि.सं १९९१–२०७८) पढाउने काम पनि गर्थे । लक्ष्मीप्रसाद पोखरेलका माहिला छोरा श्यामराज पोख्रेल, नयराजका मामाका कान्छा छोरा मोहननाथ पाण्डे (वि.सं. १९९६–२०७६), ज्ञानमणिका वैमातृक भाइ बाबुराम नेपाल (वि.सं. १९९७–२०८०), सरदार राममणि आ.दी. (वि.सं. १९३९–२०२८) का छोराका छोरा किशोरमणि आ.दी. र राममणिकै छोरीका छोरा सुशीलकुमार पोख्रेललाई पढाउने जिम्मेवारी ज्ञानमणिको थियो ।

विद्यार्थीहरूले केही न केही प्रकाशित गर्नैपर्ने नियम भएकाले ज्ञानमणिका अघिल्ला तीन जना विद्यार्थीको नाउँमा पनि चारवटा ‘इतिहास–संशोधन’ छापिए । त्यस पाठशालामा पढ्ने अलि माथिल्लो कक्षाका विद्यार्थीहरूको नाउँमा पनि ‘इतिहास–संशोधन’ निकाल्ने लहर आएकाले त्यो सम्भव भएको थियो । प्रचलित शिक्षा पद्धतिअनुसार पढेकाहरूबाट भन्दा नयराज पन्तको पाठशालामा पढेकाको हातबाट नेपालको इतिहासको खोजी प्रामाणिक ढंगले हुन्छ भन्ने प्रमाणित गर्न ‘इतिहास–संशोधन’ को आन्दोलन नै चलेको थियो । जजसको लेखाइको खण्डन ‘इतिहास–संशोधन’ मा भयो, विद्वान् भनी कहलिएकाहरूको तेजोवध त्यसबाट हुन गयो । यसले गर्दा व्यवहार कुशलहरूले आफ्ना सन्तानहरूलाई त्यस पाठशालाबाट झिक्ने वा त्यहीं पढाउन राखे पनि तिनीहरूलाई कमसेकम ‘इतिहास–संशोधन’ गर्नबाट रोके । तर, त्यस पाठशालामा पढ्ने विद्यार्थीहरूको कार्यक्षमता देखाउन केही न केही प्रकाशित गर्नुपर्ने नियम भएकाले ‘इतिहास–संशोधन’ बाट पन्छिन खोज्ने विद्यार्थीहरूबाट संस्कृत व्याकरणको एउटा पुस्तिका निकाल्ने निधो भयो । ज्ञानमणिका पाँचै जना विद्यार्थीको र धनवज्रका, ‘इतिहास–संशोधन’ गर्दिनँ भनी पन्छेका विद्यार्थी घनश्याम सुवेदी (वि.सं. १९९४–२०७४) को नाउँमा वि.सं. २०१२ मा ‘रघुवंश पाठ्यपुस्तक–व्याकरण’ निकालियो ।

नयराज पन्तको पाठशालाबाट वा संशोधन–मण्डलबाट छापिने कृति एक जनाभन्दा बढीको नाउँमा प्रकाशित हुँदा उसले त्यो लेख्नका लागि अर्कोले भन्दा बढी कति काम गर्‍यो वा उसको त्यस्तो कृति लेख्न सक्ने ल्याकत अर्कोको भन्दा बढी छ कि छैन भन्ने विचार राखिँदैनथ्यो । सबभन्दा बढी उमेर जसको छ, त्यसको नाउँ सबभन्दा अगाडि राखी कृति छापिने गरिन्थ्यो । यस नियममा ज्ञानमणिको घोर आपत्ति थियो । त्यसैले कहिलेकहीं यसले गर्दा अप्रिय अवस्थाको पनि सिर्जना हुन्थ्यो ।

वि.सं. २०१२ मा पाठशालाबाट बिदा भएर गएपछि ज्ञानमणि घरमा चुप लागेर बसेनन् । उनले त्यहाँ नयराजले चलाएको पाठशाला जस्तै अर्को पाठशाला चलाउन थाले । त्यस्तै पाठशाला वि.सं. २००७ मा ब्रह्मचर्याश्रमबाट फर्केपछि भोलानाथले आफ्नो घर लुभुमा चलाएका थिए । ज्ञानमणिको त्यो पाठशाला वि.सं. २०१९ सम्म राम्रैसँग चली सरकारी व्यवधानले बन्द गर्नुपर्ने अवस्था आयो ।

विद्यार्थीहरू घट्दै–घट्दै गएकाले नयराज पन्तले चलाएको पाठशाला वि.सं. २०१४ सम्म क्षीण अवस्थामा पुगिसकेको थियो । विद्यार्थीको संख्या बढाएर होइन कि बाँकी रहेका विद्यार्थीहरूको ज्ञान— खास गरी इतिहाससम्बन्धी— बढाउने उद्देश्यले थप पाठ्यक्रमको तर्जुमा गरी त्यस पाठ्यक्रम अनुसारको परीक्षामा उत्तीर्ण भएपछि मात्र प्रकाशन गर्न पाउने नियम बन्यो । ज्ञानमणिको भने भोजपुरमै बसेर पहिले काठमाडौंमा बसेको बेलामा जस्तै धनवज्रसँग मिली ‘इतिहास–संशोधन’ आदि प्रकाश गर्ने अभिप्राय थियो । तर, नयाँ नियमबाट त्यो सम्भव नभएकाले आफ्नै प्रयासमा ज्ञानमणिले भोजपुरमा नेपाल इतिहास विकास समिति भन्ने संस्था खोली वि.सं. २०१८ देखि २०२५ भित्र ५ वटा पुस्तिका प्रकाशित गरे । दिङ्लाका प्रभुनाथ अधिकारी (वि.सं. १९५३—१९९१) को ‘संगीत–लहरी’ को सम्पादन बृहद् उपोद्घातसहित गरी कमल दीक्षित (वि.सं. १९८६–२०७४) को सौजन्यबाट जगदम्बा प्रकाशनद्वारा वि.सं. २०२५ मा ज्ञानमणिले प्रकाशित गराए ।

औषधि–उपचारको व्यवस्था गाउँघरमा राम्रो नभएकाले आफ्नो परिवारका र वरपरका केही प्रियजनको अकाल मृत्युले ज्ञानमणिको मनमा चोट लागिरहेकै थियो । त्यसमाथि, धनुष्टङ्कारको व्यथाले ७ वर्षको छोरो वि.सं. २०३२ मा बितेपछि उनको हृदयमा अत्यन्त आघात पर्‍यो । यसैले पहाड छोडी स्थायी रूपमा काठमाडौंमै बस्ने निश्चय उनले गरे । अनि पहाड–मधेसको घर–व्यवहार भाइहरूलाई जिम्मा लाई ‘अनन्यकर्मा अव्यावृत्त’ भएर पढ्न लेख्नमै लाग्ने निधो गरी उनी काठमाडौं आए (‘मेरो गुरुकुलीय शिक्षा र सहपाठी’, २८–२९ पृ.) ।

ज्ञानमणिको पहिलो विचार काठमाडौंमा जागिर खाएर व्यवहार चलाऊने थिएन । वुनै उद्योगधन्दामा लगानी गरेर त्यसबाट आएको लाभले सहरमा जीवन निर्वाह गर्ने उनको विचार थियो । परन्तु उनका सहयोगी भएर साथ आएको मान्छेले धोका दिएकाले उनको धन डुब्यो । त्यसपछि, उनकै शब्दमा ‘यहाँ बसेर ढुक्कसँग लेखपढ गर्ने व्यवसाय सम्भव नहुने भएकाले र अहिलेको जमानामा विश्वासबाट बाँच्ने स्थिति पनि नहुने हुँदा आफैं बौद्धिक पेसा नअपनाई नहुने हुन आएको थियो’ (उही : २९ पृ.) । यसैले उनी वृत्तिका लागि यताउता आँखा डुलाउन लागे । अनि क्रमश: नेपाल–जर्मन हस्तलिखित ग्रन्थ संरक्षण परियोजना, नेपाल र एसियाली अनुसन्धान केन्द्र हुँदै नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानमा प्राज्ञ भई उनको जागिरे जीवन टुंगियो । त्यसपछि नेपाल प्रज्ञाप्रतिष्ठानमा उनको आजीवन सदस्यता कायम रह्यो ।

वि.सं. १९९७ देखि आफूले चलाउँदै आएको पढाइ स्वीकार गराउन नयराज पन्त त्यति हतारिएका थिएनन् भन्ने कुरा वि.सं. २०१४ मा तयार भएको, छापिन भने उनी परलोक भएको लगत्तै जसो छापिएको ‘हाम्रो उद्देश्य र कार्यप्रणाली (संशोधन–मण्डल पाठशालाको उद्देश्य र कार्यप्रणाली)’ मा भएका तलका प्रश्नोत्तरबाट स्पष्ट हुन्छ—

‘प्रश्न– तपाईंहरू आफ्नो पढाइलाई स्वीकार गराउन चाहनुहुन्छ कि चाहनुहुन्न ?

उत्तर– चाहन्छौं । तर यसको बेला अहिले आएको छैन भन्ने हाम्रो विचार छ ।

प्रश्न– तपाईंहरूको विचारमा सो बेला कहिले आउँछ ?

उत्तर– अहिले भरखर ‘अष्टाध्यायी’ सम्म पढेका दुइटा विद्यार्थी तयार भएभए जस्ता भए । यस्ता विद्यार्थीको संख्या बढोस्, माथिको पढाइ पनि चलोस्, तलदेखि क्रमसँग पढाइ चलोस्, शास्त्रको चर्चा निरन्तर भइरहोस्, यो पढाइ र अरू पढाइको तुलनात्मक ज्ञान पढ्ने तथा उनका संरक्षकहरूका मनमा राम्रोसँग चढोस्, अनि सो बेला आउँछ ।’

(काठमाडौं : खिलशर्म–राजीवलोचनजोशीस्मारक–प्रतिष्ठान, २०५९, ४७ पृ.‌‍‍‍‍‍‍= काठमाडौं : संशोधन–मण्डल, २ आवृत्ति, २०८०, ४३ पृ.) ।

यो लेखिँदा ज्ञानमणि प्रमाणपत्र लिई घर फर्किसकेका थिए । धनवज्रको पढाइ पनि एक प्रकारले सकिसकेको भए पनि केही विधिव्यवहार बाँकी रहेकाले उनको हातमा प्रमाणपत्र परेको थिएन । त्यसैले नयराजले ‘अहिले भरखर ‘अष्टाध्यायी’ सम्म पढेका दुइटा विद्यार्थी तयार भएभए जस्ता भए’ भनी बोलेको देखिन्छ ।

गौतमवज्र वज्राचार्यले भने ज्ञानमणिले प्रमाणपत्र पाएको र त्यही योग्यताका धनवज्रले चाहिँ त्यो नपाएकोमा यसरी प्रश्न उठाएका छन्— ‘ज्ञानमणि नेपाल केही वर्ष पछि पढाइ सिध्याएर स्नातक भएर आफ्नो गाउँघरमा फर्के । ज्ञानमणिज्यू विशिष्ट विद्वान् हुनुहुन्छ र उहाँ संसारको कुनै पनि विश्वविद्यालयको स्नातक भन्दा कम हुनुहुन्न । तर उहाँ जत्तिकै योग्य, पछि गएर त्यति ठूलो काम गरेर देखाउने, सबै ग्रन्थ घोकेर ज्ञानमणिज्यूले जस्तै पाठ बुझाउने धनवज्रलाई स्नातकको उपाधि कहिल्यै मिलेन’ (‘वास्तविकताको उत्खनन : धनवज्र वज्राचार्य र संशोधन–मण्डलबारे मैले सम्झे बुझेका केही कुरा’, ‘ज्ञानगुनका कुरा’ १९९ भाग, २०७७, ९ पृ.) ।

‘यो कस्तो पाठशाला ? एक जना स्नातक पनि तयार गर्न सक्दैन’ भन्ने आलोचनाको जवाफ दिनका लागि नै ज्ञानमणिलाई धुमधामसँग फूलमाला लगाई स्नातक बनाएर बिदा दिइएको हो भन्ने गौतमवज्रको जिकिर छ (उही) । धनवज्रलाई चाहिँ स्नातक नबनाउनुमा नयराजको यस्तो स्वार्थ थियो भनी गौतमवज्र लेख्छन्— ‘धनवज्रलाई पनि स्नातक बनाएर बिदा दिएमा तुरुन्तै ठूलो समस्या उत्पन्न हुने भयो । किनभने धनवज्र बिना पाठशाला नचल्ने देखियो । तर धनवज्रले गुरुको आज्ञा सकारेर वर्षौं वर्ष महेशराज पन्तलाई मात्रै होइन म र मेरा सहपाठी ऐश्वर्यधर शर्मा, कुमारधर शर्मा, घनश्याम राजोपाध्याय आदि हामी सबै विद्यार्थीहरूलाई दिनभरि पढाउनुभयो’ (उही) ।

पाठशाला चलाउनका लागि धनवज्रलाई प्रमाणपत्र दिइएन भन्ने जुन तर्क छ, त्यो पूरै लङ्गडो छ । कतिसम्म भने, ज्ञानमणिलाई लिन घरबाट नातेदारहरू आएकाले (‘मेरो गुरुकुलीय शिक्षा र सहपाठी’, २५ पृ.) पनि ज्ञानमणिलाई छिटो प्रमाणपत्र मिलेको हुन सक्छ । स्नातकको प्रमाणपत्र पाएपछि पनि धनवज्र काठमाडौंकै भएकाले उनलाई ज्ञानमणिलाई जस्तो सहरै छोडेर जानुपर्ने स्थिति थिएन । त्यसमाथि, नयराजको पाठशालाका स्नातकहरूलाई बाहिर काम पाउने सम्भावना अत्यन्त कम भएकाले हतारिएर जानुपर्ने पनि भएन । यस्तै यस्तै कारणले समान योग्यता भएका ज्ञानमणिले प्रमाणपत्र पाउँदा पनि धनवज्रले प्रमाणपत्र ग्रहण गर्ने काम त्यस बेला अड्किएको जस्तो मलाई लाग्छ ।

गुरु नयराज पन्तको मनमा चेलाहरूको पढाइ अझ खारियोस् र उनीहरू अझै जान्ने होऊन् भन्ने आशयले होला, आफूले चलाएको पढाइ स्वीकार गराउन उनलाई त्यति हतार नभए पनि चेलाहरू भने आतुरिइसकेका थिए । त्यही पढाइमा जिन्दगी लगाएकाहरू हतारिनु एक प्रकारले उचित पनि हो ।

वि.सं. २०१५ मा संसद्का लागि चुनाव भएपछि तीन खण्डमा दुई खण्डको बहुमतले चुनाव जितेको नेपाली कांग्रेसको सरकार विश्वेश्वरप्रसाद कोइराला (वि.सं. १९७१–२०३९) प्रधानमन्त्री भई गठन भयो । वि.सं. २०१६ मा कांग्रेसी सांसदहरूको एक टोली पूर्वाञ्चलको भ्रमणमा गएको थियो । भोजपुरमा पाठशाला चलाई बसेका ज्ञानमणिसँग पनि त्यस टोलीको सम्पर्क भएछ । त्यस टोलीमा आएका मन्त्री र अरू सांसदहरूसँग भोजपुरमा लब्धप्रतिष्ठ नेपालवंशका ज्ञानमणिको चिनजान नहुने कुरै भएन । तिनमध्ये एकजना सांसद पद्मशंकर त्रिपाठीले ज्ञानमणिलाई सम्बोधन गर्दै ‘दाजु, तपाईं यहाँ बसेर हुन्न, काठमाडौं जाऔं, सान्दाजु (प्रधानमन्त्री) तपाईंहरूको पढाइबाट प्रभावित हुनुहुन्छ तपाईंलाई पनि चिन्नुहुन्छ, उहाँलाई भनेर यो पढाइ हामी स्वीकृत गराइछाड्छौं भनेर बडो आग्रह गरेका थिए ।

हेर बाबु, मैले गरेर मात्र कसरी हुन्छ, मैले पहिल्यै गुरुसँग यो प्रस्ताव राखेकै हुँ, ठाडै अस्वीकार गरेर मेरो विश्वास नगरेपछि के गर्नु, म गएर के हुन्छ भनेर म आइनँ’ (‘कर्म सिकाउने गुरु’, ‘नागरिक’ दैनिक, २०७०।५।१।७, ७ पृ. र ‘बीपीबारे फाटफुट सम्झना’, ‘कान्तिपुर’ दैनिक, २०७६।४।३२।७, कोसेली, ङ पृ.) भनी ज्ञानमणिले दुई पटक पत्रिकामा प्रसंगवश लेखेको कुराको सम्झना अहिले भयो ।

जहिले पनि जता पनि पढाइको कुरा उठाइने भएकाले पछि ज्ञानमणिलाई यसतर्फ वैराग्य लागेछ क्यार, ६ वर्ष जतिअगाडि ‘कान्तिपुर’ दैनिकका कुनै पत्रकारसँग उनले गरेको कुराकानीमा ज्ञानमणिले ‘अहिलेको हिसाबमा मैले मध्यमा परीक्षा अथवा आजको एसएलसी मात्रै पास गरेको छु । त्यो पनि नयराज गुरुले लिएको मौखिक र व्यावहारिक परीक्षाको आधारमा मध्यमा उत्तीर्ण हुँ । एउटै कुरा ख्याल गर्नुपर्छ– कसैले पढ्न नसकेको हो कि नचाहेको (?), यो यथार्थलाई मनन गर्न सक्नुपर्छ’ (‘को पढेको, को अपठित ?’, ‘कान्तिपुर’ दैनिक, २०७४।१२।१७।७, कोसेली, ग पृ.) यस्तो बोलेका होलान् । अहिले विचार गर्दै जाँदा नयराजले लेखेको तलको वाक्यबाट उनलाई यस्तो बोल्न पुठ मिलेको हो कि जस्तो लाग्छ—

‘हाम्रो पढाइ थोरै ग्रन्थ घोकी त्यसलाई उध्री व्युत्पत्ति बढाई त्यसका भरले त्यस विषयका नपढेका ग्रन्थ पनि अर्थ लगाउन सक्ने बनाउने छ । हाम्रो पाठ्यपुस्तक बमोजिम पढेकाले अलिकति परिश्रम गर्दैमा व्याकरण, साहित्य, ज्यौतिषका सम्पूर्ण मध्यमाका ग्रन्थ पढाउन सक्छन्, केही ग्रन्थलाई छोडेर पढाइ आएका पनि छन् । साहित्य विषयमा त लक्षणग्रन्थबाहेक काव्य, नाटक, चम्पू आदि आचार्यसम्म पढाउन सक्छन् । दर्शन तथा अलङ्कारका केही सूत्र र पञ्चाङ्ग विषयका केही प्रक्रिया र अलि बढ्ता गणित पनि हामीले आफ्नो पाठ्यक्रममा मिलाउने प्रयत्न गरेका थियौं । त्यसो गर्न सकेको भए व्याकरण, ज्यौतिष, साहित्य यी तीन विषयका सम्पूर्ण मध्यमपरीक्षा आफ्नो पेटभित्र हाल्ने हाम्रो पाठ्यक्रम हुने थियो’ (‘हाम्रो उद्देश्य र कार्यप्रणाली’ १ आवृत्ति, ४० पृ. ‌‍‍‍‍‍‍= २ आवृत्ति ३७ पृ.) ।

सरकारिया प्रचलित शिक्षाप्रणालीअनुसार, आफैंले आचार्यसम्म पढाई तयार गरेका १६ जनै विद्यार्थीहरूमध्ये कुनैले पनि आफूले पढेको विषयमा केही गहकिलो काम गरेका छन् जस्तो मलाई लाग्दैन भनी ती सबै विद्यार्थीहरूको ल्याकतको विषयमा आफ्नो असन्तुष्टि छापेरै जाहेर गरे (‘विश्रान्ति’, ‘प्रस्तावना’, १३ पृ.) जस्तै संशोधन–मण्डलको परिपाटीअनुसार पढेका विद्यार्थीहरूको विषयमा नयराज पन्तले नलेखे पनि ती विद्यार्थीहरूको विद्यासम्पत्तिबाट पनि उनी त्यति सन्तुष्ट थिएनन् । त्यस पाठशालाको मूल पाठ्यग्रन्थ ‘अष्टाध्यायी’ उपस्थित राख भनी गुरुले चेलाहरूलाई बारम्बार भन्नुपरेको र अरूको त कुरै छोडौं, नयराजका नामी नामी चेलाका लेखमा पनि ‘अष्टाध्यायी’ बाट अशुद्ध ठहरिने शब्दको प्रयोग भएको देखिएकाले गुरुले चिताए जति विद्यार्थीहरूले विद्यालाभ गर्न नसकेको स्पष्ट हुन्छ ।

गुरुले चिताए जति विद्या हासिल गर्न नसके पनि संशोधन–मण्डलको परिपाटीबाट शिक्षा पाएका, नयराज पन्तका चेलाहरूले नेपालको विद्यासम्बन्धी इतिहासमा युगान्तकारी काम गरे । नयराज र उनका शिष्यप्रशिष्यहरूले नेपालको इतिहासको खोजी गर्न थाल्नुभन्दा अगाडि छापिएका इतिहासका चलनचल्तीका साधारण पुस्तक र अहिले बजारमा चलिरहेका पुस्तक दाँजेर हेर्ने हो भने त्यसको धेरैजसो भाग नयराज र उनका शिष्यप्रशिष्यहरूको खोजीबाटै निस्केको हो । यस कारण आफ्नो दीर्घ जीवनभर ज्ञानमणि नेपालले गरेको साधनाबाट नेपालको इतिहास लेखनले फड्को मार्‍यो भनी भन्न कत्ति पनि हिचकिचाउनुपर्दैन ।

प्रकाशित : जेष्ठ १२, २०८१ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?