कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९३

सगरमाथाको फेदतिर

कुहिरोले छोपेको पहाडमा हिउँमाथि पाइला चाल्दै हिमालतिरको हाम्रो यात्रा सुरु भयो
सगरमाथा समीप पुग्ने उत्साह र उमंगले ११ दिनसम्म हिँडेको थकाइ पनि गायब भएको थियो 
महेश केसी

वरिपरि हिमाल, बीचमा म । रंगीविरंगी त्रिपाल, बीचमा म । संसारको सान, नेपालको एक बलियो परिचय सर्वोच्च शिखर सगरमाथाको फेदीमा म । आधारशिविर पुगेपछि शिखरै चुमेझैं वरिपरिका दृश्य क्यामरामा कैद गरें, सँगै गएका दर्जन साथीलाई बेवास्ता गर्दै आफ्नै लयमा दौडिन थालें । 

सगरमाथाको फेदतिर

समुद्री सतहबाट ५३६० मिटर उचाइमा रहेको आधार शिविर मलाई त बजार जस्तो लाग्यो, मेला जस्तो लाग्यो । यो ठाउँ गुल्जार थियो । एउटा सुविधायुक्त न्यानो टेन्टभित्र बसेर तातो चियाको सुर्को लगाएपछि यो ठाउँ झन् मनमोहक लाग्यो ।

११ दिन हिँडेर १२ औं दिनको बिहान आधारशिविर पुगेका थियौं हामी । नेपाल विज्ञान पत्रकार मञ्चले नेपालका ४, भारतका २ तथा बंगलादेश र भुटानका १/१ जना गरी मसहित ८ जना पत्रकारलाई विज्ञान तथा जलवायु परिवर्तनका असर बुझाउन त्यहाँसम्म पुग्ने चाँजोपाँचो मिलाएको थियो । हामी जम्मा १३ जना थियौं । सँगै २ जना गाइड र ४ जना भरिया तथा सहयोगीको साथमा हामी त्यहाँ पुगेका थियौं ।

सरासर हिँडे लुक्लाबाट तीन दिनमा सजिलै आधारशिविर पुगिन्छ । झन्डै ५३ सय ६४ मिटर उचाइमा यहाँसम्म यसरी सरासर भने जान मुस्किल पर्छ । यसकारण हामी पहिलो दिन लुक्लाबाट मन्जो र दोस्रो दिन ३४ सय ४० मिटर उचाइमा रहेको नाम्चे बजार पुग्यौं । त्यहाँबाट तेस्रो दिन स्याङबोचेतिर रमाएर खुम्जुङमा बास बस्यौं ।


नाम्चे बजारको सुविधा र सुन्दरताबारे शब्दमा सायदै बयान गर्न सकिएला । सुविधायुक्त कुनै सहरको एक बजारभन्दा कम थिएन त्यो ठाउँ । अनि खुम्जुङ चाहि भीमकाय पहाडको बीचमा अवस्थित एक सुन्दर गाउँ रहेछ । मौलिक जीवनशैली, अर्गानिक खेतीपाती र परम्परागत गुम्बाहरूले सजिएको खुम्जुङ नाम्चे पुगेका जोकोही पनि एक पटक पुग्नुपर्ने ठाउँ हो ।

अघिल्लो दिन बास बसेको ठाउँबाट कम्तीमा ३ सय मिटर माथि उक्लिएर तल झरेमा शरीर वातानुकूलित हुन्छ भन्ने गाइडको भनाइलाई अनुसरण गर्दै हामी हिँड्यौं । चौथो दिन तेङबोचे पुगियो ।

प्रदूषित वातावरणका कारण नाम्चेबाटै देखिनुपर्ने हिमाल देखिएका थिएनन् । तेङबोचे पुगेपछि त सगरमाथा र आसपासका हिमालहरू देखिन्छन् भनिएको थियो, तर त्यसो भएन । जे होस् त्यो दिन फुङ्गी टागाको उकालोमा फुलेका थरीथरीका गुराँसले मन मोहित भयो ।

पाँचौं दिन तेङबोचेबाट ४४ सय मिटर उचाइमा रहेको दिङबोचे पुग्यौं । आमा दब्लम हिमालको फेदीमै रहेझैं लाग्ने त्यो गाउँ पनि कम्ता सुन्दर थिएन । भोलिपल्ट त्यहाँबाट ५१ सय मिटर उचाइमा रहेको नाकारसङ पिकसम्म पुगेर आफूलाई वातानुकूलीन गर्‍यौं ।

नाकारसङ पिक पुग्न हिँडेका हामीमध्ये मसहित ४ जना मात्रै सफल भयौं । बाँकी साथीहरू बीचतिरबाटै फर्किए । हामी भने हिमालै चेढेझैं गरी नाकारसङबाट साविककै होटलमा आयौं । त्यसपछि शरीरमा अलि फुर्ती बढेझैं भयो ।

हिँड्नु थियो अझै धेरै । कति टाढा होला सगरमाथा ? कस्तो होला आधारशिविर ? यही जिज्ञासाले हिँडायो । उठ्दा दिङबाचेलाई हिउँले छोपेको थियो ।

कुहिरोको घुम्टोले छोपेको पहाडमा हिउँको पछ्यौरीमाथि पाइला राख्दै हाम्रो यात्रा सुरु भयो । त्यो दिन हामी ५ हजार ५० मिटर उचाइमा अवस्थित लोबुचे नजिकैको पिरामिड अन्तर्राष्ट्रिय प्रयोगशाला तथा अवलोकन केन्द्रमा बास बस्न पुग्यौं ।

आठौं दिनको बिहान पनि मौसम अनुकूल थिएन । पिरामिडबाट हामी सरासर सगरमाथा आधारशिविरतर्फ अघि बढ्यौं । अलि माथि पुगेपछि केही मात्रामा मौसम खुलेको थियो । पछि हिमाल देखिन थाले । हामीमा उत्साह बढ्दै गयो । झनै माथि गएपछि पूर्वतिर जब सगरमाथा आधार शिविर पनि देखियो मन झनै चंगा भयो । गोरकसेप कटेर जब आधारशिविर पुग्यौं, सगरमाथालाई स्पर्श गर्न पाइयो, त्यो नै एउटा विजय थियो । त्यो नै एउटा जित अनि प्राप्ति थियो मेरा लागि ।


सर्वोच्च शिखर सगरमाथाको समीपमा पुग्ने उत्साह र उमंगले जाँगर बढ्दै गएपछि आठ दिनको यात्रापछि पनि थकाइ होइन झन् धेरै जाँगर पो ल्यायो । आधारशिविरमा केही घण्टा बिताएपछि उस दिन पिरामिडमै फर्किएर नवौं दिन पाङबोचे, १० औं दिन मन्जो हुँदै ११ औं दिन लुक्ला फर्कियौं । अनि १२ औं दिन बिहानै जहाज चढेर काठमाडौं पुग्यौं ।


मेरा लागि यो यात्रा सबै हिसाबले महत्त्वपूर्ण थियो । पहिलो कुरा त सगरमाथा आधारशिविर नै म पहिलोपल्ट पुगें । दोस्रो हालसम्म बढीमा ३५ सय मिटरको उचाइसम्म पुगेको मेरा लागि ५ हजारभन्दा माथिको उचाइमा पुग्नु ठूलो उपलब्धि थियो । अनि तेस्रो मैले यति लामो समय लगातार पैदल यात्रा नै पहिलोपल्ट गरेको थिएँ ।

बेलाबेला गाइड, भरिया र सहयोगी राखेर योजनाबद्ध तरिकाले अरू पर्यटक हिँडेको देखेको थिएँ । मलाई पनि यही तरिकाले आफू पर्यटक भएर हिँड्दा छुट्टै आनन्द आयो । तर, यो यात्रामा आफूलाई पर्यटक भन्न मन लागेन । किनभने म पत्रकार हुँ, जसरी हुन्छ मैले मेरो देशको भूगोलबारे जानकारी हासिल गर्नुपर्छ, देश–दर्शन गर्नुपर्छ ।

त्यसकारण जसरी हामी दुःखसुख आधार शिविरसम्म पुग्यौं, त्यो म जस्ताका लागि ठूलो उपलब्धि थियो । मैले त रुख्खै–सुक्कै भए पनि कम्तीमा एकपल्ट यो यात्रा गर्नु नै थियो । त्यसकारण यो मेरा लागि एउटा ठूलो अवसर थियो ।


चलचित्र ‘उचाइ’ मा अमिताभ बच्चनले ‘किसी भि तरा एभरेस्ट पर जाना हे’ भनेझैं संसारभरका अधिकांशको सपना हुँदो हो– सर्वोच्च शिखर सगरमाथा पुग्ने । सके शिखर चुम्ने नसके आधारशिविरबाटै भए पनि शिखर नियाल्ने अनि फर्कने ।

यसकारण त होला १२ दिनको यो यात्रामा विभिन्न देशका अनेकानेक मान्छेहरू देख्न, भेट्न र वार्तालाप गर्न पाइयो । दुई वर्षका बालक बोकेर आएका आमा–बा, अभिभावकसँगै आएका ५–७ वर्षका बालबालिकादेखि ८० वर्षसम्मका ज्येष्ठ नागरिकहरू सगरमाथातर्फ सोझिएको देख्दा यात्रामा लाग्ने थकाइ यसै मेटिएझैं भयो ।


अनि फरक भाषामा सांकेतिक संवाद गरेर अघि बढ्दा अक्षरको पो लिपि हुन्छ, तर भाषाको लिपि हुँदैन भन्ने लाग्यो ।

यात्रा अवधिभर हाम्रो टिममा जति थियौं एक–अर्काको उत्साह र जाँगर नै हाम्रो शक्ति बन्यो । अनि सुरुकै दिनमा छत्र कार्कीले ‘दाल भात पावर, ट्वाएन्टी फोर आवर’ भनेर ख्याल–ख्यालमै भने पनि साँच्चै नै दालभातको पावरले उचाइमा पुग्न सहयोग गर्‍यो । यसमा हामीले ‘वन विक नो सावर’ पनि थप्यौं ।

यहाँ यत्ति लेख्न सकियो । १२ दिनको यो यात्राबारे बताउन एक हजार शब्द काफी होइन । अर्को कुरा यात्रा लेख्ने, बताउने र देखाउनेभन्दा पनि अनुभूति गर्ने कुरा रहेछ । जो वर्णन, दृश्य र अक्षरमा भन्दा पनि सम्झनामा गढेर रहने कुरा रहेछ ।

क्यामरामा सकेजति दृश्य कैद गरें । क्यामरा नअटाएका दृश्यहरू चाहिँ मनमा कैद गरें । मैले यो यात्रामा जे जति गरें मलाई लाग्यो मैले सकेको गरें ।

तर सगरमाथा मात्रै होइन हाम्रा हिमालहरू जोगाउन हामीले धेरै कसरत गर्नुपर्नेछ । सरकार र सरोकारवाला जागेर, लागेर हिमालको रक्षाका लागि कम्मर कस्नु छ । केही गरेजस्तो गरेर बाँकी भगवान् भरोसामा छोडेर केही उपलब्धि हुँदैन ।

नेपाल चिनाउने हाम्रा हिमालको हाँसो कायम राखौं, हिमालका लागि लागौं, जागौं ।


प्रकाशित : जेष्ठ १२, २०८१ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?