कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९
फिल्म

घाइते बलिउडलाई पठानको सञ्जीवनी

सुशील पौडेल

कोभिडकाल पूर्वार्द्धसम्म भारतीय फिल्ममा बलिउडको एकछत्र थियो । मसलेदार फिल्म र स्टारडमको बलमा धानिएको बलिउडलाई एकाध वर्षयता भारतकै क्षेत्रीय फिल्मले जगैदेखि हल्लाइदिएको छ । दक्षिण भारतीय फिल्म ‘बाहुबली’, ‘पुष्पा’, ‘केजीएफ’ ले बलिउडमाथि धावा बोले । अहिले ‘आरआरआर’ ले त बलिउडलाई समेत धेरै पछाडि छोड्दै ग्लोबल बक्सअफिसदेखि अवार्डमा समेत देशको प्रतिनिधित्व गर्न थालिसकेको छ ।

घाइते बलिउडलाई पठानको सञ्जीवनी

बलिउडका हस्ती सलमान खान हुन् वा शाहरूख खान, आमीर खान हुन् वा हृत्तिक रोशन वा अक्षयकुमार नै किन नहुन्, भीर खोज्दै हिँडेको बलिउडलाई तिनले काँध थाम्न सकेनन् । सलमान ‘राधे’ बाट, हृत्तिक ‘ठग्स अफ हिन्दोस्तान’ बाट उठ्नै गाह्रो हुने गरी लडे । पछिल्लो फिल्म ‘जिरो’ बाट शून्यतर्फ नै पुगेका शाहरूखले त सफलताको स्वाद नचाखेकै झन्डै दशक भयो ।

चार वर्षपछि ‘पठान’ का रूपमा आउँदै गर्दा शाहरूखले मिश्रित स्वागत पाए । खानको स्वागत र ब्वाइकटमा उनका शुभचिन्तक, दक्षिणपन्थी हिन्दु समूह ध्रुवीकृत भइरहेका छन् । विश्वभरका झन्डै ८ हजार स्क्रिनमा उत्साहजनक बुकिङका साथ शाहरूखले पहिलो पारी जितेका छन् । के उनको यो स्टारडमको जितलाई पठानको सफलताले फलदायी बनाउला ? हुन त लडाइँ यतिसम्म चर्को छ कि फिल्मको गुण वा दोषको आधारमा भन्दा पनि शाहरूख, बलिउड र उनका फ्यानविरुद्ध हिन्दु अतिवादी तथा बलिउड बहिष्कारवादीको घम्साघम्सीले रचनात्मक आलोचना गौण बनिसकेको छ । त्यसो त, अधिकांश भारतीय मिडियाले ‘पठान’ लाई उत्कृष्ट फिल्मको दर्जामा राखेर समीक्षा दिइरहेका छन् भने बक्सअफिसमा पनि फ्यानको लर्को हेर्नलायक छ ।

यशराज फिल्म्स पछिल्लो दशकदेखि ‘एक था टाइगर’, ‘टाइगर जिन्दा है’, ‘वार’ हुँदै ‘पठान’ सम्म लगातार स्पाई युनिभर्स निर्माणको अभियानमा जुटेको छ । लेखक तथा निर्देशक सिद्धार्थ आनन्दले ‘पठान’ मा जासुसी, देशभक्ति, बदला, कश्मीर राजनीतिको क्लिशे विषयवस्तुलाई नै एक्सन, रोमान्स र तिलस्मी दृश्यको चास्नीमा डुबाएर दर्शकसमक्ष पस्केका छन् ।

जिम (जोन), जो पूर्व भारतीय जासूसी संस्था रअको एजेन्ट देशसँग मन भाँच्चिएर आतंकवादी समूह आउटफिट एक्ससँग साँठगाँठ गर्न पुग्छ, जो जैविक हतियारमार्फत भारतसँग बदला लिन चाहन्छ । पाकिस्तान पनि भारतले जम्मु, कश्मीरसँग सम्बन्धित आर्टिकल–३७० खारेज गरिदिएपछि रुष्ट छ । आतंकवादी हमलाको सुइँको पाएपछि रअ त्यसलाई विफल बनाउन पठान (शाहरूख) को कमान्डमा पूर्वतयारी थाल्छ । पठान र जिमको लडाइँबीच खेल्न आइपुग्छिन्, रुबिना मोहसिन (दीपिका) । रुबिनाको ग्रे क्यारेक्टरले नै फिल्ममा टर्न एन्ड ट्वीस्ट सृजना गर्छ । त्यसो त ‘पठान’ को कथा भन्नु वा नभन्नुले तात्त्विक अर्थ राख्दैन । ‘पठान’ मुख्य कलाकारको स्टाइल, अभिनय, रवाफिलो संवाद, भव्य सेट, थ्रिलिङ एक्सन र ग्ल्यामरले फिल्म बुझ्ने कम, हेर्ने ज्यादा बनेको छ ।

उडन्ते छवि बनाउँदै आएका दक्षिण भारतीय फिल्मसमेतले पछिल्लो वर्ष ‘कान्तरा’ जस्तो सांस्कृतिक, ‘आरआरआर’ जस्तो धार्मिक—ऐतिहासिक, ‘चार्ली ७७७’, ‘यशोदा’ जस्ता संवदेनशील र ‘पुष्पा २’, ‘केजीएफ २’ जस्ता सामाजिक अस्तित्वमा रहने पात्रलाई मूलधारमा ल्याएर पस्किरहँदा बलिउड भने ‘पठान’ जस्तो सुपरहिरोको शैलीमा उठ्न खोजेको देखिन्छ ।

‘पठान’ को कथा नयाँ होइन । आतंकवाद र राष्ट्रवादबीचको पैंठेजोरीको धङधङीमा बाँचिरहेको बलिउडका लागि ‘पठान’को सफलताले उत्साहित बनाउन सक्ला, तर यसको सफलताको मानक पर्दामा देखिएका दृश्य मात्र होइनन् । जसरी एन्टी बलिउड मुभमेन्ट वा भनौं नेपोटिज्मको आडमा ‘ब्वाइकट बलिउड’ को नारा घन्किरहेको छ, यसबाट रुष्ट बलिउड र यसका स्टार फ्यानले उक्त अभियानविरुद्ध छेडेको आक्रोशको आगो पनि हो । यस पटक दर्शकले शाहरूखको फिल्म नभई शाहरूखलाई हेर्न हलसम्म आएका छन् । उनको उपस्थितिमै दर्शक सिटी बजाइरहेका छन्, संवादमा ताली पिटिरहेका छन् भने गीतमा सँगसँगै हलमै नाचिदिएका छन् । शाहरूखको चार वर्षपछिको आगमन उनीहरूका लागि उत्सव बनिरहेको छ । ‘पठान’ को पटकथा कथाभन्दा तुलनात्मक रूपमा सबल छ । घटना, पात्रको पहुँच र चरित्रलाई यथार्थको कसीमा दाँजेर नहेर्ने हो भने फिल्म पूर्णतः मनोरञ्जनात्मक बनेको छ । दर्शकले पर्दाबाट आँखा हटाउनुपर्नेछैन । पर्दामा नायकहरू टपलेस हुँदै सुगठित शरीर देखाइरहँदा नायिका मेसिनगन भुट्नेदेखि फाइट सिक्वेन्समा शक्ति प्रदर्शन गरिरहेकी भेटिन्छ, ‘पठान’ मा । पृष्ठभूमि संगीतले एक्सन सिन र मुडमा ओज थपिदिएको छ । विभिन्न देशमा गई खिचिएको फिल्मको दृश्यलाई आकर्षक ढंगबाट छायांकन गरिएको छ ।

‘पठान’ को सबल पक्ष अभिनय, संवाद र संवाद सम्प्रेषण हो । रोमान्स किङमा लामो समयदेखि बनाएको छविलाई शाहरूखले एक्सन किङमा ढाल्न फाइट सिक्वेन्समा भरपूर मिहिनेत त गरेका छन् नै, अभिनयमा अझ निखारिएको लाग्छन् । दीपिकाले जति स्क्रिन स्पेस पाएकी छन्, त्यसमा आफूलाई जबरजस्त उभ्याएकी छन् । चारित्रिक आरोह–अवरोहको हिसाबले रुबिनाको भूमिकामा उनी अझ शक्तिशाली लाग्छिन् । ‘पठान’ को सरप्राइजिङ प्याकेज कोही छन् भने ती जोन अब्राहम नै हुन् । जोनले यसअघि जति बडी देखाए, त्यति एक्टिङ देखाउन सकेनन् र दर्शकलाई आशातीत रिझाउन असफल रहँदै आए । ‘पठान’ मा भने उपस्थितिदेखि अभिनय शैली र भूमिका सबैमा उनी खरो उत्रेका छन् ।

‘पठान’ केवल शाहरूखका लागि मात्र नभई यतिबेला बलिउडकै लागि पनि ‘गर या मर’ को स्थितिमा छ । बलिउडका एकपछि अर्को आशा गरिएका फिल्म सुपर फ्लप हुँदै जानु, क्षेत्रीय फिल्मले देशको सीमा काटेर उधुम मच्चाउनु अनि ठूलो फ्यान फलोइङ भएका बलिउड स्टारहरू फिक्का साबित हुँदै गइरहेको परिप्रेक्ष्यमा ‘पठान’ घाइते बलिउडका लागि सञ्जीवनी बुटी साबित हुन सक्छ । शाहरूखले ल्याएको सञ्जीवनी बुटीले बलिउड उठ्छ वा उठ्दैन, प्रतीक्षाको विषय हुनेछ ।

प्रकाशित : माघ १४, २०७९ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधनकै दिन शीर्ष नेता र सांसदहरूको उल्लेख्य अनुपस्थिति रहनुलाई के भन्नुहुन्छ ?

x