कम्युनिस्ट मक्कामदिना

अवलोकन
चीन भ्रमणमा आएका प्राय: नेपालीको इच्छा पनि माओको शव हेर्ने हुन्छ । उनीहरूका लागि ग्रेटवालभन्दा पनि माओको शवको अवलोकन गर्नु प्राथमिकतामा पर्छ ।
चेतनाथ आचार्य

काठमाडौँ — डिसेम्बर २६ (आगामी बुधबार) माओत्सेतुङको १२५ औँ जन्म जयन्ती हो । आधुनिक चीनका संस्थापक नेता माओलाई चीनमा मात्र होइन, संसारभरका कम्युनिस्टले श्रद्धा र आस्थाले हेर्छन् । सन् १८९३ डिसेम्बर २६ मा जन्मिएका माओको मृत्यु सन् १९७६ सेप्टेम्बर ९ मा भएको हो ।

माओको मृत्यु भएको ४२ वर्ष भइसके पनि उनको शवलाई बेइजिङको केन्द्र भाग थियानआनमन क्षेत्रको दक्षिणपट्टि रहेको माओ स्मारक भवनमा संरक्षण गरेर राखिएको छ । माओ स्मारक भवन सोमबारबाहेक हरेक दिन बिहान ८ देखि १२ बजेसम्म खुल्छ । जुलाई र अगस्त महिनामा भने बिहान ७ बजेदेखि ११ बजेसम्म खुल्ने गर्छ । माओको जन्मदिन डिसेम्बर २६ र मृत्यु भएको दिन सेप्टेम्बर ९ मा चाहिँ बिहानबाहेक दिउँसो २ देखि ४ बजेसम्म पनि भवन खुल्ने गर्छ ।

माओको मृत्यु हुँदा चीनभरि जति लोकप्रिय थिए, त्यत्तिकै दरमा चीनभरिको प्रतिनिधित्व हुने गरी यो भवन बनाउनका लागि विभिन्न क्षेत्रबाट नमुना सामग्री प्रयोग गरिएको छ । माओको मृत्यु भएको अढाइ महिनापछि १९७६ नोभेम्बर २४ मा निर्माण सुरु भएको यो भवन १९७७ मे २४ मा पूरा भएको थियो । यसको निर्माणमा चीनका विभिन्न प्रान्तका सात लाख नागरिकले सांकेतिक स्वयंसेवा गरेका थिए । स्मारक भवनमा चीनका विभिन्न प्रान्तका फरक–फरक वस्तु प्रयोग भएका छन् । सिचुवान प्रान्तको ग्रेनाइट, क्वाङतोङको पोर्सिलियन माटो, पल्लो सान्सीका सल्लाको काठ, सिन्चियाङको विशेष प्रकारको वनस्पतिको बीउ, थाङसानको माटो, नान्चिङको रङ, खुनलुन पहाडको सेतो पत्थर, च्याङ्सी प्रान्तको पाइन लग, ताइवानको पानी र बालुवा यसमा मिसाइएको छ । नेपाल र चीनको सीमामा रहेर चुचुरोचाहिँ नेपाली भूभागमा पर्ने विश्वको सर्वोच्च शिखर सगरमाथाबाट ल्याइएको ढुंगा पनि यो भवनमा प्रयोग गरिएको छ । ५७.२ हजार वर्गमिटर क्षेत्रफलमा रहेको माओ स्मारक भवनको मुख्य प्रवेशद्वारको माथिपट्टि सुनौला अक्षरमा लेखिएको छ— अध्यक्ष माओ स्मारक हल ।

भवनको उत्तरतिर प्रवेशद्वार छ भने दक्षिणतिर निकासद्वार रहेको छ । भवनमा पस्नासाथ मार्बलबाट बनेको साढे तीन मिटर अग्लो माओको सालिक भेटिन्छ । मध्यभागको हलमा क्रिस्टलभित्र माओको शव छ । छातीसम्म चिनियाँ कम्युनिस्ट पार्टीको झन्डाले ढाकिएको शव कालो ग्रेनाइटको कफिनमा राखिएको छ । कफिनको चारैतिर चिनियाँ कम्युनिस्ट पार्टीको चिह्न, चीनको राष्ट्रिय चिह्न, चिनियाँ जनमुक्ति सेनाको चिह्न र माओको जन्म र निधनको मिति लेखिएको छ । स्मारक भवनको दोस्रो तलामा माओ चतुङसँगै चिनियाँ कम्युनिस्ट पार्टीका लोकप्रिय नेताहरू चाउ एन लाई, लिउ साओ ची, चु त, तङ स्याओ फिङ र छनयुनको नाममा स्मृति कोठा छन् ।

माओ स्मृति हलमा प्रवेश नि:शुल्क छ । हलभित्र पस्दा टोपी लगाउन पाइन्न । साथमा कुनै झोला, खाद्यसामग्री र क्यामेरा बोक्न निषेध छ । एकआपसमा बोल्न पनि पाइँदैन । चीन सरकारको आमन्त्रणमा आएका विदेशी उच्च पाहुनालाई भने विशेष सुविधा उपलब्ध हुन्छ । त्यस्ता पाहुनालाई भवनभित्र केही समय बस्ने र भवनको माथिल्लो तला अवलोकन गर्ने अवसर हुन्छ । ती पाहुनाले भवनभित्र माओको सालिकलाई पृष्ठभूमिमा पारेर फोटो खिच्न पाउँछन् तर माओको शवको फोटो खिच्नचाहिँ पाउँदैनन् ।

चीन भ्रमणमा आएका प्राय: नेपालीको इच्छा पनि माओको शव हेर्ने हुन्छ । त्यसमा पनि नेपालका कम्युनिस्ट पार्टी समर्पित नेता तथा कार्यकर्ता चीन आएका छन् भने त उनीहरूको सबैभन्दा ठूलो प्राथमिकता नै माओको शव हेर्ने हुन्छ । उनीहरूका लागि ग्रेटवालभन्दा पनि माओको शवको अवलोकन गर्नु प्राथमिकतामा पर्छ ।

सन् २०१७ को मार्चमा चीन भ्रमणमा आएका दाङ देउखुरीका तुलसीराम अधिकारीको सबैभन्दा ठूलो इच्छा माओको शव हेर्ने थियो । उनी लामो समय तत्कालीन माओवादी पार्टीसँग आबद्ध रहेर २०५७ सालदेखि तत्कालीन एमालेमा प्रवेश गरेका थिए । शिक्षण पेसासँगै कम्युनिस्ट विचारलाईआफ्नो आदर्श बनाएका अधिकारी चीन भ्रमणमा आउँदा माओ स्मारक भवन मर्मत–सम्भार भइरहेकाले ९ महिनाका लागि बन्द गरिएको थियो । माओको शव हेर्न नपाईकन फर्कनुपर्दा अधिकारीले थकथकाउँदै भने, ‘माओका कोटेसन र रातो किताब घोकेर जिन्दगीको आधा उमेर बिताइयो तर माओकै भूमिमा आएर पनि उनको शव हेर्न पाइएन ।’

चीन आएर माओको शव हेर्न नपाएकाले पछुताउने अर्का व्यक्ति पत्रकार महासंघ रोल्पा जिल्ला अध्यक्ष मानसिंह विश्वकर्मा पनि हुन् । उनी गत अगस्टमा चीन भ्रमणमा आएका थिए । ‘आफू त माओको नाममा जनयुद्ध लडेर आएको,’ सुरुमा उनी भन्दै थिए, ‘माओकै इतिहास पढेर हामीले लङमार्च पनि गरेका थियौँ ।’ तर, दुर्भाग्य उनी बेइजिङ आइपुग्दा चीन–अफ्रिका मञ्च सुरु भएकाले सुरक्षार्थ माओ स्मारक भवन बन्द गरिएको थियो । उनले भवनको अगाडि गएर फोटो खिच्नै पाएनन् । बरु ग्रेटवाल प्रवेश गर्ने स्थानमा ठडयाइएको माओको शालिक अगाडि मुठी उचालेर फोटो खिचे र चित्त बुझाए ।

नेपालमा कम्युनिस्ट विचार राख्नेका लागि माओको शव हेर्ने कुराले कति महत्त्व राख्छ भन्ने कुराको अर्को एउटा उदाहरणबाट स्पष्ट हुन्छ । सन् २०१८ को मे महिनामा नेपालबाट लोकनाथ सुवेदी र धरणीप्रसाद गौतम सपरिवार चीन भ्रमणमा आएका थिए । उनीहरूले माओ शवको अवलोकन गरे । बाहिर निस्किएर माओ स्मारक भवनलाई पृष्ठभूमिमा पारेर फोटो खिचे अनि त्यही साँझ ‘आज माओको शव हेरियो’ लेख्दै फेसबुकमा राखे । त्यसमा प्रतिक्रिया दिनेहरूले लेखे, ‘मक्कामदिना पनि पुगिएछ, अब मोक्ष पाइयो हैन त !’

प्रकाशित : पुस ७, २०७५ ०९:१८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

४० वर्षमा चीनको फड्को

बेइजिङ डायरी
सन् १९७८ मा विश्व अर्थतन्त्रमा चीनको हिस्सा १ दशमलव ८ प्रतिशत मात्र थियो । २०१७ मा १८ दशमलव २ प्रतिशत पुगेको छ । 
चेतनाथ आचार्य

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक पदासीन भएपछि ‘समृद्ध नेपाल सुखी नेपाली’ नारा अगाडि सारे । प्रधानमन्त्री ओलीको यो नारा नेपालका दुई छिमेकी मुलुकका कार्यकारीका नाराको नक्कल गरिएको सजिलै अन्दाज गर्न सकिन्छ ।

राष्ट्रपति सी चिनफिङले सत्तामा आउनासाथ ‘चिनियाँ सपना’ को नारा घन्काएर चीनलाई पुनरुत्थान गर्ने उद्घोष गरेको २ वर्षपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ‘मेक इन इन्डिया’ नारा उचाले । चिनियाँ राष्ट्रपति सी र भारतका प्रधानमन्त्री मोदीलेआफ्ना नारालाई कार्यान्वयन गर्न विविध कार्यक्रम अगाडि सारेका छन् ।

तर, ओली ठोस कार्यक्रम अगाडि सार्नुको सट्टा झिनामसिना कुरामा अल्झिएर समय बर्बाद गरिरहेका छन् । अरूका नारा नक्कल गर्नुभन्दा कामको नक्कल गरे नेपाली जनता साँच्चै समृद्धिको सिँढी चढ्ने थिए । समृद्ध र सुखी हुन सफल नेतृत्व र प्रभावकारी कार्यक्रमको आवश्यकता पर्छ । जनताप्रति कसरी उत्तरदायी हुनुपर्छ भन्ने चीनबाट सिक्नुपर्छ ।

चीन विश्वकै सबैभन्दा ठूलो विकासोन्मुख मुलुक हो । उसले गरेको प्रगति र विकासले विश्वलाई आश्चर्यचकित बनाएको छ । यो विकास र प्रगतिको पछाडि आधुनिक चीनका प्रणेता तङ स्यावो फिङको योगदानलाई भुल्न सकिँदैन । ४० वर्षअघि तङले जुन गोरेटो कोरेका थिए आज चीन त्यही गोरेटोलाई फराकिलो सडक बनाउँदै बढिरहेको छ । चीनले सुधार र खुलापन सुरु गरेको ४० वर्षमा के कस्ता उपलब्धि हासिल गर्‍यो, छोटो चर्चा गरौं ।

सन् १९७० को दशकमा चीन मूलत: दुईटा समस्याबाट गुज्रिरहेको थियो । एकातिर रुसले चीनमाथि नाकाबन्दी लगाएको थियो भने १० वर्षे सांस्कृतिक क्रान्तिले चीनलाई जर्जर बनाएको थियो । माओ त्से तुङकी कान्छी श्रीमती चियाङ छिङको नेतृत्वमा चाङ छुन छ्यावो, यावो वेनयुआन र वाङ होङवेनले चीनभरि लालआतङ्क मच्चाएका थिए ।

यी चारैजना चिनियाँ कम्युनिष्ट पार्टीको स्थायी समिति सदस्य थिए र उनीहरूलाई ‘ग्याङ अफ फोर’ भनेर चिनिन्थ्यो । उनीहरूकै जोडबलमा माओपछिका नेता तथा चिनियाँ सैन्य आयोगका उपाध्यक्षबाट तङ स्यावो फिङलाई हटाएर कुनै जिम्मेवारी नदिइकन नजरबन्दमा राखिएको थियो ।

पार्टी स्थायी समितिदेखि सडकका भित्तासम्म तङलाई प्रतिक्रान्तिकारी तथा गद्धार पुँजीवादी भनेर भाम गाली गरिएको थियो । १९७६ सेप्टेम्बर ९ मा माओ त्से तुङको मृत्यु भयो । माओको मृत्यु हुनुभन्दाअघि नै प्रधानमन्त्री चाउ एनलाईको मृत्यु भएकाले सो ठाउँमा माओले हुवा कुओफङलाई नियुक्त गरेका थिए । माओको मृत्युपछि हुवा नै पार्टीको सर्वोच्च पदमा पुगे ।

माओको मृत्यु भएको २७ दिनपछि हुवाले चलाखीपूर्वक पार्टी स्थायी समितिको बैठक अक्टोबर ६ तारिख रातको ८ बजे बोलाए । उक्त बैठकमा‘ग्याङ अफ फोर’ का चारैजनालाई गिरफ्तार गरियो । चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिले अक्टोबर १६ तारिख मात्र उनीहरूलाई गिरफ्तार गरेको औपचारिक घोषणा गर्‍यो र १० वर्षे सांस्कृतिक क्रान्तिको अवसान भयो । सांस्कृतिक क्रान्तिको अवसानको ९ महिनापछि १९७७ जुलाईमा मात्र तङ स्यावो फिङमाथि गरिएका सम्पूर्णकारबाही पार्टीले फिर्ता लियो र उनलाई पहिलेकै पदमा बहाली गर्‍यो ।

चिनियाँ कम्युनिष्ट पार्टीको ११ औं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक १९७८ डिसेम्बर २२ मा सुरु भयो । यही बैठकले खुला र सुधार नीति ल्याएको हो । खुला र सुधार नीति चिनियाँ कम्युनिष्ट पार्टीमा तङ स्यावो फिङले भित्र्याएका हुन् ।

तङको नीतिलाई पार्टीले अंगीकार गरे पनि तङ कहिल्यै चीनको प्रधानमन्त्री अथवा राष्ट्रपति भएनन् । माओको देहवसानपछि चिनियाँ कम्युनिष्ट पार्टीले अध्यक्ष पद हटाएर महासचिवको नेतृत्व स्थापना गर्‍यो । तङ पार्टीको महासचिव पनि भएनन् । त्यसभन्दा पहिले उनी २ पटक पार्टी महासचिव भइसकेका थिए ।

तङ स्यावो फिङले सबैभन्दा पहिले सनचनलाई आधुनिक सहर बनाउने सपना देखे । त्यतिबेला हङकङ बेलायतको अधीनमा थियो । तसर्थ उनले हङकङको ठ्याक्कै वारिपट्टि रहेको सनचनलाई हङकङजस्तै विकास गर्ने उद्देश्यले सन् १९७९ मा ‘सनचन विशेष आर्थिक क्षेत्र’ घोषणा गरे । आज ४० वर्ष नपुग्दै डेढ सय वर्षदेखि विकसित हङकङकै हाराहारीमा सनचन उभिएको छ । तङको योगदानलाई कदर गर्दै चीनभरि सनचनमा मात्र तङ स्यावो फिङको सालिक बनाइएको छ ।

बिरालो कालो होस् कि सेतो यसले मुसा मार्नुपर्छ भन्ने भनाइसाथ तङले अगाडि सारेको नीतिलाई अहिले चीनमा‘चिनियाँ विशेषतायुक्त बजारमुखी समाजवादी अर्थतन्त्र’ भनिन्छ । यसको अर्थ के हो भने कम्युनिष्ट नामले मात्र होइन कामले हुनुपर्छ । यही मियोमा घुमेको चीन आज संसारको भर्भराउँदो आर्थिक शक्ति बनिसकेको छ ।

डिप्लोम्याटिक पत्रिकाको एसिया प्यासिफिक अनलाइनका अनुसार सन् १९७८ मा विश्व अर्थतन्त्रमा चीनको हिस्सा १ दशमलव ८ प्रतिशत मात्र थियो भने २०१७ मा १८ दशमलव २ प्रतिशत पुगेको छ । यतिबेला चीनसँग विश्वको सबैभन्दा धेरै विदेशी मुद्रा ३१ खर्ब २० अर्ब अमेरिकी डलर सञ्चिति छ । कुल गार्हस्थ उत्पादनका हिसाबले अहिले चीन ११ खर्ब अमेरिकी डलरसँगै विश्वको दोस्रो ठूलो स्थानमा छ ।

प्रत्यक्ष वैदेशिक लगानीका हिसाबले चीन विश्वको तेस्रो स्थानमा आउँछ । सन् २०१७ सम्ममा चीनले एक खर्ब ७० अर्ब अमेरिकी डलर बराबरको प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएको छ । ४० वर्षमा चीनले आर्थिक विकाससँगै गरिबी निवारणमा पनि छलाङ मारेको छ ।

विश्व बैंकको तथ्याङ्कअनुसार १९७८ मा चीनमा गरिबीको रेखामुनि रहेका नागरिकको संख्या ५४ करोड २० लाख थियो । त्यतिबेला चीनको जनसंख्या ९६ करोड २५ लाख ९० हजार थियो । २०१८ सम्म आइपुग्दा गरिबीको रेखामुनि रहेकाहरूको संख्या लगभग ३ करोड छ ।

मंसिर १९ गते चीनको सामाजिक विज्ञान प्रतिष्ठानले जारी गरेको गरिबी निवारणमा उद्योगको भूमिका शीर्षकको नीलो पत्रअनुसार विगत पाँच वर्षमा चीनमा गरिबीबाट मुक्त भएकाहरूको संख्या ६ करोड ८५ लाख ३० हजार छ । हरेक वर्ष १ करोडलाई गरिबीबाट मुक्त गरिँदै आएको छ ।

२०१८ को अन्तसम्ममा वर्तमान मापदण्डमा आधारित ग्रामीण क्षेत्रको गरिबी जनसंख्या ८० प्रतिशत घट्नेछ भने ६० प्रतिशत गाउँ गरिबीबाट मुक्त हुनेछन् र ५० प्रतिशत जिल्ला गरिबीबाट मुक्त हुनेछन् । सन् २०२० सम्ममा चीनले शतप्रतिशत नागरिकलाई गरिबीको रेखामाथि उठाउने घोषणा गरेको छ ।

तङ स्यावो फिङले सुरु गरेको सुधार र खुलापनमा वर्तमान चिनियाँ राष्ट्रपति सी चिनफिङको सपनासँगै भ्रष्टाचार निर्मलीकरणले विकासलाई द्रुत गतिमा बढाएको छ । विशाल भूमि र अधिक जनसंख्याको तुलनामा उल्लिखित उपलब्धिलाई विश्वले अपत्यारिलो र आश्चर्यजनक मानेको छ ।

चीनका यस्ता उपलब्धिबाट नेपालले के सिक्ने ? नेपालले नारा मात्र नक्कल गर्ने कि आर्थिक विकास र गरिबी निवारणका व्यावहारिक कार्यक्रम पनि अगाडि सार्ने ? भौतिक विज्ञानको नियमअनुसार दुईवटा ठूला तातोपानीका भाँडाका बीचमा चिसोपानीको गिलास राख्यो भने त्यो गिलासको पानी पनि तात्छ । दुई विशाल आर्थिक शक्तिका बीचमा रहेको नेपालले छिमेकी मुलुकको विकासबाट सिक्न सक्नुपर्छ ।

जतिसुकै सफा र ठूलो घरमा बसे पनि छिमेकी गरिब र फोहोर छ भने आफ्नो पनि इज्जत रहँदैन भन्ने चिनियाँ भनाइअनुसार चीनले छिमेकी मुलुकको आर्थिक विकासमा सहकार्य गर्ने घोषणा गरेको छ । विदेशमा गरिने सहयोग र लगानीलाई चीनले एकद्वार नीतिअनुसार ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) मार्फत बढाएको छ ।

नेपालको उत्तरतिरको १४ सय किलोमिटरभन्दा लामो सीमा चीनको स्वायत्त प्रदेश तिब्बतसँग जोडिएको छ । नेपालको विकास, समृद्धि, स्थिरता र शान्तिले चीनको तिब्बतलाई पनि प्रत्यक्ष/परोक्ष असर पार्ने गर्छ । त्यसकारण नेपालको समृद्धि र विकासमा चीनले चासो राखिरहेको छ । नेपालचाहिँ भ्रष्टाचार र कुशासन पालेर फोस्रा नारा मात्र लगाउन व्यस्त छ ।

लेखक चिनियाँ अन्तर्राष्ट्रिय रेडियो (सी.आर.आई.) नेपाली सेवा, बेइजिङमा विदेशी विशेषज्ञका रूपमा कार्यरत छन् ।
chetnath@ymail.com

प्रकाशित : मंसिर २९, २०७५ ०७:५८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT