कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फेरि कलि फुलेर...

स्मृति
मनबहादुर मुखिया

काठमाडौँ — आजभन्दा ७३ वर्षअघि दार्जिलिङमा जन्मेकी अरुणा लामाले यो धर्ती छाडेको २० वर्ष भइसकेको छ । उनै अरुणाहरूको समयसँग हुर्के–बढेका ‘देउरालीका ठिटी हो’ ब्रान्डका रचयिता मुखिया भने आफ्नो आगत–विगत सम्झँदै छन् । यो सम्झनामा अरुणाको जन्मतिथि (सेप्टेम्बर ९, १९४५) पनि जोडिएको छ । र, जोडिएको छ— अरुणालाई अरुणा बनाउने तीन गुरुङको कहानी ।

फेरि कलि फुलेर...

दार्जिलिङको भंग्पूको विवाहको घर । हर्षोल्लासको रमाइलो चहलपहल । जन्तीको मनोरञ्जनका लागि आयोजित सांगीतिक कार्यक्रम । एउटी सानी बालिकाको गायनमा सबै झुम्मझुम्म झुमिरहेका । उसले गाउँदागाउँदै एउटा सम्मोहित पुरुषले बीचैमा रोके—
‘नानी, गीत कोसित सिक्दै छौ ?’
‘रेडियोको गीत सुनेर सिकेकी ।’
‘तिम्रोजस्तो प्रतिभा दार्जिलिङलाई चाहिएको छ ।’
ती पुरुष थिए विशिष्ट गायक–संगीतकार कपिलराज सुब्बा ।
ती सानी बालिका थिइन् अरुणा लामा ।
ओहो ! सुप्रीतले अरुणालाई दागबत्ती अर्पण गरेको बीस वर्ष बितिसकेछ । म विगतलाई आगतमा स्वागत गर्छु । स्मृति–कोषबाट फुत्त निस्कन्छ सन् १९५६ साल । यही सालसँग हातेमालो गर्दै देखा पर्छन् केही उल्लेख्य घटनाहरू ।


हीराकुमार सिंह, दलसिंह गहतराज र नवीन बर्देवाको परिकल्पना, योजना र अग्रसरतामा संस्थापित हुन्छ— नेपाली संगीत प्रतियोगिता, व्यवस्थापक समिति ।
अरुण भंग्पूबाट आउँछिन् अनि सेन्ट ट्रिजा स्कुलमा कक्षा सातमा भर्ना हुन्छिन् ।


जुलाई महिनामा आर्ट एकेडेमीले एउटा सांगीतिक कार्यक्रम आयोजना गर्छ । अम्बर गुरुङ, शेखर दीक्षित, रहरकुमारसहित अरुणाले पनि सामूहिक गायनमा अंश ग्रहण गरिन् । पासाङ वाङबलको शब्दहरू अनि अम्बर गुरुङको सुरताल । वाद्यवादकहरूमध्ये एक थिए तिनै कपिलराज सुब्बा । श्रोताहरू भावोत्तेजित नहुने कुरै भएन— बाँधन मायाले मलाई बाँधन ।
अरुणाले अक्टोबर महिनामा आयोजित पहिलो नेपाली संगीत प्रतियोगितामा सहभागिता जनाइन् । पूर्णसिंह गुरुङको शब्द र संगीतमा उनले दोस्रो स्थान हत्याइन् : याद अतीतको सम्झीसम्झी...
आगामी संगीत प्रतियोगिताहरू पनि उनकै प्रतीक्षामा थिए । मनबहादुर गुरुङका शब्द र संगीतले १९५७ मा उनलाई पहिलो स्थानमा पुर्‍याइदियो— दन्किरहेको दुग्ध चितामा...
फेरि पहिलो स्थानमै उक्लिन् १९५८ मा पनि । शब्द र संगीतका स्रष्टा थिए अम्बर गुरुङ । गीत थियो— फेरि कलि फुलेर अतीत सँगाली ल्यायो...
अरुणाको गायनयात्रामा गुरुङत्रयको अहम् भूमिका, आफैंमा संयोग !
–पूर्ण गुरुङले उनलाई एउटा नयाँ क्षितिज दिए,
–मनबहादुर गुरुङले त्यही क्षितिज उघारेर सुनौलो बिहानी दिए,
–अम्बर गुरुङले घाम, जून, तारा मात्र होइन सिङ्गै आकाशै दिए ।
त्यसो त सन् १९५५ तिरै उनले एउटा भजन स्कुलमै गाएकी थिइन् । आफ्नै काका सीबी लामाको शब्द र संगीत— मनमन्दिरमा कृष्ण तिमी आऊ...
***

अम्बर गुरुङको अभिभावकत्व र मार्गदर्शनमा उनले युगान्तकारी गायनयात्रा गर्दै थिइन् । अजम्बरी गीतहरू संगीतको ढुकुटीमा थप्दै थिइन् । कलकत्ताबाट लोकमनोरञ्जन शाखा, दार्जिलिङ आइपुग्यो । निरन्तर प्रवाहित नेपाली संगीतधारा केहीबेर अन्योलमा पर्‍यो पनि ।
१८ मई १९६१ को दिन उक्त शाखाको प्रमुख संगीतकार पदमा अम्बर गुरुङ नियुक्त हुन्छन् । रानुबिनाको मौरीहरू अलगअलग छहारीहरूमा ओतिन पुग्छन् । शरण र रणजीतको ‘संगम’, जीतेन्द्र बर्देवाको ‘सावन’, अशोक राईको ‘सरगम’ आदि संगीत संस्थाहरू गतिमान भए । कर्म योञ्जन र गोपाल योञ्जनले हिमालय कला मन्दिरको सौन्दर्य बढाए ।
शरणजीत र संगमको बहुमूल्य सम्पत्ति भनेकै अरुणा । सुरुमा जीतेन्द्र पनि सँगै थिए । उनीहरूको सहकार्यबाट जन्मेका गीतहरू :
– यहाँ फूल नखिली छ,
– हेर न हेर कान्छा, डाँडालाई फूलले ढाक्यो,
– देउराली पाखाले भन्छ, गाउँघरको मायाले भन्छ
२१ जुलाई १९६३ मा शरण र अरुणाको दाम्पत्य बन्धन । प्रेम, विश्वास, आपसी सम्मान र समझदारीको प्रतिफल । साज र आवाजको मिलन, ताल र सुरको धड्कन, कला र गलाको संगम । उहाँहरूको निवास सुरमन्दिरमा रूपान्तरित भइसकेको थियो । जो पनि त्यहाँ पुगेपछि स्पन्दित र विरेचित हुन्थ्यो । उनीहरूको सिर्जनात्मक सहकार्यबाट नेपाली गीतसंगीतमा एउटा फरक धार प्रवाहित भएको थियो । गीत प्रस्तुतिको सरलता नै यो सुरिलो दम्पतीको सम्पत्ति थियो । उनीहरूको जीवनयात्रा भनेकै सांगीतिक सहयात्रा हो । कसको के थाहा अगाडि कस्तो मोड छ, कसले साथ छोड्छ, कसले सम्बन्ध तोड्छ ? यस्तै यस्तै भयो ।
अरुणाको ओइलिँदो जीवनको पीडालाई शरणले हास्यरसको चास्नीमा घोलिदिए । गुलियो पीडाको काउकुती लगाउँदै अरुणाले सबैलाई खुला हाँसो बाँडिदिन्थिन्— जोबन गयो बैंस त गएन लै लै ।


१४ जुन, १९७४ को दिन शरणको आत्मा परमात्मामा समर्पित भयो । यो प्रलयमा अरुणाको सबथोक विलय भयो । जीवनको लय भंग भयो । गीतको पँखेटा लाएर व्यापक एवं विस्तृत उडान भर्दै गरेकी एउटी कोकिलकण्ठी नारी आफ्नै निवासमा बन्दी भइन् । उनको आकाश खुम्चेर सादा आँखा भयो । एकै व्यक्तिमा उनले अनेक व्यक्तित्व हाँकिन्— मातृत्व, पितृत्व र अभिभावकत्व । हुर्कंदै गरेका ससाना छोराछोरीलाई सही दिशानिर्देश गर्नु चानचुने चुनौती थिएन । बदलिँदो परिस्थितिको संघर्षपूर्ण दिनमा एउटी ‘गायिका’ भने कहींकतै बेपत्ता भइन् ।
स्रष्टा, शुभचिन्तक, साथीभाइले बारम्बार अनुनय–विनय गर्दा पनि कसैको केही लागेन । उनी गाउन मानिनन् । अहँ, मान्दै मानिनन् । रेडियो र क्यासेटबाट उनकै गीतहरूले झक्झकाउँदा पनि उनी पग्लिनन् । घाम, जून र ताराहरू घरीघरी उनको आँखामा आकाश खोज्न आए । वनजंगल र भीरपाखा उनलाई हरियाली माग्न आए । नभन्दै एक दिन उनले सपनाको खिल्खिलाउँदो हाँसोमा छहरा बगेको सुनिन् । सुप्रीतका हँसिला दाँतहरूमा हार्मोनियमका रिडहरू गुन्जिएको सुनिन् । एउटी गायिकाको पुनर्जन्म भयो यसरी ।


फरक स्वाद र नयाँनयाँ बान्कीका गीतहरूले अरुणा गायनलाई नयाँ अवतार दिए । अग्रज, समकालीन र नयाँ पुस्ताका स्रष्टाहरूले उनका अज्ञात एवं सूक्ष्म सुरसौन्दर्य खोजेर उद्भासित गरिदिए । वेदना र करुणा मात्र अरुणाको पहिचान होइन । विविध भावदशाका अनुभूतिलाई प्रतिध्वनित गर्दै उनले धेरै थरी गीतहरू दीर्घजीवी बनाएकी छन् ।

जलपाइगुढीको रेडक्रस मैदानमा उनले पाँच हजारभन्दा धेरै दर्शकलाई रवीन्द्र संगीत गाएर/सुनाएर मन्त्रमुग्ध पारेकी थिइन् । उनको प्रिय गीत थियो : जदि तोर डाक कयब नासुने, एकला चलो रे, एकला चलो रे ।
अस्तित्वबोध, जातीय चेतना, स्वाभिमान र पहिचानको घोषणा गर्दै उनी दर्शकश्रोतालाई जुरुकजुरुक उचाल्न सक्थिन्—
नेपाली ! गौरव गर्छौं आफ्नैपनमा
घमण्डी चाहिं होइनौं है ।
उनका अनुज पुस्ताका धेरै स्रष्टाहरू उनको सुमधुर आवाजबाट पुरस्कृत भएका छन् । उनका अग्रज र समकालीन स्रष्टाहरूले अरुणालाई ‘अरुणा’ बनाएका हुन् । उनको त्रासद स्वरलहरीमा घोलिएर कतिपय गीतहरू श्रोताको मर्ममै बिझेका छन् ।
अरुणा र शरणसँग मेरो निकटता कसरी झाँगियो, मलाई थाहा छैन । तर उहाँहरूसँग मैले धेरै मञ्चहरूमा साझेदारी गरेको छु । दार्जिलिङबाहेक कालेबुङ, पेदोङ, गान्तोक, फुन्सिलिङ, भुटान आदि विभिन्न स्थानमा उहाँहरूसँगै पुगेको छु ।


‘भाइ मोनो एक्ट गर्न जानुपर्छ है,’ शरण दाजुले मौखिक निम्तो दिनुहुन्थ्यो । स्नेह र आत्मीयताका ती प्रसंगहरू भुल्नै नसकिने रहेछन् ।
एकपटक अरुणा गीत रेकर्ड गर्न काठमाडौं आएकी थिइन् । हाम्रो डेरामा सांगीतिक जमघट । मणिकमल, प्रकाश गुरुङ, पवन गोले, सुधीर क्षत्री, रमेश र अन्य पनि थिए । हार्मोनियमका रिडहरूमा मणिकमलका औंलाको सुरिलो नृत्य । दुकी तबलामा प्रकाशका औंलाका तालहरू, साज र आवाजका छालहरू । पुरानापुराना गीतहरू गाएर दिदीले हामीलाई अतीततिर सुखद यात्रा गराइन् । पुरानो परिवेश फर्किसकेको थियो । गायन, गफ, ठट्टा, रमाइलो, खुला हाँसो । थाहा नै नपाई एउटा सानोतिनो दार्जिलिङे माहोल कोठाभित्र छिरिसकेछ । जमघटको टुंग्याउनीमा सबैले मिलेर गायौं— हेर न हेर कान्छा डाँडालाई फूलले ढाक्यो...
***

किरण भवन । दिव्य खालिङ निवास । नारायणगोपाल र अरुणा । अरू पनि कलाकारहरू । गायनयात्राको उत्तराद्र्धमा गाइएका गीतहरू स्वस्फूर्त रूपमा दिदीका गलाबाट प्रवाहित भइरहे । मानवीय भावनाका मार्मिक अनुभूतिहरू, जीवनजगत्का हार्दिक संवेदनाहरू उनका परिपक्वि गायनबाट अभिव्यञ्जित भइरहे— कहिल्यै नबिर्सिने गरी । बहिनी ग्रेस खालिङको न्यानो सत्कार सुनमा सुगन्धझैं मग्मगाएको थियो ।


सरलता, शालीनता र विनम्रता अरुणाका आभूषण हुन् । सबै उमेरका कलाकारसँग घुलमिल गर्न सक्ने, हाँसखेल गर्न सक्ने उनको विशेषता नै थियो । गम्भीर गायनको विशिष्ट गायिकालाई केही प्रसंगहरूमा प्रस्तुत गर्न चाहन्छु ।


मिति, महिना र साल बिर्सें । दिउँसो १ बजेतिर छोटा कागझोडाबाट रेलवे स्टेसन पुग्छ । बजारतिरबाट अरुणा एक्लै फटाफट आउँदै थिइन् । तत्कालै आफैंलाई रेलको डब्बाभित्र लुकाएर उनलाई पर्खिबसें । छेउमा आइपुग्नेबित्तिकै बर्लुक्क उफ्रेर उनको खुट्टा ढोगिदिएँ । उनी तर्सेर पछि सरिन्, ‘आमा...! ’
तुरुन्तै म बजारतिर लम्कें । अलि पर पुगेर मुन्टो बटारें । उनी हाँस्दै रिसाउँदै, रिसाउँदै हाँस्दै थिइन् । चोरऔंलाको पिस्तोल देखाइन्, ‘लाखेस् !’
त्यतैतिरबाट कलाकार बहिनी मरियममित लेप्चा आउँदै रहिछन् ।
‘के भयो दिदी ? किन हाँसेको ?’
‘उ... त्यो पगलाले हेर् न ।’
‘कोल्ले ? ए... एमबी दाजुले ?’
‘कुन्नि कहाँबाट ह्वात्तै आएर मलाई तर्साइदियो ।’
दुवै जनाको संयुक्त हाँसो, ‘गलललल...’


१९६७ को डिसेम्बर हो कि जनवरी । जेसुकै होस्— गान्तोकमा जाडो ह्यान्डसम भएछ । निर्माणकार्य सिद्धिनसिद्धिन लागेको नरखिल होटल । कलाकारहरूको अस्थायी शिविर त्यहाँ । अम्बर गुरुङ, शान्ति ठटाल, कर्म योञ्जन, कुमार सुब्बा, शरण प्रधान, अरुणा लामा, देवदत्त ठटालको नृत्य समूह । गोर्खा दु:ख निवारक सम्मेलनका रंगकर्मीहरू— केबी मोक्तान, गणेश रिजाल, रामबहादुर मुखिया, टंक शर्मा र म आफैं पनि ।
टाँसी नामग्याल हायर सेकेन्डरी स्कुलको रंगमञ्च । गीत, संगीत र नृत्य । पूरै स्कुल भवन अतिरञ्जित, मनोरञ्जित । एकांकी मञ्चित हुँदै थियो । अरुणा काखे नानीलाई बोतलको दूध खुवाउँदै गफिन थालिन्—
‘यसको नाम कसले राखेको थाहा छ ?’
‘अहँ थाहा छैन ।’
‘प्यारेलाल ?’
‘को प्यारेलाल ?’
‘लक्ष्मीकान्त प्यारेलालको प्यारेलाल नि ।’
‘कसरी ?’
‘हामी माइतीघरको गीत रेकर्डिङ गर्न बम्बई गएका थियौं नि हो । त्यति नै बेला यो जन्मेको । प्यारेलाललाई सपनाजस्तै लाग्यो रे ।’
गफिँदागफिँदै रंगमञ्चमा प्रवेश गर्ने मेरो पालो आएछ । नानीले खाँदै गरेको दूधको बोतल थुत्त खोसें । गोल्ज्याङ्ग्रे केटाको भूमिका थियो । दूध चुस्दै नाटयसंसारमा छिरें । आफ्नो भागमा परेको चरित्र दर्शकवर्गमा सुम्पेपछि मेरो फिर्ती सवारी ।
अरुणाको आँखाबाट धूवाँ निस्कँदै थियो । तर, उनको हाँसोले धोका दिइहाल्यो । रिसाउँदै हाँस्दै बोतल खोसिन् ।
‘एइ साला, बोतल किन जुठो पारिस् ?’


नाटकको चरित्र नै बनेर उत्तर दिएँ । रिसाउँदै हाँसिन्, ‘तेरो जुठो खाएर मेरो छोरी पनि तोंजस्तै बलडयाङ्ग्रे भयो भने मो के गर्नु भन् त ?’
दुई–चार मुड्की मेरो ढाडमा पछारिन्, टेबलटेनिसको बल उफ्रेजस्तो ।
१९८६ को मार्च हो कि अप्रेल । दार्जिलिङमा मेरो बुबाको निधन । १३ औं दिनमा चोख्याउने काम । इष्टमित्र शाखासन्तान र साथीभाइको भेला । अपराह्नतिर निकट सम्बन्ध भएका कलाकारहरूको भेला— बैठककोठामा सन्चोबिसन्चोका कुरा, गीतसंगीत तथा नृत्य नाटकको कुरा । एकै विषयमा सीमित थिएनौं । प्रसाद ग्रहण आरम्भ । चुपचापचुपचाप... चापचाप चुपचुप... । अचानक अरुणाको मुखबाट कुरा उम्किहाल्यो—
‘नरिसा ल भाइ, कुनि कोल्ले त मलाई मनबहादुर मुखिया मोरेछ पो भन्यो त ।’
खितितिति ! गललल !! गललल !!!
मुखमुखको ओढारबाट भाग्न थाले हाँसोहरू । एक छिनपछि सबैले स्वर बिसाए ।
‘मज्जा आयो नि...’, मेनुका प्रधान बहिनीको मुखबाट चार्ली चापलिन फुत्त बाहिर निस्क्यो । ‘मेरो बाउ खस्यो भनेर तिमारुलाई मज्जा आयो ?’,यति शब्दहरू मेरा पेटमा अटाएनन् ।
सामूहिक हाँसोको विस्फोट— गललल... गललल....!

प्रकाशित : भाद्र ३०, २०७५ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?