कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

मेरी जिजुबज्यै

संस्मरण
विष्णु भट्टराई

काठमाडौँ — इतिहासमा कतिपय विवरण र वृत्तान्त त्यत्तिकै हराएर जान्छन् । कति लेखिन्छन्, कति जनश्रुतिझैं बन्छन् । विजेताहरूको इतिहास लेखिन्छ अथवा कनीकुथी बनाइन्छ । तर, झिनामसिना र साधारणजनको कथा त्यसै बिलाएर जान्छ ।

मेरी जिजुबज्यै

रामेछापको गैह्राथोकमा जन्मे–हुर्केकी एउटी साधारण महिला कसरी संयोगले राणाकालीन दरबारमा भान्से र भण्डारे बनिन् भन्ने इतिहास पनि जनश्रुतिझैं मात्रै छ । यी साधारण नारी नन्दकुमारी भट्टराईले सुनाएको बयानका आधारमा उनका ५२ वर्षीय पनाति विष्णु भट्टराईले गरेको यो संस्मरण आफैंमा रोचक लाग्छ । श्री ३ जुद्धशमशेरकालमा दरबार पस्दा नन्दकुमारी ३० वर्षकी थिइन् । त्यसपछि आफ्नो जीवन रहिन्जेल उनी दरबार वा आसेपासेकै आश्रयमा रहिन्, सेवक बनिरहिन् । राणाहरूकै निगाहमा आफ्ना सन्तानको सरकारी जागिर तराईको महोत्तरी–धनुषातिर तोकिएपछि रामेछापबाट भट्टराई परिवार महोत्तरीको गौशालामा सर्‍यो । २००७ तिर राणा खलकले जानकी मन्दिर आसपासमा जलमग्न अवस्थामा थोरतिनो बक्सिस जमिन पनि दिएका थिए । तर, नन्दकुमारीले त्यो लिन चाहिनन् । बरु जुद्धशमशेरकै खलकले बक्सिससरह २०१४ सालतिर नन्दकुमारीका हातमा ५ हजार रुपैयाँ राखिदिएका रहेछन् । जुद्धशमशेरको निधन भएपछि जंगबहादुर राणाका भान्जा खलकतिर नन्दकुमारीको ‘सेवक’ काम सारिएको रहेछ । राणा शासन गयो, समय बदलियो । तैपनि उनी जनकपुरमा रहेका राणा खलकको सेवक बनेर बसिन्, झन्डै मृत्युपर्यन्तै ।

मेरो हजुरबा पाँच वर्षको उमेर छँदा बूढा हजुरबुबा (जिजुबाजे) परलोक हुनुभएको रहेछ । बूढी हजुआमालाई पाँच वर्षको अबोध नाबालक छोरो टुहुरो भएकोमा असाध्यै ठूलो पीर भएछ । कसरी जीवनयापन गर्ने होला भन्ने चिन्ताले बूढी आमा पिरोलिनुभएछ । आफ्ना दुई छोरीहरू र एक मात्र छोराको लालनपालन र हेरविचार गर्नुपर्ने चिन्ता सानो पक्कै थिएन । यसरी दु:ख–चिन्ताको आहालमा डुबेको देखेर बूढी हजुरआमाकै एक साथीले आफू श्री ३ जुद्धशमशेर महाराजको दरबारमा जागिरे भएको बताएछन् र ‘यदि दरबारमा जागिर खान जाने भए सघाउन सक्छु’ भन्दै आस देखाएछन् ।


‘तपाईंले घर–परिवार छाडेर काठमाडौंमा महाराजको दरबारमा जागिर खाने इच्छा गर्नुहुन्छ भने म तपाईंलाई सहयोग पुर्‍याउन सक्छु’ भनेर सुनाएका रहेछन् । यो कुराले बूढी हजुरआमाको अन्तर्मनमा आफ्नो घरआँगनमा साक्षात देवता प्रकट भएसरह भएछ । एकहप्ते छुट्टी लिएर गाउँ आएका साथीले घर सल्लाह मिलेमा बूढी हजुरआमालाई आफूसँगै दरबार लिएर जानेसमेत बताएछन् । घरतिर ससुरा र श्रीमान् स्वर्गे भइसकेकाले बाँकी सल्लाह माइतीघरतिर मात्रै थियो । ‘तिम्रा माइतीले हुन्छ भनेर मान्छन् भने तिम्रा साना नानीहरूको भविष्य राम्रो बन्नेछ’ भनेर साथीले आस देखाएपछि बूढी हजुरआमा झनै उत्साहित भएकी रहिछन् । माइती खलकले पनि ‘श्री ३ जुद्धशमशेर महाराजको दरबारमा जागिर खाने अवसर पाउनु त अहोभाग्य’ भनेर हर्ष जनाएका रहेछन् । कुरा मिलेपछि साथीसँग काठमाडौं जाने टुंगो भयो ।


यो विक्रम संवत् १९९० साल माघ दुई गते गएको महाभूकम्पपछिको कुरा हो, सत्यतथ्य इतिहास । गाउँका छिमेकी साथी त्यही महाभूकम्पले धनजन लगेर बिचल्ली बनेपछि घर परिवार र आफ्नो जीवन धान्न महाराजको दरबारमा जागिर खान गएका थिए । यसरी बूढी हजुरआमाको जीवनयात्रा राजधानी काठमाडौंमा श्री ३ महाराजको दरबारतर्फ अघि
बढ्यो । उतिबेला सवारी साधन नभएको हुनाले पैदल नै असाध्यै कष्ट झेलेर यात्रा गर्नुपथ्र्यो, तीन दिनपछि साँझको बत्ती बाल्ने समय पारेर बज्यैहरू जुद्धशमशेरको दरबार पुग्नुभएछ । रामेछापको गैह्राथोकबाट पैदल हिंडेरै काठमाडौं आउँदाको दिनरातको हिसाब हो यो ।


दरबारमा एउटी नयाँ अनुहार भएकी महिला जागिर खान आएको खबरले दरबारभित्रका अरू महिला सुसारेबीच खासखुस र सोधपुछ बढ्दो थियो । दरबारको भित्री आँगन (पटाङ्गिनी) मा निकै भीड बढेको र हल्लाखल्ला भएको खबर महाराज जुद्धशमशेरको कानमा एउटा भित्री ढोकेले पुर्‍याएछ । महाराजले ‘दरबार आएका नयाँ पाहुनाहरूलाई भोकप्यास लागेको होला, चाँडो गरेर भान्सा तयार गर्ने हुकुम’ चलाएछन् । ती नयाँ पाहुनालाई भोलि बिहान दर्शनभेट दिने खबरसमेत पठाएछन् ।


एक घण्टापछि भान्सा तयार भएको खबर आयो । धारामा गएर हातगोडा धोएर बूढी हजुरआमासमेत खाना खान बसेकाको लहरमा लाम लागेर बस्नुभएछ । तर, तीन दिनको हिँडाइ र थकानले यसरी उभिन सक्ने स्थिति रहेन । बूढी हजुरआमामा छटपटाहट सुरु भएछ । नयाँ महिला पाहुनालाई सन्चो नभएको खबर दरबारभित्र पुग्नासाथै औषधिमुलो गर्ने वैद्य हाजिर भएछन् । वैद्यले पनि लामो दूरीबाट कष्टकर यात्रा गरेर आएको हुनाले थकाइले गर्दा यस्तो भएको हो, कुनै चिन्ता लिनुपर्दैन भन्दै उपाय बताएर गएछन् । ‘खाना खाने इच्छा नभए एक ठूलो ग्लास मन तातो दूध पिउन दिने र एउटी महिला सुसारेलाई उनको साथमा सुत्न लगाउने । अनि, उनको हातगोडा शरीरमा तेल मालिस बेस्सरी गर्न लगाउने,’ वैद्यले दिएको उपाय थियो यो । यो उपायपछि बिहानपख ब्युभँmदा शरीर हलुंगो चंगा भएको र आफूलाई अब सन्चो भएको कुरा महिला सुसारेलाई बूढी हजुरआमाले सुनाउनुभएछ ।


बूढी हजुरआमा पहाड रामेछापमा जन्मनु–हुर्कनुभएको थियो । बंैसका दिनमा ३ सन्तान अघिपछि लगाउँदै भोकप्यास मेटाउने उपायमै कुदिरहनुभयो । एकाएक सपनाबाट ब्युझिएजस्तो स्थिति सामुमा आइपुगेको थियो । खानपिन, तेलमालिस, सुसारे सबै आमनेसामने थिए । बिहानीको चियाखाजा पनि एउटी भान्सेले आफ्नो ओछयान नजिकै लिएर आएकी थिइन् । ती भान्सेले सोधिछन्, ‘महाराजसँग दर्शनभेट पाउनुभएको छ कि छैन ?’


कुराकानी चल्र्दै गर्दा एउटा अजंगको खाइलाग्दो मोटो, अग्लो र सल्लाको रूखजस्तो ज्यान भएको पहरेदार दरबार नै थर्काउने गरी कराउँदै आँगनमा आइपुगेछ । ‘महाराजको सवारी सिंहदरबार अड्डातर्फ हुनै लागेको छ,’ऊ कराइरहेको थियो ।


छिनभरमै महाराज आइपुगे, आफ्नो रजगजका साथ । आउनासाथै श्री ३ जुद्धशमशेरले ‘हिजो बेलुकी दरबारको कारिन्दाको साथमा आएकी महिला खै कहाँ, कता छिन ?’ भनेर मर्जी गरेका रहेछन् । तुरुन्तै ती महिलालाई दरबारिया कारिन्दाले महाराजसम्मुख उपस्थित गराएछन् । वरिपरि सिपाहीहरू, बीचमा महाराज श्री ३ जुद्धशमशेर ! लामालामा जुँगा मुख र ओठको दुई किनारमा घुमाएर पालेका ! गह्रांै ओजनदार स्वरले सोधेछन्, ‘नानी ! तिमी कहाँबाट आएकी हौ ? तिम्रो विवाह भएको छ कि छैन ? बिहे भएको भए घरमा को–को छन् ? बालबच्चा सन्तान कतिओटा छन् ? दरबारमा जागिर खान जाने सल्लाह–स्वीकृति घर परिवारमा वा माइतीघरमा गरेकी छौ कि छैनौ ?’


यसरी महाराजले अत्यन्त जरुरी प्रश्न राख्दा बूढी हजुरआमाको कोमल नारी हृदयमा ‘महाराज विष्णु अवतार भगवान् नै हुन्’ जस्तो लागेको रहेछ । यी प्रश्नपछि सिंहदरबार अड्डातर्फ जान मोटरमा राज हुने बेलामा अन्तिम प्रश्न मर्जी भएको रहेछ । ‘के जागिर खाने निश्चय गरेरै घरबाट हिँडेकी हौ त ?’


बूढी हजुरआमालाई महाराजले सोधेको प्रश्नले साँच्चिकै अठोट जन्माइदिएछ— अब आजीवन दरबारमै कारिन्दा बन्ने । ‘म अबला नारीको जीवन–मरण दरबारकै सेवामा अर्पण गर्नेछु,’ बूढी हजुरआमाले मसिनो स्वरमा भनेकी रहिछन् ।


‘तिम्रो मन हृदय समुद्रजस्तो ठूलो र फराकिलो रहेछ । म तिमीदेखी असाध्यै प्रसन्न भएँ, ल आजको मितिदेखि तिमी दरबारकी रानीसाहेबको सेवा टहल र शुश्रुषा कार्यका लागि दरबारभित्रको सुसारेमा तिम्रो जागिर पक्का भयो,’ महाराजबाट हुकुम भएछ । अनि, भान्साघरमा काम गरिरहेकी मुख्य भान्से सुसारेलाई महाराजले ‘यी महिलालाई भित्र रानीसाहेब राज भएको बैठककोठामा पुर्‍याएर आउनू’ भनेर मर्जी भएको रहेछ ।


बूढी हजुरआमालाई मासिक १५ रुपैयाँ तलब दिइएको रहेछ । अरू दरबारीया सेवासुविधा, खानपिन थियो नै । रानीसाहेबको सेवा–चाकरी गर्ने काम थियो । कुनै बेला भान्से काम पनि आइपथ्र्यो । तैपनि बूढी हजुरआमाले आफ्ना छोराछोरीलाई पढाउन–बढाउन र सरकारी जागिरमैं लगाउन अनेक यत्न गरिन् । बूढी हजुरआमाको त्यही दरबारिया सेवा–चाकरीको भरथेगले आज हामी नाति–नातिना र पनाति–पनातिनाहरू यो निम्छरो इतिहासमा पनि गौरव गर्न सक्ने भएका छौं ।

प्रकाशित : श्रावण २६, २०७५ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?