भालेमुकुन्डो- कोसेली - कान्तिपुर समाचार

भालेमुकुन्डो

कथा
मोहनराज शर्मा

काठमाडौँ — उसलाई तन्द्राले घेर्‍यो । तन्द्रामै उसले देख्यो, हावामा झुन्डिएको अतीतको भव्य पुस्तकका सुनौला पानाहरू फरर्र फुक्दै गए । सात वर्षअघिको एउटा पानामा ऊ लमलम हिंड्दै गरेको चित्र छापिएको थियो । त्यो चित्र जिउँदो भएर पुस्तकका पानाबाट फुत्त बाहिर निस्क्यो र जीवित हर्ष बनेर महलजस्तै भव्य घरतिर लम्किरहयो ।

साँझले छोप्दै ल्याएको वातावरण घुर्मैलो भएको थियो । हतारहतार त्रिभुवन विमानस्थल आइपुगेर गाडी राख्न खोज्दा सृष्टिले पार्किङमा कतै खाली ठाउँ देखिन । कोचाकोच पारामा जथाभावी राखिएका गाडीहरूको छिचोल्नै गारो व्यूह देखेर ऊ ठूलै रनभुल्लमा परी । सात वर्षपछि अमेरिकाबाट आएको हर्षको हवाइजहाज अघि नै ओर्लिसकेको हुँदा ऊ एकदमै हडबडिएकी थिई । अरू केही नसुझेर उसले रिसको झोंकमा बेसरी हर्न थिची । ऊ दारा किटेर हर्न थिचिरहेकै बेला एक्कासि कानमा छिरेको आवाजले उसका मनमस्तिष्कलाई एकदमै मीठो पार्‍यो । गाडीको झ्यालबाट भित्र पसी उसका कानमा घन्टीझैं बज्दै गरेको आवाज थियो, ‘स्विटी, डियर स्विटी...!’
हर्न थिच्न छाडी उसले परक्क मुन्टो बटारेर झ्यालतिर हेरी र सबै दाँत देखाउँदै बुरुक्क उफ्रेर चिच्च्याई, ‘ओहो हर्ष, तिमी ! सामान खोइ त ?’
‘यी यो ट्रलीभरि छ, उचालूँ !’ उसले साँच्चै ट्रली उचाल्न खोज्यो ।


‘हर्ष, तिम्रो जिस्किने बानी अझै गएको रैनछ !’ उसले हलुका खित्का मिसिएको आवाज काढी ।
‘नानीदेखिको बानी हो डियर, त्यसै कहाँ जान्छ र ! अँ त स्विटी, शम्भु खोइ त ? के ऊ मलाई लिन आएन ?’ उसले गाडीभित्र चियाउँदै सोध्यो ।
‘तिम्रो परम मित्र र मेरो पतिपरमेश्वर शम्भुशरण अफिसको जरुरी कामले पोखरा गएको छ, भोलि मात्रै फर्किन्छ !’ उसले अलि झिंजिएर भनी ।
‘क्या बोर !’ उसले मुख बिगार्‍यो ।
‘बोर मान्नु पर्दैन हर्ष, किनभने उसले तिम्रो स्वागतमा मलाई खटाएको छ र कुनै कुरामा कमी नहोस् भनेर पटकपटक सावधान गराएको छ ।’ उसको स्वर मधुबनको मीठो समीरझैं सुस्तसुस्त बग्यो ।


हर्षले सन्चो मान्दै भन्यो, ‘त्यसो भए ठीक छ !’
‘हर्ष, अब खुरुक्क गाडीमा आएर बस !’ उसले गाडी चालु गर्दै भनी ।
‘हस्, डियर !’ भन्दै सामान राखेपछि ऊ अगाडि आएर गजक्क परी सृष्टिका छेउमा बस्यो ।
सृष्टिले पार्किङबाट बाहिर निकालेपछि गाडी जाम सडकमा घस्रिन लाग्यो । सानाठूला वाहनहरूको लस्करका माझमा परेर सुस्तसुस्त गुड्न थालेको गाडीभित्र हर्षले आफूलाई कैद भएजस्तै ठान्यो । एकदमै उकुसमुकुस लागेर उसले आँखा चिम्ल्यो र सिटमा पूरै पिठ्युँ अडयाएर ऊ ढल्क्यो । छिट्टै उसलाई तन्द्राले घेर्‍यो । तन्द्रामै उसले देख्यो, हावामा झुन्डिएको अतीतको भव्य पुस्तकका सुनौला पानाहरू फरर्र फुक्दै गए । सात वर्षअघिको एउटा पानामा ऊ लमलम हिंड्दै गरेको चित्र छापिएको थियो । त्यो चित्र जिउँदो भएर पुस्तकका पानाबाट फुत्त बाहिर निस्क्यो र जीवित हर्ष बनेर महलजस्तै भव्य घरतिर लम्किरहयो । ऊ महलको भर्‍याङमा पुगेर धमाधम खुड्किला उक्लिन थाल्यो । माथि उक्लेर ऊ महँगा मालसामानले सजिसजाउ बैठककोठामा पुग्यो । त्यहाँ पलासझैं सेतै फुलेको एउटा डरलाग्दो बूढो छेउमा बन्दुक तेस्र्याएर बसेको थियो ।


‘नमस्कार !’ हर्षले अदबसाथ भन्यो ।
‘नसोधी किन आयौ, ठोकौं गोली ?’ बूढाले बन्दुक सोझ्याएर बाघगर्जन गर्दै हर्षको सातो खायो ।
‘म सृष्टिको एकदमै मिल्ने साथी हुँ र उसको हात माग्न आएको !’ हर्षले कुनै भूमिका नबाँधी आफ्नो कुरो राख्यो ।
‘के रे, मेरी छोरीको हात माग्न रे ! सुन, हिजो मात्रै त्यो शम्भु भन्ने पनि हात माग्न आएको थियो ! त्यो ठिटो मलाई मन पर्‍यो, मैले उसलाई वचन दिएर बिहेको कुरो छिनें । अब तिमी खुरुक्क जान्छौ कि ठोकौं गोली ?’ उसका छातीमा बन्दुक टाँसेर बूढो फेरि गज्र्याे ।
‘म, शम्भु र सृष्टि तीनै जना क्याम्पसका एकदमै मिल्ने साथी हौं । मेरो अन्तिम बिन्ती छ, एक पटक सृष्टिसँग ऊ मलाई बिहेका लागि रोज्छे कि शम्भुलाई भन्ने बुझिदिनोस् ! ऊ मसँग बिहे गर्न रुचाउन्न भने म देशै छाडेर गइदिन्छु’, उसले अलि दरो भएर भन्यो ।
‘एउटी छोरीका लागि दुईदुई लोग्नेको उम्मेदवारी ! हुँदैन, एउटालाई अहिले नै गोली ठोकेर सिध्याउँछु’ भन्नेबित्तिकै बूढाले बन्दुक ड्यांग पड्कायो ।


गोली लागेर रगतको भल बगाउँदै हर्ष भर्‍याङमा पुग्यो र खुड्किलाहरूमा ढुनमुनिदै तलतिर लाग्यो । तल पुगेर ऊ अतीतको भव्य पुस्तकको त्यही सुनौलो पानामा पछारियो जहाँबाट ऊ फुत्त बाहिर निस्केको थियो । ऊ आफ्ना फोटामा समाहित हुनासाथ पुस्तक डयाम्म बन्द भई हावामा बिलायो । यसका साथै हर्ष पनि झल्याँस्स भयो र उसको तन्द्रा पनि टुटयो ।
हर्षले सृष्टितिर हेर्‍यो, ऊ गाडी चलाउनामा नै व्यस्त थिई । गाडी विमानस्थलबाट बाहिर निस्केर तीनकुने र कोटेश्वर हुँदै रिङरोडमा आइपुगेको थियो । त्यहाँ आइपुगेर गाडी ‘न्यू गजुर रेस्टुरेन्ट एन्ड बार’ को विशाल हाताभित्र छिर्‍यो ।


रेस्टुरेन्टभित्र लहलह दुबोको हरियालीले ढाकेको ठूलो लन थियो । लनका वरिपरि बरन्डाजस्तोमा कुर्सी–टेबल टक्कटक्क मिलाएर राखिएका थिए । चारैतिर झलल्ल बिजुलीबत्ती बलेको थियो । पल्लो कुनाको खाली मेच भएको ठाउँमा पुगेर हर्षले केही सम्झिँदै सोध्यो, ‘स्विटी, सात वर्षअघि शम्भुसँग तिम्रो बिहे भएलगत्तै म अमेरिका जान लाग्दा तिमीहरूले मलाई बिदाइ पार्टी दिएको यहीं होइन !’


‘हो हर्ष, त्यतिखेर हामी तीनै जना यहाँको बालरुममा खुब नाचेका थियौं !’ उसले निकै उत्साहित भएर सुनाई ।
एकअर्काका आमनेसामने बसेपछि हर्ष सुस्तरी बोल्यो, ‘एउटा कुरा सोधूँ, स्विटी ?’
सृष्टिले आफ्नो हँसिलोपन कायम राखेर तुरुन्तै जवाफ फर्काई, ‘कुरा जतिवटा पनि सोध्न सक्छौ हर्ष तर सृष्टि नाम बिगारेर मलाई स्विटी नभन्नू ल !’
‘किन, डियर ?’ उसले छक्क परेर सोध्यो ।
‘हर्ष, अब मलाई डियरसियर पनि नभन है !’ उसको स्वरमा मीठो अनुरोध थियो ।
‘किन ?’ उसले झट्ट सोधिहाल्यो ।
‘किनभने अब म गृहिणी हुँ, कसैकी पत्नी हुँ, सात वर्षअघिकी उन्मुक्त भएर घुम्ने क्याम्पस ठिटी होइन !’ उसले बल्लतल्ल कुरो बताई ।
‘ओके, त्यसो भए अर्कै कुरा सोध्छु है त ! ए सृष्टि, बिहे गरेको सात वर्षमा तिमीले कतिवटा भुन्टाभुन्टी पैदा गर्‍यौ हँ ?’ उसले फयाट्टै सोध्यो ।
एक छिन चुप लागेपछि ऊ बोली, ‘कति न कति !’
‘किन त ? कि सृष्टि, शम्भुसँग तिम्रो सम्बन्ध ठीक छैन ?’ उसले प्रश्नद्वारा तत्काल छोपिहाल्यो ।
‘सम्बन्धको कुरो होइन, उसलाई सन्तानको चाहना नै छैन ! ऊ भन्छ, बच्चा पाएपछि आइमाईको जीउ नै बिग्रिन्छ रे !’ उसले फयाट्टै भनी ।
‘ए, त्यसो !’
‘अब हर्ष, एउटा कुरा म तिमीसँग सोध्छु !’
‘सोध !’
‘के तिमीले बिहे गर्‍यौ ?’
‘छैन !’
‘किन नगरेका, हर्ष ?’
‘मन पर्ने केटी नभेटेर !’
‘तिमीलाई कस्ती केटी मन पर्छ ?’
‘तिमीजस्ती, सृष्टि !’
‘धत् !’
त्यसपछि हर्ष केही भन्न खोज्दै थियो, छेउमा आएर छोटाछोटा लुगा लगाएकी बेट्रेस केटी अदबसाथ उभिई । उसले निहुरिएर एउटा मेनु हर्षका सामु र एउटा मेनु सृष्टिका सामु राखी । हर्षले मेनु पल्टाउनुअघि सृष्टिले भनी, ‘हर्ष, आज बेलुकाको खाना यहीं खाने हो !’
‘त्यसो भए अहिले अलिअलि स्कच खाऔं र एक छिन बालरुममा उफ्रेर आऔं !’ उसले प्रस्ताव राख्यो ।
‘तिमी यहाँ खाऊ, मचाहिं घरमा खान्छु । अचेल धेरै कडाइ छ हर्ष, जाँड–रक्सी खाएर गाडी चलाउँदा मापसेले समाइहाल्छ !’ उसले समस्या अवगत गराई ।
‘त्यसो भए म पनि घरमै खान्छु, अब डान्स गर्न जाऊँ !’ जुरुक्क उठेर उसले भन्यो ।
‘जाऊँं !’ सही थाप्दै ऊ अघि लागी ।


उसका पछिपछि मन्त्रबिद्ध सर्पझैं हर्ष नाच्ने ठाउँमा पुग्यो । त्यहाँ रंगीन प्रकाश र मधुर संगीतमा डुबेर थुप्रै युवा र अधबैंसे जोडीहरू उत्तेजनामा भरिएर मादक नाच नाच्दै थिए । उनीहरू पनि तिनैमा मिसिएर कहिले परस्पर टाँसिंदै, कहिले बेरिंदै, कहिले कुम हल्लाउँदै र कहिले कम्मर मर्काउँदै निकै बेरसम्म नाचे । एकले अर्कालाई अँगालामा थिचेको र मिचेको आनन्दले उनीहरूका आँखा लठ्ठ परिसकेका थिए ।


नाच्दानाच्दा लखतरान भएर उनीहरू अघिकै टेबुलमा फर्के । त्यहीं उनीहरूले खूब मीठो मानेर खाना खाए । खाने काम सकेर उनीहरू बाहिर आए । बाहिर चारैतिर झकमक्क बत्तीहरू बलेका थिए । रात बढ्दै गएकाले सडकको भीडभाड भने निकै कम भएको थियो । सुनसान सडकमा सृष्टिले गाडी हुइँक्याई । गाडी कुलेश्वरको नयाँ बस्तीमा चिटिक्क परेको एकतले बंगलामा रोकियो ।


गाडीबाट ओर्ली हर्ष बैठककोठामा गएर कोट फुकालेपछि खुरुक्क सोफामा पसारियो । सृष्टि लुगा फेर्न आफ्ना कोठामा गई । एक छिनपछि ऊ पारदर्शी नाइटीमा आफ्नो गोरो शरीर झल्काउँदै रक्सी र गिलासको किस्ती लिएर त्यहीं आइपुगी । उसले त्यो किस्ती छेउतिर राख्न लाग्दा हर्षले एक्कासि उसलाई आफूमाथि तान्यो । ऊ काटिएको रूखझैं उसका छातीमा ढल्दै गई । अँध्यारो रातले जूनताराबाहेक सबै थोक छोपिराखेकामा उनीहरूलाई पनि छोपिदियो ।


समयको चक्र घुम्दै गएर बिहानीपखले धरतीमा मोतीका उज्याला दानाहरू छर्दा सृष्टि हर्षका बलिया पाखुरामा टाउको राखेर पल्टेकी थिई । उसको नाइटी पनि उसैले च्यादरझैं ओढिराखेको थियो । सृष्टिले सोफाका पल्लो छेउमा फालिएको कोट तानेर आफ्नो पूरै नांगो जीउ ढाकी । त्यसपछि छरिएका कपाल समेटेर जुरो पार्दै ऊ सोफाबाट उठी । उसले भुइँ टेकेर एक डेग मात्र के चालेकी थी, आफूमाथिको नाइटी पन्छाएर ऊ चिच्यायो, ‘सृष्टि, यता आइज !’


सोफातिर फरक्क फर्केर उसले सोधी, ‘किन शम्भु ?’
‘सृष्टि, सधैंझैं हिजो पनि तैंले मेरो योजना सफल पार्न मलाई साँच्चै हर्ष मानी राम्रो काम गरिस्, म खुसी छु । अब आजको योजना सुन् । आजचाहिं मैले मेरा नयाँ हाकिमलाई घरमा भोज छ भनेर निम्त्याएको छु ! उनले हाम्रो घर देखेका छैनन्, ठीक साढे पाँच बजे नयाँ बस्तीको बसबिसौनीमा गएर उनलाई लिएर आउनू । अनि सुन्, भरे हाकिम भएर आउँदा मैले लगाउने विशेष पोसाक मेरो दराजमा छ, सरक्क झिकेर ब्रिफकेसमा राखिदे ।’ हर्षबाट पूरै शम्भु भएर उसले खटनपटन गर्‍यो ।


धारेहात लगाएर खाउँलाजस्तै गरी अकस्मात ऊ चिच्याई, ‘अति भो शम्भु, बन्द गर अब यो नौटंकी ! तिमी स्वास्नीका रूपमा स्वास्नी होइन एउटी बेश्या चाहन्छौ, छया ! कहिले तिमी हर्षको, कहिले पवनको, कहिले बासको, कहिले कसको र कहिले कसको भालेमुकुन्डो भिरी परपुरुष बनेर मलाई भोग्छौ, यो अन्याय हो, नारीको अपमान र शोषण हो । म खेलौना होइन, अब म तिम्रा योजनामा लाग्दिनँ !’


‘सृष्टि, विवाहित स्वास्नीका रूपमा अब तँमा कत्ति पनि आकर्षण छैन तर परस्त्रीका रूपमा अझै आकर्षित गर्दै छस् । तसर्थ तँ मेरो योजनाअनुसार चली मलाई परपुरुष बनेर रमाइलो गर्न दे र तँ पनि परस्त्री बनेर रमाइलो गर् ! मेरो कुरा मान्, नत्र म तँलाई अहिल्यै ठेकान लगाउँछु ।’ उसले क्रूर आँखाले हेर्दै धम्की लगायो ।


‘तँ मलाई के ठेकान लगाउँछस्, उल्टो म तँलाई यहाँ बन्दी बनाएर ठेगान लगाउँछु ।’ भन्दै वेगसाथ ढोकाबाट बाहिर निस्केर उसले डयाम्म दैलौ थुनी । आफ्नै कोठामा बन्दी बनेको शम्भु सुधी नारी सुरी बनेको देखेर अवाक् भएको थियो ।

प्रकाशित : श्रावण २६, २०७५ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्

हिमालपारिको सन्देश

पात्र
दौरा–सुरुवाल र ढाका टोपीमा चिनियाँ टेलिभिजनमा गीत गाएर चीनमा चर्चा बटुल्ने यी युवा हुन्, भक्तपुरका सन्देश देउजा ।
चेतनाथ आचार्य

काठमाडौँ — चिनियाँ केन्द्रीय टेलिभिजन सीसीटीभीको सजिसजाउ स्टुडियो । एकैचोटि करोडौँ दर्शकले हेर्ने प्रतियोगितात्मक सांगीतिक कार्यक्रम । एक जना युवा हातमा माइक बोकेर चिनियाँ गीत गाउँदै स्टुडियोमा प्रवेश गर्छन् । ताइवानी गायक फेई युछिङले गाएको गीत ती युवा दुरुस्तै गाउँछन् । मूल्यांकनको कुर्सीमा बसेका निर्णायकहरू आपसमा भन्छन्, ‘स्वर त काटीकुटी स्वाउकको जस्तै ।’ फेई युछिङ चीनमा स्वाउकको नामले चिनिन्छन् ।

प्रतियोगितामा सहभागी ती युवाको पोसाक र अनुहार देखेर निर्णायकले प्रश्न गर्छन्, ‘तिमी त चिनियाँजस्तो छैनौ । तिम्रो पोसाक पनि निकै अनौठो छ । तर, तिमीले गाएको गीतचाहिँ सक्कली गायकभन्दा केही पनि फरक छैन । तिमी कहाँका हौ ?’


ती युवाले मुसुक्क हाँसेर जवाफ दिन्छन्, ‘म नेपाली हुँ । म अहिले साङहाईमा पढ्दै छु ।’
नेपाली भनेपछि फेरि निर्णायकहरू मुखामुख गर्छन् र केही खासखुस गर्छन् । सुरुमा उनीहरू नेपालको नाम सुनेर अलमलिएजस्तो लाग्छ । सायद उनीहरूका लागि नेपाल त्यति प्रचलित नाम थिएन । केही क्षणमैं महिला मूल्यांकनकर्ताले भन्छिन्, ‘नेपाल † हाम्रो तिब्बतपारिपट्टिको हिमालय देश । जस्तो टल्किने हिमाल उस्तै तिम्रो हाँसो ।’
दौरा–सुरुवाल र ढाका टोपीमा चिनियाँ टेलिभिजनमा गीत गाएर चीनमा चर्चा बटुल्ने यी युवा हुन् भक्तपुरका—सन्देश देउजा । उनी अहिले साङहाईमा चिनियाँ भाषा मूल विषय लिएर स्नातक गर्दैछन् । सामान्य गितार बजाउने उनले कहिल्यै पनि सांगीतिक कक्षा लिएका छैनन् । उनी आफूलाई नेपालमा ‘बाथरुम सिंगर’ मात्रै रहेको बताउँछन् । साङहाई पढ्न आएपछि उनी चिनियाँ गीत गुनगुनाउन थाले । भिडियो हेरेर त्यस्तै गाउन नक्कल गर्न थाले । फलस्वरूप अहिले उनी ३० भन्दा बढी चिनियाँ गीत गाउन सक्छन् । उनले ती गीतहरू कण्ठ पनि गरेका छन् । उनी प्राय: फेई युछिङकै गीत गाउँछन् ।


उनी साङहाई आएर पढ्न थालेको तीन वर्ष भयो । साङहाईमा पढ्न थालेको एक वर्षपछि उनले कलेजले आयोजना गरेको कार्यक्रममा चिनियाँ गीत गाए । त्यही गीतले उनको नयाँ यात्रा सुरु भयो । त्यसपछि उनलाई साङहाईकै स्थानीय टेलिभिजनले बोलाएर स्टुडियोमा गीत गाउन लगायो— त्यो पनि नयाँ वर्षको विशेष कार्यक्रममा । बेइजिङमा रहेको सीसीटीभीले उनलाई तीन पटक गीत गाउनका लागि बोलाइसक्यो । चिनियाँ गीत स्पर्धामा प्रतिस्पर्धी उछिन्दै उनले उत्कृष्ट स्थान लिइसकेका छन् ।


सन्देश ताइवानी गायक फेई युछिङका दुई दर्जनभन्दा बढी गीतहरू जस्ताको तस्तै गाउन सक्छन् । फेईले महिला गायिका तङ ली चुनसँग युगल गायन पनि गरेका छन् । सन्देशले त्यो युगल गीत पनि सीसीटीभीमा गाएका छन् । सन्देशसँग तङ ली चुनको स्वरमा प्रख्यात चिनियाँ गायिका थोङ याओले साथ दिएकी छन् ।


साङहाइमा सन्देशले दोस्रो वर्षदेखि एक चिनियाँँसँग कोठा सेयर गरेर बाहिर बसे । ‘मलाई चिनियाँ संस्कृति, समाज र रहनसहनलाई नजिकैबाट नियाल्न मन लाग्यो । त्यही भएर म चिनियाँ साथीसँग डेरामा बस्न थालेँ,’ उनी भन्छन्, ‘त्यसपछि त साँच्चै नै मैले धेरै कुरा सिक्ने मौका पनि पाएँ ।’


टेलिभिजनहरू च्यानलहरूमा सीसीटीभी संसारमा सबैभन्दा धेरै दर्शकले हेर्नेमा पर्छ । चीनभित्र र प्रवासी चिनियाँले सीसीटीभी हेर्ने गर्छन् । एकैचोटि करोडौँले हेर्ने कार्यक्रममा उनले नेपालको प्रचारप्रसार गरेका छन् । अहिले पनि विच्याट, क्यूक्यू, विइपो, युखोलगायत विभिन्न चिनियाँ माइक्रो ब्लग र सामाजिक संजालहरूमा सन्देशले गाएको चिनियाँ गीतका भिडियो भेटिन्छन् । उनका त्यस्ता भिडियो थुप्रै व्यक्तिले हेरेका छन् र सेयर गरेका छन् ।


सन्देशले चिनियाँ टेलिभिजनमा चिनियाँ गीतसँगै केही नेपाली गीत पनि गाएका छन् । मधुरो र लामो स्वर तानेर चिनियाँ गीत गाएपछि मञ्चमा आसीन निर्णायकले उनलाई नेपाली गीत गाउन अनुरोध गरे । जब सन्देशले ‘छातीमा मेरो यो छोटो भोटो कमरमा खुर्पेटो’ गीत गाए, तब उनीहरू थप आश्चर्यमा परे । यो नेपाली गीत निकै तीव्र गति र उच्च स्वरमा गाउनुपथ्र्याे । पहिले सन्देशले प्रस्तुत गरेको चिनियाँ गीतसँग न लय मिल्थ्यो, न त कुनै सुर ताल नै । एउटै व्यक्तिमा यस्तो विपरीत क्षमता देखेर चिनियाँहरू आश्चर्यचकित भएको सुनाउँछन् ।
सीसीटीभीको स्टुडियोमा उपस्थित हुँदा सन्देश सधैँ नेपाली टोपी लगाउँछन् र नेपालबारेमा केही जानकारी पनि दिन्छन् । आफ्नो नामजस्तै चिनियाँ गीतसँगै नेपाली सन्देश छर्ने काम गर्छन्— सन्देश देउजा ।
chetnath@ymail.com

प्रकाशित : श्रावण २६, २०७५ ०८:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×