स्कुलभित्र आउनुपर्ने क्रान्ति

गोविन्द पौडेल

काठमाडौँ — चार वर्षअघि राजधानीकै एक स्कुलबाट एसएलसी परीक्षामा पाँच जना विद्यार्थी विशिष्ट श्रेणीमा उत्तीर्ण भए । म पनि उनीहरूको शिक्षकमध्येको एक थिएँ । ती विद्यार्थी नियमित रूपमा मेरो सम्पर्कमा थिए र छन् ।

पाँचै विद्यार्थीले ‘प्लस टु’ मा विज्ञान विषय पढे । तीमध्ये एक छात्रा यहीँ थप पढ्दै छिन् । बाँकी चार ‘ब्रिलियन्ट’ विद्यार्थी प्लस टु सकेर अमेरिका र अस्ट्रेलियाका लागि ट्राई मारे । केही समयपछि बिदेसिन सफल पनि भए । यहाँको परीक्षा प्रणालीले ब्रिलियन्ट घोषित ती विद्यार्थी विदेशका लागि योग्य कामदार बने ।


अहिले उनीहरूको मनोविज्ञान बुझिहेर्दा पाएसम्म विदेशमै स्थायी बसोबासको प्रबन्ध मिलाउने भन्ने छ । मिलेसम्म आफू जन्मे हुर्केको यो धूलो–धूवाँयुक्त देशमा कहिलेकाहीँ ‘टुरिस्ट’ बनेर मात्र आउने सपना बुनिसकेका छन् । आज देशभरका स्कुल अझ बढी निजी स्कुलमा पढ्ने नब्बे प्रतिशत ‘ब्रिलियन्ट’ विद्यार्थीको सपना केही वर्षपछि विदेश छिर्ने भन्ने छ ।


...


अधिकांश स्कुलमा हरेक दिन बिहान ग्राउन्डमा लाइन लगाएर राष्ट्रिय गीत गाउन लगाउने प्रचलन छ । स्कुलले विद्यार्थीलाई राष्ट्रिय गीत कण्ठै गर्न लगाउँछ तर गीतभित्र अन्तर्निहित राष्ट्रभक्ति र राष्ट्रप्रेमको भावलाई पढाउनतिर लाग्दैन । यसैको परिणाम स्कुल सकेर निस्केको विद्यार्थीले यहीँ केही गर्न सकिन्छ भन्ने सम्भावना देख्दैनन् ।


जब स्कुल सञ्चालकले नै अप्रत्यक्ष रूपमा विदेशीका लागि कामदार उत्पादन गरिदिने व्यवसाय गरिरहेका छन् भने हरेक दिन राष्ट्रिय गीत गाउन लगाउनुको कुनै तुक रहन्न । स्कुलले विद्यार्थीलाई विदेश जाने सपना देख्न होइन स्वदेशमै गर्न सकिन्छ भन्ने सपना देख्न र सीप सिकाउन सकेका छैनन् । यसर्थ हाम्रा स्कुल ‘असफल स्कुल’ हुन् ।


...
आपैंm पनि सात/आठ वर्षदेखि शिक्षण पेसामा आबद्ध छु । स्कुल/कलेजभित्रका हरेक क्रियाकलापलाई नजिकबाट हेरिरहेको छु । विद्यार्थीको मनोविज्ञानबारे धेरथोर ज्ञान राख्छु । शिक्षाबारे विशेष चासो र रुचि पनि छ । यस लेखमा स्कुलले सुधार्नुपर्ने अनेकौं पक्षमध्ये केहीमाथि विमर्श गरिनेछ ।


सिर्जनशीलताको दमन हैन उत्खनन
स्कुलले व्यक्तिभित्रका सम्भावना र प्रतिभालाई हुर्काउन होइन हत्या नै गर्न सहयोग गरेको छ । प्राथमिक तहमा पढ्दै गरेको बच्चा ९/१० वटा कठोर किताबको भारले थिचिन्छ । स्कुले शिक्षामा तिनै किताब रटाउनेभन्दा माथिको कुरा खास केही हुँदैन । जहाँ रटान र सूचनाको भण्डारण आरम्भ हुन्छ त्यहाँ सिर्जना र आविष्कार गर्ने दिमागको भाग निष्क्रिय बन्दै जान्छ । अब व्यक्ति यहीँबाट प्रतिभाशाली हैन शिक्षित बन्ने संकुचनमा फस्छ । प्रतिभा र शिक्षा दुई फरक कुरा हुन् । शिक्षित व्यक्ति जागिरको खोजमा हुन्छन् । प्रतिभाशाली व्यक्ति दुनिया बदल्छन् ।


अहिले एसईई परीक्षाको तयारीका लागि भन्दै विद्यार्थीलाई बिहान झिसमिसेदेखि साँझ अबेरसम्म स्कुलको कक्षाकोठाभित्र थुनिएको हुन्छ । निजी स्कुलको एक मात्र उद्देश्य ‘ए प्लस’ ल्याएका विद्यार्थीको संख्या बढाउँदै स्कुलको गेटमा फ्लेक्स टाँसेर दुनियालाई देखाउनु छ ताकि यही रिजल्टलाई देखाएर अर्को वर्ष धेरै विद्यार्थीहरू आफ्नो स्कुलमा भित्र्याउन सकियोस् ।


बाह्र घण्टा स्कुलको उकुसमुकुस र मध्यरातसम्म गृहकार्यमा जोतिनुपरेपछि व्यक्ति सिर्जनात्मक रूपमा करिब–करिब अपांग बन्न पुग्छ । यसकारण विद्यार्थीको सिर्जनात्मक शक्तिलाई निचोरेर फ्याँकिसकेपछि जे बाँकी रहन्छ त्यो भनेको एसईईमा ‘ए प्लस’ ग्रेड हो ।


स्कुलले वर्षको एक पटक वक्तृत्वकलाको आयोजना गर्दैमा विद्यार्थीमा वक्तृत्व शक्तिको विकास हुँदैन । वर्षको एक पटक ‘खेलकुद हप्ता’ घोषणा गर्दैमा विद्यार्थीमा राम्रो खेलाडी बन्न सक्ने प्रतिभा विकसित हुन पाउँदैन । यस्ता कार्यक्रम हरेक हप्ता सञ्चालन गर्ने कष्ट गर्न सकिएमा गर्दा–गर्दै व्यक्ति केही बनेर निस्कन्छ ।


हाम्रो स्कुलको शिक्षाले स्मृतिलाई केन्द्रमा राखेका छन् । परिभाषा, तिथिमिति र तथ्यांक कण्ठ गर्न विद्यार्थीले सक्यो वा सकेन जाँच्न परीक्षा लिइन्छ । परीक्षामा जसले बढी अंक ल्याउन सक्यो उसलाई ‘टयालेन्ट’ र कम अंक ल्याउनेलाई ‘कमजोर’ को बिल्ला भिराइन्छ ।


विज्ञान, खेल, संगीत, वक्तृत्व, नृत्य र कला क्षेत्रमा प्रतिभाशाली विद्यार्थीलाई शिक्षण र परीक्षा प्रणालीले सम्बोधन गर्न सकेको छैन । बरु, केही गर्न र हुन खोज्ने विद्यार्थीको हुटहुटीलाई थचार्ने काम गरेको छ । विद्यार्थीको रुचिअनुसार यी विषय पढाउने शिक्षण संस्थाको विस्तार पनि हुन सकिरहेको छैन । वरिपरिका अरू स्कुलले यी क्षेत्र पनि शिक्षाकै अंग हुन् भन्ने तथ्यलाई आत्मसात् गर्दै विद्यार्थीलाई रुचिअनुसार यी क्षेत्रमा प्रतिभाशाली बनाउने दिशामा कार्यक्रम ल्याउनुपर्छ ।


नयाँ पुस्ताको इच्छा र शिक्षा
पछिल्लो केही दशक विश्वमा सूचना–प्रविधिको क्षेत्रमा अभूतपूर्व क्रान्ति घटयो । यो क्रान्ति स्वभावैले नेपालमा पनि प्रवेश पायो । सूचना–प्रविधिमा आएको क्रान्ति, इन्टरनेट र सामाजिक सञ्जालले अहिले स्कुलमा पढ्दै गरेको पुस्तालाई धेरै चलाख बनाइदिएको छ । तर स्कुलमा ३० वर्षअघिकै जस्ता लाग्ने विषयवस्तु उही भाषण विधि मार्फत विद्यार्थीमा रोप्ने तरिका अपनाइएको छ । किताबभित्रका पाठ घटबढ गर्दैमा पाठयक्रममा सुधार आयो भन्न मिल्दैन ।


अलिकति फरक भनेको उतिबेला सेतो चकले कालोपाटीमा नेपाली अक्षर लेखिन्थ्यो भने अहिले कालो मार्करले सेतोपाटीमा अंग्रेजी अक्षर लेखिन्छ ।


अहिले देशव्यापी रूपमा छोराछोरीले पढ्न मन नगरेको गुनासो बोकेर अभिभावक स्कुलसम्म आइपुग्छन् । यता विद्यार्थीलाई पढाउन शिक्षकलाई पनि हम्मे–हम्मे पर्न थालिसकेको छ । यसो हुनुको विशेष कारण छ ।


अहिलेको विद्यार्थी पुस्ताले जीवनमा काम लाग्ने विषय आधुनिक प्रविधि प्रयोग गरेर पढाइयोस् भन्ने चाहेको छ । तर स्कुलले विद्यार्थीको रुचि होस् वा नहोस्, विद्यार्थीको क्षमताले भ्याओस् वा नभ्याओस्, विद्यार्थीको जीवनमा काम लाग्ने होस् वा नहोस् त्यसको कुनै ख्याल नगरी दिनभर ८/१० वटा विषय रटाएर परीक्षामा खरर्र लेख्न सक्ने बनाउनुलाई शिक्षा भनेको छ । यसैले अहिलेको शिक्षामा विद्यार्थीले कुनै महत्त्व देखेको छैन । त्यसैले विद्यार्थी पढ्न मन नगर्नु बिल्कुल स्वाभाविक छ ।


पाठ्क्रममा व्यापक सुधार र शिक्षणमा प्रविधिको प्रयोग गर्दा शिक्षा थप बोझिलो र बेकारको बन्नबाट जोगिन्छ ।


व्यावहारिक शिक्षाको सुरुवात
एउटा बच्चा स्कुलको पहिलो दिन निकै उत्साहको साथ प्रवेश गर्छ । तर यत्तिको उत्साह स्कुले जीवनका आउने कुनै पनि दिनमा भेटिन्न । किताबको अन्धो रटान, शिक्षकको शारीरिक मानसिक यातना र अभिभावकको डरले बच्चामा भएको अथाह ऊर्जा, उत्साह र सिर्जनात्मक क्षमता दमित हुन पुग्छ । विद्यार्थीका लागि स्कुल एउटा कठोर जेलजस्तो लाग्न थाल्छ । शिक्षक दण्ड दिने प्रहरी । यसैकारण स्कुल बिदाको दिन विद्यार्थी निकै उत्साहित देखिन्छ र अर्को बिदाको दिनको प्रतीक्षा गरेर बस्छ ।


स्कुलमा रटिएका अक्सर तथ्य–तथ्यांक र परिभाषा अन्तिम परीक्षापछि विस्मृतिमा पुग्छन् । यस्तो लाग्छ, शिक्षा भनेको कक्षा चढाउनु हो । शिक्षालाई व्यावहारिक बनाउने अपेक्षा हालको पाठयक्रम, परिक्षा पद्धति र शैक्षिक नीति कुनैले पनि गर्दैनन् । स्कुलका सञ्चालक र शिक्षक पनि त्यो झन्झटमा फस्न चाहन्नन् । अभिभावकमा पनि शिक्षा भनेको राम्रो प्रतिशत हासिल गर्नु हो भन्ने नै छ ।


यसले गर्दा फरक–फरक क्षमता र रुचि बोकेका ४०/४५ जना विद्यार्थीलाई एउटा कक्षामा हुलेर अगाडिबाट शिक्षकले जबर्जस्त सूचना हस्तान्तरण गर्ने आदिम शिक्षण प्रणाली देशभर चलिरहेको छ । कक्षाकोठालाई चुपचाप बनाएर सूचना र तथ्यांक विद्यार्थीमा खन्याइदिने शिक्षणबाट कुनै सीप र सिर्जनाबिनाका बेकारका मान्छे जन्मिरहेका छन् । विश्वविद्यालय तहमा पनि हालत उस्तै छ । यसले गर्दा व्यक्तिका सुरुका २५ वर्ष शिक्षाका नाममा ध्वस्त भैरहेको छ ।


माध्यमिक तहमा पढ्दै गरेको विद्यार्थीले विज्ञानमा अनेक ‘रासायानिक प्रतिक्रिया’ को बारेमा अमूर्त रूपमा पढ्छ । तर त प्रतिक्रियालाई मूर्तरूपले गरेर देखाउन मिल्ने रसायन र उचित ल्याब स्कुलहरूमा छैन । यसैकारण यस्ता रासायानिक प्रतिक्रिया कहाँ काम लाग्ने हुन्, विद्यार्थीलाई थाहा छैन ।


अर्कोतिर, विज्ञानको मोटो किताबभित्र वर्षदिनमा पढाउनुपर्ने पाठ नै यति बढी छन् कि प्राक्टिकल गरेरै अगाडि बढाउँदा एकतिहाइ कोर्स पनि मुस्किलले सकिएला ।
यसर्थ विज्ञान पढ्नु भनेको गाह्रा परिभाषा र अन्तर्राष्ट्रिय वैज्ञानिकले प्रतिपादन गरेका नियम र सिद्धान्त रट्नु बन्न गएको छ । यो एउटा उदाहरण मात्र हो । समाजिक शिक्षा विषय पनि कक्षाकोठाभित्र हुलेर पढाउन मिल्ने विषय हैन । यसलाई बुझाउन विद्यार्थीलाई पूरै फिल्डमा उतार्नुपर्छ । तर सामाजिक शिक्षा विषयको शिक्षकले कक्षाकोठाभित्रै सिङ्गो संसारलाई उतारेर अनेकौं काल्पनिक संसारमा विद्यार्थीलाई उडाउँछ ।


व्यवहारसँग नजोडिएको यस्तो शिक्षाले देशलाई आत्मनिर्भर पनि बनाउँदैन । यसका लागि विद्यालय तहदेखि नै विद्यार्थीलाई फिल्डमा उतारेर नेपालको माटो, हावापानी, कृषि उत्पादनको सम्भाव्यता, पशुपालन र औद्योगिक विकासबारे पठन–पाठन गराउनैपर्छ । पछि कैयौं विद्यार्थीले कृषिमै पनि विज्ञता हासिल गर्ने रुचि देखाउनेछन् । कृषि उत्पादनमा संलग्न हुनु एउटा सम्मानित काम हो भन्ने भावको पनि बीजारोपण हुनेछ । यसबाट स्वरोजगार निर्माण गर्ने सक्ने आत्मविश्वासी जनशक्ति पैदा हुनेछन् । औद्योगिक क्रान्तिको जग पनि त्यही प्रक्रियाले बसाल्छ ।
gpaudel10@gmail.com

प्रकाशित : जेष्ठ १२, २०७५ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्

७ सय पुस्तकका लेखक

गोविन्द पौडेल

सुरु –सुरुमा ओशो रजनीशका पुस्तकहरू पढ्दा हरेक वाक्य विश्वविद्यालयको एउटा कक्षा जस्तो लाग्थ्यो । उनका दार्शनिक पुस्तक पनि उपन्यास जस्ता छन्, काव्यात्मकताले भरिएका । उनले कहिल्यै पनि आफूले पुस्तक लेखेनन् । उनका प्रवचनलाई रेकर्ड गरियो र पुस्तककारमा प्रकाशित गरियो ।

रजनीशका सात सयभन्दा बढी पुस्तक प्रकाशित छन् । एकै व्यक्तिका त्यति ठूलो सङ्ख्यामा पुस्तक प्रकाशित हुँदा कतै–कतै विषयवस्तु दोहोरिनु त कतै एक पुस्तक अर्कोसँग विरोधाभास जस्तो देखिनु अनौठो भएन । रजनीश आफैंले पनि भनेका छन्, ‘म मेरो शरीर छोडेर जाँदा मेरा करिब एक हजार पुस्तक छोडेर जानेछु । ती पुस्तकहरू आपसमा विरोधाभासपूर्णसमेत हुनेछन् । यसले तिमीलाई आफैं सत्यको खोज गर्न प्रेरित गर्नेछन् ।’
सन् १९३१ मा भारतको मध्यप्रदेशमा जन्मेका विचार र तर्कले सुशोभित अनौठा स्वभावयुक्त व्यक्तित्व हुन् । उनले आफूलाई एक दार्शनिकका रूपमा होइन कविका रूपमा सम्झना गरियोस् भन्ने चाहना राखेका थिए । किनकि उनको भनाइ थियो ‘मेरो सिंगो जीवन र दर्शन काव्यात्मक छ ।’ एकै व्यक्तिसँग दर्शन, मनोविज्ञान, विज्ञान, अध्यात्म, राजनीति, इतिहास, संस्कृति, शिक्षालगायतका अनेकौं विधाको विशाल ज्ञानको भण्डारण हुनु असामान्य अवस्था हो । उनले नबोलेको विषय सायदै छ । जुन विषयमा उनी बोल्न सुरु गर्थे आफ्नो विशाल ज्ञानको सागरलाई श्रोतासामु छताछुल्ल पारिदिन्थे ।
उनी बोल्न सुरु गरेपछि हजारौं श्रोता सम्मोहनमा पर्थे । त्यो समय यति सुनसान हुन्थ्यो कि लाग्थ्यो माथिबाट एउटा सियो खस्यो भने पनि सुनिन्छ । एक पटक रजनीशको प्रवचनमा पुगेको व्यक्ति अर्को पटकको प्रवचनमा नगइरहन सक्दैनथ्यो । त्यसैले त पुनाको रजनीश आश्रममा हरेक दिन ५ देखि १० हजार मान्छे उनलाई सुन्न पुग्थे । क्रमश: पुना आश्रम स्वदेशी तथा विदेशी पर्यटकको आकर्षणको केन्द्र बन्न पुग्यो । भनिन्छ, आश्रमकै कारण तत्कालीन समयमा भारतको पर्यटन व्यवसाय १५ प्रतिशतले बढेको थियो ।
जब व्यक्तिलाई कसैसँग केही लिनुदिनु हुँदैन तब आफ्नो ब्रह्मले देखेको कुरा बोल्न कुनै डर मान्दैन । रजनीशले कसैसँगबाट सित्तैमा केही लिनु थिएन । त्यसैले उनको निसानामा राजनीतिज्ञदेखि धार्मिक पण्डितहरूसम्म परे । उनी कहिले माक्र्सवादको विरुद्धमा खनिन्थे त कहिले पुँजीवादी मुलुक अमेरिकाको छातीमै ‘कम्युन’ स्थापना गरिदिएर त्यहाँका शासकलाई तर्साउँथे । कहिले गान्धीमाथि प्रहार गर्थे त कहिले विभिन्न धर्ममाथि ।
रजनीशले विभिन्न धार्मिक समुदायमाथि हमला गरे । धर्मको खोल ओढेर कमाउने धन्दामा सक्रिय कथित धार्मिक पण्डितलाई नाङ्गो बनाइदिए । माक्र्सवादको नाममा विश्वभर चलिरहेको हत्या, हिंसा, आतंक र तानाशाहवादको विरोधमा उत्रिए । हिटलर, स्टालिन र माओविरुद्ध बोले ।
रजनीश कसैसँग डराउने व्यक्ति थिएनन् । उनको यो तार्किक, निडर र हक्की स्वभाव बाल्यकालदेखि नै विकसित भएको थियो । स्कुलमा पढ्दा शिक्षकले उनलाई कसैगरी प्रार्थनासभामा उपस्थित गराउन सकेनन् । शिक्षकसँग उनको सायदै मात्र तालमेल मिल्थ्यो । शिक्षकको संकुचित विचारसँग रजनीशको विद्रोही स्वभावको मेल नहुनु अस्वाभाविक थिएन । शिक्षकसँग यिनी विश्वविद्यालयमा जे पढ्यो त्यही होइन, जे बुझेको छ त्यही मात्र पढाउनु भन्दै निहुँ खोज्थे । शिक्षकले दिने सजायको खिल्ली उडाइदिन्थे । शिक्षकले सजायस्वरूप स्कुलको वरिपरि सात चक्कर लगाएर आउन भनेको दिन उनी एघार चक्कर लगाएर आउँथे र भन्थे— आज मैले घरमा कसरत गर्न बिर्सेको थिएँ, त्यसैले एघार चक्कर लगाएर आएँ ।
रजनीशले विश्वविद्यालयमा दर्शनशास्त्र पढ्दै गर्दा कक्षामा प्राध्यापकहरूसँग बहसमा उत्रिन्थे । यसो हुनुको पछाडि एक कारण थियो । प्रोफेसरहरूको ज्ञान थोरै थियो । अतिरिक्त पुस्तक अध्ययन गर्ने यिनीहरूको बानी हुँदैनथ्यो । सीमित र बासी ज्ञान बोकेर प्रोफेसर कक्षाभित्र प्रवेश गर्थे । जुन सूचना वा ज्ञान रजनीशजस्ता अध्ययनशील विद्यार्थीका लागि अपूर्ण हुन्थ्यो । पढाइप्रति अत्यधिक आकर्षणको कारण दर्शनशास्त्रमा समेत प्राध्यापकको भन्दा रजनीशको ज्ञान निकै माथि पुगिसकेको थियो । त्यसको दबाब प्राध्यापकले थेग्न नसकेपछि २०/२१ वटा क्याम्पसबाट रजनीश निष्कासित हुनुपर्‍यो ।
विश्वविद्यालयको डिग्री हासिल गरेपछि रजनीश केही समय विश्वविद्यालयमा अध्यापन गराउन थाले । यिनको कक्षामा विद्यार्थीको चाप अत्यधिक बढी हुने गथ्र्यो । अरू कक्षाबाट समेत विद्यार्थी यिनको कक्षामा सुन्न आउँथे । यही समय रजनीश देशभर प्रवचन दिएर हिँड्न थाले । उनी जहाँ पुग्थे उनका कुरा सुन्न भीड उर्लिएर आउँथ्यो । अब रजनीशको जीवनले नयाँ मोड लिनेवाला थियो । आफ्नो अभूतपूर्व वाक् कला र विशाल ज्ञानको भण्डारणको उपयोग गर्दै ध्यान केन्द्रको स्थापना गरे । र त्यहीँ प्रवचनका शृंखला सुरु गरे । र विश्वविद्यालयको जागिरबाट राजीनामा दिए ।
रजनीशले प्रवचनको दौरानमा सन् १९६८ मा प्रेम र यौनको विषयमा प्रवेश गरे । त्यति बेलाको भारतीय समाजमा यौनको विषयमा कुरा गर्नुसमेत लाजको विषय हुन्थ्यो । तैपनि मानिसको मन यौनको कुण्ठाले भरिएको थियो । मानिस यौनको जबर्जस्ती दमनबाट मुक्ति खोजिरहेका थिए । यस अवस्थालाई रजनीशले चाल पाइहाले । त्यसैले यौनको विषयमा स्वच्छन्द र उन्मुक्त ढङ्गले प्रवचन शृंखला सुरु गरे । यौनको दमनबाट छटपटिएका मानिसलाई रजनीशले छहारी प्रदान गरे ।
रजनीशले बाहिर जबर्जस्ती यौनलाई खराब भन्दै दमन गर्ने तर भित्र दिमागभरि यौनलाई बोकेर हिँड्ने पण्डित, साधु, सन्त, सामाजिक संस्कार र परम्परामाथि झापड हाने । रजनीशको भनाइ छ, ‘यौनजस्तो प्राकृतिक प्रक्रियालाई मान्छेले विकृत बनाएको छ । यौनको दमनले मान्छेको सिंगो जीवन यौनको वरिपरि चक्कर लाइरहेको छ । पृथ्वीका पन्चानब्बे प्रतिशत कथा, कविता, उपन्यास, सिनेमा, कला तथा गीत यौनकेन्द्रित हुनु पनि यौन दमनको परिणाम हो ।’ ‘सम्भोगबाट समाधितिर’ भन्ने विश्व चर्चित पुस्तक तिनै प्रवचनको लिखित रूप हो ।
सन् १९८१ देखि १९८५ सम्म रजनीशको स्वकीय सचिवमा रहेकी मा आनन्द शीलाले आफ्नो पुस्तक ‘डन्ट किल हिम’ मा आफ्ना पुराना स्मृति कोट्याउँछिन्, ‘कुनै पनि विश्वविद्यालयले त्यति बृहत् ज्ञान दिन सक्दैन । रजनीशसँग सँगै बस्दाको हरेक सेकेन्ड एउटा सिंगो सेमेस्टरजस्तो लाग्थ्यो... । रजनीशले आफ्ना शिष्यलाई भोलि गरे पनि हुने काम आजै गर्न निर्देशन दिन्थे । उनका लागि भोलि भन्ने शब्द थिएन । कि अहिल्यै हुन्छ अन्यथा कहिल्यै हुँदैन... । रजनीशलाई कुनै सल्लाहकारको जरुरत थिएन । उनी केवल निर्देशन दिने व्यक्ति थिए । उनका हरेक क्षण कुनै महान् उद्देश्य प्राप्तिका कदमजस्ता लाग्थे... ।
एक पटक पुना आश्रममा रजनीशले प्रवचन दिइरहेको बेलामा एउटा मान्छेले चक्कु उनीतिर फ्याँक्यो । संयोगवश चक्कु उनको नजिकैबाट मात्र पार गर्‍यो । तर रजनीशले चक्कु देखेर एक पटक पनि आँखा झिम्क्याएनन् । प्रवचन एक पटक पनि रोकेनन् । आक्रमण कसले गर्‍यो, चक्कु कहाँबाट प्रहार भयो भन्नेसँग उनको कुनै सरोकार रहेन ।
सन् १९८१ मा रजनीश अमेरिका पुगे र ओरेगन राज्यको एक ठाउँमा फालिएको ६४ हजार एकड क्षेत्रफलको बाँझो जमिनलाई खरिद गरे । चार वर्षभित्र त्यो विशाल मरुभूमिजस्तो जमिनलाई सुव्यवस्थित सहरमा परिणत गरिदिए । जुन सहरभित्रै विमानस्थल थियो । आफ्नै ५ वटा विमान थिए । ५ सय गाडी थिए । २५० आफ्नै बसहरू थिए । ५००० जना मान्छे एउटै परिवार भएर बस्थे । अमेरिकाजस्तो पुँजीवादी मुलुक जसलाई कम्युनिस्टको जस्तो विशाल संघ स्थापना भएको चित्त बुझेन । एकपछि अर्काे गर्दै रजनीशलाई दु:ख दिन थाल्यो । विभिन्न बाहानामा पक्राउ गर्‍यो । व्यवस्थित सहरलाई छिन्न भिन्न बनाइदियो । र, अन्त्यमा अमेरिकाबाट निष्कासित गरिदियो ।
ओशो रजनीशले आफ्नो वाक् र तर्क शक्तिको बलमा विश्वभरका राजनीतिज्ञलाई थर्कमान बनाइदिए । एउटा यस्तो व्यक्ति जो पूर्ण रूपमा नि:सस्त्र छ । जोसँग साथमा शब्द र तर्क मात्र छ त्यस्तो व्यक्तिलाई विश्वका एक्काइसभन्दा बढी मुलुकले प्रवेश दिन इन्कार गरे । किनकि उनले लगातार राजनीतिज्ञमाथि खुला आक्रमण गरेका थिए ।
राजनीतिज्ञप्रति यिनको दृष्टिकोण कहिल्यै सकारात्मक बनेन । विश्वका सबै समस्याको कारक राजनीतिज्ञ र धार्मिक पण्डितहरूलाई ठान्थे । त्यसैले त राजनीतिज्ञप्रति उनको व्यंग्यात्मक कथन थियो, ‘राजनीतिज्ञलाई अपराधी राखिएको जेलमा र जेलमा रहेका अपराधीलाई राजनीतिज्ञ भएको ठाउँमा ल्याएर राखिदिने हो भने हालका समस्या केही कम हुनेछन् ।’

(मा आनन्द शीलाको ‘डन्ट किल हिम’, अनुपम पोखरेलको ‘ओशोको जीवन कथा’, विकासानन्द : ‘सकारात्मक विद्रोह’, ओशोका विभिन्न पुस्तक र वेवसाइटको सहयोगमा)

प्रकाशित : फाल्गुन १४, २०७३ १०:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्