राणाकालीन महिला

राणाकालको उत्तरार्धतिर केही महिला सार्वजनिक जीवनमा यदाकदा सक्रिय देखिन्छन्। यीमध्ये केहीले साहित्य सिर्जना मार्फत आफूलाई सार्वजनिक जीवनमा उभ्याएका थिए।
लोकरञ्जन पराजुली

राणाकालीन नेपालमा सर्वसाधारणको शिक्षामा पहुँचलाई नियन्त्रण गरिएको थियो। राणा शासन अन्त्य हुँदा साधारण लेखपढ गर्न सक्ने नेपालीको संख्या सयकडा दुईभन्दा कम थियो।

तिनमा महिलाको संख्या त झनै न्यून रह्यो। त्यति बेला छात्राहरूलाई स्कुलमा गएर औपचारिक अध्ययन गर्ने व्यवस्था थिएन। विशेषगरी हुनेखाने र शिक्षितहरूले घरैमा छोरीहरूलाई आफैंले या शिक्षक व्यवस्था गरेर पढाउँथे। तत्कालीन नेपालको सार्वजनिक क्षेत्रमा सर्वत्र पुरुषको दबदबा रहनु अस्वाभाविक भएन। तथापि राणाकालको उत्तरार्धतिर केही महिला सार्वजनिक जीवनमा यदाकदा सक्रिय देखिन्छन्। यीमध्ये केहीले साहित्य सिर्जना मार्फत आफूलाई सार्वजनिक जीवनमा उभ्याएका थिए।

तत्कालीन समयको ‘गोरखापत्र’ र साहित्यिक पत्रिका ‘शारदा’ अध्ययन गर्दा त्यहाँ केही महिलाले कविता मार्फत आफ्ना भावना पोखेको पाइन्छ। लोकप्रिया देवी, कुसुम मोहनी, बुद्धमोहन देवी, मधुधारा, प्रियदर्शिनी, लोककुमारी देवी, तारा देवी, सीता देवी आदिका कविताले ती पत्रिकामा स्थान पाएका छन्। तारा देवीले राणाकालमै कम्तीमा चार पुस्तक लेखेको देखिन्छ। मधुधारा नामकी एक लेखकलाई गोरखापत्रले राम्रो कविता लेखेको भन्दै निकै सह्राएको थियो। यी सुरूआती महिला लेखकको कविताको विषयवस्तु मुख्यत: धार्मिक देखिन्छ। केही कविता प्रकृतिबारे र एक–दुई कविताले तत्कालीन शासकको जय–पुकारको पाइन्छ।
राणाकालको उत्तराद्र्धतिर, खासगरी पद्मशमशेर शासनरूढ भइसकेपछि, शिक्षा नीतिमा अलि परिवर्तन आयो र महिलाले सिद्धान्तत: औपचारिक शिक्षा हासिल गर्ने बाटो खुल्यो। प्रमुख शासकले केही उदारता देखाउनेबित्तिकै मुलुकका कतिपय ठाउँमा कन्या स्कुल खुल्न थाले। अरूखाले स्कुलले पनि छात्रालाई पढाउन सुरु गरे। सँगसँगै, महिलाले पनि भर्खरै अंकुरित हुँदै गरेको सार्वजनिक वृत्त (पब्लिक स्फेयर) मा लेख र पाठकपत्र मार्फत हस्तक्षेप गर्न थाले।

पढ्न पाए हुन्थ्यो !
स्त्री शिक्षाका लागि सरकारी बाटो फुकेपछि त्यसबारे महिला(पुरुष दुवैले ‘गोरखापत्र’ र ‘नेपाल शिक्षा’मा लेख या पाठकपत्र लेख्न थालेको देखिन्छ। २००३ मंसिरमा दुई महिला पुण्यप्रभादेवी र सीतादेवीको लेख र चिठीलाई गोरखापत्रका सम्पादकले ‘दिदीबहिनीको अभिलाषा’ भन्दै एकै ठाउँमा राखेर प्रकाशन गरे। पुरुषको वर्चस्वयुक्त सार्वजनिक वृत्तमा हस्तक्षेप गर्ने महिलाको सानो प्रयास थियो त्यो। सुरुमा दुवै महिलाका भावनालाई छुट्टै स्थान दिन पत्रिकाले योग्य नठाने पनि क्रमश: अन्य महिलाले पनि चिठी र लेख लेख्न थाले। अन्तत: सम्पादकले तिनलाई स्थान दिए।
सुरुआती चिठी लेख्ने दुई महिलामध्ये पुण्यप्रभाले स्त्री शिक्षाको कमीले गर्दा महिलामा ‘(बाहिरफेर) काम गरेर कमाउनुपर्छ भन्ने भावना पटक्कै नभएको’ र ‘क्रिम–पाउडरले सिंगारिन पाए जीवनको सार्थकता सम्झने’ भन्दै आलोचना गरेकी थिइन्। र, आशाजनित प्रश्न पनि गरेकी थिइन्, ‘विदेशका स्त्रीजातिसँग हाम्रा दिदीबहिनी दाँजिन सक्ने कहिले होला?’ अर्की महिला सीतादेवीले लेखेकी थिइन्, ‘स्त्री शिक्षा नै हाम्रो मुलुकको उत्थानको आधी हिस्सा हो। जहाँसम्म हाम्रा दिदीबहिनी पढेर लेखेर संसारको गतिसित हिँड्न जान्दैनन् त्यहाँसम्म हाम्रो उन्नति अपूरो नै रहन्छ।’
यी दुईले समग्र महिलाको उन्नतिको कुरा हाकाहाकी गरेका थिए भने कतिपय महिला सुस्तरी हामीले पनि पढ्न पाए हुन्थ्यो भन्दै याचना गरिरहेका थिए। ‘दालचिनी र अरू कन्या’का नाउँमा छापिएको चिठीमा भनिएको छ, ‘हामी स्त्रीजातिले कुनै उच्च शिक्षा लिने मौका र ठाउँसमेत पाएनौं। हाम्रा निमित्त पनि स्कुल या अन्यत्र केही पढाइको बन्दोबस्त बन्दोबस्त गरिपाउँ।’ तारादेवीको भनाइ थियो, ‘दयालु श्री ३ पद्मको उदयमा बालबालिकाहरूको निम्ति पनि शिक्षा प्रबन्ध होस्। यो सभ्य संसारमा असभ्य दिन केवल हाम्रो महिला समाज छ त्यसमा महानुभावहरूको ध्यान रहोस्।’ अर्की पाठक कुमारी सानीले भने डिल्लीबजारमा खुल्न गइरहेको ‘पाठशाला लोग्नेमानिसका निम्ति मात्र’ भएको र ‘स्वास्नी मानिसको निम्ति ता केही आदेश उपदेशै’ नभएकोमा अलोचना गर्दै ‘किन यस्तो गरेको होला?’ भन्ने प्रश्नसमेत गरेकी थिइन्।

पुरुषसँग दोहोरो संवाद
राणाकालीन महिलाले केही सीमित मुद्दामा पुरुषसँग गरेका बहसमध्ये एउटा चिठ्ठासम्बन्धी र अर्को स्त्री शिक्षासम्बन्धी हो। (यो हुन धेरै सम्भव छ कि महिलाले अन्य विषयमा पनि लेखे तर सम्पादकका नजरमा ती छाप्नयोग्य ठानिएन।) तत्कालीन समयमा राज्यले चिठ्ठा खेलाउँथ्यो र गोरखापत्रमा पुरस्कार पाउनेहरू सबैको नामावलीसमेत प्रकाशन हुन्थ्यो। त्यस्तो चिठ्ठा अलि धेरैपटक खुले हुन्थ्यो भनेर गोरखापत्रमा पत्र छापियो, जसको प्रतिवाद गर्दै चपलादेवीले ‘उद्योग गर्न छोडेर चिट्टाको भर गर्न नहुने’ पक्षमा तर्क राखिन्।
तर ‘महिला जान्ने भएको’ पुरुषलाई के पच्थ्यो र? चपलादेवीलाई पूरै ‘डिसमिस’ गर्दै र समग्र महिलालाई उल्याउँदै विष्णुराज झाको चिठी छापियो। झाको प्रतिवाद गर्दै र चपलादेवीको समर्थनमा महिला उत्रे, जसलाई गोरखापत्रले स्थान दियो। पद्मिनीले लेखिन्, ‘बडो अपसोचको कुरा छ, बीएसम्मको शिक्षा र बडेबडे दार्शनिकहरूका किताबले हाम्रा महाशय विष्णुराज झालाई केवल यही कुरा सिकायो ! स्त्रीजातिलाई घृणा गर्नु र उनीहरूमाथि मूर्खतासँग ब्यवहार गर्नु। बडो खेदको कुरा छ, उहाँको विचारमा स्त्रीजाति केवल भोगविलासको सामग्री मात्र ठहरिन आयो।’ दुर्गादेवीले एक कदम अगाडि बढेर थपिन्, ‘उद्योगभन्दा बर्ता चिट्टामा भर पर्नु बेस रे, धन्य बुद्धि ! इङ्लेस्तान, रूस र अमेरिका आदि देशहरूका उन्नति पनि चिट्टाले नै भएको रहेछ क्यारे ! चपलादेवीभन्दा बर्ता अध्ययन त वहाँ (झा)ले नै गर्नुपर्ने।’
पत्रिकामा लेख्ने सबै महिला स्त्रीले शिक्षा पाउनुपर्ने पक्षमा थिए। उनीहरूले अनेक कोणबाट स्त्री शिक्षाको आवश्यकताको पक्षमा आफूलाई उभ्याएका थिए। एउटीले त सार्वजनिक रूपमा महिलालाई आफूकहाँ पढ्न आउन आह्वानसमेत गरेकी थिइन्, ‘(महिलाले) के, कति, कुन भाषाद्वारा पढ्ने हो भन्ने फैसला हुँदै रहोस्। (तर) सबैले अक्षर र अंक पढ्न आवश्यक भएकाले मकहाँ पढ्न आउँदा रक्सी, जाँड, चुरोट, गाँजा आदि नखाने दिदीबहिनीलाई दिनको १२ बजेदेखि २ बजेसम्म २ घन्टाभित्र नेपाली प्राथमिक (प्राइमरी) शिक्षा मेरो डिल्लीबजारको १२२ नं ... झुप्रोमा पढाउने भएकी छु। आउने दिदीबहिनीहरूलाई धेरै स्वागत छ !’
सार्वजनिक बहसमा उत्रने महिलामध्ये केहीले पुरुषकै ‘तर्कधारा’ समाते पनि धेरैले आफूलाई समानताको पक्षमा उभ्याएका थिए। उनीहरू बाहिरी काममा पनि संलग्न हुन चाहन्थे, कमाउन चाहन्थे, आफ्नो खुट्टामा उभिन चाहन्थे र विदेशी महिलासँग दाँजिने सपना देख्थे। महिलालाई होच्याउने, उल्याउने, र पुरानै ढर्रामा राख्ने पुरुषहरूको उनीहरूले खिल्ली उडाएका थिए। आफ्नो हकअधिकार लिन उनीहरू कटिबद्ध थिए र पुरुषसँग पौंठेजोरी खेल्न तम्तयार थिए। उदाहरणका लागि स्त्री शिक्षाबारे दरबार हाइस्कुलका प्रधानाध्यापक बोधविक्रम अधिकारीलगायतसँग उनीहरूले वादविवाद गरेका थिए र चुनौतीसमेत दिएका थिए। अधिकारीको गोरखापत्रमा प्रकाशित लेखको प्रत्युत्तरमा हस्तकुमारीले लेखेकी थिइन्, ‘हेडमास्टर साहेबले स्वास्नी मानिस शिक्षित भएमा लोग्नेलाई हेला गर्छन्, तसर्थ स्त्रीहरूले घरको काम मात्र र पुरुषले द्रव्यार्जन गर्ने काम गर्नुपर्छ भन्ने लेख्नुभएको देख्दा यस्ता विद्वान्को मगजमा पनि पक्षपाती भमरा घुम्दा रहेछन् भनी बडो गजब लाग्यो।... अब पनि पुरुषसरह स्त्रीजातिले शिक्षा लिनु हुँदैन भन्नु दासत्वमोचन हुँदैन भन्नु हो। अहो मास्टर साहेबको स्वार्थी विचार।’ त्यस्तै, अर्की पाठक डम्बरकुमारी देवीको भनाइ रह्यो, ‘हेडमास्टर बोधविक्रम अधिकारी एमएले लेख्नुभएको स्त्री शिक्षामा हाम्रो मन सारै अफसोस लागिरहेछ, किनभने पुरुषजातिले मात्र हरेक कुरा गर्नु हामी स्त्री किन अझै नारकीय हुनु। 
‘पतिव्रता हामी भएपछि पत्नीव्रत पुरुष नभएका किन? हामीले शिक्षा पाएर के बिग्रन्छ र? के युरोप, लण्डन, अमेरिका इन्डिया बिग्रेका छन् र !’
सार्वजनिक वृत्तमा उत्रेका यी कतिपय महिला महिला नभई खासमा पुरुष थिए कि भनेर केहीले शंका गरेको पाइन्छ। आफूलाई आलोचना गर्नेलाई हेडमास्टर अधिकारीले ‘सारी लगाएका पुरुष’को संज्ञा दिएका थिए। ‘अदना महिला’ले त्यस्ता बलिया तर्क राख्नै सक्दैनथे भन्ने सोच उनीहरूमा देखिन्छ। हुन सक्छ, केही पुरुषले महिलाका नाममा पनि लेखे होलान्, तर मूल प्रश्न किन महिलालाई मात्र सधैं शंकाको दृष्टिबाट हेरिन्छ भन्ने हो। 
राणाकालमा महिला र पुरुषबीचको बहसले गोरखापत्रमा स्थान पाउनु नै ठूलो फड्को थियो। तत्कालीन शासक र सम्पादकको सहिष्णुताले यसमा भूमिका खेलेको थियो। तर त्यो उदारता, सहिष्णुता धेरै समय टिकेन। पद्मशमशेर लखेटिएर अनुदार मोहनशमशेरको अभ्युदय भएपछि विस्फारित हुँदै गरेको सार्वजनिक वृत्त पुन: साँघुरियो। बहस छलफलको संस्कृति झ्यांगिन, मौलाउन पाएन, एक कदम अघि बढेको मुलुक दुई कदम पछाडि धकेलियो।

प्रकाशित : असार ४, २०७३ १८:५२
प्रतिक्रिया
पठाउनुहोस्

डोमसँगका सम्झना–बिर्सना

‘मैले दिएको डाली, पाथी लिएर देउता र पितृको पूजा हुन्छ, भन्नुस् हजुर– तैपनि म किन अछूत भएँ?’
तुलानारायण साह

सप्तरी जिल्लाको गोइठी गाउँमा मेरो बाल्यकाल बितेको हो। घरको अगाडि दुइटा पोखरी छन्। पोखरीको डिलमा प्रशस्त बाँसका झाडी, रूख, बिरुवाहरू छन्।

३५/४० वर्षअघि गाउँमा कसैको घरमा शौचालय थिएन। मानिसहरू शौचका लागि त्यही झाडी वा अलिक परको खेत, खोला, खोल्सी प्रयोग गर्थे। हरेक दिउँसो हूलका हूल सुँगुर चर्न आउँथे। सुँगुरले मानिसका दिसा–पिसाब खान्थे। सुँगुरको हूलको पछि–पछि कहिले पाका उमेरका महिला वा पुरुष हुन्थे भने कहिले हाम्रै उमेरका बच्चाहरू। अभिभावकबाट हामीलाई सचेत गराइएको हुन्थ्यो, ती डोम हुन्, तिनको जीउमा छुनु हुँदैन। जीउमा छोइयो भने गंगा स्नान जानुपर्छ। गंगा स्नान नगएसम्म गोसाइँ घर (कुलदेउताको घर) पस्न पाइँदैन भनिन्थ्यो। कोही–कोही मानिसले डोमको जीउ छोए भने गंगाजल छर्केर पवित्र पारिन्थ्यो। 

कहिलेकाहीं ती डोम, डोमिनीहरू हाम्रो घर–आँगनमा पनि आउँथे। गाईवस्तुको गोबर जम्मा गर्न, घाँसपात ओसारपसारमा प्रयोग हुने दौरा–दौरी, ढकिया, छिटा तिनैसँग किनिन्थ्यो। गोसाइँघर, भान्साघरमा प्रयोग हुने दौरी, चागेरा, चागेरीहरू पनि तिनीहरूबाटै खरिद गरिन्थ्यो। ती सामग्री किन्दा डोमले पहिला भुइँमा राख्थे, त्यसपछि आमाले पानी छर्किनुहुन्थ्यो, अनि घर भित्र्याइन्थ्यो। लेनदेनको मामिलामा हामी केटाकेटीलाई खासै मतलब हुँदैन्थ्यो। मतलब केवल एउटै कुराको हुन्थ्यो कि डोमको जीउमा छुनु हुँदैन। पूरापूर सतर्क हुन्थ्यौं हामी। 
गाउँमा कुनै ठूला भोज हुँदा डोमहरूको समूह नै आउँथ्यो। म सानो छँदा पिताजीको हजुरआमाको देहान्तमा खैलसा (लगभग जिल्लाको आधा भागको) को भोज गरिएको थियो। सयौं स्वजातीय मान्छेहरू त्यस भोजमा सहभागी भएको सम्झना छ। पहिला–पहिला मिथिलामा हुने भोजहरू प्राय: भुइँमा लहरै सयौं मानिसलाई एकैपटक पात बिछ्याएर खुवाइन्थ्यो। अचेल टेन्टमा टेबुल–कुर्सीको चलन पनि छ। त्यस्तो भोजको बेलाचारैतिर तीनथरीका समूह सतर्कताका साथ उभिरहेका हुन्थे। एउटा लाठी लिएर केटाकेटी र युवाहरूको समूह हुन्थ्यो, जसले कुकुरहरूलाई छेक्ने, धपाउने काम गथ्र्यो। यो समूह भोजस्थलको अत्यन्त नजिक हुन्थ्यो। कहिलेकाहीं कुकुरहरू खानाको लोभमा भोज चलिरहेकै बेला बीचैमा छिर्थे। दोस्रो अलिक पर डोमहरूको समूह हुन्थ्यो, तिनीहरू पनि कुकुरलाई नै छेकेर बसेका हुन्थे। अनि सबैभन्दा पर कुकुरहरू झुन्डका झुन्ड हुन्थे। कति बेला भोज सकिएला र पातमा उब्रेको खाना लुछ्न पाइएलाजस्तो गरेर तम्तयार हुन्थे उनीहरू।
भोज सकिसकेपछि केही डोम कुकुर धपाउन लाग्थे भने केही पातमा उब्रेको जुठो सोहर्न। सुनिएअनुसार, तिनीहरू त्यो जुठो खान्थे।
 

एसएलसी नदिइन्जेल आफ्नो गाउँ गोइठी र स्कुल भएको गाउँ डिमनबीच वर्षौंसम्म ओहोरदोहोर गरिरहँदा पनि बाटोमा पर्ने डोमबस्ती र तिनको बारेमा कहिल्यै केही सोचिएन। मनमा कुनै प्रश्न नै उब्जेन। आईएस्सी पढ्न जनकपुर पुगेपछि हो कि बीएस्सी पढ्न काठमाडौं आएपछि हो, अन्तर्राष्ट्रिय मञ्च मासिक पत्रिकामा सर्लाहीका कांग्रेसी नेता रामहरि जोशीले मलंगवाका डोमहरूलाई पक्की घर बनाइदिएको आलेख पढेको सम्झन्छु। त्यसबापत जोशीलाई कुनै पुरस्कार दिइएको पनि त्यसमा उल्लेख थियो। 
२०६४ सालयता मधेसका विभिन्न सहरबजारमा गोष्ठी आयोजना गर्ने काममा संलग्न भइयो। गोष्ठीमा प्राय:जसो प्राध्यापक कृष्ण खनालबाट कार्यपत्र प्रस्तुत हुन्थ्यो। केही ठाउँमा प्राध्यापकहरू लोकराज बराल, कृष्ण हाछेथुको पनि कार्यपत्र पेस भयो। विषयवस्तु, प्रस्तुतिलगायत हरेक थोक उत्कृष्ट हुँदाहुँदै पनि कार्यक्रममा अधिकांश सहभागी निदाउँथे। प्रस्तोतालाई खल्लो हुन्थ्यो। अनि हामी गीत–संगीतसहितको कार्यक्रम सञ्चालन गर्ने निष्कर्षमा पुग्यौं। पात्र खोज्दै जाँदा धीरेन्द्र प्रेमर्षीलाई आग्रह गर्‍यौं। उनी तयार भए। धीरेन्द्रजीले मैथिली र नेपाली भाषामा अनेक गीत, गजल, टुक्काहरू प्रस्तुत गरेर सहभागीहरूको निद्रा भगाए। प्राध्यापकहरूका कार्यपत्र र धीरेन्द्रजीको गीत–संगीत। यो क्रम ३/४ वर्षसम्म चल्यो। त्यसमा सबैभन्दा बढी गाइने गीत हुन्थ्यो, 
‘हमरे डाला पनपथिया सा देवतो पित्तर पुजाई छै,
कहु यौ बाबु तैयो हमर देह किया छुवाई छै?’
अर्थात् ‘मैले दिएको डाली, पाथी लिएर देउता र पितृको पूजा हुन्छ, भन्नुस् हजुर– तैपनि म किन अछूत भएँ?’ मैथिली भाषाको यो गीत धीरेन्द्र प्रेमर्षीको रचना हो। रामा मण्डल र रूपा झाले गाएका छन्। यो गीत विशुद्ध रूपमा मिथिला समाजमा डोम जातिसँग हुँदै आएको छुवाछूतसँग सम्बन्धित छ। डोमको जीवन–जगत्सँग सम्बन्धित यो गीत जतिपटक सुने पनि डोमहरूकै अवस्थाबारे त्यति धेरै सोचिंदैनथ्यो। गीत राम्रो लाग्थ्यो। स्वर राम्रो लाग्थ्यो। कहिलेकाहीं डोमहरूको झझल्कोसम्म आउँथ्यो। बस ...!
२०६५ सालतिरको प्रसंग हो। मिथिला क्षेत्रको दलित समुदायको अवस्थाबारे एक अध्ययनको सिलसिलामा डोम जातिकै अगुवा युक्ति मरिकसँग भेटेको थिएँ, उनकै घरमा। सप्तरीको दक्षिणी भेक गोविन्दपुरमा मित्र नन्दकुमारजीको बाइकमा पुग्दा गाउँघरका बालबालिक अचम्म मानेर हामीलाई हेराहेर गरेको सम्झन्छु। छोटो कुराकानीपछि हामी त्यहाँबाट पानी पिएर फर्केका थियौं। त्यहाँ युक्ति मरिकसँगको कुराकानी स्मरणीय रह्यो।
युक्ति मरिक सम्भवत: डोम समुदायमा सबैभन्दा बढी पढेका व्यक्ति हुन्। २०५७/५८ सालमा सप्तरीको अनेक ठाउँमा चलाइएका छुवाछूतविरुद्धको अभियानको उनी मुख्य अभियन्ता हुन्। आज धेरै चियापसलमा डोमहरूले पनि चिया खान पाएका छन्, देवीदेवताको मन्दिर प्रवेश गर्न पाएका छन्। यी सबै कार्यका लागि उनीलगायतका व्यक्तिहरूले ठूलो संघर्ष गर्नुपरेको थियो। यी सब कुरा सम्झिँदा कुनै फिल्म हेरेजस्तो लाग्छ। उनीसँगको कुराकानीपछि म ‘इमोसनल’ भएको थिएँ। दलितहरूको समग्र अवस्था अहिले पनि चिन्ताजनक छ, मधेसी दलितको त झनै। त्यसमा पनि डोमको अवस्था हृदयविदारक नै छ।
समयक्रममा हामीले ‘मधेस अध्ययन’ जर्नल निकाल्ने सुर कस्यौं। मार्टिन चौतारीका मित्रहरूसँग यसबारे छलफल गर्‍यौं। डा. प्रत्यूष वन्तको सुझावअनुसार राजेन्द्र महर्जनलाई सम्पादनका लागि आग्रह गर्‍यौं। राजेन्द्रजी, म र कृष्ण साह मिलेर लेखहरूको सम्भावित शीर्षक र लेखकको सूची बनायौं। मधेस अध्ययनको पहिलो अङ्कका लागि डोमबारे लेख्न भोला पासवानलाई आग्रह गर्ने कुरा भयो। त्यति बेला भोला समता फाउन्डेसनसँग आवद्ध थिए। इरिसा सुवालसँग मिलेर उनी डोम समुदायबारे एक बृहत् अनुसन्धानमा संलग्न थिए। 
भोला पासवानले डोम जातिबारे लेखेको लेख ‘मधेस अध्ययन–१’ मा छापियो। केहीपछि समता फाउन्डेसनको पुस्तक पनि प्रकाशित भयो। डोम जातिका अनेक पक्षहरू समेटिएको उक्त पुस्तक पढेपछि थप रुचि जाग्यो, यसबारे केही लेखपढ गर्न। 
 

म यसबारे सोच्दैं थिएँ। पत्रपत्रिकामा प्रकाशित साना–ठूला समाचारलाई पछ्याउँदै थिएँ। यसैबीच केही महिनाअघि सिरहाबाट एउटा समाचार आयो। नेपाली सिनेस्टार राजेश हमालले सिरहाको गोलबजार छेउको एउटा गाउँ पुगेर डोम जातिका मानिसहरूलाई सार्वजनिक इनारमा पानी भर्न दिन स्थानीय ‘ठूला जातका’हरूलाई आग्रह गरेको प्रसंग त्यसमा उल्लेख थियो। राजेश हमालको प्रयास सराहनीय थियो। अनुकरणीय छ। 
त्यस प्रसंगलाई लिएर कतिपय मित्रहरूले फेसबुक, ट्विटरमा ‘ट्याग’ गरेर मलाई अनेकौं प्रश्न गरेका थिए। मधेसी समाजमा यस्तो छ, तपाईंको प्रतिक्रिया आएन नि? आदि–इत्यादि। 


‘मेरो परिवार, समाज, पुर्खाहरूबाट जान–अञ्जानमा तपाईं वा तपाईंको जात, समुदायसँग अनेकौं प्रकारको विभेद हुन गयो होला। हामी तपाईंलगायत ती सम्पूर्णसँग क्षमायाचना गर्छौं।’

राजेश हमालको प्रयासले म पनि खुसी भएको थिएँ। स्थानीय ‘ठूला जातका’हरूप्रति मेरो पनि गुनासो थियो। तर अधिकांश मिडियामा प्रेषित समाचार र सामाजिक सञ्जालमा सोधिने प्रश्नहरूबाट के झल्किन्थ्यो भने त्यस घटनामा मधेसीहरू सबै ठूला जातका पक्षमा, अवरोधक र पहाडेहरू जति सबै डोमको पक्षमा π
मैले स्थानीय पत्रकार र प्रहरीहरूसँग घटनाबारे बुझ्ने प्रयास गरें। त्यहाँ डोमलाई अवरोध गर्ने समूहमा मधेसीहरू मात्र थिएनन्, पहाडे समुदायका मानिसहरू पनि थिए। त्यो घटनापछि मैले अलि फरक प्रकारले खोजबिन थालें। एनजीओलाई जसले जति गाली गरे पनि मिथिला क्षेत्रमा डोम र चमार जातिमाथि शताब्दीऔंदेखिको छुवाछूत घटाउने कार्यमा तिनीहरूको ठूलो योगदान छ। मिडियाको भूमिका पनि कम छैन। खोजबिनबाट थाहा हुन्छ, २०५६/५७ सालतिर चमार जातिका मानिसहरूले सिरहा र सप्तरीमा चलाएको सिनो बहिष्कारको आन्दोलनमा एक्सन एड नेपालको ठूलो भूमिका थियो। विनोद बिसुंखे, दुर्गा महतो, विजयप्रसाद मिश्र, अर्जुन थपलियाजस्ता व्यक्तिहरू नभएको भए न त बलदेव राम, बद्री रामहरूको सिनो आन्दोलन यो रूपमा सफल हुने थियो, न त युक्ति मरिकहरूको मन्दिर प्रवेश आन्दोलन नै।
मेरो खोजबिनको उद्देश्य थियो– के डोम जातिका मानिसहरूसँग अझै त्यस्तै विभेद छ, जुन मैले सानो छँदा देखेको थिएँ। केहीअघि आफ्नै गाउँका देवनारायण मरिकको घरमा जाँदा उनको बारीमा शौचालय देखें। छक्क परें। मेरो गाउँमा अहिले पनि हुने–खाने सयौं परिवारले शौचालय बनाइसकेका छैनन्। यसबारे थप जान्ने इच्छा भएर यसपटक क्यामरा बोकेरै घर गएको थिएँ।
आफ्नो घरमै रहेका बेला मित्र दीपेन्द्र झाले फोनमा भने, ‘मधेसी समाजमा व्याप्त जातीय, लैङ्गिक, धार्मिकजस्ता भेदभावविरुद्ध हामीले सोसल मिडिया मार्फत क्षमायाचना अभियान चलाउँदै छौं, तपार्इं पनि सहभागी हुने?’
‘किन नहुने?’ मैले तत्काल सहमति जनाएँ।
त्यसपछि मेरो मनमा अनेक प्रसंगहरू खेल्न थाले। आखिर जातीयलगायतका सम्पूर्ण सामाजिक विभेदको मूल कारण त अशिक्षा र अन्धविश्वास हो। त्यसैले यस्ता खालका विभेद सबैभन्दा बढी गाउँमा हुन्छ। सामाजिक सञ्जालमा जोडिएका साथीहरू प्राय: सहरबजारमा बस्नेहरू हुन्छन्, जहाँ तुलनात्मक रूपमा यस्तो विभेद कम हुन्छ। त्यसैले मलाई लाग्यो, मैले देवनारायण मरिककै घरमा उनैसँग क्षमा माग्नुपर्छ, उनको घरमा चिया खानुपर्छ र त्यही सन्देशका साथ जारी क्षमायाचना अभियानमा ऐक्यबद्धता जनाउनुपर्छ। मैले त्यस्तै गरें पनि। फेसबुक र ट्विटरमा ती तस्बिरहरू हाल्नुअघि दीपेन्द्र झासँग पनि सहमति लिएको थिएँ। किनभने यो अभियानको सुरुवातकर्ता दीपेन्द्र र प्रशान्त झा नै हुन्। म त ऐक्यबद्धता जनाएर सहभागी मात्र भएको हुँ।


सुरुमा म देवनारायणको दरबाजामा बस्दा उनले खासै चासो राखेनन्। बाँसको चोया बनाउने काममा व्यस्त थिए। कुराकानी थालें, शौचालयकै प्रसंगबाट। त्यसपछि मात्र प्रवेश गरें, क्षमायाचनातर्फ। थप कुरा गर्नुअघि चिया खुवाउनुहुन्छ भनेर सोधें।
‘किन नखुवाउनु, भइहाल्छ नि।’
देवनारायणले हाँसेर जवाफ दिदै आँगनमा गएर श्रीमती ममतालाई चिया पकाउन भने। त्यति बेलाको दृश्य झनै विशेष थियो। ममताले आश्चर्यचकित मुद्रामा आँगनबाट हामीतिर हेरिन्। अम्खोरा लिएर गाउँतिर दौडिहालिन्।
‘दूध ल्याउनु पर्दैन। कालो चिया खान्छौं,’ हामीले भनिराख्यौं तर उनी रोकिइनन्। एक छिनमै उदास भएर फर्केर आइन् र भनिन्, ‘भैंसी दुहिसकेको रहेनछ। कालै चिया पकाउँछु।’
ममता एकै छिनमा चिया लिएर आइन्। म, मसँग गएका साथी कपिलेश्वर सरदार र देवनारायण तीनैजना चिया पिउँदै गफिन थाल्यौं।
‘तपाईंहरू यहाँ बसेको कति वर्ष भयो होला?’
‘२५/३० वर्ष भयो होला। यसअघि कुनै पनि परजाइत (अन्य जातिका मानिस) ले हाम्रो घरमा चिया खाएको थिएन। तपाईं पहिलो हो,’ देवनारायणले भने।
मैले दुई हात जोडेर माफी मागें, ‘मेरो परिवार, समाज, पुर्खाहरूबाट जान–अञ्जानमा तपार्इं वा तपाईंको जात, समुदायसँग अनेकौंं प्रकारको विभेद हुन गयो होला। हामी केही पढे–लेखेका साथीहरू तपाईंलगायत ती सम्पूर्णसँग क्षमायाचना गर्छाैं। हामीलाई क्षमा गर्नुहोस्। यो अभियानलाई हामी निरन्तरता दिंदै सम्भव भएसम्म अगाडि बढाउनेछौं।’
त्यसपछि मैले सोधें, ‘बच्चाहरू कतिजना छन्?’
‘तीनजना छोराहरू छन्। दुइटा गोइठी स्कुलमा पढ्छन्। कान्छोचाहिं पोलियोले ग्रसित छ। अहिले स्कुल जाँदैन।’
‘बच्चाहरूलाई स्कुलमा छुवाछूत गर्दैनन्?’
‘गर्दैनन् हजुर। मास्टरसाबहरूले एकै ठाउँमा राखेर पढाउनुहुन्छ। विद्यार्थीहरू पनि छुवाछूत गर्दैनन्। हेल्थपोस्टमा जाँदा डाक्टरले पनि छुवाछुूत गर्दैन,’ ममताले एकै सासमा भनिन्।
‘त्यसो भए छुवाछूत कहाँ र कसले गर्छन्?’
‘यही गाउँघरमा छुवाछूत गर्छन्। हाम्रो आफ्नै ट्युबवेल छ। त्यसैले अर्काकोमा पानी लिन जानु पर्दैन। आफ्नो ट्युबवेल बिग्रेको बेला मात्र अर्काकोमा जानुपर्छ। उहाँहरूले आफंै पानी भरेर दिनुहुन्छ। हामीलाई भर्न दिंदैनन्,’ देवनारायण र ममताले एक स्वरमा भने।
देवनारायण मरिकको घरबाट फर्किंदै गर्दा गोइठी स्कुलमा उनको छोराको पढाइ र उनीसँग गरिने व्यवहारबारे बुझ्न मन लाग्यो। स्कुलभित्र पस्यौं। प्रधानाध्यापकको कोठामा झुन्डिएको क्यालेन्डरमा ‘डोम समुदायको केटाकेटी विद्यालयमा’ शीर्षकको समाचारलाई फोटोको रूपमा छापिएको देखियो। त्यस्तै देवनारायण मरिकको छोरा दीपक मरिक आफ्नो कक्षामा अन्य विद्यार्थीहरूसँग बसेर पढ्दै थिए। आफूसँग कुनै प्रकारको छुवाछूत नभएको दीपकले बताए।


नेपालभरि डोम जातिको जनसंख्या १० हजार हाराहारी मात्र छ। पूर्वमा झापादेखि पश्चिममा नवलपरासीसम्म डोमहरूको बसोबास रहेको समता फाउन्डेसनको अनुसन्धानले देखाएको छ। सबभन्दा बढी जनसंख्या सप्तरी र सिरहामा छ। तिनीहरूको आर्थिक विकास, शिक्षा, स्वास्थ्य, गरिबी निवारण र रोजगारका लागि सोच्ने पहिलो कर्तव्य राज्यको हो। हामीले त्यसलाई सघाउनुपर्छ तर छुवाछूतविरुद्ध राज्यले वर्षौंअघि कानुन बनाइसक्दा पनि ग्रामीण भेकमा समस्या जस्ताको तस्तै छ। त्यसैले हामी नागरिक र हाम्रो समाजको प्रमुख कार्य छुवाछूत हटाउनु हो। क्षमायाचना अभियानले त्यस्तो गर्लाजस्तो लाग्छ।
केही साताअघि एमाले नेता रवीन्द्र अधिकारीसँग मधेसको विकासबारे इमेलमा छलफल भएको थियो। मैले इमेल मार्फत नै सल्लाह दिएको थिएँ, ‘हालको सरकार गठन हुँदा एक वर्षभित्र पहाडी भेकको तुइन विस्थापन गर्ने निर्णय गरेजस्तै आगामी आर्थिक वर्षभित्र सम्पूर्ण डोम जातिको परिवारमा शौचालय बनाउने घोषणा होस्।’ तर बजेटमा यो कुरा आयो/आएन, ‘फलोअप’ गरेको छैन।
डोमलगायत अति सीमान्तकृत समुदायका लागि गर्नुपर्ने कुरा अनेक छन्। मेरो बुझाइमा अहिलेसम्म उनीहरूले अरूलाई नेता बनाउन भोट मात्र दिंदै आएका छन्। केहीयता सामाजिक स्वीकार्यताका लागि लड्न थालेका छन्। तर जब दलितहरूको यो लडाइँ राजनीतिक उद्देश्यका साथ सुरु हुन्छ, तब अरू ठाउँको त भन्न सकिन्न तर मिथिलाको राजनीति पूर्णरूपेण भारतको विहार र उत्तरप्रदेशको जस्तो हुनेछ। मिथिलामा पनि रामविलास पासवान र मायावतीहरूको उदय अवश्य हुनेछ। प्रतीक्षा छ भने केवल काशीरामको। 

प्रकाशित : असार ५, २०७३ २२:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×