आहाराले दिएको सहारा

हनुमानढोका दरबार स्क्वायर क्षेत्रमा बिहानैदेखि चहलपहल सुरु हुन्छ । हरेक दिन सबेरै व्यापारीहरू परेवाका लागि बोराका बोरा चारो लिएर आउँछन् । र सँगै आउँछन्, सहरका विभिन्न ठाउँबाट परेवाहरू पनि ।

आहाराले दिएको सहारा

व्यापारी र परेवा दुवैको भेट भए पनि जबसम्म पैसा हालेर चारो किनिदिने ग्राहक आउँदैनन् तबसम्म परेवा भोकै हुन्छन् । यसरी चारो बेचेर निर्वाह गर्ने हनुमानढोका परिसरमा ६ महिला र दुई पुरुष छन् । तिनैमध्येका एक हुन् ४९ वर्षीय हरिशरण श्रेष्ठ । २०४५ सालमा उनका बुबाले एक जनासँग एक हजार रुपैयाँ सापटी लिई सात सयमा मकै किनेर थालेको यो व्यवसाय नै आजसम्म उनको रोजीरोटीको सहारा बनेको छ । ऊ बेला स्कुलको शुल्क तिर्न नसकेर सबै किताब च्यातेर फालेको उनलाई अझै पनि याद छ । घर भाडा तिर्न नसकेको अवस्थामा बालाई कान नसुन्ने र दमको व्यथाले च्यापेपछि रुनु न हाँस्नु भएका थिए उनी । त्यही संकटसँग जुध्न उनको परिवारले परेवाको चारो बेची गुजारा चलाउने उपाय सिकेको थियो ।
त्यतिबेला काठमाडौंमा मान्छेको भीड नभएकाले चारोको व्यापार त्यति धेरै हुन्थेन, उनी महिनाको पाँच–छ हजार मात्र कमाउँथे । अहिले त दिनकै सरदर ६० किलो चारो बेचेर महिनामा तीस हजार कमाउँछन् । २८ वर्ष लामो उनको यो व्यापारले थुप्रै नियमित ग्राहकहरू बनाएको छ । धेरैजसो मारवाडी, भारतीय पर्यटक र बौद्ध भिक्षुहरू परेवालाई चारो हाल्न आउँछन् ।
२८ वर्षमा आफ्नो व्यवसाय एक दिन मात्र बन्द भएको बताउँछन् उनी । त्यो दिन थियो २०७२ वैशाख १३ गते अर्थात् विनाशकारी भूकम्प गएको भोलिपल्ट । ०४५ सालदेखि कति आन्दोलन, कफ्र्यु अनि शोकमा पनि उनको व्यवसाय दिनको एक पटक भए पनि खोलियो । आफ्नै बाको मृत्युमा पनि उनको भाञ्जाले बोरा र बाटाभरि मकै थापेर व्यापार चलाइदिएको सम्झन्छन् हरिशरण ।
त्यसो त उनको न्युरोडमा सीडी पसल पनि छ । तर उनलाई त्यहाँ भन्दा परेवाको चारो बेच्नमै आनन्द लाग्छ । पैसा पनि धेरै हुन्छ । परेवाहरूले निकाल्ने आवाज सुन्दा उनलाई संगीत सुनेझैँ लाग्छ । उनीहरू हिँडेको, उडेको अनि टपाटप चारो टिपेको देख्दा उनलाई खुब रमाइलो लाग्छ ।
यसरी नै परेवाको आहारा बेचेर आफ्नो गुजारा चलाउँदै आएकी ४० वर्षीया सुनीता सुवेदीले पनि हनुमानढोकाअगाडि बसेर ११ वर्ष बिताइसकिन् । चर्को घाममा छातीबाट करङ निस्किएजस्तै तारैतार निस्केको छाता ओढेर चारो बेच्दै थिइन् उनी । ‘यी परेवा भोकाएका छन् । तपाईंहरू हात हल्लाउँदै हिँड्न सुहाउँछ ? अलिकति चारो किनेर हालिदिनु न, धर्म हुन्छ बाबै !,’ अगाडिबाट हिँडिरहेका बटुवालाई लक्षित गर्दै उनले भनिन् । तिनै बटुवाको हातबाट परेवाले आहारा खाइदिँदा सुनीता र उनको परिवारलाई बाँच्ने सहारा मिलेको छ ।११ वर्षअघि सिन्धुपाल्चोकको जुरेमा खेतीपातीबाट खानलाउन नपुग्ने अवस्था आएपछि जीविकोपार्जनको उपाय खोज्दै सुनीताको परिवार काठमाडौं आएको थियो । नाङ्लोमा फलफूल बेचेर काठमाडौंको सडकमा संघर्ष सुरु गरेकी सुनीतालाई आफूजस्तै महिलाहरू परेवाको चारो बेचेर पालिएको देखेपछि यो पेसाले तानेको हो । ‘फलफूलबाट खासै कमाइ नभएपछि एक दिन थोरै कुहिएको मकै किनेर हनुमानढोकाको पुलिसचौकी अगाडि बसेँ, घुम्न आएका मान्छेले मकै किनेर परेवालाई दिए,’ उनी आफ्नो व्यवसायको पहिलो दिन सम्झन्छिन् । त्यस दिनदेखि आजसम्म उनलाई कहिल्यै कमाइको खोजीमा अन्त भौंतारिनु परेन ।
अहिले त आफ्नो परिवारको भन्दा तिनै परेवाको भरोसामा बाँचेकी छन् उनी । भन्छिन्, ‘बरु छोराछोरीले पाल्लान्/नपाल्लान् था छैन तर यी परेवाले चाहिँ पक्कै पाल्छन् ।’ कहिलेकाहीँ महानगरपालिकाले लखेटे पनि हनुमानढोकामा बस्न छाड्दिनन् । यो ठाउँ आफ्नो दोस्रो घरजस्तै भएको छ उनलाई ।
दिनको ५०/६० किलोसम्म बेच्ने गरेको चारो आजभोलि बढीमा २० किलो मात्र बिक्छ । कीरा लागेर मान्छेले खान नमिल्ने भएको मकै नजिकैको पसलबाट सस्तोमा किनेर परेवाको लागि बटुवालाई बेच्छिन् सुनीता । ‘सद्दे मकै किनेर चारो बेच्दा नाफा हुँदैन, तर परेवालाई मकै जस्तो भए नि फरक पर्दैन,’ उनले हाँस्दै भनिन्, ‘किन्ने मान्छेहरू मकै कुहियो भन्छन् तर परेवाले भन्दैनन्, जस्तो भए नि टपाटप खान्छन् ।’
भोकाएका परेवाप्रतिको प्रेम कसैले मकै किनेपछि मात्र प्रकट गर्न सक्छिन् उनी । किनकि उनको परेवाप्रेम परोपकारसँगभन्दा रोजीरोटीसँग गाँसिएको छ । ‘परेवा भोकाए भन्दैमा सित्तैमा चारो छर्न कहाँ सकिन्छ र ! यसैको आम्दानीले त पालिनुपर्छ,’ हँसिलो अनुहारलाई गम्भीर बनाउँदै उनले आफ्नो बाध्यता दर्साइन् ।
भोकाएका परेवा उनको आँखा छल्दै प्लास्टिकका बाटाभरिको चारो टिप्न आइपुगे भने आफूले ओढ्ने जीर्ण छाताको तारले घोचेर धपाउँछिन् उनी । चोरेर चारो खान आएका भोका परेवालाई त्यसरी धपाउँदा एक दिन उनकै हातबाट एउटा परेवा मरेको थियो । त्यो सम्झेर दु:खी देखिएकी सुनीताले यति मात्र भनिन्, ‘परेवाको भोकभन्दा आफ्नै भोक ठूलो हुनिरैछ ।’
आफन्त पर्ने दोलखा चरिकोटकी ३२ वर्षीया कमला सुवेदीलाई पनि उनले परेवाको चारो बेच्ने साथी बनाएर सँगै राखेकी छन् । भूकम्पले घर ढलेर बिचल्ली भएकी कमला नयाँ पेसा अँगाल्न हनुमानढोका मन्दिर परिसरमा आइपुगेकी थिइन् । दिनमा दुईदेखि तीन सयसम्म कमाइरहेकी कमलाको चार जनाको परिवार चारोकै कमाइले धानिएको छ ।
हनुमानढोका मन्दिर परिसरमा चारो बेचेर पालिनेहरूमा ७८ वर्षका इन्द्रवहादुर दुलाल र त्यति नै उमेरकी बालकुमारी कार्की पनि छन् । यहाँको सबैभन्दा पुरानो चारो व्यवसायी हुन् ५६ वर्षीया ठूलीमाया र उनका श्रीमान् भीमबहादुर लामाको जोडी । उनीहरू यहाँ लगातार अठ्ठाईसौं वर्षको अनुभव बटुलिरहेका छन् ।
सबै चारो व्यवसायीहरू ग्राहक चिन्न र तान्न पोख्त छन् । विदेशी पर्यटकलाई उनीहरू ‘यस यस, कम कम, नाइस्’ भन्दै बाटाभरिको मकै अगाडि लम्काउँछन् । भारतीयजस्ता देखिने पर्यटक आए भने ‘कबुत्तर कबुत्तर, डालो डालो’ भन्छन् ।
परेवाको धार्मिक महत्त्व र आजभोलिका ठिटाठिटीको फोटो र सेल्फी मोहबारे पनि उनीहरूलाई उत्तिकै थाहा छ । परेवा भुर्र उडाएर फोटो र सेल्फी खिचाउने किशोरकिशोरी पनि सजिलै उनीहरूका ग्राहक हुन्छन् ।
हनुमानढोका परिसरमा जम्मा हुने हजारौं परेवाहरूले दिनमा चार क्विन्टल जति मकै खाइसक्छन् । त्यसको बन्दोबस्त गर्न बसेका व्यवसायीहरूको प्रतिस्पर्धा र लगाव उत्तिकै छ । ठाउँठाउँबाट आ–आफ्नो बाध्यताले यहाँ आएर एकै कामले बाँधिएका चारो व्यवसायीहरू मिलीजुली चारो बेच्छन् । तर आफ्ना पुराना ग्राहकलाई अरूले बोलाए र कम मूल्यमा चारोको लोभ देखाए भनेचाहिँ उनीहरूबीच कहिलेकाहीँ ठाक्कठुक्क पनि पर्छ । खाना खाने बेलामा भने उनीहरू परेवाले जस्तै बाँडीचुँडी खान्छन् ।


सविना देवकोटा

प्रकाशित : पुस १६, २०७३ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?