कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मनोरञ्जनात्मक शैक्षिक कक्षा

आमीर केवल फिल्म मात्रै बनाउँदैनन् । फिल्ममार्फत सभ्य समाज निर्माणमा पनि जुट्ने गर्छन् । महिला सशक्तीकरणका पक्षमा निरन्तर वकालत गर्दै आएका आमीरले ‘दंगल’ को सेटिङमा पुरुषप्रधान समाजलाई अर्को धक्का दिएका छन् ।
सुशील पौडेल

झन्डै छ महिनाअघि सलमान खानको फिल्म आयो, ‘सुल्तान’ । हरियाणाका रेस्लर सुल्तान अली खानमा आधारित रही बनाइएको रोमान्टिक स्पोर्ट्स ड्रामा फिल्मको लिडमा थिए, सलमान नै ।

मनोरञ्जनात्मक शैक्षिक कक्षा

दंगल

निर्देशक : नितेश तिवारी
कलाकार : आमीर खान, साक्षी तनवर, फतिमा शेख, सान्या मल्होत्रा, जायरा वासिम, सुहानी भट्नागर ।

सुल्तानको रेस्लिङ करिअरको उतारचढावदेखि प्रेमसम्बन्धसम्म समेटिइएको यो फिल्म बक्सअफिसमा ब्लकबस्टर्स हिट बन्यो ।
यतिबेला बलिउडका मिस्टर पर्फेक्सनिस्ट आमीर खान ‘दंगल’ सहित आएका छन् । खासमा आमीर केवल फिल्म मात्रै लिएर आउँदैनन्, साथमा सामाजिक मुद्दा, बहस र शिक्षा पनि बोकेर उत्रन्छन्् । ‘दंगल’ मा एक पटक उनले फेरि यही सिलसिला कायम राखेका छन् । फिल्म हरियाणाकै एमेच्योर रेस्लर महावीर सिंह फोकटको जीवनीमा आधारित छैन, बरु उनले आफ्नो अधुरो सपना पूर्तिका लागि छोरीहरूलाई कसरी रेस्लिङमा तयार पारे भन्नेबारेमा फिल्म केन्द्रित छ । महावीरको भूमिकामा उनै आमीर छन् ।
महावीरले रेस्लिङमा भारतका लागि स्वर्ण पदक जिते पनि देशका लागि स्वर्ण जित्न सकेनन् । नाम र इज्जत कमाए पनि दाम कमाउन नसकेका महावीर बाध्य भई खेल छाडेर जागिरे बन्छन् ।
आफ्ना लागि मात्रै हैन, देशका लागि पनि स्वर्ण जित्नुलाई असली उपलब्धि मान्ने महावीरका लागि देशले खास चासो देखाएन । महावीरले एक दृश्यमा भनेका छन्, ‘पदकधारी रूखमा फल्दैनन् । उनीहरूलाई बनाउनुपर्छ, प्रेम, मिहिनेत र लगनले ।’
महावीर आफ्नो सपना छोरामार्फत पूरा गर्ने निचोडमा पुग्छन् । तर लगातार चार छोरी जन्मेपछि निराश बनेका महावीरमा एक घटनापछि उनकै जेठी र माहिली छोरी गीता र वविताले आशा जगाइदिन्छन् । त्यसपछि महावीर गीता र वविताका लागि बापु कम कोच ज्यादा लाग्छन् । हुर्कंदै गरेको धान खेतको बीचमा छोरीका लागि दंगल अखडा तयार हुन्छ । जसै धान सप्रँदै फल्दै जान्छ, महावीरको सपनाको फसल पनि पाक्दै जान्छ । गीताले दंगलमा केटाहरूलाई हराएर जुनियर इन्टरनेसनल्सको पदक जितेपछि कमनवेल्थका लागि पटियाला इन्स्टिच्युट पुग्छिन्, थप प्रशिक्षण गर्न । दंगलका दाउपेचसहित गीतालाई लडाइँ लड्न पठाएका महावीरका लागि यस्तो समय पनि आउँछ, जसले उनै गीतासँग नै कुस्ती लड्नुपर्छ । उक्त लडाइँ मेडलका लागि नभई महावीरसँगको गीताको विश्वासविरुद्धको लडाइँ बन्न पुग्छ ।
‘सुल्तान’ र ‘दंगल’ को समानता भनेको कथावाचनका लागि रेस्लिङ माध्यमका रूपमा रहेको छ । ‘सुल्तान’ खासगरी सलमान र अनुश्का शर्माको लभस्टोरीमा केन्द्रित रही दर्शकलाई पर्याप्त मनोरञ्जन दिन सफल थियो भने ‘दंगल’ ले महिला सशक्तीकरणको एउटा वजनदार मुद्दालाई समातेको छ ।
छोरीलाई चुलाचौकामा सीमित हुनुपर्छ भन्ने मान्यता राख्ने हरियाणाको ग्रामीण समाजमा महावीरले छोरीलाई कुस्ती सिकाउने हिम्मत राख्नु आफैंमा क्रान्तिकारी कदम थियो । छोरीहरूको कपाल काटिनु नाक काटिएभन्दा कम थिएन । तर महावीरले आफूलाई दंगलका लागि मात्रै नभई सामाजिक परिवर्तनका लागि समेत पहलमान साबित गरिदिए । पहिले गाली गर्ने त्यही समाज पछि गीता र वविताको सफलतासँगै ताली बजाउन लालायित हुन्छ ।
फेरि पनि दोहोर्‍याऊँ, आमीर केवल फिल्म मात्रै बनाउँदैनन् । फिल्ममार्फत सभ्य समाज निर्माणमा पनि जुट्ने गर्छन् । महिला सशक्तीकरणका पक्षमा निरन्तर वकालत गर्दै आएका आमीरले ‘दंगल’ को सेटिङमा पुरुषप्रधान समाजलाई अर्को धक्का दिएका छन् । सतहमा हेर्दा फिल्ममा कुस्तीबाजबीच लडाइँ छ । हार र जितको आरोह–अवरोहबीच उत्पन्न एकखाले तनाव छ । तर आमीरले दंगलको अखडालाई महिलामैत्री हुन नसकेको हाम्रो समाजसँग जोडेका छन् । कमनवेल्थको फाइनल भिड्न जानुअघि महावीरले छोरी गीतालाई भनेका हुन्छन्, ‘यो केवल मेडल प्राप्तिको लडाइँ मात्रै हैन । तिमी हार्दा सारा युवतीको हार हुनेछ । तिम्रो लडाइँ भनेको महिलाप्रति रहँदै आएको सोचविरुद्धको हो ।’
आमीरले केहीअघि बनाएको फिल्म ‘तारे जमिन पर’ एक बच्चाको मनस्थितिबाट कथा भनिएको थियो । फिल्ममार्फत आमीरले बच्चाको चाहनाविपरीत कसरी आफ्नो स्वार्थ लादिरहेका हुन्छन् र त्यसले कस्तो मानसिक असर देखापर्छ भन्ने तथ्यलाई मार्मिक र विश्वसनीय ढंगले पेस गरेका थिए । पछि उनी अभिनीत ‘थ्री इडियट’ ले पनि धेरथोर त्यही सोचलाई नै बढावा दियो । यस पटक ‘दंगल’ मा भने आमीर ३ सय ६० डिग्रीमा घुमेका छन् । यस फिल्ममा एक बाबुको सपनाका लागि दुई छोरीले आफ्ना सारा इच्छा, आकांक्षालाई तिलाञ्जली दिनुपरेको देखिन्छ । फिल्ममा त गीत नै छ, ‘बापु सेहतके लिए, तू तोह हानिकारक है’ । तर यसको चित्तबुझ्दो उत्तर स्वयं फिल्म हेरेपछि भेटिनेछ जब गीता र ववितालाई बालविवाह गर्न बाध्य अर्की एक युवतीले सम्झाएको दृश्य पर्दामा आउँछ ।
आमीर ‘दंगल’ मा ५५ वर्षीय र युवावस्थाका महावीरको भूमिकामा शारीरिक र मानसिक दुवै तवरले फिट देखिएका छन् । आफ्नो सपनासँगको लडाइँ, समाजसँगको लडाइँ र गीताको आफूप्रतिको अविश्वासप्रतिको लडाइँका सबै राउन्डमा महावीरका रूपमा आमिर विजयी देखिएका छन् । त्यसो त अभिनयमा मात्रै नभई उनले फिल्मको कथा, पटकथा छनोटमा पनि सफलता पाएका छन् । पटकथासमेत लेखेका निर्देशक अनिश तिवारी ‘दंगल’ मा खरो उत्रेका छन् । यसअघि ‘चिल्लर पार्टी’ र ‘भूतनाथ रिटन्र्स’ मा भन्दा उनी यस पटक बढी वजनदार देखिएका छन् । मूलत: खोटरहित काम दिएका छन्, अनिशले ।
गीता र वविताको भूमिकामा देखिएका जुनिएर र सिनियर दुवै कलाकार खरो उत्रेका छन् । सिनियर गीताको भूमिकामा देखिएकी फतिमा शेख रिंगभित्र जति रेस्लर लाग्छिन्, बाहिर पनि उत्तिकै सजीव अभिनयमा छिन् । सिनियर वविताको भूमिकामा रहेकी सान्या मल्होत्राले केही दृश्यमा दर्शकको मुटु कमाउने क्षमता राख्छिन् । जुनियर गीता, ववितामा देखिएका जायरा वसिम र सुहानी भट्नागरले यति प्रिय अभिनय गरेका छन् कि शारीरिक हाउभाउमै दर्शकसँग सञ्चार गर्छन् ।
फिल्ममा संवाद छोटा छन् तर झंकार लामो समय दिइरहने हैसियत राख्छन् । कतिपय दृश्यमा आँसु नै बलियो संवाद बनिदिएको छ । फिल्मको पहिलो भागमा दर्शक आँखामा आँसु लिंदै हाँस्नुपर्ने बाध्यतामा पर्छन् । झन्डै पौने तीन घण्टाको स्क्रिनप्ले यति खँदिलो छ, फिल्मले क्षणभर पनि दिक्दारी महसुस गराउँदैन । 
पछिल्लो भागमा समेटिएको रेस्लिङका केही दृश्य लामा लाग्न सक्छन्, तर ती दृश्यलाई सपाट रिङभित्रै सीमित नराखी कथामै बुनिएको भने छ । वास्तविक घटनाक्रममा आधारित फिल्म भएकाले ‘दंगल’ को क्लाइमेक्स अप्रत्यासित होइन तर यसमा गरिएको ट्रिटमेन्टले आँखालाई पर्दाबाट हट्न दिंदैन ।
आमीरले क्रिकेट खेलमार्फत ‘लगान’ मा राष्ट्रियता जगाएका थिए भने यस पटक ‘दंगल’ मार्फत सामाजिक कुरीति, लैंगिक विभेद र धेरथोर खेल क्षेत्रमा हुने विसंगतिलाई चिरफार गर्न अग्रसर देखिएका छन् । उनी कत्तिको सफल हुन्छन्, त्यो दर्शकले फिल्मलाई गर्ने आत्मसात्मा भर पर्नेछ । नेपाली समाजसँग र हाम्रो सोचसँग पनि शतप्रतिशत सम्बन्ध राख्ने ‘दंगल’ केवल मनोरञ्जनका लागि मात्रै होइनन्, पौने तीन घण्टाको एउटा शिक्षाप्रद कक्षा पनि हो ।

प्रकाशित : पुस १६, २०७३ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?