१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

राष्ट्रिय खेलकुदका आधार

बजेट अभावमा क्षेत्रीय टोलीहरूले बन्द प्रशिक्षण राख्न पाएनन् । यसको असर मैदानमा पर्‍यो । उनीहरूले विभागीय टोलीहरूलाई ठूलो चुनौती दिन सकेनन् ।
विनोद पाण्डे

सातौं राष्ट्रिय खेलकुदको अन्योल यस्तो थियो, जुन कहिल्यै नहुन पनि सक्थ्यो । त्यही अन्योलमा पूर्वाञ्चलमा पहिलो पटक बृहत् राष्ट्रिय खेलकुदको आयोजना भयो ।

राष्ट्रिय खेलकुदका आधार

यही कारण पनि थियो धेरै पूर्वेलीले सातौं राष्ट्रिय खेलकुदलाई सफल मान्नु । यसभित्रका कथाहरू भने अलि भिन्न थिए । 

नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिता जनाउँदै आएको थियो । विशेषगरी एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्न लागेपछि तत्कालीन स्थितिमा राष्ट्रिय खेलकुदको अवधारणा आएको थियो । क्रियाशील खेललाई एकै स्थानमा राखेर खेलाउनुपर्छ भनी काठमाडौंबाट २०३८ सालमा बृहत् खेलकुद सुरु भएको हो । यही अवधारणाले दक्षिण एसियाली खेलकुदको जन्म गरायो । पहिलो राष्ट्रिय खेलकुद सुरु भएको केही वर्षपछि नै दक्षिण एसियाली खेलकुदको जन्म भयो । नेपालको परिकल्पना हुनाले दक्षिण एसियाली खेलकुदको पहिलो मेला काठमाडौंमै आयोजना भयो ।
राष्ट्रिय खेलकुद र दक्षिण एसियाली खेलकुद २–२ वर्षमा आयोजना हुने र पालैपालो यसको आयोजना गर्ने सहमतिका साथ अगाडि बढेको थियो । ३५ वर्ष पूरा हुँदा राष्ट्रिय खेलकुद बल्ल सातौं संस्करणमा आइपुगेको छ । त्यसको केही समयपछि सुरु भएको दक्षिण एसियाली खेलकुद पनि घिस्रिँदै गत वर्ष १२ औं संस्करण आयोजना भएको थियो । 
नेपाली खेलकुद योजनाविहीनजस्तै छ । त्यसमा राष्ट्रिय खेलकुद पनि पर्छ । २०६८ मा धनगढीमा छैटौं खेलकुद आयोजना भएपछि अर्को संस्करण गर्ने जिम्मा पूर्वाञ्चलले पाएको थियो । पहिलो पटक पूर्वाञ्चलले राष्ट्रिय खेलकुद आयोजना पाएकाले यसकै लागि नै भनेर पूर्वाञ्चलमा कुनै पूर्वाधार थिएन् । अचम्म के रह्यो भने पूर्वाधारका लागि भनेर स्पष्ट बजेट नआई सातौं राष्ट्रिय खेलकुद पूर्वाञ्चलमा सम्पन्न भयो । गुरुयोजनाबिनै नेपाल खेलकुद कसरी चलिरहेको छ भन्ने यो एउटा राम्रो उदाहरण थियो । 
विराटनगरको सहिद रंगशाला पुरानै हो । त्यसैमा विराटनगर उपमहानगरपालिकाले ७० लाख र सरकारले १५ लाख जुटाई यसको पुनर्निर्माणजस्तो गरिएको थियो । यही रंगशालामा यसको उद्घाटनका साथै कराते र टेबुलटेनिस खेल आयोजना भए । मोरङको बैजनाथपुरमा रहेको स्पोर्टस कम्प्लेक्स निर्माणाधीन अवस्थामै छ । यहीं क्रिकेट, सफ्टटेनिस र सुटिङ खेल आयोजना भए । सरकारले २०५७ सालमा १५ बिघा जग्गा ८५ लाखमा खरिद गरी बैजनाथपुरको स्पोर्टस कम्प्लेक्स प्रक्रियालाई अगाडि बढाएको थियो । 
इटहरी रंगशाला बन्न ठूलो प्रतिस्पर्धा भयो । त्यो प्रतिस्पर्धा सुनसरीमै धरान र इनरुवाबाट आएको थियो इटहरीलाई । इटहरी रंगशाला बन्ने क्रम भइरहँदा सरकारले गत वर्ष राष्ट्रिय खेलकुद परिषद् मार्फत १ करोड रुपैयाँ प्रदान गरेको थियो । सातौं राष्ट्रिय नै भनेर बनाइएको कुनै पूर्वाधारका लागि बजेट थिएन त्यो । पूर्वाधारको हिसाबमा सातौं राष्ट्रिय खेलकुद लथालिङ्ग हुनु यही नै कारण थियो । सातौं राष्ट्रिय पूर्वाञ्चलभरि आयोजना भए । दुहबीमा महिला फुटबल, धरानमा फुटबल, साइक्लिङ, सेपाकताक्रो, झापामा बक्सिङ, जिमन्यास्टिक, आईटीएफ तेक्वान्दो, जुडो, ब्याडमिन्टन सप्तरीमा भारत्तोलन, सिराहामा कुस्ती, उदयपुरमा आर्चरी र धनकुटामा बुद्धिचाल खेल आयोजना भए । तर त्यसका लागि नै भनेर कुनै नयाँ पूर्वाधार बनाइएको थिएन । 
भलिबल खुला मैदानमा त्यो पनि म्याटबिना खेलाइएको थियो । इटहरी रंगशालाभित्रै तेक्वान्दो र बैजनाथपुरमा त्रिपालले ढाकेर सुटिङका खेल आयोजना भए । क्रिकेटको ३० यार्डभित्र मात्र घाँस रोपिएको थियो, त्यसबाहिर धूलो माटो हुँदा धेरैले यसलाई ‘बिच क्रिकेट’ पनि भने । परिषद्का सदस्य सचिव केशवकुमार विष्ट पूर्वाधार सम्पन्न भएपछि राष्ट्रिय खेलकुद आयोजना गर्ने नभएर भएकै पूर्वाधारमा प्रतियोगिता आयोजना गरिएको तर्क दिन्छन् । 
हुन त बैजनाथपुर स्पोर्टस कम्प्लेक्स महत्त्वाकांक्षी योजना हो । परिषद्का तालिम तथा योजना विभागका निर्देशक एवं सातौं राष्ट्रिय टेक्निकल कमिटीका सचिव नवीन उप्रेती यसलाई स्पोर्टस एकेडेमीको रूपमा अगाडि बढाइने योजना सुनाउँछन् । सदस्यसचिव विष्ट पनि यसमा सहमति जुटाउँदै बैजनाथपुरभित्र फुटबलको अर्को मैदान बनाई आगामी दिनमा बजट ल्याउने बताउँछन् । नेपाली खेलकुदको इतिहास हेर्ने हो भने बैजनाथको निर्माण कार्य पूरा हुन यसले ठूलै संघर्ष गर्नुपर्नेछ । आठौं राष्ट्रिय खेलकुद पहिला हुन्छ कि बैजनाथपुर स्पोर्टस कम्प्लेक्स पहिला बन्छ भन्ने प्रतिस्पर्धा चल्न सक्छ । त्यसमा दुवै पराजित पनि हुन सक्छन् । 
त्रिपालमुनि नै आफ्नो खेल आयोजना गर्न बाध्य भएपछि मात्र नभई अरू बेला पनि सरकारले खेलकुदलाई कहिल्यै प्राथमिकतामा नराखेको नेपाल तेक्वान्दो संघका उपाध्यक्ष प्रदीप जोशीको गुनासो छ । हुन पनि जसरी खेलकुदका कार्यक्रम अगाडि आउँछन् त्यसरी नै सरकारी बजेट आउने गरेका छन् । नयाँ र योजनाबद्ध हिसाबमा केही चलेका छैनन् । सातौं राष्ट्रिय खेलकुद त्यसको अपवाद हुने नै भएन् । 
राजनीतिले नेपाली खेलकुद गाँजेको छ । युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइली माओवादी केन्द्र तथा सदस्य सचिव विष्ट एमालेका भएका कारण पार्टीगत हिसाबमै पानी बराबरीको स्थिति छ । यसले समग्र नेपाली खेलकुद प्रभावित बनेको छ । परिषद्ले सरकारसँग सातौंका लागि झन्डै ३२ करोड माग गर्‍यो । सरकारले पनि सुरुमा २० करोड उपलब्ध गरायो । प्रतियोगिता सुरु हुने अघिल्लो दिन बाँकीमध्येको ८ करोड उपलब्ध गराएको मन्त्री श्रीपाइलीले घोषणा गरे । थप साढे ३ करोड कहिले आउने टुंगो छैन । 
यसको असर मैदानमा पनि पर्‍यो । दुई दिन सकिन खेल बाँकी रहेको अवस्थामा नेपाल आर्मीले स्वर्ण पदकको संख्या १ सय नघायो । अर्को दुई विभागीय टोलीमा नेपाल प्रहरीले ४० र नेपाल एपीएफले ३६ स्वर्ण जितिसकेको थियो । यसअघिका राष्ट्रिय प्रतियोगितामा अग्रस्थानमा रहने मध्यमाञ्चल २३ स्वर्ण साथ चौथो स्थानमा थियो । परिषद्ले पहिलो किस्तामा आएको २० करोड प्रतियोगिता आयोजना गर्न नै सकाएको थियो । बजेट अभावमा क्षेत्रीय टोलीहरूले बन्द प्रशिक्षण राख्न पाएनन् र उनीहरूले विभागीय टोलीहरूलाई ठूलो चुनौती दिन सकेनन् । विभागीय टोलीहरूले जिल्ला र क्षेत्रमा देखिएको उत्कृष्ट प्रतिभाहरूलाई अनुबन्धन गर्दै जागिर दिएको हुन्छ र उनीहरूको काम भनेको नै दैनिक प्रशिक्षण गर्नु हुन्छ । अझ राष्ट्रिय खेलकुदलाई उनीहरूले विशेष लक्ष्य बनाएका हुन्छन् । रोजगारीको सुनिश्चतता र त्यही दैनिक प्रशिक्षणमा विभागीय टोलीका खेलाडीहरू राष्ट्रिय खेलकुदमा हावी हुनु सामन्य नै भयो । 
मैदानभित्र पनि नतिजा मिश्रित रह्यो । करातेका पर्शुराम बाँस्तोला र मुकुन्द महर्जनले लगातार तेस्रो पटक जित्दै सातौं राष्ट्रियमा ह्याट्रिक गरे । टेबुलटेनिसमा दीप साउन र पुरुषोत्तम बज्राचार्यलाई जिल्लाउँदै स्यान्टु श्रेष्ठ नयाँ च्याम्पियन भए । महिलामा नवीता श्रेष्ठले आफ्नो वर्चस्वलाई कायमै राखिन् । एथ्लेटिक्समा केशरी चौधरी, सरस्वती भट्टराई र ब्याडमिन्टनका रत्नजित तामाङले ३,३ चन्द्रकला लामगादे, कान्छीमाया कोजू, यामसजन सुनार, सोमबहादुर कुमाल, गोपीचन्द्र पार्की, कृष्णा चौधरीलगायतले २, २ स्वर्ण जिते । 
एथ्लेटिक्सका इभेन्ट कर्मकाण्डका लागि मात्र थियो । सेन्थेटिक ट्रयाकको साटो माटोमा धावकहरू दौडिएका थिए । त्यसमा पनि यामसजन, कृष्णा, गोपीचन्द्र र सरस्वतीले आँटिलो प्रदर्शन गरेका थिए । खेलाडीहरू माटोको ट्रयाकमा स्पाइकभित्र नेल अड्किएको देखाउँदै थिए । यही ट्रयाकमा जुत्ता अभावमा सीता सेन ठकुरी, सीमाकुमारी ठकुरी, गुडिया चौधरीलगायतका खेलाडी खाली खुट्टा दौडिन् बाध्य थिए । यसले समग्र नेपाली खेलकुदको प्रतिनिधित्व गथ्र्यो । १९६४ को हिरोसिमा एसियाडमा भुपेन्द्र सिलवाल जापानको रापिलो घाममा खाली खुट्टा दौडिएका थिए । ५२ वर्षपछि नै नेपाली खेलकुद त्यही नाङ्गो खुट्टामा अडिन खोज्दै थियो । 
खेलाडी यो स्थितिमा प्रतिस्पर्धा गर्न आउनुमा क्षेत्रीय खेलकुद विकास समिति पनि उत्तिकै जिम्मेवार छन् । सरकारकै बजेटमा मात्र चल्न खोज्ने क्षेत्रीय खेलकुद विकास समितिहरूलाई खेलाडीको खाली खुट्टा एउटा प्रहार थियो । अर्को आधुनिक खेलकुदमा एथ्लेटिक्सका खाली खुट्टा दौडिन् नपाइने नियम छ, त्यसमा आयोजक समिति र एथ्लेटिक्सका जजहरू आँखा चिम्लिएर बसे । उनीहरूले मैदानभित्रै भएको धक्काधक्की र ठेलमठेलजस्ता घटनालाई पनि सामान्य रूपमा लिए । अन्तर्राष्ट्रिय प्रतियोगितामा खाली खुट्टा दौडिन नपाउने नियममा सातौं राष्ट्रिय खेलकुदलाई पनि बाँध्न आयोजकदेखि रेफ्री असफल रहे । 
खाली खुट्टाको पीडा नेपाल एपीएफकी भागीरथी कुमारीको पनि थियो । उनी महिलातर्फ ४ सय मिटर दौडमा स्वर्ण पदकको प्रत्यासी थिइन् । लगभग १ सय ५० मिटर पूरा गरेपछि उनको स्पाइक फुस्कन पुग्यो । खाली खुट्टाका बाबजुद १५ मिटर बाँकी रहेको स्थितिमा उनी दोस्रो स्थानमा थिइन् र अन्तत: उनी तेस्रो भइन् । उनले ट्रयाकमै आफूलाई सम्हाल्न सकिनन् । प्रशिक्षक सुशीलशमशेर राणाले रुँदै गरेकी उनलाई अँगालो हाल्दै ट्रयाकबाट निकाले । यो खेलकुदको एउटा ‘स्पिरिट’ थियो । 
धेरै खेलमा केही खेलाडीले ‘स्पिरिट’ गुमाउँदै अनुशासनहीन नबनेका थिए । चौका हो वा होइन भन्ने विवादमा अम्पायरको निर्णयमा असन्तुष्टि जनाउँदै ८ बल बाँकी रहेको अवस्थामा एपीएफ महिला क्रिकेटले फाइनल खेल नै बहिष्कार गर्‍यो । अम्पायर अदीप प्रधानले भलाद्मीको खेलको नियमानुसार त्यो चौका थियो वा थिएन भनेर पूर्वाञ्चलका फिल्डरलाई सोधेर निर्णय दिएका थिए । जसमा एपीएफ टोलीले असन्तुष्टि जनाएको थियो । एपीएफ त्यही टोली हो जसमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका पूर्वकप्तान रितु कनोजिया, नीरा राजोपाध्यायसहित वर्तमान उपकप्तान सीता रानामगर, वरिष्ठ खेलाडी सरीता मगर खेल्ने गर्छन् । 
फोर्समा अनुशासन न्यूनतम सर्त हुन्छ । एपीएफ महिला क्रिकेट टोलीमा त्यो देखिएको थिएन । पश्चिमाञ्चलका भलिबल खेलाडीहरूले हारको झोंकमा खेलपछि रेफ्री नै भक्कुर्न पुगे । पश्चिमाञ्चलका तीन खेलाडीहरू लोकेन्द्र भण्डारी, राजन थापा र रमेश केसीलाई स्थानीय आयोजकले एक वर्ष निलम्बन गर्न सिफारिस गरी फाइनल खेललाई निरन्तरता दियो । एपीएफको महिला क्रिकेट र पश्चिमाञ्चल खोखो टिमको हकमा अझै केही निर्णय आइसकेको छैन । पश्चिमाञ्चलको टिमले आर्मीसँगको खेलमा हारको स्थितिमा पुगेपछि रेफ्रीका निर्णयमा असहमति जनाउदै रेफ्री नै पिट्न पुगेका थिए । खेलकुद परिषद्ले सम्बन्धित खेलको संघमार्फत रही अनुशासनहीन कार्य गर्नेलाई कारबाही गरी नजिर बसाउन जरुरी छ, जसले आगामी दिनमा यस्ताखाले घटना दोहरिन नदिइयोस् । 
नेपालको हकमा राष्ट्रिय खेलकुद नै दक्षिण एसियाली खेलकुदको मापक, आधारशिलाजस्तै हो । संयोगले आगामी अर्थात् १३ औं दक्षिण एसियाली खेलकुदको अर्को संस्करण सन् २०१९ मा नेपालले नै आयोजना गर्दै छ । घोषणा भएपछि चार पटक मिति सरेर सातौं राष्ट्रिय खेलकुद आयोजना भएको हो । अर्को कहिले हुने निश्चित छैन । घोषणा भए पनि आयोजना नै हुन्छ भनेर भन्ने पर्याप्त आधारहरू छैन । त्यस्तो अवस्थामा सातौं राष्ट्रिय खेलकुदबाट दक्षिण एसियाली खेलकुदका लागि आधार बनाउनुपथ्र्यो । पदक विजेता खेलाडीलाई राष्ट्रिय टोलीको घोषणा गरी प्रशिक्षण दिने निर्णय गरेको छ । तर भागबन्डाको कारण दक्षिण एसियाली खेलकुदलाई चाहिने जनाधार पनि सातौं राष्ट्रिय खेलकुदले दिन नसकेको देखिन्थ्यो । 

प्रकाशित : पुस १६, २०७३ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?