कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

बाङ्देलका बीपी–चित्र

जनकराज सापकोटा

मानु अर्थात् लैनसिङ बाङ्देलकी पत्नी । उमेरको उपल्लो डाँडोमा उभिएकी उनीसँग धेरै सोध्नुपर्ने कुरा थिएनन् । तर जान्नुपर्ने कुरा अजिबोगरिब थियो ।

बाङ्देलका बीपी–चित्र

कानको नजिकै गएर सोधें, ‘सन्चै हुनुहुन्छ ?’

उमेरले आठ दशक कटेकी मानुले टाठो स्वरमा भनिन्, ‘आम गुड । हाउ अबाउट यू ?’


कसैले सुनाएको थियो, अकस्मात हृदयाघातका कारण जीवन गुमाएकाले बाङ्देलका कैयन पेन्टिङहरू अधुरै रहे । त्यस्ता अधुरा पेन्टिङमध्ये सबैभन्दा धेरैचाहिं बीपी कोइरालाका पोट्रेट छन् रे ?
मानुले पनि त्यसको पुष्टि गरिन् र कारण खोतल्दै उस्तै टाठो स्वरमा भनिन्, ‘बीपीसँग सबैभन्दा धेरै मिल्ती भएका कारण पनि त्यस्तो भएको हो ।’ तर ती पेन्टिङहरूको बारेमा सबै कुरा मानुलाई उति सम्झना छैन । उनलाई थाहा भएको तथ्य यतिमात्रै हो, पतिको बीपीसँगको दोस्ती । मानुका अनुसार त्यस्तो दोस्तीका सूत्रधार थिए, दार्जिलिङमा बसेर साहित्य साधना गरिरहेका सूर्यविक्रम ज्ञवाली ।
बाङ्देलकी छोरी डिना जो कतारको भर्जिनिया कमनवेल्थ युनिभर्सिटीको आर्ट हिस्ट्री विभागकी एसोसियट प्रोफेसर छिन्, उनी घर आएको सुखद संयोग पर्‍यो । डिनाले आफ्ना बाबुको बीपीसँगको संगत मात्रै बताइनन्, बाबुले अधुरै छाडेका बीपीका पेन्टिङबारे पनि जानकारी दिइन् ।
२०१७ चैत ५ गते दार्जिलिङबाट नेपाल आउनुअघि नै बाङ्देलकोको बीपीसँगको चिनजान र गहिरो सम्पर्क देखिन्छ । उनीहरूबीच भएको पत्राचारको भाषा र त्यसमा खुलाइएका निजी प्रसंगहरूले पनि उनीहरूबीचको सम्बन्ध कस्तो थियो भनेर बुझ्न सकिन्छ । बीपी र अन्य राजनीतिज्ञसँगको गहिरो संगतकै कारण बाङ्देलमा राजनीतिक चेतना पनि उस्तै थियो । उनले बाङ्देलले प्रजातन्त्र र त्यसका प्राप्तिमा हुने राजनीतिक संघर्षलाई नजिकबाट नियालेका थिए । त्यसको प्रतिविम्ब उनका चित्रमा पनि देखिन्छ । उनले २०४६ सालको आन्दोलनताका ‘स्ट्रगल फर डेमोक्रेसी’ शीर्षकमा शृंखलाबद्ध पेन्टिङ गरेका थिए ।
२०४६ चैत २६ गते प्रजातन्त्र घोषणा भएको भोलिपल्टै बाबुले दिनभर प्रजातन्त्रको संघर्षपूर्ण इतिहास जीवन्त राख्नुपर्छ भन्दै लगातार त्यही थिममा पेन्टिङ गरेको सम्झना डिनासँग तरोजाता छ । डिनाले भनिन्, ‘प्रजातन्त्र आएको दिनको सम्झना राखिराख्नुपर्छ भन्दै उहाँले दिनभर हतारहतार गरेर कैयन पेन्टिङ गर्नुभएको थियो । ती सबै पेन्टिङमा प्रजातान्त्रिक संघर्षका झलक छन् । त्यसैमध्ये एउटा बीपीको पोट्रेट पनि थियो । डिनाले भनिन्, ‘बुबा भन्नुहुन्थ्यो, पछि प्रजातन्त्रको संघर्ष मान्छेले बिर्सिन सक्छन् । त्यही भएर पनि यही दिनमा यो विषयमा पेन्टिङ गर्नुपरेको ।’
बाङ्देलले सबैभन्दा धेरै पोट्रेट भने बीपीकै बनाएको देखिन्छ । बाङ्देलसँग सम्बन्धित किताबमा समेटिएका पेन्टिङका अलवा अन्य अधुरा पेन्टिङहरू त्यसका प्रमाण हुन् । ‘लैन बाङ्देल फिप्टी एअर्स अफ हिज आर्ट’ नामक पुस्तकमा बीपीका तीन पोट्रेट समावेश छन् ।
सार्वजनिक नभएका कतिवटा होलान् त्यस्ता पेन्टिङ ?
डिनाले अनुमान गरेर भनिन्, ‘तीनवटा होलान् कि ?’
डिनाले जतनसाथ पेन्टिङहरू राखिएको कोठामा छिरेर केहीबेर खोजखन्तर गरिन् । त्यसपछि पो थाहा भयो, त्यस्ता पेन्टिङहरू चारवटा रहेछन् । मानुका अनुसार चाबेल बस्दाताका बीपीको फोटो खिचेर नै लैनले अधिकांश पोट्रेट पेन्टिङहरू बनाएका हुन् । त्यतिबेला बीपीलाई क्यान्सरले गाँजिसकेको थियो र उनको अनुहार खुबै दुब्लो देखिएको थियो ।
ती चारवटै पेन्टिङमा बीपीले टोपी र चस्मा लगाएका छन् । एउटा पोट्रेटमा त पेन्सिल लाइनिङ मात्रै देखिन्छ भने अरू कलरफुल छन् तर ती सबैको फिनिसिङ बाँकी नै देखिन्छ । तीमध्ये धेरैजसो पेन्टिङ २०४६ को प्रजातन्त्र स्थापनालगत्तै बनाएको देखिन्छ । यतिका धेरै पेन्टिङ लैनले किन अधुरै र अपूरै छाडे भन्ने जवाफ भने डिना र मानु दुवैसँग छैन । अनुमान मात्रै गर्न सकिन्छ, अचानकको हृदयाघातको सिकार हुनु नपरेको भए सायद लैनले ती पेन्टिङहरू पूरा गर्ने थिए । २०५९ असोज २९ को हृदयाघातपछि उत्तरहरू अनुमानमै रहे । मानुले ती अधुरा पेन्टिङहरू सम्भिँmदै यति मात्रै भनिन्, ‘बीपी वाज दी ग्रेट म्यान ।’

प्रकाशित : पुस १६, २०७३ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नवगठित केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ममा चयन भएका मन्त्रीहरु कस्तो लाग्यो ?

×