कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘तसलिमा र शोभा डे ओभररेटेड’

त्रिभुवन विश्वविद्यालय हुँदै बंगलादेशको चटगाउँस्थित एसियन युनिभर्सिटी फर उमनमा अंग्रेजी साहित्य तथा ‘जेन्डर–सेक्सुवालिटी’ (लिंग र लैंगिकता) विषयमा प्राध्यापन गर्दै भिन्न पहिचान बनाएकी डा.संगीता रायमाझी व्यावहारिक कित्ताकी नारीवादी लेखकका रूपमा समेत चिनिन्छिन् । बंगलादेशअगाडि उनी अमेरिकाको युनिभर्सिटी अफ अलाबामामा महिला तथा दक्षिण एसियाली मामलामा प्राध्यापन गराउन पुगेकी थिइन् । हाल प्राध्यापक अरुण गुप्तोसँगको सहकार्यमा साउथ एसियन फाउन्डेसन फर एकेडेमिक रिसर्च नामको संस्थामा आवद्ध रायमाझी राष्ट्रपति विद्या भण्डारीको सल्लाहकार समूहमा समेत जोडिएकी छन् । झन्डै ३० वर्षसम्म विश्वविद्यालयमा प्राध्यापन र द्वैभाषिक पत्रिका ‘एक्रस’ प्रकाशन/सम्पादनमा झन्डै ८ वर्ष संलग्न डा. रायमाझीको हाल अधिकांश समय प्राज्ञिक परामर्शदाताको रूपमा बितिरहेको छ । उनका ‘हु इज द डटर अफ नेपाल’ (२००१), ‘क्यान अ उमन रिबेल’ (२००३), ‘युज अफ लेङवेज इन द नेपाली प्रेस’ (सहलेखन, १९९९), ‘थ्री प्लेज’ (अभि सुवेदीका तीन नाटकको अंग्रजी अनुवाद) लगायतका कृति प्रकाशित छन् ।

त्यसरी भन्न त मिल्दैन । बिद्यार्थीकाल अथवा टिन–एज र पछिको परिपक्वतासँगै धेरै रुचि तथा प्रभावहरू पनि फेरिंदै गए ।

‘तसलिमा र शोभा डे ओभररेटेड’

विद्यार्थीकालदेखि प्राध्यापन समयसम्म लगातार रूपमा आफूलाई मन परेको र प्रभावमा राखिरहने पुस्तक कुनै होला ? 

साँच्चै यो जीवनमा जस्तै पढाइ र लेखाइमा पनि धेरै कुरा परिवर्तन भए । पुस्तक वा लेखक भनेर एउटै नाममा म बाँधिएको थाहा छैन । पछिल्लो समय भने अंग्रेजी भाषा–साहित्यभन्दा बढी ‘जेन्डर–सेक्सुवालिटी’ बारेका लेखक र तिनका कृतिमा रुचि जागेको छ । त्यसमा पनि बढीजसो दक्षिण एसियाली सन्दर्भमा म जोडिएकी छु । 

बंगलादेशमा रहेर ७ वर्षसम्म प्राध्यापन गर्दा त्यहाँको फरक समाज र पृष्ठभूमिका कारण ‘लिंग र लैंगिकता’ बारेमा विचार बनाउन मुस्किल भएन र ?
विचार बनाउने भनेको पढ्ने, लेख्ने वा पढाउने न हो । नारीवादको कुरा गरे पनि अथवा समानताको दृष्टिकोण उठाए पनि त्यहाँ विचार प्राधान्य हुनेगरी धारणा बनाउने काम मैले गरें । विचार, तर्क र धारणा बनाउनासाथै नारा लिएर हिंडिहाल्नुपर्छ भन्ने हुन्न । जस्तो, विश्वविद्यालयको कक्षामा पढाउँदै गर्दा अमेरिकी उपन्यासकार टोनी मोरिसनको ‘ब्ल्याक राइटिङ, ब्ल्याक क्रिटिसिजम्’ का बारेमा मैले उनको लेखाइ र त्यसको (व्यावाहरिक) सारबारेमा डेनमार्क गएर पेपर प्रस्तुत गरेकी थिएँ । उनका उपन्यासमा पाइने संवाद विविधता र चरित्रको ‘डिटेल’ व्याख्यान आफैंमा अनौठो छ, प्रभावपूर्ण पनि । त्यस्तै, नारीवाद र समानताको चर्चा गर्दा पनि अमेरिकी लैंगिक–सिद्धान्तकार जुडिथ बटलरजस्तो हक्की लेखकबारे चर्चा गर्न–गराउन सकेमा आफैंमा विचार जन्मन सक्छ । उनको ‘बडिज द्याट म्याटर : अन द डिस्कर्सिभ लिमिट्स अफ सेक्स’ का बारेमा विद्यार्थीलाई जानकार गराउँदा मात्रै पनि भिन्न विचार उब्जेको स्थिति मैले पाएँ ।

यस्तै भिन्न धारणा बनाउन सकिने भिन्न धारको के पुस्तक पढ्दै हुनुहुन्छ ?
हो, अहिले म ‘फ्राइड मिस्ट्रेस’ भन्ने किताब पढ्दै छु । मनोविज्ञानका गुरु भनेर चिनिने सिग्मन्ड फ्राइड आफैं कसरी ‘प्यासन’ राखेर बसेका रहेछन् भन्ने यो पुस्तकबाट झल्कन्छ । उनी आफ्नै सालीसँगको संसर्गमा निर्लिप्त रहेको र जीवनको आवरणै भिन्न रहेकोबारे झल्को यो पुस्तकले दिन्छ । यथार्थमा फ्राइड जे थिए, जे हामीले पढे–बुझेका हौं, त्योभन्दा भिन्न धारणा बनाउन यो पुस्तकले सहयोग गर्छ । क्यानेडियन लेखक एलिस मुनरोको लेखन पनि एकैसाथ पढ्दै छु । 

बंगलादेशको समाज र अलिक कम स्वतन्त्रताको माहोलमा त्यहीं प्रतिबन्धमा परेका तसलिमा नसरिनजस्ता लेखकका बारे कस्तो धारणा पाउनुभयो ?
हो, तसलिमा नसरिन भन्नेबित्तिकै विद्यार्थीहरू बढी तानिने र विचारभन्दा बढी जबर्जस्ती ‘स्टेटमेन्ट’ तयार गरिहाल्ने स्थिति उब्जिएको मैले पाएँ । तर म आफैंलाई भने नसरिनको लेखाइ बढी ‘स्टेटमेन्ट’ लाग्यो, फिक्सनभन्दा । ‘लज्जा’ वा अरू कृतिहरूमा पनि साहित्यिक विम्ब एकदमै कम छ, ठाडो ‘स्टेटमेन्ट’ भनेको मञ्चमा उभिएर गर्ने भाषणजस्तै हो । तसलिमाको ‘स्टाइल अफ राइटिङ’ मा के छ र ? स्टेटमेन्टले मात्रै के भन्न खोजेको हो र ? जबरजस्ती नारीवाद र लैंगिकताको कुरा घुसाइएको तसलिमाका ‘ओभररेटेड’ कृतिहरू नपढ्न मैले विद्यार्थीलाई भनेकी थिएँ । यसैगरी, भारतीय लेखक शोभा डे पनि मैले कक्षामा ‘बेन’ गरेकी थिएँ । डेका किताबमा न साहित्यिक महत्त्व छ, न ओज । तसलिमाजस्तै उनकोमा पनि एकोहोरो ‘स्टेटमेन्ट’ मात्रै छ । बरु झुम्पा लहरीका कथा/उपन्यासमा साहित्यिक ओज र अधिकारको विम्बलाई अर्थपूर्ण रूपमा उठाइएको छ । 

तपाईंले बाहिरी लेखक र पुस्तकको बढी चर्चा गर्नुभयो । नेपाली लेखकका बारेमा के धारणा छ नि ?
‘एक्रस’ म्यागेजिनमा काम गर्दा म विगतमा नेपाली लेखकहरूसँग पनि लेखन वा कुराकानीका क्रममा निकै सम्बद्ध रहेकी थिएँ । डा. डीपी भण्डारी, अभि सुवेदी, अरुण गुप्तोहरूको वैचारिक संगतले मलाई निकै सघायो । मैले अर्चना थापा, मञ्जुश्री थापा, सम्राट उपाध्यायका अधिकांश कृति (लेखन) पढ्ने अवसर पाएँ । अर्चनाको ‘टेलिङ अ टेल’ मा नेपाली सेन्टिमेन्ट छ । नेपाली सन्दर्भ र लेखन बुझ्न नेपाली नै पढ्नुपर्छ भन्ने मलाई लाग्दैन । 

त्यसो त धेरै नेपाली लेखक अंग्रेजीमा लेख्दैनन्, अथवा अनूदित हुन सकेका छैनन् नि । 
नेपालीमा पारिजात, बीपी कोइराला आदिका सबैजसो कृति पढेकी छु । बीपीको ‘सुम्निमा’ माथि ‘पेपर’ प्रस्तुत गरेकी छु । त्यो सुम्निमा पात्र बढी प्रकृतिसँग गाँसिएको सन्दर्भदेखि कृतिभित्रको जातीयता र रुढीवादका विषयलाई ‘साहसिक लेखाइ’ का रूपमा मैले चित्रित गरेकी छु । सुम्निमाको विषय र प्रस्तुतिलाई नग्नतासँग जोडेर त्यो किताब पनि जलाइएको थियो । तर, त्यो नग्नता होइन, त्यो प्राकृतिक सिद्धान्तबारेको किताब हो भनेर मैले धारणा बनाएकी छु । यसैगरी, गीता केशरी, उषा शेरचन, सरुभक्त, सत्यमोहन जोशी (नाटक) का कृति–रचना पढेकी छु । अमेरिकाको प्रतिष्ठित प्रकाशनगृह गृनउडबाट प्रकाशनमा आएको ‘उमेन्स रोल इन एसिया’ को नेपाल अंशमा मैले हाम्रा नारी लेखकको ऐतिहासिकता र स्थान झल्काउन योगमायादेखि पारिजात, प्रेमा शाह, माया ठकुरी, जलेश्वरी श्रेष्ठ, सुस्मिता नेपाल, भागीरथी श्रेष्ठ, भुवन ढुंगाना आदिको सबल प्रस्तुतिलाई उल्लेख गरेकी छु । खासमा एसियाली कला–साहित्य–संस्कृति भनेकै भारत (केन्द्रित) मात्रै हो भन्ने भ्रम हटाउन पनि हामीले बाहिरी बजारमा हाम्रा नेपाली लेखक/लेखनबारे अंग्रेजी भाषा माध्यमबाट ‘प्रो–एक्टिभ’ भएरै लाग्नैपर्ने हुन्छ । 

तपाईं नारीवाद, अधिकार र समानताको ‘वैचारिक पक्षधर’ पनि रहँदै आउनुभएको छ । बाहिरी समाज हेरीकन हाम्रो नेपाली समाज, विचार, लेखन र व्यवहार कहाँ छजस्तो लाग्छ ? 
बंगलादेशमा प्राध्यापन गर्दा मेरो विश्वविद्यालयमा एसियाका विभिन्न १६ देश तथा प्यालेस्टियानका विद्यार्थी थिए । त्यो विविधता र इस्लामिक समाजभित्रकै वैचारिक ‘भेराइटी’ अनुभव गर्दैमा कुनै गहकिलो पुस्तक पढेको अनुभूति भयो मलाई । इस्लामिक समाजभित्रै पनि कम्बोडियामा ‘घरज्वाइँ’ बस्ने चलन रहेछ भने अफगानिस्तानमा ‘बच्चाबाज’ (केटालाई केटीका रूपमा हुर्काउने) र ‘बच्चापोस’ (केटीलाई केटाकै रूपमा हुर्काउने) अनौठो संस्कार मैले पाएँ । कक्षामा पढाइरहँदा क्याथरिन मेनस्फिल्डको ‘द गार्डे पार्टी’ भन्ने कथामा प्रयुक्त भएका ‘इडियम’ (सपर, डिनर आदि) समेत नबुझ्ने विद्यार्थीहरू मैले सुरुमा भेटेकी थिएँ । त्यसबाट समाज, संस्कार र सोचाइको धरातल बुझ्न सकिन्थ्यो । 

अर्कातिर, लेखिका महाश्वेता देवीको ‘डिभोर्स’ भन्ने रचना पढाउँदा मलाई सबैभन्दा बढी ‘क्लिक’ भएको थियो । त्यसमा एउटा जोडीले बूढाबूढी भइसकेपछि ‘डिभोर्स’ गर्छन् । त्यो अरू गाउँ/समाजले थाहा नपाओस् भनेरै उनीहरू एक रात त्यहाँबाट बसाइ नै सरेर कतै जान्छन् । र, टाढा गएर एउटै कोठामा भए पनि अलग–अलग बस्छन् । यो पाठ पढाएर यसमा व्याख्यान/संवाद गराउन खोजेकी थिएँ मैले । तर, पाकिस्तानी छात्रा मिर्जाले सुरुमै जिज्ञासु बनेर कुराको बिट मारिदिइन् । उनको भनाइ थियो, ‘यो त अल्लाहले डिभोर्स गराएका हुन्, त्यसमा के व्याख्या गर्ने ? के विचार बनाउने ?’
हो, यो कुराले समाजको स्थिति, स्वतन्त्रता, अधिकार वा वैचारिक तहमा भिन्न दृष्टिकोणले बहस गर्न सकिन्छ । त्यो हेरीकन हामीकहाँ सोचाइ र व्यवहारमा धेरै ‘लिबरल’ स्थिति छ । म एक पटक अनेक च्यानल मिलाएर पाकिस्तानको पेसावर गएकी थिएँ । बाटोघाटोमा कहींकतै महिला हिंडेको अथवा उपस्थिति देख्न हम्मे पथ्र्यो । तर, पेसावर युनिभर्सिटीमा भने जर्ज इलियटमाथि पीएचडी गर्ने पाकिस्तानी महिलाहरू भेटें । सामाजिक रूपमा स्वीकार्य हुन नसकेकी र आफ्नै नाम बदलेर जर्ज बनेकी (खासनाम, मेरी आन इभान्स) लेखकका बारेमा पीएचडी ? यो आफैंमा उकुसमुकुस मनस्थितिको विम्ब थियो । 

उसो भए विचार, व्यवहार र लेखनमा हाम्रा महिला लेखकहरू कहाँ छन् ? नारीवाद र समानताको नारा कहाँ छ ? 
त्यसरी तुलनात्मक भएर भन्न मिल्दैन । तर, हामी साँच्चिकै सचेतभन्दा पनि बढी ‘नारावादी’ छौं । व्यावहारिक रूपमा कहाँ छौं ? हामीलाई नै थाहा छैन । सडक र नारामा हामी निकै ‘भोकल’ छौं तर, घरमा भने गुपचुप छौं । बढी ‘आर्टिकुलेट’ मा रमाउने स्वभाव हामीसँग छ । हामी अरूका लागि बोल्छौं, धेरै उपदेशक बन्छौं । तर आफैंमा भने कहीं पनि छैनौंं । अनौठो लाग्छ— हामी आइपरेमा श्रीमान्को शवमाथि चढेर हिंड्नुपर्छ भन्ने नारामा चल्छौं । तर, हामीले मातृसत्तात्मक सम्पूर्ण अधिकार चाहेको होइन, बरु ‘समानता’ खोजेको हो भन्ने बुझ्नु जरुरी छ ।


डा. रायमाझीका दृष्टिमा पुस्तक

ओभररेटेड : तसलिमा नसरिन (लज्जा र अरू पुस्तकहरू), शोभा डेका कथाहरू
सबै समयको प्यारा लेखक : महास्वेता देवी र जुडथ बटलर, इलेइन सोआल्टर (द फिमेल मलाडी), बीपी कोइराला (सुम्निमा), पारिजात (शिरीषको फूल), एलिस मुनरो (२०१३ को नोबेल शान्ति पुरस्कार विजेता, क्यानेडियन लेखकका मूलधारबाहिरको लेखन)

सधैं प्रभावित रहने लेखन : टोनी मोरिसनको लेखनशैली र ‘ब्ल्याक हिस्ट्री–क्रिटिसिजम्’ को थालनी 

पढ्नैपर्ने पुस्तक : सोनाली देरानियागलाको ‘वेभ’, करेन म्याक र जेनिफर कफम्यानको ‘फ्राइड’ज मिस्ट्रेस’, मोया लोइडको ‘जुडिथ बटलर’, रोज वेइट्जको ‘द पोलिटिक्स अफ वुमन बडिज : सेक्सुवालिटी एपियरेन्सेज एन्ड भायोलेन्स’, अमिताभ घोषको ‘सी अफ पपिज’ 

प्रकाशित : पुस १६, २०७३ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?