समयको सुईमा घडी- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

समयको सुईमा घडी

अर्जुन पन्थी

काठमाडौं — उदाउन र अस्ताउन लागेको सूर्य, डाँडामाथिका जून, तीनतारा, कुखुराको डाँको र छायाहरू नै थिए पहिले–पहिले गाउँलेहरूले समय पत्ता लगाउने घडी । ‘खासगरेर ठूला जहानका बुहारी र परदेश लागेका बटुवालाई रात दिन नछुट्टिँदैमा उठी काम थाल्न अथवा बाटो लाग्न हतपत पर्दा पूर्वतर्फ उदाएका तीनताराले आजकल नाडीमा बाँधेको घडीले जस्तो काम दिन्थे ।

कारण जति रात छिप्पिँदै गयो, ती तीनतारा उति पर पुगेको जस्तो देखिन्थे,’ भीमबहादुर पाँडेले ६८ वर्षको उमेरमा २०३८ मा प्रकाशन गरेको पुस्तक ‘त्यसबखतको नेपाल’मा लेखेका छन् ।

घरबाट काम गर्न निस्केका गाउँलेले रूख र पहाडको छायाबाट दिन बितेको थाहा पाउँथे अनि खेतारीहरूले काम सक्थे भने गोठाले गाईवस्तु फर्काउँथे । घामको अन्दाजबाट गाउँलेको दैनिक कार्यक्रम चल्थ्यो । उबेला गाउँघरमा मानिसहरू ‘पानीघडीकै भरमा लगन गाँठो बधाउँथे, जन्म–कुन्डली बनाउँथे, छेवर व्रतबन्ध हुन्थ्यो, साइत सार्थे र घरको जग हाल्थे । गाउँपिच्छे पानीघडी हुन्थे यस्तै विशेष अवस्थामा काम लिन,’ पाँडेले लेखेका छन् । तामाबाट बनाइएको प्याला आकारको घडालाई कुनै अनुभवी मानिसले पानीघडी बनाउँथ्यो । यसमा सरकारद्वारा मान्यता प्राप्त छाप लगाउनुपथ्र्यो । यसमा एक सानो प्वाल हुन्थ्यो र भाँडाभरि हालेको पानी जुन बेला निथ्रन्छ त्यसलाई एकघडी मान्ने गरिन्थ्यो ।
सूर्यको गति र छायाबाहेक तत्कालीन समयमा ज्योतिषीहरू समय र साइतका मापक थिए । बाइसे चौबीसे राज्य आक्रमण गर्नलाई बहादुर शाहले १८३५ सालमा आफ्नो फौजसित ज्योतिषका रूपमा कालु पाँडेका माइला छोरा लक्ष्मीपतिलाई लिएर हिँडेका थिए । प्रसिद्ध इतिहासकार नयराज पन्त र अरूहरूले २०६४ सालमा प्रकाशित गरेको ‘दैवज्ञ शिरोमणि लक्ष्मीपति पाँडेको धुपघडी’ नामक पुस्तकमा उल्लेख भएअनुसार त्यो बेला लक्ष्मीपतिले महिना, गते, बार, तिथि, घडी, पला, नक्षत्र हेर्दै हिँडेका थिए । गुल्मी, अर्घा, खाँची राज्यहरू कहिले गल्लान् भनेर विचार गरेका लक्ष्मीपतिले त्यसबाट प्राप्त कुराहरू संक्षेपमा पात्रोमा टिपेका छन् । 
लडाइँमा हिँडेका यस्ता ज्योतिषहरूले कपडा कात्ने, सिउने, धान, पात, दही, माछा, उखु, साग, चोखीमाटी ल्याउने, मंगलकर्म थाल्ने साइत हेर्थे । पछि, राजज्योतिषको सिको गर्दै सामाजिक ज्योतिष पनि उत्पन्न हुँदै गए । अझै पनि गाउँघरमा घर बनाउने काठ काट्न, बाँस काट्न, परदेश जानुपर्दा ज्योतिषकहाँ पुगेर साइत हेर्ने चलन छ ।
काठमाडौंका सर्वसाधारण पनि आफ्नो शुभ मुहूर्तका लागि हनुमानढोकाका ज्योतिषकहाँ पुग्थे । मखनटोलका ओजमानसिंह श्रेष्ठका अनुसार हनुमानढोका वरिपरिका मानिसहरू बच्चा जन्मिनेबित्तिकै उसको धर्को (कुण्डली) बनाउन हनुमानढोका आउँथे । त्यहाँ रहेका ज्योतिषले ‘कति पाइला हिँडेर आयौ’ भनी सोध्थे । त्यही चालको आधारमा ज्योतिषले धर्को बनाइदिन्थे, समय मापन गरेर ।
यीमध्ये केही महाज्योतिषले घडीका स्वरूप पनि बनाएका थिए । सर्वसाधरणका पहुँचबाट टाढै हुने यस्ता घडीमा प्रताप मल्लको समयताकाको ढुंगामा कुँदिएको धुपघडी (सन् डायल) बारे माथि पन्तको उक्त पुस्तकमा उल्लेख छ । यो स्वयम्भूमा भेटिएको थियो । १८४७ ज्येष्ठशुक्ल पूर्णिमामा बनाइएको यो धुपघडी अहिले छाउनी संग्रहालयमा छ ।
त्रिचन्द्र कलेज घन्टाघरको छेवैमा पनि एउटा धुपघडी अझै छ । तुलसी रोप्ने मैरी आकारको यो धुपघडीलाई तत्कालीन राणा शासक श्री ३ चन्द्रशमशेरले बेलायती प्राविधिकलाई बनाउन लगाएका थिए । यो धुपघडीमा अंग्रेजीमा लेखिएको वाक्यलाई नयनराज र अरूहरूले यसरी अनुवाद गरेका छन्, ‘श्री ३ महाराज चन्द्रशमशेर जबराबाट विसं १९६८ मा तयार गराइएको बेलायतका विज्ञान विषयका यन्त्रनिर्माता बार्करले बनाएको काठमाडौंको धुपघडी हो यो ।’ यो धुपघडी ठूलो घन्टाघरको छेवैमा छ । 
श्री ३ वीरशमशेरले आफ्ना चार–हिटी, लाल, फोहरा र सेतो दरबारमा सजाउन बेलायतबाट ४ विशाल घडी मगाएका थिए । एकआपसमा जोडिएका यी घडी स्थापनाका लागि घन्टाघर निर्माण गरिएको देखिन्छ । यूरोपमा पनि यस्ता धूपघडी वा घन्टाघर कलेजकै परिसरमा हुने हुनाले राणाहरूले पनि त्रिचन्द्र कलेज परिसरलाई रोजेको होलान् † ‘तस्बिरमा नेपाल’ नामक फेसबुक पेजमा लेखिएअनुसार लन्डनको ‘विग वेन’ घन्टीसँग तुलना गरिएको घन्टाघरको घडीको आवाज सो समय १ सय फिट माथिसम्म सुनिन्थ्यो । पश्चिमी मुलुकमा देखिएको संरचनाबाट प्रभावित भएर १९५१ सालमा निर्मित यस भवनका लागि इन्जिनियरद्वय कुमार नरसिंह र किशोर नरसिंह राणालाई जापानमा तालिमका लागि पठाइएको थियो । घन्टाघर निर्माणपछि टुँडिखेलमा सिपाहीले दुरबिनबाट हेरेर घन्टाघरको समयअनुसार तोप पड्काइने प्रचलन पनि सुरु भयो । घन्टाघर तयार भएपछि वीरशमशेरले भवनको एक भागलाई वीर पुस्तकालयका रूपमा पनि विकास गरेका थिए । १९९० सालमा आएको ठूलो भूकम्पले पूर्ण रूपमा ध्वस्त भएपछि नयाँ डिजाइनमा हालको अवस्थामा घन्टाघर पुनर्निर्माण गरिएको हो । 
पछिल्लो इतिहास
दोस्रो विश्वयुद्धपछिको समयमा नेपालमा सर्वसाधारणका हातमा घडी झुन्डिन थाले । सबैभन्दा पहिले स्विस घडी आएको देखिन्छ । स्विस कम्पनी ‘वेस्ट इन्ड वाच’ले पहिलो विश्वयुद्धमा बेलायतीको तर्फबाट लडेका सिपाहीलाई घडी बनाइदिएको थियो । त्यस युद्धमा सहभागी भएकाहरूले नेपालमा घडी बाँधेर आए । 
स्विसपछि नेपालमा जापानी घडीले बजार पिटेका थिए । यी घडीहरू नेपालमा भित्र्याउने पनि लाहुरेहरू नै हुन् । अमीर राईले घडीबारेको संस्मरणमा लेखेका छन्, ‘लाहुरेको घना बस्ती भएको सहर धरानमा त सबैको हातमा प्राय: ‘सेइको फाइभ’ घडी हुने गथ्र्याे ।’ यसरी मुलुकमा घडी भित्र्याउने श्रेय लाहुरेलाई जान्छ । विश्वयुद्धमा लड्न पुगेका सिपाहीदेखि लिएर, सिंगापुर, मलेसिया, लेबनान, भारत पुगेका लाहुरेले विभिन्न ब्रान्डका घडी भित्र्याएका हुन् । 
विदेशबाट आफन्तजनलाई ल्याइदिने उपहारको रूपमा यस्ता घडी लगाउने मानिसको समाजमा छुट्टै पहिचान हुन्थ्यो । जस्तै ‘घडी मास्टर’ । बच्चाहरूलाई स्कुलमा राम्रो पढेमा उनीहरूको अभिभावकले घडीको कल्पना देखाइदिन्थे । जस्तो– ‘फस्र्ट भएमा घडी किनिदिन्छु’ । पछिसम्म घडी लगाउनेहरूको बेग्लै शान हुन्थ्यो । उनीहरू छिनछिनमा घडी हेर्थे । बाटो हिंड्दा कसैले ‘कति बज्यो’ भनेर सोध्छन् कि भनेर हेर्थे । घडी बाँधेको देब्रे हात 
झड्काइरहने बानी हुन्थ्यो कतिपयमा । 
नेपालमै डोल्मा घडी उत्पादन हुन्थ्यो । सम्भवत: विदेशबाट समान ल्याएर नेपालमा जोडजाड गरिन्थ्यो । त्यति बेला रेडियो नेपालले यसको विज्ञापन बजाउँथ्यो । ‘नेपालमा बनेको डोल्मा घडी, ठीक समय दिने डोल्मा घडी, बलियो भरपर्दो डोल्मा घडी’ भन्ने विज्ञापन प्रत्येक साँझ ९ बजे रेडियो नेपालमा बज्ने गथ्र्याे,’ राईले लेखेका छन् । उनका अनुसार त्यस बेला बनेको यो घडी लाउनेलाई खिसी नै गरिन्थ्यो, खासगरी लाहुरेहरू भएको बस्तीमा । कसैको घडीले सही समय दिएन भने कि त्यसले ‘आलु घडी’ लगायो कि ‘डोल्मा घडी’ भनिन्थ्यो । 
त्यति बेला रेडियो नेपालले विज्ञापन बजाउँदा मानिसले त्यो डोल्मा घडी भयंकर होला भन्ने कल्पना पनि गर्थे । विज्ञापनमा ट्वाङ्ग...ट्वाङ्ग...ट्वाङ्ग आवाज बजाइन्थ्यो । शिवानीसिंह थारूले डोल्मा घडीबारे आफ्नो संस्मरण लेखेकी छन्, ‘ट्वाङ्ग...ट्वाङ्ग...ट्वाङ्ग... डोल्मा घडी † त्यही जमानामा सुन्दा डोल्मा घडी कत्रो होला भन्ने लाग्थ्यो ।’
स्विस, जापानी, नेपालमा जोडजाड गरी बनाइएको घडीपछि चिनियाँ घडीले बजार जमायो । सर्वसाधारणको पहुँचमा पुग्यो यो । २०४० को दशकदेखि नै सस्तो खालको चिनियाँ घडी खासाका व्यापारी मार्फत सर्वसाधारणमाझ आउन थालेका हुन् । 
ििि
नेपाली समाजमा सूर्यको गतिबाट अनुमान गरेर दैनिकी चलाउने समय अझै पनि कहींकतै फाट्टफुट्ट भेटिन्छ । ल्यापटप, मोबाइलजस्ता यन्त्रले घडीको पनि काम गरेका हुनाले नाडीघडी समयको भन्दा पनि गहनाको रूपमा पनि प्रयोग हुन थालेको छ । महँगो ब्रान्डका घडीहरू गहनाकै स्वरूप हुन् । कतिपय घडी मर्मत गर्न नै १० देखि ५० हजार रुपैयाँसम्म पर्छ । 

प्रकाशित : वैशाख २५, २०७३ १४:४२
प्रतिक्रिया
पठाउनुहोस्

गुप्सी पाखाको सपना

प्रकाशचन्द्र तिमिल्सेना

काठमाडौं — भूकम्पको इपीसेन्टर बारपाकदेखि लाप्राक पुग्न हामीलाई हिँडेर ५ घन्टा लाग्यो । उकालो चढ्दाको सबै थकान ढकमक्क डाँडाभरि फुलेका गुराँसहरूले मेटाइदियो । उकालो चढिसकेलगत्तै डाँडामै मनै हर्ने फाँट देखियो । लालीगुराँसबारे निकै चर्चा सुनेका हामी डाँडामा सेतो गुराँस देख्दा दंग पर्‍यौं ।

यस्तो गुराँस यसअघि न मैले देखेको थिएँ, न सहयात्री मेरो साथीले । डाँडामा फूलेका गुराँस र फाँटमा चर्दै गरेका गाईबस्तु हेरेर रमाउँदै हाम्रो यात्रा अघि बढ्यो । 

भूकम्पबाट गोरखामा बारपाकपछिको धेरै क्षति लाप्राकमा भयो । लाप्राक अहिले जोखिमपूर्ण क्षेत्रहरूमध्ये पर्छ । गाउँमा बस्ने कि नबस्ने दोधारमा स्थानीय बासिन्दामध्ये आधी गुप्सी पाखामा बसाइ सरेका छन् । केही घरपरिवार पुरानो लाप्राक गाउँमै छन् । उनीहरू पनि बालीनाली स्याहार्न र पुर्खाको ठाउँ छोड्न नसकेकाले उनीहरू गाउँमै बसेका हुन् । पानी पर्दा पहिरो जाने डरका कारण गाउँमा बस्नेहरू पनि गुप्सी पाखा आउँछन् । पानी नपर्दा भने गाउँमै व्यस्त हुन्छन् । 
गुप्सी पाखामा अस्थायी शिविर बनाएर जीवन गुजारा गरिरहेकाहरूको सरकारप्रति ठूलो गुनासो छ । आफूहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण नगरेको उनीहरूको भनाइ छ । गुरुङहरूको बस्ती रहेको गुप्सी पाखा समुद्र सतहदेखि साढे २७ सय मिटर उचाइमा छ । हिउँदमा हिउँ झर्ने यस पाखामा बालबालिकाहरू बारम्बार परिरहन्छन् । 
लाप्राकमा भूकम्पमा २५ जनाको मृत्यु तथा ६० जना घाइते भएका थिए । ३ हजार जनसंख्या भएको गाउँमा ६ सय २४ घर पूर्ण रूपमा भत्किएका थिए । 
तल्लो मनास्लु पदमार्गमा पर्ने यो बस्तीमा भूकम्पअघि दुईतिरबाट विदेशी पर्यटक आउने गर्थे । बारपाक हुँदै लाप्राक र गुम्दा जाने एउटा अनि आरुघाट हुँदै बुढीगण्डकी तीरैतीर माछीबजारबाट पश्चिममार्ग हुँदै लाप्राक पुग्ने 
अर्को । तर अहिले यहाँ त्यसरी पर्यटक आउँदैनन् । तैपनि, गाउँलेहरू आशावादी छन्, पुन:स्थापित हुने सपना सजाउँदै । 

प्रकाशित : वैशाख २५, २०७३ १४:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×