२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

एउटा सिनेमा र राष्ट्रनिर्माता

चीन एकीकरण गर्ने सम्राटबारे केही वर्षअघि बनेको फिल्म ‘हिरो’ ले विश्वभर चर्चा पायो। चीनको दुई हजार वर्ष पुरानो त्यो कथाको राजासँग मिल्दो कथा भएका नेपाल एकीकरण कर्ता पृथ्वीनारायणमाथि फिल्म बनाए कसो होला ?
रघु पन्त

चीनका विश्वप्रसिद्ध निर्देशक झाङ यी मोउले सन् २००२ मा ‘हिरो’ नामको एउटा फिल्म बनाए । यो फिल्म विश्वभर निकै चर्चित र प्रशंसित भयो । झाङ यी मोउ आफ्नो फिल्ममा कलात्मकता, भव्यता र सूक्ष्म ढंगले विषयवस्तु प्रस्तुत गर्ने काममा विख्यात छन् ।

एउटा सिनेमा र राष्ट्रनिर्माता

झाङ यी मोउको ‘हिरो’

यो फिल्म आजभन्दा दुई हजार वर्ष अगाडिको कथा र विषयवस्तुमा आधारित छ । 
चार हजार वर्षभन्दा बढी लामो लिखित इतिहास भएको र संसारका प्रमुख सभ्यतामध्ये एकको जन्मदाता मानिएको चीन सामन्ती कालमा प्रवेश गर्दा अनेकौं राज्यहरूमा विभाजित भयो । दास प्रथाको उन्मूलन भएर सामन्ती युगमा प्रवेश गरेपछि चीनमा सामन्ती जागिरदार र जमिनदार आआफ्नो इलाकामा स्वतन्त्र ढंगले राज्य चलाउन थाले र तिनीहरूबीच प्रभुत्व र प्रभाव विस्तारका लागि निरन्तर युद्ध हुन थाल्यो । यसरी निरन्तर लडाइँ भएको यो कालखण्डलाई चिनियाँ इतिहासकारहरूले ‘युद्धरत राज्यकाल’ भनेर नामकरण गरेका छन् । 
यो कालखण्डको अन्त्यतिर आइपुग्दा र भीषण युद्धपछि शक्तिशाली रूपमा जम्मा सातवटा राज्य बाँकी रहन्छन् । यी राज्यहरूको नाम छी, छू, येन, हान, चाओ, बेई र छिन थियो । छिन राज्यका राजाको नाम इङ चङ थियो । इङ चङ स्वयम् एक बहादुर राजा थिए । तर इङ चङ वर्षौंदेखि राति राम्ररी निदाउन सक्दैनन् डरले गर्दा । उनले चाओ राज्यसँग युद्ध गर्दा भीषण दमन गरेका हुन्छन् । हजारौं मारेका हुन्छन् । 
त्यही लडाइँमा मारिएका चाओ समुदायको एउटा बहादुर जर्नेलकी छोरी र एउटा अर्को वीर लडाकाले इङ चङलाई मार्न भनेर उसकै दरबारमा प्रवेश गरेर युद्ध गर्छन् । तर लडाइँ लड्दालड्दै निहत्था भएको राजा इङ चङलाई मार्न भनेर आएको वीर लडाकाले त्यत्तिकै छोडिदिन्छन् । आफ्नो बाबु मार्नेलाई जीवितै छोडिदिएको देखेपछि जर्नेलकी छोरी आफ्नो प्रेमीसमेत रहेको उक्त बहादुर लडाकासँग निकै रिसाउँछिन् । राजाका सयौं सुरक्षा सैनिकहरूलाई छक्याएर यी दुवै दरबारबाट बाहिरिन्छन् । यस घटनादेखि छिन राजा इङ चङ आफैं बहादुर भए पनि डराउन थाल्छन् र ती दुई लडाकालाई मार्ने कुनै अर्को व्यक्तिको खोजीमा हुन्छन् । यस्तो वीर लडाकु फेला पनि पर्छन् । जो टुहुरो हुन्छन् र छिन समुदायको आफूलाई ठान्छन् तर पछि आफू पनि चाओ जातिकै भएको थाहा पाउँछन् । 
जर्नेलकी छोरी र वीर लडाकालाई खोज्न नयाँ योद्धा जान्छन् तर सबै कुरा थाहा पाएपछि उनीहरूको साटो राजा इङ चङलाई नै मार्ने सोचमा हुन्छन् । यिनी राजालाई मार्ने उद्देश्य लिएर जान लागेका बेलमा पहिले राजालाई मार्ने मौका पाएर पनि छोडिदिएका योद्धाले भन्छन्, ‘तिमी राजालाई नमार ।’
‘किन ?’ दोस्रोले प्रश्न सोध्छ ।
जवाफमा पहिलो योद्धाले आफ्नो तरबारले भुइँमा लेख्छ, ‘हाम्रो भूमि’ र उसले त्यसको व्याख्या गर्दै भन्छ, ‘हाम्रो भूमिका लागि तिमी राजा इङ चङलाई मार्ने विचार छोडिदेउ । हाम्रो भूमिमा धेरै वर्षदेखि युद्ध जारी छ । हजारौं हजार मरिसके र लाखौं लाखले दु:ख पाइरहेका छन् । यी जनताले पाएको दु:ख र यिनको शान्तिको चाहनाको अगाडि एउटा व्यक्तिको दु:ख र पीडा केही पनि होइन । विशाल जनताको शान्तिको चाहनाका तुलनामा छिन र चाओ समुदायबीचको झगडा मुख्य कुरो हुन सक्दैन । छिन राजा इङ चङ मात्र आज त्यस्ता व्यक्ति हुन् जसले सिङ्गो देश र जनतालाई एकताबद्ध बनाएर शान्ति कायम गर्न सक्छन्, हाम्रो भूमिलाई एकीकृत गर्न सक्छन् । त्यसैले मैले मौका पाएर पनि तिनलाई मार्न चाहिना, तिमी पनि नमार ।’
दोस्रो योद्धाले कुनै जवाफ दिँदैन र ऊ राजा इङ चङलाई मार्ने उद्देश्यका साथ, आफ्नो समुदायमाथि भएको दमनको बदला लिने सुरका साथ जान्छ । तर पहिलो योद्धाको चीनलाई एकीकृत पार्ने, चिनियाँ जनताको शान्ति र एकताको चाहनालाई पूरा गर्ने क्षमता राजा इङ चङमा मात्र छ र जनता शान्ति तथा एकता चाहन्छन् भन्ने कुराले भित्रैदेखि उसको मनलाई छोइरहेको हुन्छ । अन्तमा राजा इङ चङसाग भेट हुँदा र मार्ने मौका पाउँदा उसले पनि राजालाई मार्दैन, ऊ पनि पहिलो योद्धाको तर्कसँग भित्रैदेखि सहमत भएको हुन्छ र आफ्नो मनको कुरासमेत राजालाई भनिदिन्छ । 
छिन वंशका यिनै राजा इङ चङले बाँकी ६ राजालाई वर्षौंवर्षको युद्धपछि पराजित गरेर चीनलाई एकीकृत बनाउँछन् र आफूलाई ‘ह्वाङ्ती’ अर्थात् सम्राट घोषणा गर्छन् । प्रथम सम्राट बनेका इङ चङ इतिहासमा छिन शी ह्वाङ्तीका नामले प्रसिद्ध हुन्छन् । यिनले नै चीनको विशाल पर्खाल (ग्रेट वाल) को निर्माण गर्न लगाउाछन् र अनेकौं राजनीतिक र प्रशासनिक सुधार गर्दै चीनलाई एउटा एकीकृत विशाल राज्य बनाउँछन् । 
यिनले बहुजातीय सामन्ती राज्यको रूपमा चीनलाई एकीकृत गर्दै भूमि व्यवस्था र सञ्चार व्यवस्थामा सुधार गर्छन् । देशभर एउटै लिपि, एउटै मुद्रा र समान नाप तौलको व्यवस्था गर्छन् । चीनको विशाल भूभागमा जानका लागि फराकिला सडकहरू बनाएर त्यसको दायाँ–बायाँ रूखहरू रोप्न लगाउँछन् । हामीकहाँ अञ्चल, जिल्ला भनेर शासन गर्ने प्रशासकीय रूपले इलाका विभाजन गरेजस्तै यिनले दुई हजार वर्षअघि सुरु गरेको प्रिफेक्चर र काउन्टीको व्यवस्था अहिलेसम्म चीनमा कायमै छ । यिनी पछि कैयौं अरू राजतन्त्रहरू उदाए र गणतन्त्र पनि, तर उनले सुरु गरेका कतिपय सुधारहरूले अझै निरन्तरता पाएका छन् । 
‘हिरो’ फिल्मको पटकथा झाङ यी मोउ र अन्य दुईजना चिनियाँ पटकथाकार मिलेर तयार पारेका हुन् । जुन बेला यो फिल्म बन्यो त्यसबेला यो चीनमा बनेको सबैभन्दा खर्चिलो फिल्म थियो । यो फिल्म बनिसक्दा त्यस बेला ३ करोड दस लाख डलर खर्च भएको थियो । यो फिल्म चीनमा सन् २००२ को अक्टोबरमा प्रदर्शन भयो र अत्यन्त लोकप्रिय भयो । चीनमा अत्यन्त लोकप्रिय भएर राम्रो कमाइ गरेको यो फिल्म सन् २००४ मा अमेरिकामा प्रदर्शन हुँदा यो अमेरिकी बक्स अफिसमा समेत नम्बर एक हुन पुग्यो र युरोपमा समेत रुचाइयो । ३१ मिलियन डलर खर्च गरेर बनाएको यो फिल्मले १७७.४ मिलियन डलर आम्दानी गर्‍यो । 
चिनियाँ फिल्मी क्षेत्र मात्र नभएर हलिउडको फिल्ममा समेत देखा परेका प्रसिद्ध कलाकारहरू जेट ली, टोनी लिउङ्ग, माग्गी चेउङ्ग, चेन डो मिङ्ग, झाङ्ग जी यी र डोनी येन ‘हिरो’ फिल्ममा मुख्य कलाकारका रूपमा छन् । छजना पात्रहरू भूमिकामा भए पनि कथाका प्रमुख पात्रहरू चार छन्, जसको वरिपरि कथा घुम्छ । 
यो फिल्म बनेपछि अन्तर्राष्ट्रिय फिल्मी जगत्मा झाङ यी मोउको प्रतिष्ठा झन् माथि उठ्यो र प्रत्येक विषयवस्तुमा आफ्नो निर्देशकीय क्षमता देखाउन सक्ने उनको खुबीको व्यापक प्रशंसा भयो । यो फिल्म सन् २००३ को एकाडेमी अवार्डका लागि छानिए पनि अवार्ड जित्न भने सकेन । तर यदि फिल्मका लागि बर्लिन फिल्म फेस्टिवलमा झाङ यी मोउले ‘अल्फ्रेड वाउर पुरस्कार’ आफ्नो कामका लागि जिते । यही फिल्मका लागि ‘द नेशनल सोसाइटी अफ फिल्म क्रिटिक्स’ ले सर्वश्रेष्ठ निर्देशकका रूपमा झाङ यी मोउलाई पुरस्कृत गर्‍यो । यीबाहेक पनि थुप्रै देश र फिल्म फेस्टिवलमा ‘हिरो’ फिल्म विभिन्न विधामा पुरस्कृत भयो । यो फिल्मको फोटोग्राफी, संगीत, आवाज, अभिनय र कला निर्देशन समेत निकै प्रशंसित र चर्चित रह्यो । 
यो फिल्मले अर्को कारणले पनि चर्चा पायो । त्यो हो यसको विषयवस्तु । झाङ यी मोउका कुनै कुनै फिल्म चीनमा आलोचित र केही समय प्रतिबन्धित जस्तो अवस्थामा पनि रहेका छन् । तर ‘हिरो’ फिल्ममा चीनको एकीकरण र इतिहासलाई हेर्ने सम्बन्धमा चिनियाँ दृष्टिकोणलाई एकदमै कलात्मक ढङ्गले झाङ यी मोउले प्रस्तुत गरेका छन् । 
चीनका प्रथम सम्राट इङ चङ अत्यन्त कडा र क्रूर पनि हुन्छन् । यिनले राज्य विस्तार गर्दै चीनलाई एकीकरण गर्ने क्रममा आफ्ना विरोधी विभिन्न राज्य, जाति र समुदायलाई दबाएका हुन्छन् । लाखौं मानिस यिनको युद्धका कारण मारिन्छन् । तर यिनैबाट पराजित भएका विरोधी समुदायका योद्धासमेत चीनलाई एकीकरण गरेर शान्ति र समृद्धि दिने र बलियो राष्ट्र बनाउने महत्त्वाकांक्षा र सपनालाई सही ठहर्‍याउँछन् र मौका पाउँदा पनि एकीकरणको महान् उद्देश्य पूरा होस् भनेर इङ चङलाई जीवितै छोडिदिन्छन् । एकीकरणको लक्ष्यका लागि आफ्नै प्रेमिकाको गाली खान र उसकै हातबाट मर्न तयार हुन्छन् तर देशभक्तिको भावनालाई त्याग्दैनन् । 
‘हिरो’ फिल्मले देशको एकीकरण, व्यक्तिगत प्रेम, पीडा, देशभक्ति र वीरताको कथालाई अत्यन्त सुन्दर र कलात्मक ढङ्गले भन्छ र चिनियाँ इतिहासलाई वर्तमानसँग कलात्मक ढङ्गले जोड्छ । व्यक्तिको दु:ख, आँसुु, विरह र प्रेमभन्दा जाति र क्षेत्रको स्वार्थ र हितभन्दा देशको स्वार्थ र हित धेरै माथि हुन्छ भन्ने प्रभाव छोड्छ । 
इतिहासको एउटा कालखण्डमा सबैभन्दा शक्तिशाली रहेको चीन आज पुन: विश्वको नम्बर एक शक्तिशाली बन्ने बाटोमा छ । तर बीचको एउटा कालखण्डमा ब्रिटिस, जापानी, पोर्चुगिज, फ्रेन्च, रस्सियन लगायत आठ राष्ट्रले हस्तक्षेप गरेर चीनमा आफ्नो प्रभुत्व लादे । लामो समयको संघर्षपछि हङकङ, मकाओ लगायत भूभाग उनीहरूले फिर्ता लिए पनि ताइवान नमिलाएसम्म चीनको एकीकरण पूरा हुँदैन भन्ने लक्ष्य चिनियाँहरूले लिएका छन् । 
आफ्नो संस्कृति र इतिहासका साथै विभिन्न कालखण्डका देशभक्त राजा, विदेशीहरूसँग लड्ने जर्नेल, भारदार र ऐतिहासिक पात्रहरूको बारेमा चिनियाँहरूले निकै राम्रा फिल्म र टेलिफिल्महरू बनाएका छन् । नयाँ पुस्तालाई चीनको प्राचीन इतिहास, ऐतिहासिक र देशभक्त पात्रहरूका बारेमा जानकारी दिने अत्यन्त कलात्मक र विश्व फिल्मको मञ्चमा समेत प्रभावकारी उपस्थिति जनाउने क्षमता भएका थुप्रै फिल्महरू चीनमा बनेका छन् । ‘हिरो’ झाङ यी मोउले बनाएको र विश्वभरका फिल्मप्रेमीबीच लोकप्रिय भएको त्यस्तै एउटा फिल्म हो । 
पृथ्वीनारायण र छिन शी ह्वाङ्दी
‘हिरो’ फिल्म हेरेपछि मलाई आफूले पढेका चिनियाँ इतिहासका पुस्तकहरू पुन: पल्टाउन मन लाग्यो । र त्यसपछि पुन: पढ्न मन लाग्यो पृथ्वीनारायण शाहको जीवनी र बुझ्न मन लाग्यो उनको समय ।
हरेक देशमा समयले आफ्ना लागि नायकहरूको खोजी गर्छ र जन्माउँछ । र जन्मिन्छन् नायकहरूसँगै खलनायक पनि । खलनायकहरूबिना नायकहरूको महत्त्व पनि हुँदैन र खलनायककै खलनायक धेरै भएपछि नायकहरूको खोजी हुन्छ । सम्भवत: जीवन र जगत्को एउटा निरन्तर चलिरहने प्रक्रिया हो यो । 
दुई हजार वर्षअघिको चीन र चीन सय वर्षअघिको नेपालको परिस्थिति झन्डै उस्तै देखिन्छ । अनि तुलना गर्न मन लाग्यो छिन शी ह्वाङ्दी र पृथ्वीनारायाण शाहलाई । कतिपय कुरामा छिन शी ह्वाङ्दीभन्दा पृथ्वीनारायण शाह सफल देखिन्छन् । आफ्नो जीवनकालमा एकीकृत गरेको चीनलाई अनन्तसम्म आफ्ना सन्तानले शासन चलाऊन् र आफूलाई आफ्नो छोरा दोस्रो सम्राट होस्, नाति तेस्रो सम्राट होस् भनेर आफूलाई ‘ह्वाङ्दी’ अर्थात् प्रथम सम्राट घोषणा गर्ने इङ चङकै पालामा एकीकृत राज्य कमजोर हुनथाल्छ । आफ्नै जर्नेलहरूले विद्रोह गर्न थाल्छन् र राज्यमा किसान विद्रोह सुरु हुन्छ र चाँडै नै छिन वंश समाप्त भएर हान वंशको शासन सुरु हुन्छ ।
तर पृथ्वीनारायण शाहरले आफ्ना भारदार, सेनापति र जनतामा एकीकरण र देशभक्तिको भावना यति गहिरो गरी रोपिदिएका हुन्छन् कि उनीपछि उनकै छोरा बहादुर शाहको नेतृत्वमा पृथ्वीनारायण शाहले शिक्षित–दीक्षित गरेका भारदार र सेनापतिहरूको नेतृत्वमा नेपालको एकीकरण जारी रहन्छ र दक्षिणको ब्रिटिस साम्राज्यवादसँग जुधेर पराजित भएपछि मात्र रोकिन्छ । आफ्नो मुलुकप्रतिको उत्तरदायित्वको उनको भावना र सबै जाति, जनजाति र समुदायलाई समेटेर हिँड्ने उनको शैलीले नेपालको एकीकरण अभियान सफल हुन्छ । 
विजयपछि आफ्नो सानो राज्य गोर्खालाई उनले फैलिएको नेपालमा समाहित गरिदिन्छन् र गोर्खालीबाट नेपाली बन्छन् । आफ्ना भाइहरूको राज्य खोज्ने र राजा बन्न चाहने प्रवृत्तिलाई नियन्त्रण गर्छन् र ‘देशलाई चार जात छत्तीस वर्णको फूलबारी’ बनाउँछन् । देशको एकीकरण गर्दागर्दै दिवंगत भएका यी राजाले लडाइँ र संघर्षमै जीवन बिताउँछन् । कुनै सुख शयल खोजेको देखिँदैन । 
छिन शी ह्वाङदी छिन वंशका राजा थिए र भनिन्छ उनै प्रथम सम्राटको वंश छिनबाट देशको नाम ‘चीन’ रहन गएको हो । भरत राजाले उपमहाद्वीपका राजाहरूलाई जित्दै एकीकरण गरेकोले हाम्रो छिमेकी देशको नाम भारत रहन गएको हो भनिन्छ । 
‘हिरो’ फिल्म फेरि हालै हेर्दा लाग्यो झाङ यी मोउले आफ्नो देशको एकीकरणकर्ता र देशका लागि ज्यान दिने वीरहरूलाई कति गहिरो ढङ्गले बुझेका रहेछन् । चीनको एकीकरण गर्ने सम्राट र एकीकरणका लागि व्यक्तिगत बदलाको भावना, आफ्नो प्रेम, पीडा, आकांक्षा र जीवन त्याग्न तयार हुने वीरहरूप्रतिको सुन्दर र कलात्मक सम्मान हो यो फिल्म । आफ्नो पुर्खालाई र देश एकीकरण गरेर जानेहरूलाई दुई हजार वर्षपछि पनि निरन्तर जनता र चिनियाँ माटोले सम्झिरहेको उदाहरण हो । चिनियाँ फिल्मकर्मीले दुई हजार वर्षपछि आफ्नो देशका एकीकरणकर्ताहरूलाई दिएको कलात्मक सम्मान र श्रद्धाको सुन्दर रूप हो यो फिल्म ।
फिल्म निर्माण आज संसारभर एउटा उद्योगको रूपमा स्थापित भइसकेको छ । एउटै फिल्म निर्माणमा करोडौं करोड डलर खर्च हुन्छ र अर्बौंको आम्दानी खोजिन्छ । तर, यो अत्यन्त संवेदनशील उद्योग र उत्पादन हो । फिल्म बनेर प्रदर्शन भइसकेपछि त्यसले मान्छेमा बहुआयामिक ढङ्गले प्रभाव पार्छ । राम्ररी र कलात्मक ढङ्गले बनाइएका फिल्महरूले मान्छेलाइ भित्रैदेखि उद्वेलित, आन्दोलित, चिन्तनशील र जागरुक बनाउन मद्दत गर्छन् । 
फिल्म इतिहासमा कथादेखि वर्तमानका जीवन र भविष्यका सम्भावना र खोजहरूसम्म विस्तारित भइसकेको छ । तर हाम्रो नेपाली फिल्मले हाम्रो विगत र वर्तमानलाई नै संवेदनशील ढङ्गले हुन, बुझ्न र जान्न सकिरहेको छैन । 
नेपाल राज्य–राष्ट्रले आफ्नै खुट्टामा उभिएर वर्तमानको निर्माण गर्न र भविष्यको बाटो बनाउन आफ्नो इतिहासलाई सही ढङ्गले बुझ्न र आफ्नो इतिहासका उज्याला र गौरवशाली पक्षमा गर्व गर्न सक्नुपर्छ । एउटा देश सबल र सक्षम बन्न राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा सक्षम बन्न सक्नुपर्छ । आज चीनले आर्थिक र औद्योगिक क्षेत्रका साथै फिल्म उद्योगमा समेत अमेरिकाको हलिउडलाई चुनौती दिन थालेको छ र विश्व फिल्म मञ्चमा सार्थक र प्रभावकारी ढङ्गले आफ्नो उपस्थिति जनाइरहेछ । 
‘हिरो’ हालै हेर्दा लाग्यो कुनै नेपाली निर्देशकले पृथ्वीनारायण शाहबारे, ७० वर्षको उमेरमा देश रक्षाका लागि लड्दालड्दै मर्ने भक्ति थापाबारे वा नालापानीमा बलभद्र कुँवरको नृेतृत्वमा तोपको अघिल्तिर छाती थाप्ने नेपाली वीराङ्गना नारीहरूबारे फिल्म बनाइदिए पनि त हुन्थ्यो ।
फिल्म अहिलेको प्रभावकारी माध्यम हो । यसले अत्यन्त छरितो र प्रभावशाली ढङ्गले शक्तिशाली देशका भाषा, संस्कृति, जीवनशैली र विचारहरूलाई विश्वव्यापी रूपमा फैलाइरहेछ र नयाँ पुस्ताको विचार, चिन्तन र जीवनशैलीलाई अत्यन्त छिटछिटो फेरिरहेछ । साना र निर्धन देशहरू यो प्रक्रियामा आफ्नो स्वअस्तित्व हराउँदै गइरहेका छन् र डिजिटलाइज विश्वग्राममा निरीह दर्शक बन्न बाध्य छन् । 
यो नियति नस्विकार्ने हो भने हामीले आ–आफ्नो ठाउँबाट संघर्षको प्रयत्न गर्नैपर्छ, स्वत्व निर्माणको सक्रियता देखाउनैपर्छ । चीनसँग छिन शी ह्वाङ्दी र माओ त्से तुङ छन् । अमेरिकासँग अब्राहम लिङ्कन, जर्ज वासिङ्गटन र जेफरसन छन् । भारतसँग महात्मा गान्धी र भगत सिंह छन् भने हामीसँग पृथ्वीनारायण शाह, अमरसिंह, भक्ति थापा र सयौं वीराङ्गना छन् । हाम्रा निर्माता निर्देशकहरूले आँट गरे भने हाम्रो देश एकीकरण गर्ने र समाज परिवर्तनका लागि लड्ने योद्धाहरूको जीवनमा सार्थक र राम्रो फिल्म कुनै दिन कसो नबन्ला ?

प्रकाशित : माघ २, २०७२ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?