बालबालिकाले बनाए चित्र 

कान्तिपुर संवाददाता

काठमाडौँ — सारस संरक्षणप्रति चेतना जगाउन लुम्बिनीमा चित्रकला प्रतियोगिता गरिएको छ । ‘शान्तिका लागि सारस संरक्षण’ चित्रकलामा बालबालिकाले राम्रा राम्रा सृजना गरे ।

हरियाली वातावरण, नदी, तालतलैया, रूखबिरुवा र सारसका चित्र कोरे । कतिपयले सारस बस्ने वातावरण देखाए । सारस ओथारो बसेको र ससाना बचेरा हुर्कंदैगरेको चित्र पनि सृजना गरेका थिए । २ घण्टा समय दिई कोर्न लगाएको चित्रकलामा १० विद्यालयका ३० विद्यार्थी सहभागी थिए ।

प्रतियोगितामा मेत्ता गुरुकुल विद्याश्रम कक्षा ९ का सुनील हरिजन, मुधवनी मावि कक्षा ९ का राकेश हरिजन र मेत्ता गुरुकुल विद्याश्रम कक्षा ९ का शिवसागर कोहार क्रमश: प्रथम, द्वितीय र तृतीय भए । उनीहरूले क्रमश: ७ हजार, ५ हजार र ३ हजार नगद तथा शैक्षिक सामग्री पुरस्कार पाए । पुरस्कृत विद्यार्थीलाई अन्तर्राष्ट्रिय क्रेन फाउन्डेसनका संस्थापक डा. जर्ज आर्चिबाल्ड र लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख मनमोहन चौधरीले पुरस्कार वितरण गरे ।

प्रकाशित : मंसिर १६, २०७५ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्

बुद्धकालीन कथा

कान्तिपुर संवाददाता

काठमाडौँ — राजकुमार सिद्धार्थ गौतम (बुद्ध) सानोछँदा उनको मामाको छोरा देवदत्तसँग एउटा चराको विषयलाई लिएर विवाद भयो ।

सिकार खेल्ने क्रममा देवदत्तले हानेको वाण लागेर एउटा सारस घाइते भयो । घाइते सारस सिद्धार्थ गौतम बसेको ठाउँ नजिकै आएर खस्यो । घाइते सारसको शरीरबाट वाण झिकेर ओखतीमुलो गरे ।

त्यही बेला आफूले खसालेको सारस खोज्दै देवदत्त सिद्धार्थसमक्ष पुगेका थिए । आफूले वाण हानेर खसाएको चरामा आफ्नै अधिकार हुने भन्दै देवदत्तले सिद्धार्थ गौतमसँग रहेको सारस मागे । सिद्धार्थ गौतमले घाइते सारसलाई आफूले बचाएकाले त्यो आफ्नो हुने भन्दै दिन मानेनन् । ठूलो गलफत्ती पर्‍यो । विवाद बढ्दै गएपछि राजा शुद्धोदनले समस्या न्याय परिषद्मा पठाइदिए ।न्याय परिषद्ले कुनै पनि जीवमाथि प्राण लिनेको भन्दा जीवन बचाउनेको हक लाग्ने फैसला गरिदियो । त्यसपछि बौद्धधर्मावलम्बीले सारसलाई आस्थाका रूपमा लिने गरेको जनविश्वास छ । बौद्धमार्गीले शान्ति र प्रेमको प्रतीक मान्ने सारसलाई लुम्बिनी सांस्कृतिक नगरपालिकाले हालै नगरपन्क्षी घोषणा गरेको छ ।

प्रकाशित : मंसिर १६, २०७५ १०:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्