कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

अभिभावकसँगको सम्बन्ध

काठमाडौँ — सन्तानप्रति अभिभावकमा धेरै माया हुन्छ । आमाबुबाका लागि छोराछोरीमा आदर, सम्मान र इज्जत हुने गर्छ ।

अभिभावकसँगको सम्बन्ध

यस्तो भावना कतिले प्रकट गर्छन्, कतिले गर्दैनन् । अभिभावकमा आफ्ना सन्तानप्रति एकाध अपवाद छाडेर सबैमा अथाह माया हुन्छ । सन्तानको जन्मसँगै अभिभावकको सोच, व्यवहार, लक्ष्य र समय सबै सन्तानप्रति लक्षित हुन पुग्छ । हर क्षण, हर योजना वा हर चाहना छोराछोरीमा गएर पूर्ण हुन्छ । हरेक आमाबाका लागि सन्तान आफ्नै मुटुजस्तै प्रिय हुन्छन् । छोराछोरीका लागि अभिभावक आदर्श र भगवान्सरह हुने गर्छन् ।


यति हुँदाहुँदै पनि एक मनोचिकित्सकका रूपमा मैले बाजे, बाबु, आफू र सन्तान अनि नातेदारहरूका बीचमा असमझदारी, असन्तुष्टि, कलह र वैमनस्य भएका धेरै घटना देखेको छु । एक–अर्काबीच कुनै मतलब, रुचि र सरोकार नहुने पाएको छु । आवश्यक परेका बेला साथ नदिने, उपलब्ध नहुने, टाढिन खोज्नेजस्ता समस्या पनि देखेको छु । नसुनेझैं गर्ने, आदर, अभिवादन वा व्यवहार नगर्ने, कुराकानी नगर्ने, चिड्चिडे हुने, भनेको नमान्ने, झैझगडा गर्ने बानी बालबालिकामा पाएको छु ।


अभिभावक र सन्तानबीच सम्बन्ध बिग्रनुमा कतिपय कुरा अभिभावकसँग सम्बन्धित हुन्छन् । कतिपय कारणमा छोराछोरी जिम्मेवार हुन्छन् । कतिपय परिस्थितिजन्य कारण पनि हुन्छन् ।


अभिभावकहरू अक्सर छोराछोरीले आफूसँग राम्ररी कुराकानी नगरेको र आदरभाव वा अनुशासन नदेखाएको रुचाउँदैनन् । भनेको नमानेको, अटेर गरेको, कुसंगतमा लागेको र खराब आचरण गरेका कारण आफ्ना सन्तानसँग असन्तुष्ट हुने गर्छन् । छोराछोरीमा चाहिँ अभिभावकले आफ्नो इच्छा नबुझेको, कुरा नसुनेको, बेवास्ता गरेको, समय नदिएको, दबाब दिएको र कडाइ गरेको जस्ता गुनासा हुन्छन् । अरूको अगाडि बेइज्जत गरेको र आवश्यकताहरू पूरा नगरिदिएका गुनासा पनि हुन सक्छन् ।


कतिपय अवस्था अभिभावक र छोराछोरी दुवैको नियन्त्रणभन्दा पर हुन्छ । खराब पारिवारिक माहोलले दुवैलाई नराम्रो प्रभाव पार्छ । गरिबी, बेरोजगारी, बिछोड, मानसिक समस्या, नशालु पदार्थ, कुलत, इन्टरनेट दुरुपयोगलगायत कारणबाट आइपर्ने परिस्थिति कतिपय बालबालिका र किशोरकिशोरीका जीवनमा बेचैनीका कारण बनिदिन्छन् । यस्तोमा सुझबुझपूर्वक उपायहरूको खोजी गर्नुपर्छ ।

असझदारी र झैझगडाले डेरा जमाएको सम्बन्धले अभिभावक र सन्तानलाई मात्र नभई परिवार, समाज सबैलाई नकारात्मक असर पुर्‍याइरहेको हुन्छ । बेचैन र अशान्त बच्चाहरूले उमेरअनुसार पढाइलेखाइ, खेलकुद, तालिम र वृद्धि–विकासमा ध्यान दिन पाउँदैनन् । यस्तो अवस्थाका अभिभावकले पनि आफ्नो काम र कर्तव्यमा राम्ररी लाग्न नसक्दा समग्र अवस्था खलबलिन पुग्छ । तनावको मानसिक असरले भोक–निद्रामा समस्या, छटपटी, उदासिनता, दुव्र्यसन, साइकोसिस, डिसोसियसनजस्ता विभिन्न लक्षण पैदा हुन्छन् । खानपिन, व्यायाम, शारीरिक रोगको उपचारमा लापरबाहि आदि कारणले स्वास्थ्य पनि खराब हुन्छ । यस्ता मानिस दुर्घटना र आत्महत्याकै पनि सिकार हुने गर्छन् ।


यस्तो विषम परिस्थितिबाट जोगिन पहिलो आवश्यकता हो– अभिभावकमा सन्तानको नजरबाट उनीहरूको समस्या बुझ्ने समझ, पहल र हार्दिकतापूर्ण चाहना । त्यत्ति नै महत्त्वपूर्ण छ सन्तानले पनि आमाबुवाको अभिप्राय: बुझ्ने कोसिस गर्न । समस्या जे छ, राम्ररी केलाएर सम्भव भए समाधान गर्नुपर्छ । समाधान हुन नसक्ने गल्ती छ भने त्यसबाट पाठ सिकेर आगामी दिनमा नदोहर्‍याउने प्रण गर्नुर्पछ ।


कुनै पनि सम्बन्धको आधार भनेकै स्पष्ट र खुल्ला कुराकानी हो । आमाबुवा र सन्तानबीच यो झनै आवश्यक हुन्छ । कुरा लुकाउने परिस्थिति आउनु भनेको समस्या निम्तिनु हो । कुराकानीले असमझदारी हटाएर सम्बन्ध जोगाइराख्छ । त्यसलाई हार्दिक, सहज र सुमधुर बनाउन परस्परमा आदर र स्नेह हुनुपर्छ । सन्तानले आदरपूर्वक र अभिभावकले स्नेहपूर्ण रूपमा परस्परको सम्बन्धलाई कसिलो राख्नुपर्छ ।


बालबालिका, किशोरकिशोरी र सन्तानहरू कतिपय अवस्थामा ठीक–बेठीक, उचित–अनुचित छुट्टयाएर सही विश्लेषण गर्न नसक्दा गलत र नमिल्दो पाइला चाल्न पुग्छन् । सन्तानलाई अभिभावकले हरहालतमा साथ सहयोग दिएर सही बाटोमा ल्याउन निगरानी राख्नुपर्छ । यस्तो निगरानीले छोराछोरीको आत्मसम्मान र आत्मविश्वासमा ठेस नलागोस् भनेर आमाबाबु सजग रहनुपर्छ । छोराछोरीले पनि अभिभावकको नि:स्वार्थ र पवित्र मनसाय मनन् गरेर सही बाटोमा रहने प्रयत्न गर्नुपर्छ । विश्वास पात्र बन्ने बनाउने काममा अभिभावकलाई साथ–सहयोग दिनुपर्छ । अभिभावक आफैंले गलत र अनुपयुक्त तरिका अपनाइरहेको अवस्था छ भने, त्यस्तो अवस्थामा बालबालिकाहरूलाई अघि बढ्न एकदमै मुस्किल हुन्छ ।


आफ्ना बच्चाहरूको कुरा नसुन्ने अभिभावका छोराछोरीलाई साह्रै अप्ठेरो पर्छ । कतिका अभिभावकमा मानसिक अस्वस्थता, नशालु पदार्थको दुव्र्यसन वा व्यक्तित्वको गड्बडी भएका कारण छोराछोरीलाई अप्ठेरो परेको हुन सक्छ । यस्तो समस्यामा परेका छोराछोरीका समझदार साथीहरूको समूह मिलेर कसरी कुराकानी वा संवाद गर्दा राम्रो हुन्छ भनी पहल गर्न सकिन्छ । अभिभावककै पनि उपचार आवश्यक छ कि भनी विचार गर्न सकिन्छ ।


समस्याग्रस्त बालबालिका र किशोरकिशोरीहरूको अभिभावकसँगको प्रतिकूल सम्बन्धलाई लिएर कतिपय अवस्थामा शिक्षक र विद्यालयले पनि समाधान खोजिदिनुपर्ने हुन्छ । छरछिमेक, समाजका अगुवा र बाल अधिकारमा कार्यरत संघसंस्थाहरूको मद्दत पनि चाहिन सक्छ ।

प्रकाशित : माघ १३, २०७५ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?