ठूलासँगै साना खेलाडी

उद्घाटनका दिन राष्ट्रिय खेलाडीसँग करिब १५ मिनेट बाल खेलाडीले फुटबल खेलेका थिए । यसमा विभिन्न विद्यालयका गरी ५० जनाको सहभागिता थियो ।
कान्तिपुर संवाददाता

काठमाडौँ — टेलिभिजनमा मात्रै फुटबल हेर्दै आएका विराटनगरको शिक्षादीप स्कुलका कक्षा ६ का विद्यार्थी विनम थापाले यसपालि आफ्नै ठाउँमा प्रत्यक्ष खेल हेर्ने मौका पाए । उनले आफ्ना साथीहरूसहित विराटनगरकै सहिद रंगशालामा राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी सहभागी भएको खेलहरू बिजुलीको उज्यालोमा हेरेका हुन् ।

दर्शक त उनी भए नै, सँगसँगै राष्ट्रिय टिमका खेलाडीसँग फुटबल खेल्ने अवसर पनि पाए । ‘निकै रमाइलो भयो,’ प्रतियोगिताभर सहभागी विनमले भने, ‘हामीले यसपालि खेलका ट्रिक पनि सिक्यौँ ।’ उद्घाटनका दिन राष्ट्रिय खेलाडीहरूसँग करिब १५ मिनेट बाल खेलाडीहरूले फुटबल खेलेका थिए । यसमा विभिन्न विद्यालयका गरी ५० जनाको सहभागिता थियो ।
सनसाइन सेकेन्डरी स्कुलमा कक्षा ४ का विद्यार्थी पीयूष बस्नेत, उनका साथी शिवम मण्डल, रोहन सुन्दास, शिक्षादीपका प्रज्ञान राजभण्डारीलगायत ‘साना खेलाडी’ ले प्रतियोगिताभरि खेलको मज्जा लिए । ‘परीक्षा सकिएको मौकामा हामीले फुटबलको मज्जा लियौँ,’ कक्षा ७ का विद्यार्थी प्रज्ञानले भने, ‘यहाँ सिकेको कुराले हामी आफूहरू खेल्दा सजिलो हुने भयो ।’


सुनसरीको इनरुवास्थित जनक स्मृति स्कुलको कक्षा ७ का विद्यार्थी सक्षम रेग्मीले पनि यसपालिको रात्रिकालीन खेलबाट मनोरञ्जन लिए । विराटनगरस्थित मामाघर आएका उनले यही मौकामा फुटबल खेल हेरेका थिए । राति खेल हेर्दा रमाइलो लागेको उनले सुनाए ।


वार्षिक परीक्षा सिध्याएर फुर्सदमा रहेकी स्वस्तिका विष्टले पनि आफ्ना दिदी र साथीहरूसित रंगशाला पुगेर फुटबलको मज्जा लिइन् । सगरमाथा स्कुलकी कक्षा ९ की विद्यार्थी स्वस्तिकाले नाम चलेका खेलाडीहरू सहभागी भएको खेल आफ्नै ठाउँमा हेर्न पाउँदा निकै रोचक अनुभव भएको सुनाइन् ।


खेल हेर्न विभिन्न दरका टिकट बिक्री गरिएको थियो । ७ वर्षमुनिका खेलाडीका लागि प्रवेश नि:शुल्क थियो । वार्षिक परीक्षा सकिएको समय भएकाले धेरैजसो बालबालिका आफ्ना अभिभावकसँगै खेल हेर्न आएका थिए । राति खेल आयोजना गरिएकाले अभिभावकलाई पनि सहज भएको थियो । चैत १७ गतेदेखि सुरु भएको विराट गोल्डकप प्रतियोगिताभरि नौ वटा खेल भएका थिए ।


चर्चित नेपाली खेलाडीहरू विमल घर्ती मगर, नवयुग श्रेष्ठ, भरत खवास, अनन्त तामाङ, किरण चेम्जोङ, निराजन खड्का, बिकेश कुथू, एलेन न्यौपाने, सुनील वल, प्रकाश बुढाथोकी, जर्ज फिन्स कार्की, टंक बस्नेतका साथै केही टिममा विदेशी खेलाडीको समेत कौशल हेर्न पाएर बालबालिका दंग परेका थिए ।


फुटबल प्रशिक्षक तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व केन्द्रीय उपाध्यक्ष सन्तोष बानियाँ बालबालिकामा फुटबलप्रति रुचि हुनु राम्रो भएको बताउँछन् । राष्ट्रियस्तरका खेलाडी सहभागी खेलहरू हेर्दा फुटबल खेल्न रुचि हुने बालबालिकाले धेरै कुरा सिक्न पाउने उनले बताए ।


प्रतियोगिताका हरेक खेल साँझ ६ बजेदेखि राति ८ बजेसम्म ‘फ्लडलाइट’ मा खेलाइएको थियो । यसका लागि करिब ३० लाख रुपैयाँ खर्च गरेर सहिद मैदानका विभिन्न ६ स्थानमा ६ वटा फ्लडलाइट राखिएका थिए । आयोजक समितिका अध्यक्ष नवीन रिजालका अनुसार फ्लडलाइटमा १ सय ५० वटा बत्ती बालिएका थिए ।


विराट गोल्डकप काठमाडौं बाहिरको सबैभन्दा बढी पुरस्कार राशि भएको प्रतियोगिता हो । फाइनल खेलमा थ्रीस्टार क्बलले आर्मी क्लबलाई शून्यका विरुद्ध तीन गोल गर्दै च्याम्पियन बन्यो । विराट गोल्डकप उपाधि जित्दै उसले १२ लाख ७१ हजार रुपैयाँ र ट्रफी पाएको थियो । उपविजेता आर्मी टिमले ५ लाख ५१ हजार रुपैयाँ पाएको थियो ।


प्रतियोगितामा नेपालका चर्चित टिमहरू मनाङ–मस्र्याङ्दी, नेपाल पुलिस, सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी, थ्रीस्टार, रमपम झापा ११, संकटा र रिजालको मोरङ ११ ले प्रतिस्पर्धा गरेका थिए । भुटानको थिम्पु फुटबल क्लब र भारतको मोहमडन स्पोर्टिङ क्लब पनि प्रतिस्पर्धामा सहभागी थिए । हरेक खेलको म्यान अफ द म्याचले १० हजार र म्यान अफ द टुर्नामेन्टलाई मोटरसाइकल दिइएको थियो । उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेन्स, बढी गोलकर्ता, उत्कृष्ट व्यवस्थापक, प्रशिक्षकलाई पनि पुरस्कृत गरिएको थियो ।
तस्बिरहरू : वेदराज पौडेल

प्रकाशित : वैशाख २, २०७५ १२:२१
प्रतिक्रिया
पठाउनुहोस्

पछुतो

कान्तिपुर संवाददाता

काठमाडौँ — म ‘यसपालि त जसरी भए पनि प्रथम त आउनै पर्छ । नत्र बुवाले अहिले पनि मोबाइल किनिदिनु हुँदैन ।’

हरि कक्षा ९ को वार्षिक परीक्षा दिनेवाला थिए । उनी आफ्नो कक्षाको द्वितीय विद्यार्थी थिए । प्रथमचाहिँ उनकै छिमेकी हरिश आउँथे । अब प्रथम स्थानमा आउन हरिले हरिशलाई जित्नुपर्ने थियो । नजिते हरिले मोबाइल नपाउने थियो ।


‘हरिशलाई त जित्नै पर्छ । अब पढेर जित्न गाह्रो छ । यदि हरिशलाई फसाएर परीक्षा दिनबाट वञ्चित पर्न सकेको खण्डमा आफू प्रथम आइन्थ्यो,’ हरिको मनमा यस्तो विचार आयो ।


यसपछि हरिले हरिशलाई फसाउने योजनाले आफ्नो दाइ मदनको मोबाइल विद्यालय लगे र खाजा खाने समयमा लुकेर हरिशको झोलामा हालिदिए । यति गरेपछि हरि प्राचार्य सरको सामू गएर ‘मैले हरिशले विद्यालयमा मोबाइल ल्याएको थाहा पाएँ’ भने । अनि सरले हरिशको झोला खोतल्नुभयो । त्यहाँ सरले हरिले भने जस्तै मोबाइल पनि भेट्टाउनुभयो ।


विद्यालयमा विद्यार्थीले मोबाइल ल्याउन नपाउने नियम भएकाले, सरले हरिशलाई आफ्नो कार्यकक्षमा लानुभयो । त्यहाँ उहाँले हरिशको बुवालाई पनि बोलाउनुभयो । प्राचार्यबाट यस्तो गुनासो सुनेपछि हरिशका बुवा तिनछक्क पर्नुभयो । हरिशका बुवाले प्राचार्यलाई विश्वास दिलाउँदै भन्नुभयो, ‘सर, मेरो छोरो इमानदार छ । तैपनि हामी एक किसान परिवार हाँै । यस्तो मोबाइल हामीकहाँ छैन । त्यसैले हरिशले यो कार्य गरेकै होइन ।’ यस्ता थुप्रा कुराहरू गरेर बल्लतल्ल हरिश र उनका बुवाले सरलाई विश्वास दिलाउन सफल हुनुभयो ।


अब हरिशद्वारा यो नियम तोड्ने कार्य नभएपछि सरले हरिलाई बोलाउनुभयो र सोधपुछ गर्न थाल्नुभयो । तर जति केरकार गरे पनि हरिले आफ्नो गल्ती मानेनन् र हरिशलाई नै आरोप लगाए । अन्तिममा प्राचार्य सरले हरिका बुवालाई पनि विद्यालयमा बोलाउनुभयो र मोबाइल देखाउनुभयो । हरिका बुवाले त्यो मोबाइल चिन्नुभयो र भन्नुभयो, ‘यो मोबाइल त मेरो जेठो छोरो मदनको हो । तपाईंकहाँ कसरी आयो ?’


अनि सरले सबै खेल बुझेर हरिका बुवालाई सब वृत्तान्त सुनाउनुभयो । त्यसपछि सरले भन्नुभयो, ‘हरिले यो विद्यालयको नियम तोडे । अझ मोबाइल ल्याएर हरिशलाई पनि फसाउन खोजे । अनि सोधपुछ गर्दा हामीसित आफ्नो गल्ती पनि महसुस गर्न मानेनन् । अब विद्यालयको जान्ने विद्यार्थी भनेर सजायबाट छुटकारा दिएमा भोलि अरू विद्यार्थीबाट पनि त यो गल्ती हुन सक्छ । त्यसैले मैले हरिको यो गल्तीको सजाय उनलाई वार्षिक परीक्षाबाट वञ्चित गराउँछु ।’


त्यसपछि हरिले त्यो साल परीक्षा दिन पाएनन् । परीक्षा नदिई प्रथम हुने कुरै आएन । प्रथम नआएपछि मोबाइल पनि पाएनन् । यता न मोबाइल पाए, न परीक्षा दिन । बिचरा, हरिश अब अर्को साल एसईईको तयारी गर्ने बेला हरि भने उही कक्षा ९ मा । यदि हरिशलाई फसाउने जुक्ति पढाइतिर लगाएको भए सायद प्रथम स्थान पनि हासिल गर्न सक्थे अनि बुवाबाट मोबाइल पनि पाउँथे । अब पछुताउनुबाहेक के नै गर्न सक्छन् र हरिले ? ‘के गर्छस् मंगले आफ्नै ढंगले’ भनेको जस्तै भएन र ?
-क्रिष्टल जीसी, कक्षा–९
जन मावि, सुर्खेत

प्रकाशित : चैत्र २५, २०७४ ११:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्