१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६५

४ सय १३ स्थानीय तहमा दादुरा-रुबेलाविरुद्धको खोप अभियान सम्पन्न

रासस

काठमाडौँ — सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानअन्तर्गत मुलुकका ४ सय १३ स्थानीय तहका सबै बालबालिकाले खोप लगाएका छन् । देशका २४ जिल्लाका ती स्थानीय तहमा सबै बालबालिकालाई खोप लगाइएको छ ।

४ सय १३ स्थानीय तहमा दादुरा-रुबेलाविरुद्धको खोप अभियान सम्पन्न

बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार ४३ जिल्लाका एक सय ८० स्थानीय तहमा खोप अभियान जारी छ । हालसम्म करिब ६६ प्रतिशत अर्थात् ३७ लाख ९२ हजार चार सय ६८ बालबालिकाले खोप लगाइसकेका छन् ।

शाखा प्रमुख डा. गौतमले हिमाली भेगका आठ जिल्लाका १ सय २२ स्थानीय तहमा हिमपातका कारण खोप अभियान सञ्चालन हुन नसकेको बताए । यही फागुन १३ गतेदेखि दादुरा–रुबेलाको संक्रमणको जोखिमलाई दृष्टिगत गरी सरकारले पश्चिम रुकुम र जाजरकोट जिल्लाबाहेक ७५ जिल्लामा खोप अभियान सञ्चालन गरेको हो । ती जिल्लाका कूल ५७ लाख ४२ हजार नौ सय ९३ बालबालिकालाई खोप लगाउने लक्ष्य छ ।

भारतसँग सीमा जोडिएका दादुरा–रुबेलाबाट अति संक्रमित २१ जिल्ला तथा काठमाडौं उपत्यकामा नौ महिनादेखि १५ वर्षमुनिका तथा ५१ जिल्लाका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई खोप लगाइँदै छ । खोप अभियानका लागि देशभरि ४८ हजार सात सय ९८ खोप केन्द्रको व्यवस्था गरिएको शाखा प्रमुख डा. गौतमले जानकारी दिए । खोप अभियानका लागि ४९ हजार ९ सय ३७ स्वास्थ्यकर्मी र ५९ हजार ९ सय ६ स्वयंसेवक परिचालन गरिएको छ ।

प्रकाशित : फाल्गुन २८, २०८० १९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?