नेपालगन्जमा दादुराबाट एक बालकको मृत्यु
नेपालगन्ज — दादुराको संक्रमणबाट नेपालगन्जमा एक बालकको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका अनुसार त्यहाँ अहिलेसम्म २५ जनाभन्दा बढी बिरामी फेला परिसकेका छन् ।
बिरामी भएका बालबालिकामध्ये बुधबार एक बालकको मृत्यु भएपछि नेपालगन्जमा संक्रमणको खतरा बढेको भन्दै प्रकोप नियन्त्रणका लागि स्वास्थ्य कार्यालयले आकस्मिक बैठक बसेर सहयोगका लागि स्थानीय सरकारलाई पत्राचार गरेको छ ।
गत शनिबार नेपालगन्ज उपमहानरपालिकोको वडा नम्बर–५,स्थित एउटै परिवारका ४ बालबालिकामा दादुरा भएको फेला पारेका थिए । अभिभावकले दादुराबाट बिरामी भएका बालबालिकालाई लुकाएकाले उपचार तथा रोग निदानमा ढिलाइ भएको थियो ।
‘धेरैजसो बिरामीलाई घरमै राखेर उपचार गरिँदै छ,’ स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख सुनिता पौडेलले भनिन्, ‘मृत्यु हुने बच्चा पनि सम्पर्कमा आइसकेको थिएन । अब थप बिरामीको खोजी गर्दै र दादुराविरुद्धको खोप लगाउने तयारीमा छौं ।’ उनले ४५ हजार डोज खोप आइपुगेको र जनशक्ति जुटाएर लगाउन थाल्ने बताइन् ।
शनिबार पाँच जनाबाट नमुना संकलन गरेर परीक्षणका लागि काठमाडौं पठाइएको थियो । जसमध्ये चार जनामा दादुरा पुष्टि भएको थियो । ती सबै एकाघरका रहेका छन् । सहरमा दादुरा देखिएपछि विश्व स्वास्थ्य संगठन, युनिसेफ, स्वास्थ्य कार्यालय, नेपालगञ्ज उपमहानगरपालिकाको स्वास्थ्य शाखाको टोली निगरानीमा खटिँदै आएका छन् । बुधबार मात्रै ५ वर्ष मुनिका ८ जना बालबालिकामा दादुराको संक्रमण देखिएको थियो ।
नेपालगन्ज वडा नम्बर ५, ७, ८, १०, १५, २२मा दादुराको बढी संक्रमण देखिएको छ । निगरानी तथा निरीक्षणमा खटिएका एक जना स्वास्थ्यकर्मीसमेत बिरामी भएका छन् । स्वास्थ्यकर्मीले दादुरा छिटो सर्न सक्ने सरुवा रोग भएकाले बिरामीलाई छुट्टै ठाउँमा राख्ने र लक्षण देखिएकाको तथ्यांक संकलन गर्ने काम गरिरहेका छन् ।