कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अर्जेन्टिनाले अवसर गुमायो

विश्लेषण
नवीन न्यौपाने

काठमाडौँ — विश्वकप २०१८ मा शनिबार सबैको ध्यान अर्जेन्टिना र आइसल्यान्डबीचको खेलले खिचेको हुनु पर्छ । धेरैले अर्जेन्टिनाले जित निकाल्ने अनुमान गरेपनि त्यो सही सावित भएन । अन्तत: अर्जेन्टिनी समर्थक निराश हुनु पर्‍यो । खेल १–१ को बराबरीमा रह्यो । लियोनल मेसी स्वंय पेनाल्टीबाट गोल गर्न चुके । उनका लागि यो दुर्भाग्य हो । 

अर्जेन्टिनाले अवसर गुमायो

मेरो विश्लेषणमा अर्जेन्टिनाले अवसर गुमाएको खेल हो, यो । त्यस खेलमा अर्जेन्टिनाले सकेसम्म बलमाथि बढी नियन्त्रण राखेर आइसल्यान्डको पेनाल्टी एरियामा खेल्ने रणनीति लिएको देखियो । त्यसैले बल अधिकांस समय आइसल्यान्डको पेनाल्टी एरिया वरीपरी नै देखियो । बलमाथि अर्जेन्टिनाको नियन्त्रण पनि अत्याधिक नै थियो ।

त्यसको ठीक विपरित आइसल्यान्डले रक्षात्मक रणनीति लिएको थियो र काउन्टर एट्याकको प्रयास गरेको देखियो । आइसल्यान्डले ‘डिप’ र ‘कम्प्याक्ट’ डिफेन्समा खेलिरहेको थियो । अर्जेन्टिना आफ्नो रणनीतिमा केही हदसम्म सफल पनि देखियो, किनभने बलबमाथि पूर्ण नियन्त्रण राख्दै लगातार आक्रमण गर्न पनि सफल रह्यो । तर त्यसमा गोल भने निस्केन् ।

अर्जेन्टिनाले सुरुमै गोल गर्न सफल रह्यो, सर्जियो एगुरोको मदतले । तर आइसल्यान्डले तुरुन्तै गोल फर्काउन पनि सक्यो । विश्वकपमा पहिलो पल्ट खेलिरहेको र प्रतियोगिताकै इतिहासमा जनसंख्याको आधारमा सबैभन्दा सानो देशका लागि बराबरीको नतिजा पनि राम्रो उपलब्धी हो । यसले विश्वकपमा राम्रो सुरुआत लिन सफल रह्यो । यहाँनिर अर्जेन्टिनाले खेलबाट अंक गुमाएको हो भने आइसल्यान्डले अंक बटुलेको हो भन्दा फरक नपर्ला ।

सायद अर्जेन्टिना धेरै हदसम्म मेसीमा पनि भर पर्‍यो कि उनले लगातार आक्रमण गरे । उनको पोस्ट आक्रमण नै आधा दर्जन भन्दा बढी थियो । मेसीले आफ्नो काम त गरे, तर फल पाएनन् । पेनाल्टी प्रहारमा उनको यसअघिको प्रदर्शन पनि राम्रो थिएन् । विश्व फुटबलकै एकसेएक स्टार खेलाडीले भरिएरको अर्जेन्टिनाविरुद्ध आइसल्यान्डले रक्षात्मक भएर खेल्ने ठीक पनि हो ।

शनिबारको पहिलो खेलमा भने विश्वकपका अर्को दावेदार टिम फ्रान्स अस्ट्रेलियाविरुद्ध उत्रेको थियो र त्यसमा पनि फ्रान्सको युवा खेलाडीले भरिएको टिमले २–१ को जित हात पार्न सफल रह्यो । त्यसै क्रममा सुरुआती दुवै गोल पेनाल्टीमा भए । फ्रान्सले अग्रता लिएको केही समयमै अस्ट्रेलिया गोल फर्काउन सफल रह्यो । यो जितले फ्रान्सलाई राहत दिएको हुनु पर्छ ।

अस्ट्रेलियाले यस खेलमा बलियो डिफेन्ससँगै विस्तारै आक्रमणको जिम्मा लिएको थियो । फ्रान्सले भने लगातार बल पास गरेर बल अगाडि बढाउन खोजेको देखियो । हिजो राति पनि दुई खेल रहे, त्यसमा डेनमार्क र क्रोएसिया विजयी रहे । डेनमार्कले पेरुलाई १–० ले हरायो भने क्रोएसियाले नाइजेरियालाई २–० ले पन्छायो । यी दुई विजयी युरोपेली टिम आफैमा बलिया छन् ।

डेनमार्क र क्रोएसियासँग विश्वकपको राम्रो अनुभव छ तथा उनीहरूले अबका खेलमा राम्रो गर्ने अपेक्षा गर्न सकिन्छ । यसपल्टको विश्वकपमा अफ्रिकी देशले भने राम्रो सुरुआत लिन सकेन । अहिलेसम्म मैदानमा उत्रेका तीन टिममध्ये इजिप्ट, मोरक्को र नाइजेरिया पराजित भइसकेका छन् । यो अफ्रिकी फुटबल समर्थकका लागि निराशाजनक प्रदर्शन हो ।

(न्यौपाने राष्ट्रिय टिमका पूर्व खेलाडी हुन्। उनी हाल त्रिभुवन आर्मी क्लबका प्रशिक्षक छन्। उनले केही समय अगाडि मात्र एसियाली फुटबल महासंघको प्रशिक्षक ‘ए’ लाइसेन्स कोर्स उतीर्ण गरेका छन्।)

प्रकाशित : असार ३, २०७५ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?