कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

हिमालमा रमाएका याङडुङ

गाउँका पिसाङमा १४ वर्ष म्हिथेबा (अध्यक्ष) भएर मुद्दा मामिला मिलाउने, घटनाको निर्णायक याङडुङले २०७४ सालमा जनप्रतिनिधि आएपछि भारी बिसाए
आश गुरुङ

लमजुङ — याङडुङ गुरुङका दाह्रीजुँगा सेतै फुलेका छन् । कपाल भने काटेका छन् । पहाड र तराईमा गर्मी भइरहँदा मनाङको पिसाङमा भने उनी कालो भुवादार ज्याकेट लगाएर बसेका छन् । उमेरले ७९ वर्षका उनी याकको सुकुटी मज्जैले कोपर्छन् । गत कात्तिकमा जम्मा गरेको सुकुटी देखाउँदै उनले भने, ‘जति धेरै राख्यो, उति धेरै चाम्रो । पाहुनाले त चपाउनै सक्दैनन् ।’

हिमालमा रमाएका याङडुङ

मनाङ ङिस्याङ गाउँपालिका–१ माथिल्लो पिसाङ गाउँ पुग्नेबित्तिकै उकालो चढ्दै गर्दा बाटैमा उनले बनाएको छ्योर्तेन (गाउँको बार गर्न बनाइएको स्तूप) छ । त्यही छ्योर्तेनबाट दाँया मोडिएपछि उनको घर आइपुग्छ । बुढ्यौलीमा पनि तेजिला आँखा भएका उनी तल्लो पिसाङबाट पुल तरेर उकालो लागेका मान्छेलाई कौसीबाटै खुट्याउँछन् । भन्छन्, ‘मोबाइलका अक्षर आँखाले देख्छु, मान्छे किन नदेख्नु ।’

उनीभन्दा ५ वर्षले जेठी छन् श्रीमती च्याङबुटी गुरुङ । ८४ वर्ष पुगेकी श्रीमतीलाई याङडुङले पकाएर खुवाउँछन् । उनी आफैं भाँडा माझ्छन् । घरधन्दा सकिएपछि कौसीमा उनी बस्ने बेन्च छ । अगाडि साना ढुंगाले अँठ्याएर हिउँचितुवा, देशविकाससम्बन्धी पुराना पुस्तक राखिएका छन् । विभिन्न वर्षका क्यालेन्डर, पुराना भिजिटिङ कार्डहरु पनि छन् । भित्तामा आफ्ना पुराना फोटा छन् । ‘यी सबै चिज मेरा साथी हुन् । बेलाबखतमा हेर्ने गर्छु । आनन्द लाग्छ,’ उनले भने ।

उनी सामाजिक काममा कहिले चामे, कहिले माथिल्लो मनाङसम्म पुग्छन् । विकासको काम लिएर बेंसीसहरसम्म आउँछन् । घरनै ढाकिने गरी पुस–माघदेखि फागुन–चैतसम्म हिउँ पर्छ । उनलाई हिउँ माथि टेकेर हिँड्न औधि मन पर्छ । ‘चिसो सबैलाई हुन्छ । तर, मलाई किन हो किन हो, चिसो मन पर्छ । हिउँ पर्दा हिउँमा खेल्छु । कहिलेकाहीं हिउँ पर्दामात्रै जाडो छल्न जान्छु । नत्र गाउँमै हुन्छु,’ उनले भने ।

उनको घरमा पहिले होटल चल्थ्यो । याक एन्ड यती उनको होटलको नाम हो । ७ वटा कोठा छन् । कोरोना संक्रमणअघि उनी होटल चलाइरहेका थिए । २ जना कामदार थिए । त्यसपछि बन्द भएको होटल उनले चलाउन सकेनन् । द्वन्द्वकालमा उनको होटलमा एसटीडी/आईएसटीडी टेलिफोन सेवासमेत थियो । उनका ६ बहिनीमध्ये ४ जना गाउँमै छन् । २ बहिनी काठमाडौंमा छन् । उनका १ सय ३ वर्षीया बुबा डोली गुरुङ काठमाडौंमा बहिनीसँगै बस्छन् । आमाको ८ वर्षअघि गाउँमै ९४ वर्षको उमेरमा निधन भयो ।

‘बहिनीहरुले बुढा भयो, अब यहीं बस भन्छन् । मलाई सहर बस्न मन छैन । खसखस लाग्छ । जाडो सकेपछि गाउँ आइहाल्छु,’ उनले भने । पुस र माघ महिना काठमाडौं रहने उनी फागुन लागेपछि गाउँ फर्किन्छन् ।

एक्ला छोरा याङडुङले औपचारिक पढ्न पाएनन् । ८ वर्षदेखि १६ वर्षसम्म उनले लामा पढे । झन्डै दर्जन देश घुमेका उनलाई साधारण अंग्रेजी बोल्छन् । उनका बुबा त्यतिबेला पिसाङ गाउँपञ्चायतका प्रधानपञ्च थिए । गाउँमा ३ वटा गुठी (समाज) थियो । श्रमदानको अगुवा उनकै बुवाले गर्थे । ‘बुवाले विकासको सुरुवात गर्नुभयो । त्यसलाई हामीले पछ्याइरहेका छौं’ उनले भने । उनका अनुसार पिसाङका काठका पुलहरु उनकै बाउका पालामा बनाउन थालिएको हो ।

मनाङमा धान, मकै, कोदो नहुने । स्याउ, आलु र फापरले खाना नपुग्ने । हिउँ पर्दा बाली सखाप भए भोकै बस्नुपर्ने । हिँडेरै महिना दिन लगाएर तराईको धान बोकेर मनाङ लैजाँदा बाटोको भीर पार गर्न गाह्रो । एकपटक राजा महेन्द्र मनाङको भ्रमणमा जाँदा मनाङीले धेरै दुःख पाएको गुनासो गरे । राजालाई बिन्ती गरे । मनाङको जडीबुटी स्वदेश र विदेशमा लगेर बिक्री गर्ने व्यवस्था मिलाए गर्जो टर्ने भनी बिन्ती गरेपछि महेन्द्रले मनाङीको मागमा लालमोहर छाप लगाएर विदेशमा व्यापार गर्ने छुट दिएका थिए ।

मनाङीले तराईसम्म पुगेर जडीबुटी बेच्न थाले । उनीहरु भारत हुँदै पानीजहाजको बाटोबाट सिंगापुर, मलेसिया, लाओस, भियतनाम, कम्बोडिया, हङकङ, बर्मालगायत देशमा नेपालको जडीबुटी व्यापार गर्न पुगे । भियतनाम युद्धका बेला मनाङीको जडीबुटी त्यहाँका आर्मीले किने । ‘पहिले पहिले जडीबुटी लान्थ्यौं । पछि पछि खोज्नै गाह्रो भयो । कोलकातामा औंठी, पथ्थर, मालाहरु किनेर बेच्न थाल्यौं,’ उनले भने । व्यापारको क्रममा भारतको दार्जिलिङ, सिलोङ पुगेका उनले मलेसिया, सिंगापुर, हङकङ, कम्बोडिया, थाइल्यान्ड, भियतनाम पुगे । थाइल्यान्डमा ५ वर्ष बिताएपछि उनी विस्तारै स्वदेश फर्किए । उनका अनुसार विदेशबाट आउँदा जुत्ताचप्पल, पेटी, कपडा ल्याएर काठमाडौंमा बिक्री गर्थे । उनले विदेशमा कमाएको पैसाले काठमाडौं कमलपोखरीमा ३ तले घर पनि बनाए । उनको त्यो घर उनीसँग छैन ।

काठमाडौं बसिरहेका उनीसहित ९ जनालाई गाउँलेको भेलाले गाउँ चलाउने जिम्मा लिए । ३७ वर्षको उमेरमा उनको समूहलाई ३० हजारमा हेलिकोप्टर चार्टर गरेर गाउँ पठाए । अहिले हेलिकोप्टर पिसाङमा उड्दा २ लाख रुपैयाँ लाग्छ । मनाङ समाज काठमाडौंका उपाध्यक्षसमेत भएका उनको काँधमा गाउँका म्हिथेबा (अध्यक्ष) बन्ने जिम्मा आयो । कर्मचारीले स्थानीय निकाय चलाएको समय पिसाङमा १४ वर्ष म्हिथेबा बनेका उनले २०७४ मा भारी बिसाए । त्यसपछि जनप्रतिनिधि आए । गाउँ चलाउने बेला उनले मुद्दा मामिला मिलाउनुका साथै गाउँमा घट्ने घटनाहरुसमेत मिलाउँथे । गाउँमा कुनै निर्णय गर्नुपरे म्हिथेबाले नै गर्थे । गाउँ उनको हातमा हुन्थ्यो । यार्सागुम्बु चोरी, डकैती, कुटपिट, झगडालगायतको समस्या मिलाएको उनी सुनाउँछन् ।

विकासमा मनाङ अझै पछि परेको उनी बताउँछन् । ‘तनहुँको डुम्रे आउजाउ हुन मात्रै एकतर्फ ९ दिन लाग्थ्यो । कहाँ कहाँ भनेर बजेट ल्याएर विकास गरियो,’ उनले भने, ‘अहिले त काठमाडौंबाटै एकै दिनमा यहाँ आइपुग्छ । बजेट पनि गाउँमै आउँछ ।’ उनी म्हिथेबा बन्दा गाउँको साँधसीमा पनि तोकेको बताए ।

शान्ति प्रक्रियापछि माओवादीले देश बनाउला भनेर माओवादीमा प्रवेश गरेको उनले सुनाए । तैपनि माओवादी, कांग्रेस, एमाले, राप्रपा सबैसँग समान व्यवहार गर्थे । ‘अहिले त पार्टी–पार्टी भन्छन् । मैले माओवादी छोडेको पनि ८ वर्ष भयो । हाइसन्चो छ,’ उनले भने । उनलाई मनाङमै बस्ने बानी परेको छ । ‘काठमाडौं साह्रै धूलो छ । साह्रै गर्मी छ । बस्न सकिँदैन । बरु गाउँमै बस्छु । मरिए गाउँमै मरिएला,’ उनले भने । उनले लेकमा याकचौंरी पालेका छन् । अहिले ३० भन्दा बढी याकचौंरी छ । त्यसैबाट उनको गर्जो चलेको छ ।

प्रकाशित : असार १९, २०८० १७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतिप्रति तपाईंको के टिप्पणी छ ?