एसियाली पारा तेक्वान्दो जाने टोलीको बिदाइ

जेष्ठ ३, २०८१

कान्तिपुर संवाददाता

Farewell to the Asian Para Taekwondo team

काठमाडौँ — नवौं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (जी–४) मा प्रतिस्पर्धा गर्न ३ खेलाडी शुक्रबार भियतनामको दनाङ जाने भएका छन् ।

प्रतियोगितामा पलेशा गोबर्धनले महिला ५७ केजीमुनि, भरतसिंह महताले पुरुष ५८ केजीमुनि र अमिर भ्लोनले पुरुष ६३ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षकमा कविराज नेगी लामा रहेका छन् । प्रतियोगितामा ३१ राष्ट्रका खेलाडी हुने जनाइएको छ ।

पलेशाले छनोट चरण पार गरेर पेरिस पारा ओलम्पिकमा सहभागिता निश्चित गरिसकेकी छन् । छनोट चरण पार गरेर पारा ओलम्पिकमा सहभागिता पक्का गर्ने पलेशाले पहिलो र एकमात्र खेलाडी हुन् ।

पलेशाले चीनको ताइयानमा चैत ४ मा भएको एसियाली छनोटमा स्वर्ण जित्दै पेरिस पारा ओलम्पिकमा छनोट भएकी हुन् । पलेशा चौथो एसियाली पारा खेलकुदकी कांस्य विजेता हुन् । नेपालले पारा एसियाली खेलकुदमा जितेको एकमात्र पदक हो ।

नेपाल तेक्वान्दो संघले पेरिस पारा ओलम्पिकमा सहभागी गराउन अमिर र भरतको वाइल्ड कार्डका लागि आवेदन दिइसकेको प्रशिक्षक लामा जानकारी गराए । एसियन च्याम्पिनसिपबाट वरीयता आउन र त्यसमा सुधार गर्न मद्दत पुग्ने भएको हुँदा अमिर र भरतलाई सहभागी गराइएको हो ।

प्रशिक्षकको भूमिकामा रहेका लामाले सन् २०१५ देखि पारा तेक्वान्दो प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै आएका छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बिहीबार बिदाइ गरे ।

कान्तिपुर

Link copied successfully