पार्क पसे ढिकी, जाँतो र कोल
गोरखा — ढिकीमा धान अनि जाँतोमा कोदो, मकै, चामल, गहुँ र जौ पिस्ने गरिन्थ्यो– १० वर्ष अघिसम्म । तोरी र तिल कोलमा हालेर तेल निकालिन्थ्यो । तर समय यसरी बदलियो कि, परम्परादेखि प्रयोग हुँदै आएका यस्ता सामग्रीको चलनै हरायो । लोप नै होला भन्ने डर ।
यिनै ढिकी, जाँतो र कोल संरक्षण गर्न गोरखा नगरपालिका– १२ रानीटारमा पर्यटकीय पार्क नै बनाइएको छ । आधुनिक मेसिन औजार नआउँदै पुर्खाले प्रयोगमा ल्याएको ढिकी, जाँतो र कोल लोप हुने अवस्थामा पुगेपछि संरक्षण गर्नुपरेको स्थानीयले बताए ।
वडा अध्यक्ष डिलबहादुर थापाका अनुसार नगरपालिकाको ५ लाख र वडा कार्यालयको ३ लाख रुपैयाँ लगानीमा नौ रोपनी क्षेत्रफलमा पार्क बनाइएको हो । ‘पुराना सामग्री लोप हुँदै गए, जगेर्ना गर्न पार्क निर्माण गरेका हौं,’ उनले भने । पार्कमा राखिएका ढिकी, जाँतोमा स्थानीयले धान कुट्न र मकै, गहुँ, कोदो पिस्न सक्ने उनले बताए । ‘यहाँ आएर कुट्दा पैसा लाग्दैन, स्थानीयको सजिलोका लागि समेत पुराना सामग्री राखेका हौं,’ उनले भने, ‘ढिकीमा कुटेको धानको प्रोटिन
त्यति जाँदैन, पिठो पनि ढिकीमा कुटेकै स्वादिलो ।’
‘१० वर्ष अघिसम्म घरघरमा रहेको ढिकीमै कुटेको चामलको भात खान्थ्यौं,’ गोरखा नगरपालिका– १२ दसकिलोकी ६० वर्षीया ज्ञानुमाया आचार्यले सुनाइन्, ‘अहिलेका मानिस बरु घण्टौं मिलमा पालो कुरेर चामल कुट्छन् ।’ आफूहरूले ढिकी, जाँतो, कोलको प्रयोग गरेको सुनाउँदा पछिल्लो पुस्ताका बालबालिकाले अचम्म मान्ने गरेको उनले बताइन् । ‘घरघरमा हुने ढिकी, जाँतो लोप हुने अवस्थामा पुगेका थिए, धन्न पार्कमै भए पनि देख्न पाउँदा खुसी लाग्यो,’ आचार्यले भनिन् ।