३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

मन्दिर आउनेलाई कोसेली घर

माधव अर्याल

पाल्पा — तीतो/मीठो फापरको पिठो । गहतका प्याकेट । गाउँमा उत्पादित बोडी, सिमी, कालो/सेतो भटमास । मह, खुदो, जौ, गुन्द्रुक, तरुल के खाने ? डोको, नाम्लो, खुर्पेटो, अम्रिसोको कुचो पनि पाइन्छ । बेसार, अदुवा र अन्य स्थानीय उत्पादन पनि ।

मन्दिर आउनेलाई कोसेली घर

ढाकाबाट बनेका सामग्री र करुवासमेत छन् । रिब्दीकोट गाउँपालिकाले स्थानीय किसानका उत्पादनलाई खपत गर्ने थलोका रूपमा विकास गरेको कोसेली घरमा यी सबै उपलब्ध छन् ।


गाउँपालिकाले कोसेली घर सञ्चालन गर्न पहिलो वर्ष ५ लाख रुपैयाँ सहयोग गरेको छ । यसलाई भैरवस्थान मन्दिर व्यवस्थापन समितिले रेखदेख गरेको छ । कोसेली घरमा ग्रामीण उत्पादनलाई जोड दिइएको छ । ‘गाउँमा किसानले उत्पादन गरेका सामग्रीलाई यहाँ राख्ने योजना हो,’ गाउँपालिका अध्यक्ष नारायणबहादुर जीसीले भने, ‘स्थानीय उत्पादन खपत होस् र आय आर्जनमा सहयोग पुगोस् ।’


उनका अनुसार भैरवस्थान मन्दिरमा दर्शन गर्न आउनेलाई लक्षित गरी कोसेली घर सञ्चालन गरिएको हो । यहाँ वार्षिक ५ लाखभन्दा बढी दर्शनार्थी आउने अनुमान छ । भैरवस्थान धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै छ ।


कोसेली घरबाट स्थानीय उत्पादन पाउन उपभोक्तालाई सहज भएको छ । ‘पहिलो प्राथमिकता रिब्दीकोटमा उत्पादित वस्तुलाई दिएका छौं,’ समितिका अध्यक्ष तुलबहादुर अधिकारीले भने, ‘स्थानीय किसानले फाइदा पाउन सकून् भन्ने हामी चाहन्छौँ ।’ उनका अनुसार कतिपय सामग्री बजारभन्दा धेरै सस्तोमा बिक्री भएको छ ।


‘मन्दिर दर्शन गरेर फर्कनेलाई कोसेली लैजान सजिलो भएको छ,’ पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले भने ।

कोसेली घर सञ्चालक समितिकी संयोजक लक्ष्मी खनाल गाउँपालिकाकी उपाध्यक्ष पनि हुन् । उनका अनुसार यहाँ राखिएका अन्नबाली स्थानीय जातका हुन् । कोदो, तीतो/मिठे फापर, गहत, राजमा, सिमी, मास, कालो सिमी, सेतो/कालो भटमास, तोरी, जौ, खुदो, मह, गुन्द्रुक, तरुललगायत छन् ।


गाउँपालिकाले तालिम चलाएपछि उत्पादित ढाकाका सामग्री पनि यहाँ राखिएको छ । एकल महिलाले उत्पादन गरेका परालका जुत्ताले पनि प्राथमिकता पाएको उनले बताइन् । वडाध्यक्ष दुर्गा खनालले भनिन्, ‘रिब्दीकोटका उत्पादनलाई बजार दिन यही उपाय लगायौँ ।’

प्रकाशित : माघ १, २०७५ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?