कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

न्यायका एक याचक

घनश्याम खड्का

काठमाडौँ — उनी किन हम्मेसि हाँस्दैनन् ? हाँसे पनि उनको हाँसो किन त्यस्तो रुन्चे देखिन्छ ? खिरिलो ज्यानमाथि अडिएका दुई गहिरा आँखामा के त्यस्तो पीडा छ जसलाई रोक्न उनलाई मुस्किल पर्छ ? 

न्यायका एक याचक

सुमन अधिकारीलाई भेट्नुस् र सोध्नुस् यी प्रश्न । जवाफ पाउनु हुनेछैन । बरु उनी प्रतिउत्तरमा हाँसेजस्तो गर्नेछन्, तर त्यो हाँसो भनिहालेँ नि, निकै पिन्चे पाउनुहुनेछ ।


सुमन यो देशका त्यस्ता असंख्य नागरिक मध्येका हुन् जसको जीवन आफ्नै योजनामा चल्न पाएन । दश वर्षे सशस्त्र द्वन्द्वका क्रममा १७ हजारभन्दा बढी मानिस मारिए । तीमध्ये कोही सेनामा थिए, कोही माओवादीमा । धेरै चाहिँ उनका पिताजी मुक्तिनाथ अधिकारीजस्ता राजनीतिमा लेना न देना भएका नितान्त सोझा मानिस पनि थिए ।


हरेक वर्ष माघको पहिलो हप्ता सुमन केही व्यस्त हुन्छन् । माघ ३ गते पिताजीको सम्झनामा केही मानवअधिकारवादीहरू भेला पार्नु र न्यायका लागि गुहार गर्नु डेढ दशकदेखिको उनको नियमित काम जस्तै भइसकेको छ । त्यो उनले आज पनि गरे, सत्रौँ पटक ।


सुमनको मनमा एक किसिमको घृणा छ एउटा मितिसँग । समय २०५८ माघ ३ भन्दा पछाडि फर्कँदो हो त उनका पिताजी पनि फर्कने थिए, उनको गोलीले प्वाल परेको टाउको फेरि सग्लो भएर आउने थियो, चुप्पिले काटिएको पेट र छाती फेरि साबिक भएर देखिने थियो । तर समय फर्कन जान्दैन, सुमनको मनले बिर्सन मान्दैन । त्यसैले त छ यो उदासी, यो दु:ख, यो सकस ।


त्यस दिन लमजुङको दुराडाँडा साबिकभन्दा चिसो थियो । पानी परेकाले बाटाहरू भिजेका थिए । मुक्तिनाथ पढाउन भनेर पाणिनी संस्कृत माध्यमिक विद्यालयको एउटा कक्षामा छिरेका मात्रै थिए । दुई वर्षअघि त्यस विद्यालयका प्रधानाध्यापक नवकुमार केसीले हठात् स्कुल छाड्नु परेको थियो । माओवादीले कारबाही गर्ने धम्की दिएपछि उनी गाउँबाट विस्थापित भएका थिए । त्यसपछि निमित्त प्रधानाध्यापक भएर विद्यालय चलाउने जिम्मेवारी उनै मुक्तिनाथको काँधमा आएको थियो ।


मुक्तिनाथका जेठा छोरा सुमनको उमेर थियो २५ वर्ष । अङ्ग्रेजीमा स्नातक गरेपछि उनी काठमाडौंतिर बस्थे र लाजिम्पाटतिरको एउटा स्कुलमा पढाउन थालेका थिए । घरमा बिहेको कुरा चलिरहेको थियो र मुक्तिनाथ लायककी बुहारी खोज्ने सुरसारमा थिए । माघे संक्रान्ती मनाउन सुमन घर फिरेका थिए ।


संक्रान्तिका दिन उनले बाबुसँग मिलेर दिनभरि बाँसको बाता काटे, घर जो छाउनु थियो । तिनताक गाउँभरिमा एउटा मात्रै टेलिफोन थियो र कुराकानीका लागि मानिसहरू सधैँ लाममा बसिरहेका हुन्थे । साँझ मुक्तिनाथलाई त्यही टेलिफोनमा जिल्ला शिक्षा कार्यालय लमजुङबाट फोन आयो, ‘तुरुन्त बेंसीसहर आउनु, प्रधानाध्यापकको चिठ्ठी बुझ्नु र विद्यालयको पूर्ण जिम्मेवारी सम्हाल्नु ।’


मुक्तिनाथ भोलिपल्टै बेंसीसहर पुगेर चिठ्ठी बुझे । घर फर्किँदा झिमिक्क साँझ परिसकेको थियो । दुई वर्षदेखि निमित्तका भरमा चलेको विद्यालयले त्यस दिन पूर्ण प्रधानाध्यापक पाउने वाला थियो । थपिएको जिम्मेवारीले उत्साहित भएका मुक्तिनाथ दिनभरिको शिक्षणपछि साँझ सञ्चालक समितिको बैठकमा आफ्नो पत्र पेस गरेर औपचारिक रूपमा प्रधानाध्यापक घोषित हुनेवाला थिए ।


तर मध्यान्नपछि दृश्य एकदमसँग बदलियो । मुखुण्डो लगाएका केही मानिसहरू ग्वारग्वार्ती विद्यालयमा छिरे । पढाइरहेका मुक्तिनाथलाई कक्षामै हात बाँधेर बाहिर निक्लिए । त्यो त्रासदीपूर्ण दृश्यका कारण डरले एकै डल्लो परेका विद्यार्थीको, ‘हाम्रा सरलाई छाडिदिनुस्’ भन्ने आर्त पुकार सुन्ने कान कुनै मुखुण्डोधारीसँग थिएन । नत्र तिनले मुक्तिनाथलाई घिच्याउँदै र कन्चटमा पेस्तोल तेस्र्याउँदै जङगलतिर लग्ने नै थिएनन् ।


तिनले मुक्तिनाथलाई आधा घण्टा उकालो हिँडाएपछि मुक्तिनाथलाई एउटा उत्तिसको रुखमा लगेर उनकै गलबन्दीले बाँधिदिए । पानी परेको, घुर्मैलो, चिसो र उराठ लाग्दो त्यस दिनदेखि मुक्तिनाथले यो संसार देख्न पाएनन् । तिनका गोलीले उनको टाउको छेड्यो, चुप्पीले छाती र पेट छियाछिया पार्‍यो । यो विभत्स हत्या हेर्ने शून्य आकाश र ठिंग उभिएको त्यही उत्तिसको रुख मात्र थियो ।


यो सब घटनाक्रमबाट बेखबर सुमन चाहिँ आमाले भुटेको मकै र भटमास चपाउँदै आफ्ना दुई बहिनीहरूसँग बात मारिरहेका थिए । उनका हजुरबा पर्ने बालकृष्ण न्यौपाने र ठुलाकाका कमलकान्त अधिकारी हडबडाउँदै आइपुगे र भने, ‘मुक्तिनाथलाई त माओवादीले लगे रे नि !’


यो सुन्ने बित्तिकै उनकी आमा इन्दिरा अधिकारी डाँको छाडेर रुन थालिन् । सुमनको मनमा चिसो पस्यो । टर्च लिएर उनी जंगलतिर हिँडिहाले । त्यस बखत गएको दसैँका सम्झनाहरू उनको मनमा सलबलाउन थाले । त्यस वर्ष फुलपातीको अघिल्लो दिन सुमनको घरमा माओवादीहरू आएका थिए । चन्दा दिन नमानेकामा मुक्तिनाथलाई कुनै दिन कारबाही गर्ने धम्की दिएर उनीहरू गएका थिए । सुमनलाई लाग्यो, कतै त्यही कारण त पिताजीमाथि हमला त भएको छैन !


अधमरो आस लिएर उनी जंगलको आदि बाटो पुगेका बेला माथितिरबाट एक हुल गाउँलेहरू ओर्लिए । तिनले सुमनलाई माथि जान दिएनन् । भने, ‘माथि मुक्ति सर र माओवादीहरूबिच वार्ता चलिरहेको छ, कोही गयो भने त्यो भाँडिन्छ, फर्किऊ ।’सुमनले फर्किन मानेनन्, गाउँलेले जान दिएनन् । परिणाम के भयो भने आफन्तहरूले अँगालेर उनलाई घरतिरै धकेल्दै ल्याए । आँगनमा आइपुगेपछि चाहिँ भने, ‘मुक्ति सरलाई त रुखमा बाँधेर गोली ठोकेछन् ।’


त्यसपछि सुमनको जीवनमा कहिल्यै घाम लागेन । उनी कहिल्यै खुलेर हाँस्न सकेनन् । सबका आँखा छलेर उज्यालो नहुँदै उनी पिताजी झुण्याइएको ठाउँमा पुगे । आफ्नै गलबन्दीको पासोमा परेका मुक्तिनाथको गोडा भुईँमा लत्रिएको थियो र टाउको झोल्लिएको । त्यो देख्नु बित्तिकै उनी बेहोस भएछन् ।


‘होस आउँदा म अलि पर एक गाउँलेको घरमा थिएँ’ पिताजीको १७ औँ स्मृति दिवस मनाउने तयारीमा जुटेका बेला माघे सक्रान्तिको दिन उस्तै घुर्माैलो साँझमा सुमन त्यस त्रासद क्षणलाई सम्झिरहेका थिए, ‘पिताजीको त्यस हालतको तस्बिर हेर्ने साहस अझै पनि मसँग छैन ।’


यसरी हठात् पिताजीलाई गुमाउनु परेपछि मुक्तिनाथको जीवन एकदमसँग बदलियो । उनको पहिलो प्राथमिकतामा पर्‍यो हत्यारालाई कारबाही गराउने । यसका लागि उनले जिल्ला प्रहरी कार्यालय लमजुङ, राष्ट्रिय मानवअधिकार आयोग हरिहर भवन पुलचोक र सत्य निरूपण तथा मेलमिलाप आयोग बबरमहलमा गरी पटक पटक उजुरी दिइसकेका छन्, तर सुनुवाइ कहीँ पनि भएको छैन ।


न्याय खोज्ने यस उपक्रममा उनले देखे, अरू धेरै मानिस पनि यसै गरी मारिएका, बलात्कृत भएका र बेघर बनाइएका छन् । सुरुमा उनले आफूजस्तै पीडितहरू भेला गरेर ‘टुहुरा समाज नेपाल’ भन्ने सङ्गठन निर्माण गरे र न्यायका लागि राज्यलाई घचघच्याए । पीडितहरू राज्य पक्षबाट पनि उत्तिकै थिए । न्यायिक यात्राका दौरान सुमनले उनीहरूलाई पनि भेटे ।


सत्ताको परिदृश्यमा पीडकहरु मिलिरहेको देखेपछि पीडितहरू बेग्लाबेल्लै लडिरहनु किमार्थ राम्रो थिएन । त्यसैले राज्य र माओवादी दुवै पक्षबाट पीडितहरू मिलेर साझा सङ्गठन निर्माण गर्ने निचोडमा पुगे जसको नाम रहन गयो,‘द्वन्द्व पीडित साझा चौतारी नेपाल’ । यसको पहिलो अध्यक्ष हुन् उनै सुमन । आफूजस्तै पीडितहरू बोकेर उनी घरी सर्वोच्चमा मुद्दा लडिरहेका हुन्छन् भने घरी सत्य निरूपण र बेपत्ता छानबिन आयोगमा पुगेर धर्ना दिइरहेका हुन्छन् ।


अधिकांश पीडितहरू लाउन खानकै सास्तीमा दिन गुजारीरहेका छन् । त्यसमाथि अर्को पक्षबाट हुने डर र धम्कीका कारण सडकमा उत्रिन ती साहसै गर्न सक्दैनन् । यस्तोमा पीडितहरूका लागि अभियन्ता झैँ अहोरात्र खटिनेहरू खोजे पनि पाइन्न । यही सत्यको अनुभूतिले होला, सुमनले जीवनमा जागिर खाने वा व्यापार व्यवसाय गर्ने सारा लक्ष्य नै त्यागिदिए । चौबिसै घण्टा उनी अभियन्ता झैँ द्वन्द्व पीडितको न्यायका लागि खटिन थालेको आज डेढ दशक नाघेको छ ।


यसबिचमा उनका सहपाठीहरू साराको बन्दोबस्त भइसकेको छ, धेरैले निकै तरक्की पनि गरिसकेका छन् । यता एक्लो सुमन छन् जो सडक सडक भौतारिरहेका छन् । यो ‘न्यायिक म्याराथुन’ का दौरान सुमनको इरादा पनि निकै फराकिलो भएको छ, अब आफूले मात्रै होइन, सारा द्वन्द्व पीडितलाई न्याय मिलेको हेर्ने इच्छा उनमा छ ।


तर त्यो पुरा नहुँदा मनमा बढ्ने छटपटी, भित्र जमेर बसेको एक्लोपन अनि उत्तिसको रुखमा पासो परी पिताजीको त्यो लत्रिएको खुट्टा बेला कुबेला उनलाई बिथोल्न सम्झना बनेर आइ नै रहन्छन् । त्यसैले सुमन हाँस्न सक्दैनन् । हाँसिहाले पनि त्यो मात्र रुन्चे हाँसो हुन जान्छ ।


राज्यको कुनै कान भए सुमनहरुको आर्त पुकार सुन्थ्यो होला । यसका कुनै आँखा भए उनीहरूको मलिन अनुहार देख्थ्यो होला । तर राज्य संयन्त्र प्रतिक्रिया शून्य विशाल लोह यन्त्रजस्तो छ जोसँग सुमनहरूका मुटुमा गढेर बसेको गाढा उदासी अनुभव गर्न सक्ने मुटु अलिकति पनि छैन ।


तर सुमन यसबाट विचलित भने छैनन् । चाचार वर्षसम्म पनि एउटै पीडितलाई न्याय दिलाउन नसकेका सङ्क्रमणकालीन न्यायिक संयन्त्रको म्याद फेरि सकिँदै छ । यही चालले न्याय पाइएला भन्ने आस न त सुमनलाई छ न अरू कुनै उनीजस्ता पीडितलाई नै छ । तर पनि निरन्तर घचघच्याइरहने अनि अन्तर्राष्ट्रिय निकायसम्म न्यायका लागि बाटोहरू खन्ने काम भने सुमन गरिनै रहनेछन् ।


उनलाई भित्रैबाट लागेको छ, न्यायभन्दा ठुलो केही पनि छैन । उन्नतिका सारा अवसर र छोराछोरी पढाउने दायित्वसमेत मुलतवीमा राखेर न्यायको सुनौलो दिनका लागि उनी पर्खी रहनेछन्, लडिरहनेछन् र पर्खिरहनेछन् ।

प्रकाशित : माघ ३, २०७५ १९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?