हस्पिटालिटीमा ह्वात्तै

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल सरकार सन् २०२० मा नेपाल भम्रण वर्ष मनाउने तयारीमा छ । अबको दुई वर्षपछि मनाइने भ्रमणवर्षको उद्देश्य नेपालमा २० लाख पर्यटक ल्याउने हो । अहिलेसम्म सर्वाधिक पर्यटक नेपाल आउनेमा १० लाख हाराहारी मात्रै पुगेको छ । अहिले आइरहेको पर्यटक संख्या दोब्बर बनाउँदा सबैभन्दा पहिले आवश्यक पर्ने दुइटा पूर्वाधार हुन विमानस्थल र होटल । अर्थात् अहिले चलिरहेको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलबाट २० लाख पर्यटकको आगमन असम्भव छ भने अहिले भइरहेका होटलले २० लाख पर्यटक धान्न सक्दैनन् ।

अब कुरा गरौं पर्यटकीय स्तरीय होटलको । काठमाडौंमा अब ५ वटा नयाँ पाँचतारे होटल थपिँदै छन् । अहिले देशभर कम्तीमा १२५ स्टार होटल, स्टार होटलबाहेक पर्यटकस्तरीय होटल, लज, रिसोर्ट ३० हजार हाराहारी छन् । यी सबैको बेड (शय्या) जोड्दा ५० हजार हाराहारी पुग्छ । तर, २० लाख पर्यटक ल्याउन अहिलेकै पूर्वाधार दोब्बर चाहिन्छ । यति मात्रै होटल, टुर, ट्राभलमा स्नातक र उच्च शिक्षा अध्ययन गर्ने जनशक्ति पनि दोब्बर चाहिन्छ । त्यसैले होला अहिले काठमाडौंमा तीन दर्जनभन्दा बढी कलेजमा होटल व्यवस्थापन विषयको अध्ययन भइरहेको छ ।


होटल व्यवस्थापन होटलका लागि मात्रै होइन एयरलाइन्स र क्रुजका लागि पनि आवश्यक पर्ने विषय हो । नेपालमा वार्षिक १ हजार ५ सय हाराहारी विद्यार्थी बीएचएम पासआउट हुन्छन् । यीमध्ये आधा हाराहारी नेपालबाहिर पुग्छन् । नेपाली विद्यार्थी अहिले विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्स र क्रुजमा पनि अवसर खोज्दै गइरहेका छन् । सरकारले आफ्नो मातहतको सरकारी कलेज नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) लाई मानित विश्वविद्यालयमा स्तरोन्नति गर्दै छ ।


विश्वभर अबको १० वर्षमा करिब ४४ प्रतिशतका दरले होटल व्यवस्थापन उद्योगको विकास हुने प्रक्षेपण गरेको छ । नेपालमा पनि कम्तीमा डेढ करोडदेखि ५ करोड रुपैयाँसम्म लगानीमा ३० भन्दा बढी होटल व्यवस्थापन कलेज खुलेका छन् ।


अहिले नेपालमा काठमाडौं विश्वविद्यालय, त्रिवि, पूर्वाञ्चल र पोखरासँग सम्बन्धन प्राप्त गरेका कलेज छन् । लुम्बिनी बुद्धिस्ट विश्वविद्यालयले पनि सम्बन्धन दिन थालेको छ । नेपालका विश्वविद्यालयसँगै अस्ट्रिया, बेलायत, स्विजरल्यान्ड, मलेसियालगायत मुलुकका विश्वविद्यालयबाट पनि सम्बन्धन प्राप्त गरेका कलेजले होटल व्यवस्थापन अध्यापन गराउँदै आएका छन् ।

प्रकाशित : श्रावण ३१, २०७५ ११:०६
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

विद्यार्थी तान्दै मानविकी

समयानुकूल पाठ्यक्रम परिमार्जन नहुँदा विद्यार्थी आकर्षित हुन नसकेकाले प्रयोगात्मक र अनुसन्धानमूलक खालको अध्यापन पद्धति विकास गरिँदै ।
दुर्गा खनाल

काठमाडौँ — समाजशास्त्री प्राध्यापक चैतन्य मिश्रले २०७४ साल वैशाख २ मा एउटा लेखमा उल्लेख गरेका हरफहरू हुन् यी । मानविकी तथा समाजशास्त्र अध्ययनको आकर्षण घटिरहेका बेला प्राध्यापक मिश्रका यी हरफले उक्त संकायको महत्त्व झल्काउँछ । पछिल्लो समय अन्य प्राविधिक विषयमा विद्यार्थीको आकर्षण बढिरहेको छ ।

-सामाजिकशास्त्रले हामीलाई ‘कुवाको भ्यागुतो’ हुनबाट जोगाउँछ । विश्वभरिका व्यापकता, विशिष्टता र समानताहरू हामीमा छिराउँछ । आफ्नो र अरू सबैको समाज परिवर्तनशील र प्रवाहमा छ, त्यो प्रवाह कहिले ढिलो र कहिले छिटो हुन्छ, तर थामिँदैन भन्ने सिकाउँछ ।

-सामाजिकशास्त्रको ज्ञानले अन्यायविरुद्ध लड्न र संगठित हुन प्रेरित गर्छ । अन्याय प्राकृतिक, दैवी वा स्वनिर्मित हुने होइन, बरु ऐतिहासिक–सामाजिक रूपले निर्मित हुने हो भन्नेबित्तिकै अन्यायविरुद्ध लड्न सकिने रहेछ भन्ने ज्ञान खुल्छ ।


मानविकी तथा सामाजिकशास्त्र संकायमा अध्ययन विद्यार्थीको कम रोजाइमा पर्ने गरेको छ । तर, समाज बुझ्न र सामाजिक क्षेत्रका स्थापित हुने मानविकी तथा सामाजिकशास्त्र संकायले सहयोग पुर्‍याउन सक्छ । पछिल्लो विज्ञान, व्यवस्थापन, इन्जिनियरिङलगायतमा विद्यार्थीको चाप छ ।


मानविकी र सामाजिकशास्त्रमा तुलनात्मक रूपमा कम चाप देखिन्छ । तर यो संकायभित्रका अध्ययन गर्ने विषयको छनोट सही हुन सक्यो भने विद्यार्थीले यही संकाय पढेर पनि राम्रो अवसर पाउने सक्ने अवस्था छ । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीका पछिल्ला चाहनाहरूलाई बुझेर विषयहरूको विविधता र अध्ययन गर्ने पाठ्यक्रमलाई परिमार्जन गर्न थालेको छ ।
‘समाजको सबै क्षेत्रको नेतृत्व गर्न सक्ने जनशक्ति मानविकी तथा सामाजिकशास्त्र संकायभित्रका विषयको अध्ययनले दिलाउन सक्छ,’ त्रिवि मानविकी संकायका डिन प्राध्यापक शिवलाल भुसालले भने, ‘विद्यार्थीलाई थप आकर्षित गर्न हामीले नया कार्यक्रमहरू थप्न थालेका छौं ।’


अहिलेसम्म मानविकीको पढाइ सैद्धान्तिक बढी थियो । प्रयोगात्मक र व्यावहारिक पाटोलाई यो संकायले कम प्राथमिकता दिएको थियो । पछिल्लो समय आर्थिक उपार्जनसँग सीधा जोडिने खालका विषयहरू विद्यार्थीका रोजाइमा पर्न थाले त्यसैले मानविकी संकायमा पनि अब विविधता थपिन थालेका छन् ।


त्रिविका ३० आंगिक र ३ सय सम्बन्धनप्राप्त क्याम्पसहरूमा मानविकी अध्यापन हुन्छ । स्नातक र स्नातकोत्तर अध्यापन हुने यो संकायमा नयाँनयाँ विषय भित्रिएका छन् । स्नातक तहमा अहिले ‘कम्प्युटर एप्लिकेसन’ विषय सुरु भएको छ । नयाँ पुस्ता सूचना प्रविधिमा अभ्यस्त हुनुपर्ने भएकाले मानविकीभित्र पनि यो विषय भित्र्याइएको डिन भुसालले जानकारी दिए । बढी प्रयोगात्मक हुने यो विषयले प्राविधिक रूपमा अब्बल बनाउन सक्छ ।


त्रिविले अन्य केही विषयहरूलाई पनि प्रवेश गराउन तयारी गरेको छ । ‘गुड गभरनेन्स एन्ड लिडरसिप डेभलपमेन्ट’, फेसन डिजाइनिङ, सोसल इन्टरप्रेनरसिपजस्ता विषय पनि त्रिविले स्नातक तहमा अब प्रवेश गराउँदै छ ।


‘मानविकी र समाजशास्त्र पहिले ज्ञान आर्जन गर्ने खालको मानिथ्यो तर अब हामीले यसलाई जीविकोपार्जनसँगसमेत जोड्ने गरी नयाँ कार्यक्रम थपेका छौं,’ डिन भुसालले भने । मनोविज्ञान, सामजिक कार्य र पत्रकारिताजस्ता चालु विषयलाई थप स्तरोन्नति गर्ने तयारी पनि भइरहेको छ । अब यी विषयलाई ४ वर्षे बनाउने तयारी छ ।
स्नातकोत्तरदेखि विद्यावारिधिसम्मका लागि त्रिविले यो संकायमा केही नयाँ विषयहरू चलाइरहेको छ । जसमा विद्यार्थीहरूले रुचि देखाउन थालेका छन् ।


स्नातकोत्तरमा ‘टुरिजम एन्ड हस्पिटालिटी’, ‘डेभलपमेन्ट स्टडिज’, फोल्कलोर स्टडिज’, ‘स्पोटर्स साइन्स’ जस्ता विषय छन् । ‘विमेन्स स्टडिज’, लाइब्रेरी साइन्स र काउन्सिलिङ साइकोलोजी विषयमा स्नातकोत्तर तहको एक वर्ष विशेष कोर्सको योजना पनि त्रिविले ल्याएको छ । यी नयाँ विषयहरू अहिलेको बजारअनुसार बिक्ने खालका हुन् । यो अध्ययन गरेका व्यक्ति सामाजिक क्षेत्रमा रोजगारीका लागि खोजिने सूचीमा पर्छन् ।


मानविकीका केही विषय भने अहिले संकटमा छन् । इतिहास, भूगोल, नेपालभाषा, हिन्दी भाषालगायतका बिषय करिब बन्द नै गर्नुपर्ने अवस्थामा छन् । यी विषयमा विद्यार्थीको कुनै आकर्षण छैन । महत्त्वप्ूार्ण हुँदाहुँदै पनि कुनै विषयमा विद्यार्थीले नरुचाउनुमा पाठयक्रमको पनि भूमिका छ । वर्षौंदेखि एउटै पाठयक्रम छ ।


समयानुकूल पाठ्यक्रम परिमार्जन नहुँदा विद्यार्थी आकर्षित हुन सकेका छैनन् । तर, अब पाठयक्रम परिमार्जन गर्ने प्रयास भइरहेको डिन भुसालले जानकारी दिए । पुरानो पाठयक्रम र अध्ययन पद्धतिमा भएका कमजोरीहरू हटाउनका लागि सुधार्न खोजिएको उनले जनाए ।


अब प्रयोगात्मक र अनुसन्धानमूलक खालको अध्यापन पद्धति हुनेछ । जसले विद्यार्थीहरूलाई यो संकायप्रतिका आकर्षण अझै बढाउनेछ ।


विद्यालय तहको शिक्षा सकेर उच्च शिक्षाका लागि जान खोज्ने विद्यार्थीहरूले विषय र संकाय चयन गर्दा ध्यान पुर्‍याउनुपर्ने हुन्छ । त्यसका लागि आफ्नो क्षमताअनुसार कुन विषयमा पढ्ने भन्ने विद्यार्थीको स्वतन्त्र निर्णयमा भर पर्छ ।


अध्ययनका लागि अन्य संकायजस्तै मानविकी तथा सामाजिकशास्त्र संकायका विषय पनि जीवनोपयोगी शिक्षाको कसीमा कमजोर छैनन् । त्यो प्रयास काठमाडौं विश्वविद्यालयले गुणात्मक हिसाबले अघि बढाएको देखिन्छ । त्यसैले पोखरा, पूर्वाञ्चल, सुदूरपश्चिमलगायत नयाँ खुलेका विश्वविद्यालयले मानविकीका विषयलाई उठान गर्न आवश्यक रहेको विज्ञले आंैल्याएका छन्।

प्रकाशित : श्रावण ३१, २०७५ ११:०६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×