आफन्तबाटै बालिका जोगाउन मुस्किल

दुर्गालाल केसी

दाङ — कतिपय जन्म दिने बाबुबाटै बलात्कृत भएका घटना छन् त कति नजिककै नातेदारबाट । कतिपय वृद्धले बालिकामाथि अत्याचार गरेका छन् भने कतिपय बालकले वृद्धालाई । अनेक रूपमा यस्तो अपराध बढ्दो छ । घरपरिवारकै सदस्यबाट बलात्कार हुने क्रम पनि चिन्ताजनक अवस्थामा छ । सुरक्षित भनिएको घर नै असुरक्षित भएपछि बालिका बचाउन कठिन भएको छ । 

ZenTravel

– बाबुले निरन्तर जबर्जस्ती करणी गर्दै आएको भन्दै १३ वर्षीया बालिकाले गत वैशाख २३ मा इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी दिइन् । प्रहरीले तत्काल ३० वर्षीय बाबुलाई पक्राउ गरी हाडनाता करणीमा मुद्दा चलायो । जिल्ला अदालतको आदेशले उनी अहिले पुर्पक्षका लागि कारागारमा छन् ।

Meroghar


– ८ वर्षीया बालिकालाई आफ्नै दाजुले करणी गरेको भन्दै गत चैत २३ गते जिल्ला प्रहरीमा जाहेरी पर्‍यो । बालिका रक्तस्रावका कारण गम्भीर बिरामी भएपछि घटना बाहिर आएको थियो । २३ वर्षीय अभियुक्त ट्रिपर चालक हुन् । उनलाई जिल्ला अदालतले वैशाख २० मा पुर्पक्षका लागि कारागार पठाइसकेको छ ।

– फागुन १३ मा घोराहीकी १० वर्षीयालाई दाजु नाता पर्ने २० वर्षीय युवकले बलात्कार प्रयास गरेको भन्दै जाहेरी पर्‍यो । प्रहरीले पक्राउ गरी मुद्दा चलायो । आरोपित पुर्पक्षका लागि कारागारमा छन् ।

– घोराहीकी ११ वर्षीयाले भिनाजु नाता पर्ने २५ वर्षीय युवकले बलात्कार गरेको भन्दै माघ ३ मा प्रहरीमा जाहेरी दिइन् । ती युवक पुर्पक्षका लागि कारागारमा छन् ।

आफन्तबाटै बालिका करणीमा परेका यी प्रतिनिधिमूलक घटना हुन् । पछिल्लो समय जिल्लामा बलात्कारका घटना बढिरहेका छन् । त्यसमा पनि अधिकांशका अनौठा र अपत्यारिला रूप देखा परेका छन् । कतिपय जन्म दिने बाबुबाटै बलात्कृत भएका घटना छन् त कति नजिककै नातेदारबाट । कतिपय वृद्धले बालिकामाथि अत्याचार गरेका छन् भने कतिपय बालकले वृद्धालाई । अनेक रूपमा यस्तो अपराध बढदो छ । घरपरिवारकै सदस्यबाट बलात्कार हुने क्रम पनि चिन्ताजनक अवस्थामा छ । सुरक्षित भनिएको घर नै असुरक्षित भएपछि बालिका बचाउन कठिन भएको छ ।

निसानामा बालिका

यस्तो अपराधको निसानामा बालिका छन् । पछिल्लो ६ महिनामा जिल्लामा २७ बलात्कारका घटना भए । तिनमा २३ बालिका पीडित छन् । तीन वृद्धा र एक किशोरी पनि सिकार भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अनुसार ३ देखि १६ वर्षसम्मका बलात्कारमा परेका छन् । यो संख्या विगतको भन्दा दोब्बर भएको इन्सेक जिल्ला प्रतिनिधि जेएन सागरले बताए । नजिकको नाता पर्नेबाट करणी भइरहेको उनले बताए ।

‘बाबु, दाजु, भिनाजुजस्ता घरभित्रकै सदस्यबाट बालिका बलात्कार भएका घटना धेरै छन्,’ उनले भने, ‘यसले बालिका घरभित्रै असुरक्षित छन् भन्ने देखाउँछ ।’ २५ प्रतिशत बलात्कारका घटना प्रहरीमा नपुग्दै मिलापत्र हुने गरेको पनि उनले बताए ।

सजिलै प्रलोभनमा पार्न सकिने भएकाले बालबालिका अपराधको सिकार हुने गरेको प्रहरी निरीक्षक राजन गौतमको दाबी छ । ‘बालबालिका सानो कुरामा सजिलै लोभिन सक्छन् । गलत मनसाय भएको व्यक्तिले उनीहरूलाई सजिलै फसाउन सक्छन्,’ उनले भने, ‘केही कुरामा लोभ देखाउने र आफ्नो स्वार्थ पूर्ति गर्ने प्रवृत्ति छ । अभिभावकको संरक्षण नभएका बालबालिकालाई यस्तो जोखिम बढी हुन्छ ।’ पछिल्लो तीन वर्षमा नौ बालक बलात्कारमा संलग्न रहेकाले मुद्दा नै चलेको छ । पारिवारिक विखण्डन, आर्थिक अभाव, अशिक्षा र परिवारको बेवास्ताजस्ता कारणले बालबालिका अपराधमा लाग्ने गरेको उनले बताए ।

अनेक रूप

बलात्कारका अनेक रूप देखिएका छन् । कतिपय वृद्धबाट कलिला नानी बलात्कृत भएका छन् । किशोरले वृद्धालाई बलात्कार गरेका घटना पनि छन् । बालक नै बालिका करणीमा संलग्न भेटिएका छन् । सामूहिक बलात्कारका घटना छन् । गत माघ १२ गते बिहान तरकारी बिक्री गर्न आइरहेकी ४८ वर्षीयालाई घोराहीका १७ वर्षीय अमर चौधरीले बाटोमै बलात्कार गरे ।

प्रहरीले माघ १५ गते पक्राउ गरी मुद्दा चलायो । जिल्ला अदालतले फागुन ८ गते उनलाई ५ वर्ष कैद र पीडितलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने फैसला गर्‍यो ।

चैत २४ मा बंगलाचुली गाउँपालिका ६ का ५१ वर्षीय तिलबहादुर महराले ६६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको भन्दै प्रहरीमा जाहेरी पर्‍यो । घरभित्र आराम गरिरहेका बेला एक्कासि मुख छोपेर बलात्कार प्रयास गरेको पीडितले बताइन् । चिच्याउँदै गर्दा कामबाट फर्कंदै गरेकी बुहारीले बचाएको उनले बताइन् । जिल्ला अदालतले वैशाख २३ गते महरालाई पुर्पक्षका लागि कारागारमा राख्न आदेश दियो । उनी अहिले कारागारमा छन् ।

वैशाख १६ गते बबई गाउँपालिका ६ का ६९ वर्षीय बुद्धिराम थापाले बाख्रा चराउन जंगल गएकी ८ वर्षीयालाई बलात्कार गरेको अभियोग लाग्यो । वैशाख १७ गते थापालाई पक्राउ गरी जबर्जस्ती करणीको मुद्दा चलाइयो । जिल्ला अदालतको जेठ १ को आदेशले उनी अहिले पुर्पक्षका लागि कारागारमा छन् । जेठ १७ गते तुलसीपुर उपमहानगरपालिका ३ का १८ वर्षीय यमबहादुर घर्तीले २५ वर्षीया महिलालाई राति पसलमा सामान किन्न बोलाएर बलात्कार गरेको अभियोग लाग्यो । घर्तीलाई जेठ २० मा पक्राउ गरी जबर्जस्ती करणीको मुद्दा चलाइएको छ ।

गलत बाटोमा समाज

यस्ता घटना बढ्दै जानु सभ्य समाजका लागि अशोभनीय भएको मानव अधिकार सञ्जालका संयोजक केशवकुमार शर्माले बताए । ‘समाज सभ्य र शिक्षित हुनुको साटो झन्झन् क्रूर र आपराधिक बाटोमा गइरहेको छ,’ उनले भने, ‘बालिकाहरूले आफ्नै घरमा पनि सुरक्षा पाउन सकेका छैनन् । अभिभावकबाट नै खतरा भएपछि बालिकाहरू कसरी बचाउने ?’ समाज गलत बाटोमा गइरहेको नागरिक समाज संयोजक चन्द्रराज पन्तले बताए । एकपछि अर्को बलात्कारका घटना हुनुले समाजको खराब चित्रण गर्ने उनले बताए । ‘बालकदेखि वृद्धसम्म बलात्कारमा संलग्न छन् । घरपरिवारदेखि आफन्तसम्म अपराधमा संलग्न छन्,’ उनले भने, ‘यस्तो प्रवृत्तिले समाजलाई सही बाटो दिन सक्दैन । आपराधिक क्रियाकलापमा कुनै पनि सम्झौता हुनु हुँदैन । दोषीलाई कानुनी दायरामा ल्याउनुपर्छ ।’

दोषीमाथि कडा कारबाही नहुँदा घटना बढिरहेको महिला मानव अधिकार रक्षक सञ्जालकी केन्द्रीय सचिव लक्ष्मी आचार्य बताउँछिन् । दोषीहरू सजिलै उम्कने प्रवृत्तिले बलात्कारका पीडितहरू झनै पीडित भइरहेको उनले बताइन् । ‘न्यायका लागि जति हारगुहार गर्दा पनि पीडितलाई चित्तबुझदो न्याय प्राप्त भएको छैन । दोषी खुलेआम समाजमा शिर ठाडो पारेर हिँडिरहेको हुन्छ,’ उनले भनिन्, ‘यसले पीडितलाई थप दु:खी बनाइरहेको छ । कानुन कार्यान्वयन फितलो हुँदा बलात्कारीले प्रश्रय पाइरहेका छन् ।’

घोराही उपमहानगरपालिका उपप्रमुख एवं न्यायिक समिति संयोजक सीता न्यौपाने बालिका बचाउन परिवार जिम्मेवार हुनुपर्ने बताउँछिन् । बालिकालाई हुने जोखिमबारे समयमै सचेत हुने र अन्याय परे न्याय खोज्ने बानी बसाल्न आवश्यक रहेको उनले बताइन् । ‘बलात्कार न्यूनीकरण हुन सकेको छैन । समाजमा विभिन्न किसिमका मान्छे छन् । आपराधिक मनोवृत्तिका मानिसलाई समयमै कानुनको कठघरामा उभ्याउन सक्नुपर्छ,’ उनले भनिन्, ‘दोषीलाई आफ्नो या अर्काको भनेर पक्षपात गर्ने, अनावश्यक दबाब दिने कामले न्याय सम्पादनमा समस्या हुन्छ । दोषीलाई कारबाही गराउन सबैको जोडबल चाहिन्छ ।’

प्रकाशित : असार १७, २०७५ १७:५८
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

झाडापखाला नियन्त्रणमा संघीय र प्रदेश सरकारको वेवास्ता

राति चिकित्सक उपलब्ध नहुँदा उपचारमा समस्या
महिला बढी प्रभावित– १४७६ बिरामीमध्ये महिला १०१५ 
दुर्गालाल केसी

शान्तिनगर (दाङ) — शान्तिनगर गाउँपालिकाका दुई वडामा फैलिएको झाडापखाला नियन्त्रणका लागि संघीय र प्रदेश सरकारले कुनै चासो दिएको छैन । चार दिनदेखि झाडापखाला फैलँदा पनि संघीय र प्रदेश सरकारको कुनै गम्भिर ध्यानाकर्षण नभएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरी पुनले बताए ।

दाङको शान्तिनगर स्वास्थ्य चौकीको बरण्डामा उपचार गराइरहेका झाडापखालाका बिरामीहरु । तस्बिर : दुर्गालाल केसी

अहिलेसम्म संघीय र प्रदेश सरकारका कुनै पनि निकायले सम्पर्क नगरेको उनले गुनाशो गरे । वडा नं. २ र ३ का हरेक घरमा बिरामी हुँदा पनि सरकारले गम्भिरता नदेखाएको उनले बताए ।

‘नेपालगञ्जमा झाडापखाला नियन्त्रणबारे गोष्ठी भैरहेको छ रे तर यहाँ केन्द्र र प्रदेशबाट कसैले चासो देखाएको छैन,’ उनले भने, ‘दिनभर केही चिकित्सकहरु आएपनि रातमा सबै गइहाल्छन् । चिकित्सक अभाव हुँदा रातमा उपचार गर्न समस्या भैरहेको छ ।’ निरन्तर स्वास्थ्य चौकीको टोली मात्रै उपचारमा खट्नुपरेको पुनले बताए । चार दिनदेखि स्वास्थ्यकर्मीको टोलीले पालो फेर्न समेत नपाएको उनले गुनासो गरे ।

झाडापखाला बिस्तारै कम हुँदै गए पनि पूर्णरुपमा नियन्त्रणमा आउन सकेको छैन । मंगलबार पनि बिहानैदेखि बिरामी आउने क्रम जारी नै रहेको पुनले जानकारी दिए । बेड अभाव हुँदा बिरामीलाई भुईं, बरण्डा र खुला ठाउँमा राखेर उपचार गर्नुपरेको उनले बताए ।

हालसम्म १ हजार ४ सय ७६ जना बिरामी भएका छन् । जसमा महिलाको संख्या अत्यधिक छ । अधिकांश पुरुषहरु रोजगारको सिलसिलामा घरबाहिर भएका कारण पनि महिलाहरु बढी प्रभावित भएका छन् । महिला बिरामी १ हजार १५ र पुरुष ४ सय ६१ छन् । २० देखि ५९ वर्ष उमेर समूहका महिला सबैभन्दा बढी प्रभावित भएका छन् । यस उमेर समूहका महिला ६ सय १६ र पुरुष २ सय ३० जना बिरामी भएका छन् ।

१५ गर्भवती महिला पनि बिरामी भएका छन् । पाँच वर्षमुनिका बालक १७ र बालिका १७ तथा पाँचदेखि नौ बर्षसम्मका बालक ६६ र बालिका ९६ बिरामी छन् । ५९ पुरुष र ८४ महिला बृद्धबृद्धा पनि झाडापखालाबाट प्रभावित भएका छन् ।

हालसम्म ५५ जनालाई गाउँपालिका बाहिर रिफर गरिएको छ भने अन्य सबैको स्वास्थ्य चौकीमै उपचार भएको छ । ४२ जना उपचारपछि पनि फेरी बिरामी परेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पुनले जानकारी दिए ।

प्रदुषित पानीका कारण झाडापखाला फैलिएको पुष्टि भएको छ । पानी परिक्षणका क्रममा कोलिफर्म भेटिएको छ । शुन्य हुनुपर्ने कोलिफर्म १५ भन्दा बढी भेटिएकाले हानिकारक भएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका निमित्त प्रमुख तिलक न्यौपानेले बताए ।

अहिले धाराको पानी सबै बन्द गरी ट्यांकरबाट वितरण गरिरहेको उनले जानकारी दिए । खोलाको पानी सिधै रिजर्भ ट्यांकीमा जोडेर वितरण गरेपछि झाडापखाला फैलिएको उनले बताए । मुहानदेखि धारासम्म प्रदुषण भएकाले अहिले मुहान, ट्यांकी र पाइपलाइन शुद्धिकरण गर्ने काम भैरहेको उनले जानकारी दिए ।

स्थानीय स्तरमा उपलब्ध स्रोतसाधनका आधारमा उपचार गरिरहेको र पानी लगाएत झाडापखालाको बिस्तृत अध्ययन र परिक्षण गर्न स्वास्थ्य विभाग माहामारी तथा रोग नियन्त्रण महाशाखाबाट एक बिज्ञ टोली पठाउन अनुरोध गरिएको जिल्ला जनस्वास्थ्य प्रमुख घनश्याम पोख्रेलले बताए ।

प्रकाशित : जेष्ठ १५, २०७५ ०९:०३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×