कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाठकलाई ‘कोसेली’

आन्विका गिरी

काठमाडौँ — २०६०, ०६१ तिर विद्यार्थी भएकाले पत्रपत्रिका नै किन्नका लागि भनेर हामीसँग पैसा हुँदैनथियो । त्यतिखेर जयबागेश्वरीको सार्वजनिक पुस्तकालयमा हामी पत्रपत्रिका हेर्न जान्थ्यौं । त्यतिखेरै मैले ‘कोसेली’ पढ्न थालेको हुँ । साहित्यमा रुचि भएकाले कोसेलीमा आउने लेखरचना पढिन्थ्यो ।

पाठकलाई ‘कोसेली’

तर त्यो बेला पढेको कुनै पनि कुरा मेरो सम्झनामा छैन । पछि नारायण वाग्लेको ‘कफी गफ’ का लागि शनिबारको कोसेली कुर्नेका कुरा पनि सुनिन्थ्यो । त्यतिखेर लाग्यो— लेखकका लागि एउटा गतिलो प्लेटफर्म र पत्रिकाका लागि गतिलो लेखक दुवै कति जरुरी रहेछन् । अझ, त्यही समयमा पत्रकारिता सुरु गरेको हुनाले नेपाली तथा अंग्रेजी पत्रिकामा आउने फिचर पढेर सिक्न अन्य पत्रिकाझैं कोसेली पनि सहयोगी भयो ।

२०६४ सालमा कोसेलीमा पहिलो पटक मेरो कथा प्रकाशित हुँदा पाठकमाझ यसको पहुँच म आफैंले अनुभव गँरे । आफूले पाएका प्रतिक्रियाहरू सम्झँदा अहिले पनि मलाई मान्छेले भनेको सम्झन्छु, ‘तिम्रो कोसेलीमा कथा छापिइहाल्ने बेला भएको थिएन १’ ती प्रतिक्रिया दुई किसिमले आएका थिए १ एक मेरो सानो उमेर र अर्को कोसेलीमा लेखरचना आउनु भनेको एक किसिमले स्थापित हुनु हो । त्यसले ममा दम्भ पैदा गर्न सक्थ्यो र मैले राम्रा कथाहरू लेख्न मिहिनेत नगर्न सक्थेँ । दस वर्षपछि उमेरको बारेमा त मान्छेको धारणा फेरिएको छ तर कोसेलीमा लेख रचना आउनु आज पनि उत्तिकै महत्त्व राख्छ । त्यो गुणात्मक विश्वास कायम राख्नु कुनै पनि परिशिष्टांकका लागि सहज कुरा होइन । कोसेलीसँगको मेरो परिचय र आफ्ना रचनाको कुरा उल्लेख गरे पनि मुख्यतया दुई कुरालाई लिएर म कोसेलीको समीक्षा गर्छु ।

पाठकलाई ‘इंगेज’ गराउने सामग्री

हाम्रा पत्रपत्रिकाहरू पाठकलाई ‘इंगेज’ गराउन संघर्षरत छन् । मैले अहिले देखेको पत्रपत्रिकाको सबैभन्दा ठूलो चुनौती यही हो । रेडियो, टीभी, अनलाइन पोर्टल, फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जालले गर्दा अब पत्रपत्रिकामा छापिने समाचारहरू मान्छेका लागि नयाँ हुँदैनन् । अँ, उनीहरू विस्तृत विवरणको अपेक्षा भने राख्छन् जुन कुरा दिन हाम्रा पत्रपत्रिका चुकिरहेका छन् । परिशिष्टांकको सवालमा यो कुरा अझ बढेर जान्छ । परिशिष्टांकमा कुनै पनि सामग्रीको सम्पूर्ण कुरा पढ्ने अपेक्षा पाठकले राख्छ, यसमा दैनिकीजस्तो हतार हुँदैन भनेर होला । त्यसैले कोसेलीका लागि पनि पाठकलाई ‘इंगेज’ गराइराख्ने चुनौती छ । कोसेली यो चुनौतीमा कहिले पास र कहिले फेलको स्थितिमा छ । दोहरिरहने लेखक, नीरस नियात्रा जसमा लेखक कति बजे खाइयो र कति बजे सुतियो मात्र लेख्छ, कमसल कथा र कविता आदिका लागि पाठकसँग प्रशस्तै विकल्प छन् । कोसेलीले आफ्ना रचनाको गुणस्तरमा मानक स्थापना गरेको छ जुन कायम रहनुपर्छ । ‘चलेका लेखक’ ले जे लेखे पनि छापिने र नयाँले लेखेको हेर्नसमेत फुर्सद नहुने हो भने पाठकलाई ‘इंगेज’ गर्न गाह्रो हुन्छ ।

कहाँ छन् महिला ?

‘कोसेली’ मा महिला लेखकहरूलाई भरसक स्थान दिएको देखिन्छ । तीमध्ये अधिकतर लेखिरहेका, आफैं लेख पठाउन सक्ने, पहुँच भएका हुन्छन् । कोसेलीका आठ पृष्ठमा धेरै समयमा धेरै लेख पुरुष लेखककै हुन्छन् । जसले पठाउँछ, जसको पहुँच छ उसैको मात्र छापिने हुँदा यस्तो हुनु स्वाभाविक हो तर यो ‘स्वाभाविकता’ ले समावेशिताका लागि पत्रिकाले आफ्नोतर्फबाट गर्न सक्ने योगदानलाई ‘बाइपास’ गर्दै गइरहेको हुन्छ । कोसेलीले महिला अधिकार तथा महिलाका मुद्दाहरूमा केही महत्त्वपूर्ण बहसलाई स्थान नदिएको होइन । यदाकदा कुनै अवसरमा महिला लेखकहरू मात्रैलाई पनि स्थान दिएको छ । तर यतिले मात्र पुग्दैन । पुस्कतवार्तामा हेर्‍यो भने दर्जनौंमा एक अन्तर्वार्ता महिलाको हुन्छ । खेलकुदमा हेर्‍यो भने पनि कैयौं पुरुष खेलाडीमा एकआध महिला खेलाडीका बारेमा हुन्छ । चाहे त्यो राष्ट्रिय होस् वा अन्तराष्ट्रिय । पछिल्ला केही अंकलाई नै हेर्नुस्, अँह कुनै महिला खेलाडीको बारेमा छ्रैन । मानौं कि यो बीचमा खेल क्षेत्रमा महिलाको कुनै गतिविधि नै भएन । त्यस्तो होइन । नेपालकै सन्दर्भमा पनि पुसमा १६ औं राष्ट्रिय महिला फुटबल लिग भयो भने २१ औं महिला भलिबल पनि भयो । कुराकानीमा आधारित लेख भनेर महत्त्वपूर्ण विषयमा गरिएका विमर्शमा त महिला विज्ञहरू देखिंदै देखिँदैनन् । चलचित्रका बारेमा हेर्‍यो भने पुरुष कलाकारका हिरोइजम मात्रै हुन्छ । पाका महिला लेखकहरूलाई त मानौं, सबैले बिर्सिएजस्तो भान हुन्छ । ‘दाइ’ हरूका जवानीका संस्मरण छापिरहँदा ‘दिदी’ हरूको लेखन संघर्ष कतै छैन । देशकै ठूलो सञ्चारमाध्यमको साहित्यिक परिशिष्टांक भएकाले कोसेलीे त्यस क्षेत्रमा रहेका विषय र व्यतिmप्रतिको सामाजिक दायित्व हुन्छ भन्ने लाग्छ । आफ्नो सम्पर्क डायरीमा भएका नम्बरबाहेकसँग पनि सम्पर्क विस्तार गरेर उनीहरूलाई समेट्न सकिन्छ । यति जाँगरको अपेक्षा पाठकका नाताले म कोसेलीसँग राख्न सक्छु । बुझ्छु, हिजोभन्दा आज धेरै बदलिएको छ । तर धीमा गतिको यो बदलावमा कोसेलीले थोरै भए पनि रफ्तार बढाउन सक्छ । कोसेलीलाई केवल पाठकले मात्र नभएर अन्य पत्रिपकिाले पनि हेरिरहेका छन् । यस्ता विषयमा कोसेलीले ‘ट्रेन्ड’ सेट गर्न सक्यो भने त्यसको सिको अरूले पनि गर्छन् ।

कोसेलीसँग सचेत पाठक, नयाँ लेखक र बौद्धिक क्रियाकलापमा आबद्ध जमातले बढी चासो र अपेक्षा राखेको छ ।

यसको गुणवताका लागि सम्भावना भएका नयाँ लेखकलाई स्थान दिने, खोज अनुसन्धानमूलक लेखरचना छाप्ने, लेख्न लगाउने गरेमा नेपाली बौद्धिक परिवेशलाई प्रतिनिधित्व गर्न सक्छ । विचार निर्माणमा सचेत भएर गर्नुपर्ने धेरै कुरा बाँकी छन् । छिपछिपे बौद्धिकता र भुइँ छोडेर हावामा उडिरहेको साहित्यबाट बचाएर लान सक्दा मात्र पनि ‘कोसेली’ ले आफ्नो उपदेयता पुष्टि गर्न सक्छ ।

गिरी साहित्य लेखनमा सक्रिय छिन् ।

प्रकाशित : फाल्गुन ७, २०७४ १२:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?