कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

रम्यता लिम्बू भन्छिन्- 'किम्फलाई नयाँ मोडमा लैजाउनुपर्नेछ'

रीना मोक्तान

काठमाडौँ — काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) सँधै पुसको जाडो(डिसेम्बर ११)मा आयोजना हुने गर्थ्यो । २१ औं संस्करणदेखि भने किम्फले गर्मीयाम रोजेको छ। जाडोमा छोटो दिन, चिसो उस्तै । विहे, ब्रतबन्धदेखि अन्य पर्वले पुस व्यस्त महिना ! किम्फ फाउन्डेसनले रोजेको जेठ महिना; पर्यटक आउने महिना, पर्वतारोहण गर्ने समय पनि ! दिन पनि लामो, फिल्म पनि अबेरसम्म देखाउन पाइने ।

रम्यता लिम्बू भन्छिन्- 'किम्फलाई नयाँ मोडमा लैजाउनुपर्नेछ'

यही कारणहरुले जेठमा किम्फ आयोजना गर्ने निर्णयमा पुगेकी महोत्सव निर्देशक रम्यता लिम्बू नयाँ परिवर्तनबारे भन्छिन्,'अब के हुन्छ ? देखा जाएगा !

किम्फको २० औं संस्करण सन् २०२२ मा भयो । त्यसयता आयोजक संस्थामा केही फेरबदल भए । गैरसरकारी संस्थाबाट सुरु भएको महोत्सवलाई निजी कम्पनितर्फ दर्ता गर्नै १ वर्ष लाग्यो, त्यसैले पनि २०२३ मा किम्फ भएन । हिमाल एशोसियनबाट आयोजना हुँदै आएको किम्फ यही वर्षबाट फाउन्डेशनमा दर्ता भएको हो ।

हिमाल एशोसियसनको कार्यकारी निर्देशकको भूमिकाबाट बिदाई लिँदै बसन्त थापाले युवा पुस्तालाई आफ्नो जिम्मेवारी हस्तान्तरण गरेसँगै नयाँ फाउन्डेशसनको अध्यक्ष बनिन्, रम्यता ।

नयाँ पुस्ताले किम्फमा कस्ता परिवर्तन ल्याउलान् ? यसपालिको किम्फको विशेषता के हुन् ? महोत्सव निर्देशक एवं फाउन्डेसनकी अध्यक्ष रम्यताको टिममाथि यतिखेर सबैको नजर छ । उनी आफैँ भने किम्फलाई अगाडि बढाउने नयाँ नेतृत्त्व हुर्काउने योजनासहित काम गरिरहेकी छन् ।

'पूरानो टिम सँधै रहन सक्दैन । किम्फलाई एउटा स्थानमा पुर्‍याएर, किम्फको नेतृत्त्वलाई युवा पुस्ताले अगाडि लैजाओस् भन्ने हाम्रो योजना हो । त्यही हिसाबले तयारी, रणनीति गरेर काम गर्दैछौं,' रम्यता सुनाउँछिन् ।

किम्फको भविष्य र स्थिरताकै लागि यो पटकदेखि थुप्रै संस्थासँग सहकार्य अघि बढाइएको रम्यताको भनाइ छ । उनले भने झैं किम्फले यो पटक थुप्रै संस्थासँग सहकार्य गर्नुको एउटै उदेश्य छ- किम्फप्रति यी संस्थाहरुको अपनत्त्व रहोस् । काठमाडौं महानगरपालिकाको सह-आयोजनामा सुरु हुने महोत्सवमा काठमाडौं मात्रै होइन, कलासँग सम्बन्धित सबै संस्थाहरुले आफ्नो स्वामित्त्व अनुभव गरुन् ।

त्यसै अनुरुप 'कट कथा'ले यो पटक कथा पिचिङको कार्यक्रम गर्दैछ । स्टोरी टेलर्ससँगको सहकार्यमा निर्देशक मीन भाम, वातावरण अभियान्ता शिलशिला आचार्य र 'गाइड' दावा याङ्जुङले आफ्नो कथा सुनाउनेछन् । युवा लक्षित गरेर ब्रिटिश काउन्सिलसँग मिलेर 'च्याम्पिनिङ योङ फिल्ममेकर्स' भन्ने कार्यक्रम हुँदैछ ।

'फिल्म भनेको के हो ? फिल्म कसरी बनाउने भनेर सरल शैलीमा सिकाउने, खिच्न लगाउने अनि सम्पादनसम्म कसरी गर्ने भन्ने यो उहाँहरुले सिक्नुहुनेछ । शिक्षाका लागि पनि फिल्म किन महत्त्वपुर्ण छ भन्ने बुझाउन यो कार्यक्रम हुँदैछ,'रम्यताले भनिन् । बेलायतीहरुले सगरमाथा चढ्न थालेको सय वर्ष पुगेको अवसरमा तस्वीर र त्यससम्बन्धि फिल्म देखाइने कार्यक्रम पनि किम्फभित्र अटाइएका छन् ।

'नेपाल प्यानारोमा' अन्तर्गतका फिल्म र फिल्मकर्मीको सहभागिता किम्फको इतिहासमै यो पटक धेरै हो । यो विधामा यस पटक फिल्महरुको बाढी नै थियो ।

'पहिला ४०/५० वटा फिल्म आउँथ्यो । यसपटक त १०० वटा जति आएको थियो । प्रविधिको पहुँचमा रहेका युवाहरु फिल्म बनाउन उत्सुक पनि देखिन्छन् । प्लेटफर्म पनि नेपालमा धेरै छैन, त्यसैले यो शीर्षकमा यस पटक धेरैको उपस्थिति देखिएको हो,'उनले भनिन् । यो विधातर्फ १३ वृत्तचित्र, १६ आख्यान फिल्म छानिएका छन् ।

त्यसममा पनि महिला फिल्मकर्मीको उपस्थिति बढ्दो छ । महिला लक्षित गरेरै पर्दा पछाडिका महिला शीर्षकमा पनि अन्तरक्रियात्मक कार्यक्रम राखिएको छ ।

समकालीन नेपाली समाज देखाउने विषय, मुद्दाका फिल्म नेपाल प्यानारोमामा छानिएको छ । 'सय फिल्म आएको छ भने त्यसमा कुन-कुन रोज्ने भन्ने हुन्छ । समावेशिताकै हिसाबले पनि महिला, यौनिक तथा अल्पसैंख्यकका फिल्म मात्रै होइन फरक मुद्दा विषयका फिल्म समेट्न खोजिरहेका छौं । नेपाली समाज कहाँ छ, कस्ता मुद्दाहरु छन् भन्ने हेर्दै हामी नेपाल प्यानारोमामा फिल्महरु छान्छौं,' उनले भनिन् ।

सन् २००७ बाट नेपाली युवा प्रतिभालाई प्लेटफर्म दिने उदेश्यसहित किम्फमा 'नेपाल प्यानारोमा' सुरु भएको हो । नेपाली युवालाई फिल्म देखाउने प्लेटफर्म बनाइरहँदा किम्फ ती फिल्मकर्मीको फिल्मलाई बजारसँग जोडिदिन बजार निर्माणमा चुक्यो भन्ने प्रतिक्रिया बेलाबखत सुनिन्छ ।

अन्तर्राष्ट्रिय महोत्सवमा प्रदर्शनसँगै फिल्मको किनबेचका लागि बजार सम्बन्धि छुटै कार्यक्रम समेटिएका हुन्छन् । किम्फ त्यस किसिमको बजार निर्माणमा चुकेको हो ? यस किसिमको बजारका लागि गुणस्तरिय उत्पादन हुनुपर्ने रम्यताको तर्क छ । उनी भन्छिन्, 'हो, बजार भन्छन्, वितरणका कुरा निकाल्छन् । तर, बजार निर्माण भयो भने त्यहाँ तपाईं के बेच्नुहुन्छ ।'

बजारको पक्षमा भन्दा पनि फिल्मकर्मी जन्माउन किम्फले महत्त्वपुर्ण भूमिका खेलेको रम्यता बताउँछिन् । मीन भाम, दीपक रौनियारलगायतका फिल्मकर्मीले किम्फकै प्लेटफर्महुँदै विश्व बजारको यात्रा सुर गरेको हो ।

त्यसअर्थमा किम्फले नयाँ प्रतिभालाई हुर्काउन दिइरहेको प्लेटफर्मको महत्त्व बुझाउँदै रम्यता थप्छिन्, 'त्यसैले यस किसिमको जनशक्ति निर्माण गर्न किम्फ जरुरत छ । साथै, हाम्रा नेपाली फिल्मकर्मीले बनाएको फिल्म कहाँ देखाउने त ? उनीहरुका लागि प्लेटफर्म दिन, ती जनशक्तिलाई उत्साह दिन पनि किम्फले उनीहरुलाई स्थान दिँदै आइरहेको हो ।'

यो वर्षबाट किम्फमा नयाँ पुरस्कार थपिएको छ । 'इकोज अफ चेन्ज (परिवर्तनको प्रतिध्वनी) नारा लिएको यो फेस्टिभल कन्टेन्टकै हिसाबले पनि परिवर्तन हुँदै आएको छ । हिजो, पर्वतारोहण, हिमाल र पर्वतारोहीको वरपरको विषयका फिल्म देखाउने फेस्टिभलले त्यसबाहेकका मुद्दालाई पनि समेट्ने प्रयास गरेको छ ।

त्यसैले अन्तर्राष्ट्रियतर्फ यो वर्षमा उत्कृष्ट फिचर फिल्म, उत्कृष्ट लघु फिचर फिल्म, उत्कृष्ट फिचर डकुमेन्ट्री र उत्कृष्ट लघु डकुमेन्ट्री शीर्षकमा पनि थप अवार्ड घोषणा गरिएको छ ।

'घरमै बसेर फिल्म हेरिरहेका दर्शकलाई यस्तो किसिमको फेस्टिभलमा कसरी तान्ने ? युवा दर्शकको चासो, उनीहरुलाई कस्तो फिल्म हेर्न मनपर्छ त ? त्यसैले समय अनुसार चल्दै जान हामीले हिमाल, पर्वतारोहणबाहेकका सामाजिक, राजनैतिक मुद्दाका फिल्मलाई देखाउने निर्णयमा पुगेका हौं,'उनी भन्छिन् ।

यो वर्ष अन्तर्राष्ट्रियतर्फको फिल्म 'द टाइगर नेस्ट', आकर्षणको केन्द्रमा छ । इटालियन निर्देशक ब्रान्डो क्विलिचीको निर्देशनमा तयार भएको यो फिल्म नेपालमै खिच्नुका साथै, नेपाली कलाकारको अभिनयमा तयार भएको फिल्म हो । ‍एसिया प्रिमियरका लागि निर्देशक ब्रान्डो नेपाल आउँदैछन् । त्यस्तै, ट्युनिजियाको 'टेक माइ ब्रेथ' इरानको 'अ चाइल्डलेस भिलेज' पनि अन्तर्राष्ट्रिय प्रतिस्पर्धातर्फ छ । यी तीन फिल्मको विशेषता नै, फिल्मले उठाएको विषयवस्तुमा नेपाली दर्शकले पनि आफूलाई अन्तसम्बन्धित पाउँनेछन् ।

'इरानको एउटा यस्तै पहाडी ठाउँको कथा टेक माइ ब्रेथमा छ । त्यो ठाउँमा महिलाहरु निसन्तान हुन्छन् । उनीहरुको सन्तान किन भइरहेको छैन त? परिवारले सुरुमा महिलाले नै दोषी देखाउने हो । तर, यो फिल्ममा समस्या महिलामा भन्दा पनि पुरुषमा रहेको विषय देखाउँछ,'रम्यताले भनिन् ।

नेपालमा अझै पनि फिल्म हेर्ने सँस्कृतिको विकास छैन । विशेष त युवा दर्शक नै नेपाली फिल्ममा चासो देखाउँदैनन् भन्ने चर्चा चल्ने गर्छ । आफूहरुले युवा दर्शक लक्षित गरेर नै यो पटक थुप्रो कार्यक्रम निर्माण गरिएको उनी बताउँछिन् । विद्यार्थीलाई फिल्म सम्बन्धि सिकाउन तयार पारिएको कार्यक्रमले उनीहरुमा फिल्म हेर्ने सँस्कृतिको विकास गरिदिनेमा पनि रम्यता आशावादी देखिन्छन् ।

स्थापनाको २ दशक पुग्दा पनि किम्फले हरेक वर्ष आर्थिक स्रोतकै लागि संघर्ष गर्नुपरिरहेको छ । राज्य, नीति निर्माणमा रहेकाहरुले कलालाई नबुझिदिँदा यति लामो समयदेखि टिकिरहेको 'किम्फ'जस्तो फेस्टिभलले सँधै आर्थिक स्रोतकै लागि संघर्ष गर्नु परिरहेको रम्यता बताउँछिन् ।

'अन्य फेस्टिभललाई त सरकारदेखि सम्बन्धित शहरले सहयोग गरिरहेको हुन्छ । तर, हामीकहाँ त्यस्तो अभ्यास छैन । हामीकहाँ त जनशक्तिकै अभाव छ । विदेशका फेस्टिभलमा काम गर्ने जनशक्तिहरुलाई पारिश्रमिक दिएरै राखेका हुन्छन् । किम्फमा त फूलटाइम स्टाफ एकजना मात्रै हुनुहुन्छ,'रम्यताले फेस्टिभल आयोजना गर्नेहरुको दु:ख सुनाइन्,'नेपाल सरकारले मठ, मन्दिरमा लगानी गर्छ । तर, फेस्टिभलमा गर्दैनन् । उनीहरुले एउटा फिल्मले मानिसमा ल्याउन सक्ने परिवर्तन, त्यसबाट पाउने शिक्षा र जानकारीको आकलन नै गरेका छैनन् ।

पत्रकारिताहुँदै किम्फमा स्थापनादेखि जोडिएकी रम्यतालाई आफ्नो नेतृत्त्वमा किम्फलाई नयाँ मोडमा लैजाउनुपर्ने चुनौती छ । यो चुनौतीलाई उनले अवसरका रुपमा लिएकी छिन् । 'थुप्रै चुनौतीहरु छन्, निन्द्रा लाग्दैन । तर यो चुनौती किम्फलाई नयाँ भिजनसहित अगाडि बढाउने अवसर पनि हो,'रम्यताले भनिन्,'किम्फमा सबैलाई संलग्न गराउँदै त्यसमा उनीहरुले अपनत्त्व महसुस गरुन् भन्ने हाम्रो कोसिस हो ।'

प्रकाशित : जेष्ठ ४, २०८१ २०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×