कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'गाउँ आएको बाटो' बेइजिङ फिल्म फेस्टिभलमा छनौट

काठमाडौँ — प्रतिक्षित फिल्म 'गाउँ आएको बाटो' १४ औं बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनौट भएको छ । बेइजिङ फिल्म फेस्टिभल आगामी अप्रिल १९ देखि अप्रिल २२ सम्म आयोजना हुँदैछ ।

'गाउँ आएको बाटो' बेइजिङ फिल्म फेस्टिभलमा छनौट

नवीन सुब्बा निर्देशित यो फिल्म यसअघि स्विडेनको गोटेन्बर्ग फिल्म फेस्टिभलमा समेत छनौट भएको थियो । त्यस्तै फिल्मको वर्ल्ड प्रिमियर भने टोरन्टो फिल्म फेस्टिभलमा भएको थियो ।

आमोद राई निर्माता रहेको यस फिल्ममा अभिनेता दयाहाङ राई, पशुपति राई, प्रेम सुब्बा, केशव राई र राज थापाको अभिनय छ ।

महेश राई र निर्देशक सुब्बा मिलेर फिल्मको पटकथा लेखेका हुन् । जोस हेरमले खिचेको यो फिल्म यसअघि बुसान, साओ पाउलो, भारतको जिओ मामी मुम्बई फिल्म फेस्टिभललगायतमा पुगेको थियो ।फिल्म जेठ १८ देखि नेपाल प्रदर्शनमा आउने भएको छ ।

हङकङ बस्दै आएका निर्माता आमोद राई चीनमा फिल्म देखाउने आफ्नो सपना पूरा भएको बताउँछन् । 'दुइ दशकको हङकङ-चिनियाँ समुदायसँगको बसाईको क्रममा हाम्रो नेपाली फिल्म कथालाई यो समुदायलाई देखाउने ठुलो सपना थियो, आज यो सपना पुरा भएको छ ! बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोट भएको यो प्रथम नेपाली फिल्म हो,'उनले भने ।

प्रकाशित : चैत्र १६, २०८० ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?