कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फेसन डिजाइनर प्रबल भन्छन्- 'कथा वाचक हाम्रो समाजको हिरो'

काठमाडौँ — चर्चित फेसन डिजाइनर प्रबल गुरुङ कथा वाचकलाई समाजको हिरोको रुपमा चर्चा गरेका छन् । मधेसका महिलालाई लक्षित गरी सुरु भएको लघु फिल्मको पटकथा लेखन कार्याशालको अन्तिम चरणमा अल्पसंख्यकले आफ्नो कथा आफैँ बताउनुपर्ने धारणा राखे ।

फेसन डिजाइनर प्रबल भन्छन्- 'कथा वाचक हाम्रो समाजको हिरो'

'फिल्ममेकिङ होस् कि फेसन डिजाइनिङ । कथा भन्ने कुरा एकअर्कालाई हेर्ने, एकअर्काको मर्म बुझ्ने प्रक्रिया होजस्तो लाग्छ । त्यस अर्थमा स्टोरी टेलर्स भनेको हाम्रो समाजको हिरोहरू नै हो । यो कार्यमा हजुरहरूसँगै हाम्रो फाउन्डेसनले सहकार्य गर्न पाउँदा खुसी छौं,' गुरुङले भने, 'कथा पनि बहुसंख्यकले मात्र भन्न पाइरहेको हुन्छ । अल्पसंख्यकहरूले त पाइरहेको पनि हुँदैन । त्यहीँमाथि महिलाहरूले त्यो मौका कमै पाउँछन् ।'

मधेसी महिलालाई सशक्तीकरण गर्ने उद्देश्यले सुरु भएको लेखन कार्यशाला 'टेल योर स्टोरी - मधेस च्याप्टर' लाई प्रबलको शिक्षा फाउन्डेसनले पनि सहयोग गर्दै छ । उनको फाउन्डेसनसँगै ग्लोबल मिडिया मेकर्स (फिल्म इन्डिपेन्डेन्ट) र नेपालस्थित अमेरिकी दूतावासको ‍सहकार्यमा कार्यशाला आयोजना गरिएको हो ।

'मधेसका महिलालाई आफ्नो कथा आफैं सुनाउन प्लेटफर्म दिने उद्देश्यसहित सुरु भएको यो कार्याशालाले पुरुषको दबदबा रहेको फिल्म उद्योगमा महिलाहरूले आफ्नो भाष्य ल्याऊन् भन्ने उद्देश्य लिएको छ । कार्यशालाले विविधता, सशक्तीकरण र समावेशीकरणको अभ्यास गरेको छ,' आयोजक टिमले उल्लेख गर्‍यो ।

यो कार्याशाला दुई चरणमा सम्पन्न गरिनेछ । पहिलो चरणको कार्यशालामा १७ महिला सहभागी थिए । उनीहरूले भर्चुअल कक्षा लिएका थिए । त्यहीमध्येबाट ९ जना महिला अन्तिम चरण (क्लोज क्याम्प)का लागि छनोट भएका छन् । जेठ २४-२६ सम्म आयोजना हुने दोस्रो चरणको कार्यशालापछि लघु फिल्म निर्माणका लागि तीन पटकथा पनि छानिने आयोजकले जनाएको छ ।

कार्यशाला आरती कुमारी मण्डल, कविता खड्का, किरण शाह, पुनम रौनिया, प्रतिभा झा, पूजा यादव, पुष्पा यादव, रेनुका जिसी र सुष्मा शर्मा सहभागी छन् । त्यस्तै ‍मेन्टर्सतर्फ नवीन सुब्बा, शिवानीसिंह थारु, सरिता शाह, सम्पदा मल्ल, मुना गुरुङ, दीपक रौनियार, आन्विका गिरी र अविनाश विक्रम शाह छन् । निर्देशक सुब्बा अविनाशले चालेको यो कदमको प्रशंसा गर्छन् ।

'नेपाली फिल्म क्षेत्र असन्तुलित छ । मधेसमाथि अति धेरै काम हुनुपर्ने थियो, त्यो भएन । पछिल्लो समय स्टोरी टेलिङमा अलिकति सन्तुलन आउन थालेको हो कि भन्ने देखिन्छ,' पत्रकार सम्मेलनमा नवीनले भने,'अहिले जनजाती/आदीवासीका कथा भन्ने कोसिस भइरहेको छ । तर, मधेसको कथा आइपुगेको छैन । त्यहाँका प्रतिभाहरूमा जति लगानी हुनुपर्ने हो‚ त्यो काम पनि भइरहेको थिएन ।'

प्रकाशित : जेष्ठ २५, २०८० १४:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?