सम्मान मिस लिम्बू प्रतियोगिता चैत ११ मा- मनोरञ्जन - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सम्मान मिस लिम्बू प्रतियोगिता चैत ११ मा

कान्तिपुर संवाददाता

काठमाडौँ — आउँदो चैत ११ गते काठमाडौंमा सम्मान मिस लिम्बू प्रतियोगिता हुने भएको छ । याक्थुङ युथ एशोसिएसनले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै चैत ११ गते सम्मान मिस लिम्बू (सिसागेन याक्थुङ्मा) २०७९ को छैटौं संस्करण काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने जानकारी दिएको हो ।

मौलिक कला संस्कृति जगेर्ना तथा लिम्बू समुदायका युवतीहरुको व्यक्तित्व विकास गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागेको संयोजक रुकमान लिम्बुले जानकारी दिए ।

'बौद्धिक विकास र सौन्दर्य पहिचान र संस्कृति' भन्ने मूल नारासहित हुने प्रतियोगितामा नेपालसहित हङकङ, यूके, सिक्कीम, दार्जेलिङलगायत स्थानबाट पनि युवतीहरुको सहभागिता रहने प्रतियोगिता संयोजक रुकमान लिम्बूले बताए । उनका अनुसार प्रतियोगितामा करिब ३० जना युवतीहरु सहभागी रहनेछन् ।

प्रतियोगिता विजेताले नगद ५० हजारसहित एउटा स्कुटर, दोस्रो हुनेले १ लाख तथा तेस्रो हुनेले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । साथै मिस नेपाल आयोजक हिडन ट्रेजरको मापदण्ड पूरा गरेको खण्डमा विजेता मिस लिम्बूलाई आउँदो मिस नेपालमा सिधै प्रवेश गराइने संयोजक लिम्बूले बताए । सहभागिताका लागि एसईई उत्तीर्ण गरेका १७ देखि २६ वर्ष उमेर समूहका अविवाहित लिम्बू युवती हुनुपर्ने मापदण्ड तोकिएको छ ।

प्रतियोगितालाई पूर्वमिस नेपाल तथा कोरियोग्राफर सदीक्षा श्रेष्ठले कोरियोग्राफी गर्नुका साथै साथै पूर्वमिस नेपाल माल्भीका सुब्बा, सुविन लिम्बू, भाषाविद् यासेली योङहाङ, डिबी आङ्बुहाङलगायतले व्यक्तित्व विकासको तालिम दिनेछन् ।

प्रतियोगिता अडिसन धरानमा यही माघ २८ गते तथा काठमाडौंमा फागुन ६ गते गर्ने तयारी छ ।

यस्तै सम्मान मिस लिम्बू विजेतालाई टाइटल स्पोन्सर सम्मान इन्जिनियरिङ लिमिटेड कम्पनीको ब्रान्ड एम्बासडर बनाइने र कम्पनीमार्फत हङकङ भ्रमण गराइने छ । प्रतियोगितामा १६ वटा सब टाइटलहरु रहनेछन् ।

प्रकाशित : माघ ७, २०७९ १७:०८
प्रतिक्रिया
पठाउनुहोस्

केसीको प्रश्न- 'महिलालाई सभामुखमा किन नउठाउनुभएको?'

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले दलहरूले उपसभामुखका उम्मेदवारहरूको प्रसंसा गरेकोप्रति कटाक्ष गर्दै त्यसलाई कृत्रिम बखान भएको टिप्पणी गरेका छन् ।

महिलाहरू अहिले पनि बेचिने गरेको भन्दै महिला अधिकारका लागि महिला संगठनले नै काम गर्ने सक्ने उनले बताए । शनिबारको प्रतिनिधिसभामा बोल्दै नेता केसीले यस्तो बताएका हुन् ।

साथै दलहरूले सभामुखमा महिला उम्मेदवार नबनाएकोमा उनको गुनासो थियो । 'उपसभामुखको अधिकार कति हुन्छ हामीले देख्या छैनौं र ? पुरुष समाजले कहिल्यै पनि महिला मुक्ति गर्दैन । अहिले दलहरूले उपसभामुखमा महिलाहरूको बखान गर्नुभएको छ । यो कृत्रिम बखान हो । यदि सक्षम भए सभामुखमा किन उम्मेदवार नबनाउनुभएको त ? महिला मुक्तिका लागि महिला संगठनले नै काम गर्ने हो ।'

केसीले आफ्नो दलको समर्थन कांग्रेसकी उम्मेदवार मुक्ता कुमारी यादवलाई रहेको भन्दै दलहरूले महिला र दलित समुदायलाई प्रमुख पदमा उम्मेदवार नबनाएकोमा असन्तुष्टि व्यक्त गरेका थिए ।

यस्तै उनले आफ्नो दलले महिलाविूद्ध महिला दलित विरुद्ध दलित उम्मेदवारलाई नै उम्मेदवार बनाउनु पर्ने अडान राखेको भए पनि राज्यले त्यस्तो नीति नलिएको भन्दै गुनासो गरेका थिए । 'हाम्रो पितृसत्तात्मक मुलुकमा महिलाहरूलाई अहिले पनि व्यवहारमा दोस्रो दर्जाको नागरिक मान्ने चलन छ । संविधान बनाउँदाका बखत महिलाको प्रतिस्पर्धी महिला बनाउनुपर्छ । दलितविरुद्ध दलित उठाउनु पर्छ भनेर हाम्रो पार्टीले अडान राखेको थियो । तर अहिले त्यस्तो त भएन ।'

शनिबार संसद्‍मा उपसभामुखका लागि सत्ता साझेदार दलको तर्फबाट इन्दिरा रानामगर र विपक्षी दल कांग्रेसबाट मुक्ता यादव उम्मेदवार रहेका छन् । वहुमत दलहरूले भने रानामगरलाई समर्थन जनाएका छन् ।

प्रकाशित : माघ ७, २०७९ १६:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×