कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

चीनमा नेपाली लेखकलाई उत्कृष्ट विदेशी अनुवादक विज्ञ सम्मान

बेइजिङ — चीनमा कार्यरत नेपाली पत्रकार चेतनाथ आचार्यले प्रतिष्ठित 'उत्कृष्ट विदेशी अनुवादक विज्ञ सम्मान' प्राप्त गरेका छन्। चिनियाँ अनुवादक संघले प्रदान गर्ने यस्तो सम्मान पाउनेमा आचार्य नै पहिलो नेपाली लेखक हुन्।

चीनमा नेपाली लेखकलाई उत्कृष्ट विदेशी अनुवादक विज्ञ सम्मान

पुस्तक तथा लेखनका माध्यमबाट चिनियाँ कथालाई नेपाली भाषामा अनुवाद गरेको भन्दै चीनको हुनान प्रान्तको सदरमुकाम छाङ्शामा शनिबार आयोजित विशेष समारोहमा आचार्यलाई उक्त सम्मान प्रदान गरिएको हो।

उत्कृष्ट विदेशी अनुवादक विज्ञ सम्मान पाउनेमा नेपालीसँगै जापान, अल्जेरिया, जर्मनी र स्पेनका विशेषज्ञ पनि छन्। सम्मान पाएपछि आफू लेखन कार्यका लागि झनै उत्साहित भएको आचार्यले बताए। उनले भने, लेख्नु आफ्नो रुचिको विषय भएपनि कहिलेकाहीँ सम्मानित हुनुले झन् जिम्मेवारीबोध गराउने रहेछ।’

तीन दशकदेखि पत्रकारितामा रहेका आचार्य विगत ११ वर्षदेखि बेइजिङस्थित चिनियाँ अन्तर्राष्ट्रिय रेडियो (सीआरआई) नेपाली सेवा, हाल 'सीएमजी'मा आबद्ध छन्। आचार्यले आख्यान र गैरआख्यान गरी आधा दर्जनभन्दा बढी कृति प्रकाशन गरिसकेका छन्। उनले २०७२ सालमा 'मेरा आँखामा चीन' र २०७४ मा 'चीन चियाउँदा' पुस्तक लेखेका थिए। २०७८ मा लेखेको 'रुइबा' नामक उपन्यासले २०७९ को 'अरनिको अन्तर्राष्ट्रिय पुरस्कार' प्राप्त गरेको थियो। २०८० वैशाखमा सबैभन्दा पछिल्लो कृति 'नयाँ युगमा चीन' प्रकाशित गरेका उनले चीनको राजनीतिक पक्षसँगै आर्थिक र कृषि पक्षमाथि समीक्षा गरेका छन्।

यस कृतिमा चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ राष्ट्रिय महाधिवेशनबाट पारित प्रतिवेदनको पूर्ण दस्ताबेजलाई नेपालीमा अनुवाद गरेर राखिएको छ भने वर्तमान चिनियाँ राष्ट्रपति सी चिनफिङको किशोरावस्थाको कहालीलाग्दो समयलाई पनि नेपाली भाषामा समेटिएको छ। त्यसैगरी चिनियाँ कम्युनिस्ट पार्टीको एक सय वर्षको इतिहास, बीआरआई र चीनले गरिबी निवारणका हासिल गरेको उपलब्धीबारेका सामग्री समावेश गरिएको छ।

सम्मान वितरण समारोहमा बोल्दै चिनियाँ अन्तर्राष्ट्रिय प्रकाशन समूह, चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी), हुनान प्रान्तीय प्रचार विभाग, सीपीसी हुनान प्रान्तीय विदेश मामिला कार्यालय, प्रान्तीय शिक्षा विभाग, चाइना अनुवादक संघ, हुनान नर्मल विश्वविद्यालयलगायतका प्रतिनिधिहरूले हाल अनुवाद उद्योगको प्रभाव विस्तार हुँदै गएको र प्राविधिक नवीनता बढ्दै गएको बताए।

चिनियाँ राष्ट्रपति सी चिनफिङले चिनियाँ कथाहरू विश्वमाझ फैलाउनुपर्ने बताएबाट चिनियाँ शैलीको आधुनिकीकरणको अभ्यासलाई फैलाउन अनुवादको भूमिका महत्वपूर्ण हुनेमा पनि उनीहरूले जोड दिए।

प्रकाशित : चैत्र २०, २०८० ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×