कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

म्यानचेस्टरमा ‘नेपाल इभिनिङ’

लन्डन — लन्डनस्थित नेपाली दूतावासले मंगलबार साँझ म्यानचेस्टरमा नेपाललाई प्रवर्धन गर्ने उद्देश्यसहित ‘नेपाल इभिनिङ’ गरेको छ । लन्डनमा हरेक वर्ष पर्यटन प्रवर्धन कार्यक्रम गर्दै आएको दूतावासले यसपटक म्यानचेस्टरमा गरेको हो ।

म्यानचेस्टरमा ‘नेपाल इभिनिङ’

कार्यक्रममा सम्बोधनका क्रममा राजदूत ज्ञानचन्द्र आचार्यले नेपाल घुम्न जुन सिजन पनि उपयुक्त भएको बताउँदै बेलायती नागरिकलाई नेपाल भ्रमण गर्न अपिल गरे । उनले नेपालमा हिमाल आरोहणमात्र नभई ट्रेकिङ (पद यात्रा), र्‍याफ्टिङ लगायत साहसिक पर्यटन, वन्यजन्तु, धार्मिक-सांस्कृतिक सम्पदा अवलोकन जस्ता कयौं आकर्षण भएको उल्लेख गरे ।

मोटिभेसनल स्पिकर तथा चर्चित आरोही एलान हिन्क्सले आफ्नो नेपाल आरोहणको अनुभव सुनाउँदै नेपालमा पाएको आतिथ्य सत्कारको प्रशंसा गरे । उनी ८ हजार उचाइमाथिका सबै १४ हिमाल आरोहण गर्ने पहिलो ब्रिटिस पर्वतारोहीसमेत हुन् ।

कार्यक्रममा लर्ड मेयर पल एन्ड्रियूजले नेपाल-बेलायत सम्बन्ध, नेपालको प्राकृतिक सौन्दर्य आदिबारे चर्चा गरेका थिए । कार्यक्रममा दूतावासकी नियोग उपप्रमुख रोशन खनालले नेपालको पर्यटन आकर्षणसम्बन्धी एउटा ‘पावर प्रिजेन्टेसन’ गरेकी थिइन् ।

सो अवसरमा किशोरीहरूले आकर्षक नेपाली नाच प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा ट्राभल टुर अपरेटर्स, नेपालप्रेमी बेलायती, बेलायतका लागि पर्यटनदूतहरु महन्त श्रेष्ठ, धन सार्की एवं स्थानीय नेपालीहरूको सहभागिता थियो । इभेन्टमा हिमालयन यती एसोसिएसन यूके अध्यक्ष पुष्प श्रेष्ठको विशेष सहयोग थियो ।

कोभिडपछि नेपालको पर्यटन पुरानै लयमा फर्किएको व्यवसायीहरूले बताउँदै आएका छन् । बेलायतबाट नेपाल जाने पर्यटकहरूको संख्या पनि बढ्दो छ । नेपालको अर्थतन्त्रमा पर्यटनको प्रमुख योगदान छ ।

प्रकाशित : असार २७, २०८१ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सार्वजनिक गर्ने अन्तिम तयारीमा रहेको मौद्रिक नीति किन रोकिएको होला ?

×