उखु किसानलाई घर धान्न समस्या

अमन कोइराला

सर्लाही — बहिनीको विवाह असार ११ मा टुंगो गरे पनि उखु बेचेको पैसा नपाएपछि धनकौलका लक्ष्मण राय खर्चको जोहो नभएर अन्योलमा छन् । धनकौलस्थित अन्नपूर्ण चिनी मिललाई बेचेको साढे ५ सय क्विन्टल उखुको करिब ३ लाख भुक्तानी उनले अनेक प्रयत्न गर्दा पनि पाएका छैनन् ।

यस वर्ष चिनी नबिकेके भन्दै मिलले किसानलाई भुक्तानी दिन आलटाल गर्दै आएको छ । उद्योग, वाणिज्य र गृहमन्त्रीले तत्काल भुक्तानी नदिए कारबाही गर्ने चेतावनी दिए पनि उद्यमीले वास्ता गरेका छैनन् । रायजस्तै हजारौं किसान चालु वर्ष उखुको भुक्तानी नपाएर व्यवहार चलाउनै नसक्ने अवस्थामा पुगेका छन् । जिल्लामा रहेका दुईवटा इन्दुशंकर र अन्नपूर्ण चिनी मिल किसानलाई भुक्तानी नदिने बहाना खोज्दै छन् ।

रायले विवाहका लागि चाहिने पैसा उखुको भुक्तानी नहुँदा नपुगेको बताए । असारमा हुने विवाहका लागि पुसमा बेचेको उखुको पैसा आइसक्ने उनको विश्वास थियो । ‘उखुको पैसा आएन भने सयकडा ३६ प्रतिशत ब्याजमा ऋण लिन बाध्य हुन्छु,’ उनले भने, ‘जसरी पनि थिचिने मिचिने गरिब किसान नै हो । धनाढय उद्योगीलाई कसैले केही गर्न नसक्ने रहेछ ।’

बजेट भाषणलगत्तै इन्दुशंकरले भुक्तानी रोक्यो । बजेटमा उल्लेख भएका कुरा स्पष्ट नभई भुक्तानी नदिने भनेर उद्योगले सूचना टाँस गरी भुक्तानी रोकेको थियो । चर्काे दबाब परेपछि सहमतिमा तोकिएको मूल्यभन्दा कम रकम दिने गरी इन्दुशंंकरले भुक्तानी तालिका निकालेको छ ।

अन्नपूर्णले भने दलालबाहेक कसैलाई पनि भुक्तानी दिएको छैन । सस्तोमा उखु किनेर ल्याउने बिचौलियालाई मात्र भुक्तानी दिएर किसानलाई भने नदिएको स्थानीयको गुनासो छ । उखुको मूल्य ५ सय ३१ कायम भए पनि दलालले साढे ३ सयका दरले किसानसँग खरिद गरेको उखुलाई मिलले नगदै भुक्तानी गरेको थियो ।

‘अन्नपूर्ण चिनी मिलले कुनै पनि किसानलाई एक पैसा भुक्तानी दिएको छैन,’ किसान अक्षयलाल राउतले भने, ‘सस्तोमा उखु किनेर ल्याउने दलाललाई भने नगदै दियो । किसान ठूलो मर्कामा परेका छन् । हजारौं किसान ब्याजामा ऋण लिएर घरखर्च चलाइरहेका छन् ।’

उखु बेचेर वर्षभरि गुजारा गर्नुपर्ने किसानको अवस्था विकराल बन्दै गएको छ । उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले उद्योग मन्त्रालयमा विभिन्न जिल्लाका किसान भुक्तानीका लागि पहल गरिदिन आग्रह गर्दै पुग्ने गरेको बताउँछन् । ‘उखु खेती हुने हरेक जिल्लाका किसान सरकारले केही पहल गरिदिन्छ कि भनेर मन्त्रालय धाइरहेका छन्,’ उनले भने, ‘असार लागेसँगै उखुको पैसाले बिहेवारी गर्ने भनेर साइत जुराएका धेरै किसान बिचल्लीमा परेका छन् । किसानको अवस्था एकदम दयनीय भएको छ । यसमा सम्बन्धित पक्ष समयमै गम्भीर हुनुपर्छ ।’

उद्योगले कतै क्विन्टलको २ सय ५० कतै ४ सय ६० का दरले भुक्तानी दिएर किसानलाई अल्मल्याउने कोसिस गरेका छन् । किसानको पीडालाई वास्तै नगरी उद्यमीले मनपरी गरेको मैनालीले बताए ।

प्रकाशित : असार ७, २०७५ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

‘अराजक’ जनप्रतिनिधि

अमन कोइराला

सर्लाही — जनताको सेवा गर्न निर्वाचित भएका जनप्रतिनिधि नै अराजक बन्न थालेका छन् । आफूले भनेको काम नगरेको भन्दै उनीहरूले कर्मचारीलाई हातपात गर्न थालेका हुन् ।

सदरमुकाम मलंगवा नगरपालिकाका इन्जिनियर राजकपुर महतोलाई वैशाख २ गते वडाध्यक्ष्यले कार्यालयमै कुटपिट गरे । वडा नं ३ र १२ का वडाध्यक्ष रामकैलास साह र रामदरेश रायले कुटपिट गरेको भन्दै महतोले जाहेरी दिए । एक सातासम्म स्थानीय प्रशासनले दुवै पक्षलाई मिलाउन प्रयत्न गर्‍यो । इन्जिनियर कुटपिटको विरोधमा कर्मचारीले कार्यालय ठप्प पारे । कर्मचारीले कानुनी कारबाही हुनै पर्ने अडान राखेपछि वडाध्यक्षलाई पक्राउ नगरी सार्वजनिक मुद्दा चलाइयो ।

त्यसैगरी कविलासी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीनकुमार श्रीवास्तवलाई जेठ ४ गते कोठामै थुनेर उपभोक्ता समिति गठन र कार्यादेशमा जबरजस्ती सहिछाप गर्न लगाइयो । जबरजस्ती गर्ने प्रदेश सांसद सञ्जयकुमार यादव थिए । कर्मचारीले सांसदको व्यवहारको विरोध गर्दै कार्यालय बन्द गरे । सुरक्षाको माग गर्दै उनीहरूले कार्यालयको कामकाज ठप्प पारे । आगामी दिनमा चेकमा पनि जबरजस्ती सहिछाप गराउन सक्ने भन्दै स्थानीय प्रशासनलाई ज्ञापन दिएर कर्मचारी नगरपालिका कार्यालय अघिल्तिर धर्नामा बसे ।

कर्मचारीको विरोध जारी रहेकै बेला जेठ ९ गते साँभल मलंगवामा नगरका सेवाग्राहीसँग कुरा गरेर बसेका श्रीवास्तवलाई सांसद यादव र उनीसँगै पुगेका केही व्यक्तिले हातपात गरे । श्रीवास्तवमाथि भौतिक आक्रमण नै भयो । लगातार आक्रमण हुँदा पनि स्थानीय प्रशासनको भूमिका भने मिलाउनमै केन्द्रित भयो । सर्वदलीय, सर्वपक्षीय बैठक राखेर स्थानीय प्रशासनले बल्ल–बल्ल विवाद समाधान गर्‍यो । पीडित कर्मचारीको चित्त नबुझे पनि जनप्रतिनिधिको विरोधमा स्थानीय प्रशासन पनि जान नसक्ने देखेपछि बाध्य भएर सहमति गरे ।

धनकौलमा गाउँपालिकाले बाटो फराकिलो पार्दा घरको पर्खाल भत्किने अवस्था आएपछि शिवकिशोर सिंहले अदालतबाट ‘स्टे अर्डर’ ल्याए । तर, स्टे अर्डरलाई वास्तै नगरी गाउँपालिकाले उनको पर्खाल भत्काइदियो । सिंहले जनप्रतिनिधि अदालतभन्दा माथि भएको बताए । ‘पर्खाल नभत्काउन अदालतले दिएको आदेश पालना भएन,’ उनले भने, ‘प्रहरी प्रशासनलाई अदातलको आदेश देखाउँदा पनि कसैले मद्दत गरेनन् । चुनाव जितेपछि कुनै कानुन नलाग्ने जस्तो भएको छ ।’

हरिवनमा पनि एउटाको जमिन अर्कोले ओगटेकोमा विवाद भयो । भोग गर्नेले जमिनधनीलाई नापजाँच गर्न दिएनन् । उल्टै जमिनमा नयाँ संरचना बनाउन थाले । नयाँ संरचना नबनाउन जग्गाधनीले अदालतबाट ‘स्टे अर्डर’ ल्याए पनि कार्यान्वयन भएन । वडाध्यक्ष भोग गर्नेको पक्षमा रहेकाले उनले स्टे अर्डर जारी भएको जमिन अर्कै भएको भनिदिए । अदालतले केही नबनाउनु भनेको जमिनमा अहिले घर बनिसकेको छ ।

स्थानीय तह र संसदमा चुनाव जितेका जनप्रतिनिधिको दादागिरी व्यवहारले उन्मुक्ति पाएकाले ‘ठूलालाई चैन सानालाई ऐन’ भन्ने उखान चरिचार्थ भएको स्थानीय बताउँछन् । नागरिक अगुवा उग्रकान्त झा अहिलेका जनप्रतिनिधि बाइसे, चौविसे राज्य हुँदाको राजा रजौटा जत्तिकै अहंकारले भरिएको बताउँछन् । ‘स्थानीय सरकार भनिदिएकाले सर्वेसर्वा सरकार प्रमुख हामी नै हौं भन्ने भाव धेरैजसो जनप्रतिनिधिमा देखिन्छ,’ उनले भने, ‘प्रमुख मात्र नभई वडाध्यक्ष समेत महाराजाजस्तो व्यवहार गर्छन् । कसैलाई नटेर्ने, आफ्नो फाइदामात्र हेर्ने, भोट नदिएकालाई सताउने जस्ता विकृति देखिएको छ ।’

प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल कसुरअनुसार कानुनी कारबाहीबाट कसैले पनि उन्मुक्ति नपाउने बताउँछन् । उनले प्रमुख प्रशासकीय अधिकृत कुटपिटको विषयमा पर्याप्त प्रमाण र किटानी उजुरी नपरेकाले वार्ताद्वारा मिलाइएको बताए । ‘मलंगवा नगरपालिकाका वडाध्यक्षविरुद्ध मुद्दा दर्ता भएर प्रक्रियामा छ,’ उनले भने, ‘फैसला हुन बाँकी रहेकाले प्रमाणअनुसार हुन्छ ।’ उनले कसैलाई पनि हौसिने वातावरण नदिने स्पष्ट पारे ।

‘अदालतको आदेशको हकमा जुन निकायको नाममा छ कार्यान्वयन उसैले गराउनुपर्छ,’ उनले भने, ‘सुरक्षाको माग भएमा हामीले तत्काल उपलब्ध गराइदिन्छौं ।’ उनले धेरै ठाउँबाट चुनावमा भोट नदिएको भन्दै वडाध्यक्षले कुनै काम नै नगरिदिएको गुनासो समेत आइरहेको बताए । नयाँ संरचना र अधिकार भएकाले नबुझेर पनि धेरै समस्या आएको हुन सक्ने उनी बताउँछन् ।

प्रकाशित : असार ५, २०७५ १९:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×