उखु किसानलाई घर धान्न समस्या
सर्लाही — बहिनीको विवाह असार ११ मा टुंगो गरे पनि उखु बेचेको पैसा नपाएपछि धनकौलका लक्ष्मण राय खर्चको जोहो नभएर अन्योलमा छन् । धनकौलस्थित अन्नपूर्ण चिनी मिललाई बेचेको साढे ५ सय क्विन्टल उखुको करिब ३ लाख भुक्तानी उनले अनेक प्रयत्न गर्दा पनि पाएका छैनन् ।
यस वर्ष चिनी नबिकेके भन्दै मिलले किसानलाई भुक्तानी दिन आलटाल गर्दै आएको छ । उद्योग, वाणिज्य र गृहमन्त्रीले तत्काल भुक्तानी नदिए कारबाही गर्ने चेतावनी दिए पनि उद्यमीले वास्ता गरेका छैनन् । रायजस्तै हजारौं किसान चालु वर्ष उखुको भुक्तानी नपाएर व्यवहार चलाउनै नसक्ने अवस्थामा पुगेका छन् । जिल्लामा रहेका दुईवटा इन्दुशंकर र अन्नपूर्ण चिनी मिल किसानलाई भुक्तानी नदिने बहाना खोज्दै छन् ।
रायले विवाहका लागि चाहिने पैसा उखुको भुक्तानी नहुँदा नपुगेको बताए । असारमा हुने विवाहका लागि पुसमा बेचेको उखुको पैसा आइसक्ने उनको विश्वास थियो । ‘उखुको पैसा आएन भने सयकडा ३६ प्रतिशत ब्याजमा ऋण लिन बाध्य हुन्छु,’ उनले भने, ‘जसरी पनि थिचिने मिचिने गरिब किसान नै हो । धनाढय उद्योगीलाई कसैले केही गर्न नसक्ने रहेछ ।’
बजेट भाषणलगत्तै इन्दुशंकरले भुक्तानी रोक्यो । बजेटमा उल्लेख भएका कुरा स्पष्ट नभई भुक्तानी नदिने भनेर उद्योगले सूचना टाँस गरी भुक्तानी रोकेको थियो । चर्काे दबाब परेपछि सहमतिमा तोकिएको मूल्यभन्दा कम रकम दिने गरी इन्दुशंंकरले भुक्तानी तालिका निकालेको छ ।
अन्नपूर्णले भने दलालबाहेक कसैलाई पनि भुक्तानी दिएको छैन । सस्तोमा उखु किनेर ल्याउने बिचौलियालाई मात्र भुक्तानी दिएर किसानलाई भने नदिएको स्थानीयको गुनासो छ । उखुको मूल्य ५ सय ३१ कायम भए पनि दलालले साढे ३ सयका दरले किसानसँग खरिद गरेको उखुलाई मिलले नगदै भुक्तानी गरेको थियो ।
‘अन्नपूर्ण चिनी मिलले कुनै पनि किसानलाई एक पैसा भुक्तानी दिएको छैन,’ किसान अक्षयलाल राउतले भने, ‘सस्तोमा उखु किनेर ल्याउने दलाललाई भने नगदै दियो । किसान ठूलो मर्कामा परेका छन् । हजारौं किसान ब्याजामा ऋण लिएर घरखर्च चलाइरहेका छन् ।’
उखु बेचेर वर्षभरि गुजारा गर्नुपर्ने किसानको अवस्था विकराल बन्दै गएको छ । उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले उद्योग मन्त्रालयमा विभिन्न जिल्लाका किसान भुक्तानीका लागि पहल गरिदिन आग्रह गर्दै पुग्ने गरेको बताउँछन् । ‘उखु खेती हुने हरेक जिल्लाका किसान सरकारले केही पहल गरिदिन्छ कि भनेर मन्त्रालय धाइरहेका छन्,’ उनले भने, ‘असार लागेसँगै उखुको पैसाले बिहेवारी गर्ने भनेर साइत जुराएका धेरै किसान बिचल्लीमा परेका छन् । किसानको अवस्था एकदम दयनीय भएको छ । यसमा सम्बन्धित पक्ष समयमै गम्भीर हुनुपर्छ ।’
उद्योगले कतै क्विन्टलको २ सय ५० कतै ४ सय ६० का दरले भुक्तानी दिएर किसानलाई अल्मल्याउने कोसिस गरेका छन् । किसानको पीडालाई वास्तै नगरी उद्यमीले मनपरी गरेको मैनालीले बताए ।
प्रकाशित : असार ७, २०७५ ०७:२८