कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गरिब मुलुकमा अर्बपति बन्ने काइदा

धनीका कुरा
४ जेट विमान भएका बसिरी एचआईभी पीडितको उपचार र दृष्टिविहीनको दृष्टि फर्काउने दाबी गर्छन्
दिनेश यादव

काठमाडौँ — गरिबी र अशिक्षाले जेलिएका मुलुकहरूमा धनाढय बन्नेहरूले थरीथरीका शैलीहरू अपनाउने गरेको पाइन्छ । कोही धर्मलाई त कोही ईश्वरवादलाई धन कमाउने माध्यम बनाउने गरेका छन् । तीमध्येका एक हुन अफ्रिकी महाद्वीपको दक्षिण क्षेत्रमा अवस्थित मुलुक मलावीका ४० वर्षीय पादरी सेफर्ड बसिरी । १ करोड ६० लाख मात्रै जनसंख्या रहेको मलावी एउटा भूपरिवेष्ठित मुलुक हो ।

गरिब मुलुकमा अर्बपति बन्ने काइदा

सबै अन्तर्राष्ट्रिय सूचकांकका आधारमा सम्भवत: विश्वकै सबैभन्दा गरिब मुलुक हो यो । त्यहाँको कुल गार्हस्थ उत्पादन (जीडीपी) २२६ डलर रहेको छ । संसारकै ‘सबैभन्दा गरिब’ मुलुकमा सबैभन्दा बढी धनाढय व्यक्ति कसरी बन्छन् भन्ने कुराका लागि बसिरी एउटा उदाहरण बन्न सक्छन् । एउटा टेलिभिजनविज्ञ, मिडिया र कृषिभूमिका मालिकसमेत बताउने उनी आफूलाई स्वघोषित ‘भविष्यवक्ता’ ठान्छन् । आफूलाई ‘प्रोफेट’ का रूपमा परिचय गराउने गर्छन् ।

यसो त केही सञ्चार माध्यमहरूले उनको सम्पत्तिको स्रोत सुसमाचार प्रचार अर्थात् ईश्वरवाद (इभ्यान्लिज्म), कृषि र टेलिकम रहेको उल्लेख गरेका छन् । ‘बायोनेटवर्थ डट कम’ का अनुसार उनको कुल सम्पत्ति १५० मिलियन अमेरिकी डलर (१५ करोड डलर) रहेको छ । उनको पेसाचाँहि प्यास्टर (पादरी) र प्रोफेट (भविष्यवाणी गर्ने) रहेको छ । एउटा अर्को अनलाइनले उनको यो सम्पत्ति बनाउन त्यहाँ अरूलाई ६ मिलियन वर्ष लाग्न सक्ने भनेर टिप्पणी गरेको छ । यसको पुष्टिचाहिँ गरिएको छैन ।

‘प्रोफेट’ बसिरीलाई इसाई चक्रहरूमा ‘पापा’ को ‘मेजर वन’ का रूपमा चिनिन्छ । दुई वर्षभित्रै तीनवटा जेट विमान खरिद गर्न भ्याएका उनीसँग हाल चारवटा विमान रहेका छन् । अघिल्लो वर्षको जनवरी ६ मा ३७ मिलियन अमेरिकी डलरमा तेस्रो जेट ‘गल्फ स्ट्रिम थर्ड’ खरिद गरेपछि भनेका थिए, ‘म ईश्वरको मान्छे हुँ । मलाई विश्वास छ कि म एउटा उदाहरणका रूपमा बाँच्नुपर्छ । म त्यो शब्दहरू सिक्ने गर्छुु जुन सबैको विश्वासलाई बलियो बनाउन सहयोग गर्छ । म क्रिस्ट्सको माध्यमबाट सबै कुरा गर्न सक्छु, जसले मलाई बलियो बनाउँछ । म त्यही गरिरहेको छु, जुन ईश्वरले भन्ने गर्छ । यस्तो अवस्थामा म अन्य मानिससँग मलाई अन्याय गर्न सक्छु । यी ‘प्रोफेट’ ले बाइबलमा यो मार्गलाई स्मरण गरेको हुनुपर्छ जहाँ क्रिस्ट्स धनाढय मासिसलाई आफ्नो पूरा अधिकार दिन र उसको पछाडि आउन भनेकै हुनुपर्छ ?

मलावीको लिगोङेको एक अन्यन्तै निर्धन क्रिस्चियन परिवारमा उनको जन्म भएको हो । उनका आमाबुबाका बारेमा सही जानकारी नभए पनि जाम्बियाबाट आएका हुक्सले र क्रिस्टिना बसिरीका छ सन्तानमध्ये चौथा हुन्, सेफर्ड बसिरी ।

मलावीको म्जुजुस्थित मोयाले सेकेन्डरी स्कुलबाट विद्यालय शिक्षा उतीर्ण गरेपछि उनले थेरापोन युनिभर्सिटीबाट उच्च शिक्षा हासिल गरे । उनको ‘प्रोफेट अफ गड’ अर्थात् भविष्यवक्ताको यात्रा १० वर्षकै उमेरमा सुरु भएको थियो । कलिलै उमेरमा आफूलाई ईश्वरको अवतारका रूपमा स्थापित गर्न उनी सफल भए । आफूलाई स्वयं ईश्वरसमेत घोषित गरे । उनको यश मलावीमा म्जुजुबाट फैलिएको हो । त्यहीँबाट उनी दक्षिण अफ्रिका, बोटस्वाना, जाम्बिया, तान्जानिया, नामिबिया र इथियोपियासम्म आफ्नाबारे प्रचार गर्न सफल भए । त्यहाँ आफ्ना चर्चका शाखाहरू विस्तार गरे ।

उनले तीव्र गतिमा विस्तार भएको ‘इन्लाइटेन्ड क्रिस्चियन ग्यादरिङ (ईसीजी) सन् २०१० मा सञ्चालनमा ल्याएका हुन् । सेफर्ड हक्सेली बसिरीले दक्षिण अफ्रिकाको प्रिटोरियामा क्रिस्चियन चर्च ‘ईसीजी’ को स्थापना गरेका हुन् । तर, त्यही माध्यमबाट उनी अचेल चर्चित मात्रै हैन, उनको भाषण सुन्नका लागि बाक्लै भीड जम्मा गर्ने हैसियतमा पुगेका छन् । उनका अनुयायीहरूले बसिरीलाई एकजना चामत्कारिक व्यक्तिका रूपमा चित्रण गर्न थाक्दैनन् ।

आफ्नो वाचनकलाबाट सर्वसाधारणलाई लठयाउने उनले पछि जोहानेसवर्ग नजिकै स्यान्टनमा एउटा कम्पनीमा समेत लगानी गरेको सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । विकिपिडियाका अनुसार उनले खनिज र अन्य क्षेत्रमा लगानी गरे । उनले कम उमेरमै जम्मा गरेको ‘अकुत’ सम्पत्तिबारे सोधिएको प्रश्नमा भन्ने गर्छन्, ‘म प्रोफेटको अलाबा एउटा व्यापारी पनि हुँ । मेरो प्रगति र आम्दानीको स्रोत निजी व्यापार पनि हो ।’ उनलाई हाइट चर्चका नेता भनेर प्रश्न गर्न पाइन्न । यसले धार्मिक सद्भाव बिथोलिन सक्ने दाबी केहीको छ ।

दसौं हजारको संख्यामा रहेको आफ्ना अनुयायीलाई क्यास गर्न सक्षम भइसकेका उनले बीबीसीमा समेत आफ्नो अन्तर्वार्ता दिइसकेका छन् । उनका बारेमा अल जजिरा, न्यु अफ्रिकन, नाइजेरियन ट्रिब्युन र अफ्रिकन लिडरसिप म्याग्जिनले समेत कभरेज गरिसकेका छन् । वित्तीय अनियमितताबारे विवाद चुलिएपछि वोट््सवानास्थित ईसीजीको कार्यालय सन् २०१७ को डिसेम्बरमा बन्द गरिएको थियो । उक्त मुलुकमा प्रवेशका लागि बसिरीलाई भिसा लिनुपर्ने प्रावधान त्यहाँको सरकारले जारी गर्‍यो । उनको चर्चले यो निर्णयविरुद्ध अपिलसमेत गरेको थियो ।

यसै वर्षको जनवरी र फेब्रुअरीमा अमेरिकामा मिडिया कम्पनीमा संयुक्त लगानी गरेको बताइएको छ । उनले एचआईभी पीडित मानिसको उपचार गरेको र दृष्टिविहीनको गुमेको दृष्टि फर्काउने गरेको दाबी गर्छन् । अपांगता भएकालाई समेत सद्दे बनाएको समाचार बीबीसीमा प्रकाशित छ । उनी भ्रमणका क्रममा हवाई यात्रा गर्दा खिचिएको भिडियोहरू सोसल मिडियामा सेयर गर्ने गर्छन् । उनको रात्रिभोजहरूमा गरिने खर्चहरू विवादित बन्ने गरेका छन् । सन् २०१६ को जनवरीमा नामिबियाको विन्डहोकमा आयोजित रात्रिभोजमा प्रवेशका लागि १ हजार नामिबियाली डलर (८ हजार ३ सय ३५ रुपैयाँ) र गलाको टेबलमा डिनरका लागि सिट सुरक्षित गर्नका दक्षिण अफ्रिकी मुद्रा र्‍यान्ड (आर) २५ हजार (२ लाख १ हजार २ सय १२ रुपैयाँ) सम्म चार्ज लगाइएको थियो ।

बसिरी हलमा प्रवेश गर्दा अनौठो वातावरण सिर्जना हुने गर्छ । अनुयायीहरू ताली पडकाउँछन् र नाचगान गर्दै उफ्रिने गर्छन् । अनुयायीहरूले खचाखच भरिएको सभाहलमा उनका सुरक्षागार्डले सहयोग गर्छन् । भीड छिचोल्न उनका अंगरक्षकहरूलाई हम्मेहम्मे हुन्छ । केही अनुयायीहरूको सहयोग पनि यसमा हुन्छ, बाटो क्लियर गर्दै मञ्चसम्म पुर्‍याउने गर्छन् । यति मात्रै हैन, केही भावुक मण्डलीहरू उनको दर्शनका लागि पाँच घण्टासम्म धैयपूर्वक प्रतीक्षा गर्छन् ।

बीबीसीका अनुसार एचआईभीले ग्रसित मानिसलाई उपचार गरी चंगा बनाएको, दृष्टिविहीनको उपचार गरेको, गरिबहरूको भाग्य परिवर्तन गर्ने दाबी गर्नेका पछि यत्रो अन्धभक्ति किन ? उनी आज कुनै पनि ठूलो खेल स्टेडियमलाई आफ्नो अनुयायीले भर्न सक्ने हैसियतमा पनि पुगेका छन् । आफ्नो व्यक्तिगत प्रचार गर्न विश्वभरि भ्रमण गर्न उनी सधैं तत्पर रहन्छन् । भीडमा आफ्नो फोटोसहितको लेभेल लागेको मिराकल आयल ‘चमत्कारिक तेल’ लगायतका उत्पादनहरूसमेत बेच्ने गर्छन् ।

उनी अमेरिकी, बेलायत र एसियाका नियमित आगन्तुक पनि हुन् । जहाँ जान्छन्, ईसीजीको कार्यालयमा प्याक गरिएको झन्डा अनुयायीहरूले गर्वले फहराउँछन् । मञ्चमा पुगेपछि भन्ने गर्छन्, ‘म दक्षिण अफ्रिकी राजधानी प्रिटोरियामा आफ्नो चर्च परिसरमा ‘मेजर वन’ को नामले प्रख्यात छु ।’

असाध्य रोग लागेकाहरूलाई उपचार गर्ने उनको अपत्यारिलो दाबी केहीलाई झुठो लाग्ने गर्छ, जुन स्वाभाविकै पनि हो । तर, यसबारे उनी भन्छन्, ‘मेरो मन्त्रालय (चर्चको प्रधान कार्यालय) सबैका लागि हैन, यो तिनीहरूका लागि हो जसले ममाथि विश्वास गर्छन् । म मात्र ईश्वरको काम गर्ने दूत हुँ । ईश्वले हाम्रो बैठकहरूमा मानिसलाई चंगा बनाउँछन् । एकपटक जब मैले एचआईभी रोगीका साथ प्रिटोरियामा चिकित्सकसँग भेटें, उसले पहिले एचआईभी देखाउनका लागि परीक्षण गर्‍यो, मैले उसका लागि प्रार्थना गरें र त्यसपछि उसमा एचआईभी नेगेटिभ देखियो ।’ चर्चका अगाडि ‘मिराकल आयल’ बेच्ने बसिरी अविश्वासिलो र अपत्यारिलो काम गरेरै अर्बपति बनेका छन् ।

(एजेन्सी)

प्रकाशित : असार २, २०७५ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?