१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

असुरक्षित ग्यास सिलिन्डर नष्ट

कान्तिपुर संवाददाता

काठमाडौ — नेपाल ग्यासले १ हजार ४६ थान असुरक्षित ग्यास सिलिन्डर नष्ट गरेको छ । नष्ट गरिएका सिलिन्डरमा म्याद गुजि्रएका, लिकेज भएका र हाइड्रो स्टेटिक परीक्षण फेल भएका छन् ।


'करिब २ सय सिलिन्डर म्याद नगुजि्रए पनि लिकेज भएका कारण नष्ट गरेका हौं,' नेपाल ग्यासका बजार व्यवस्थापक राजेन्द्र दंगालले भने, 'बाँकी सिलिन्डर भने म्याद सकिएका हुन् ।' उनले हाइड्रो स्टेटिक परीक्षण पास भए पनि ३० वर्ष पुगेपछि सिलिन्डर नष्ट गर्ने बताए । नयाँ सिलिन्डर लिकेज नभए १० वर्षसम्म प्रयोग गरिन्छ । त्यसपछि हरेक ५ वर्षमा हाइड्रो स्टेटिक परीक्षण गरिन्छ । पानीको चाप प्रयोग गरी सिलिन्डरको क्षमता मापन गर्ने विधिलाई हाइड्रो स्टेटिक परीक्षण भनिन्छ । यो परीक्षणमा कमजोर सिलिन्डर फुट्छन् । नफुटेका सिलिन्डर थप ५ वर्ष प्रयोग हुन्छ । 'उपभोक्ताको सुरक्षालाई दृष्टिगत गरी समय समयमा पुराना तथा प्रयोग गर्न नमिल्ने सिलिन्डर नष्ट गर्दै आएका छौं,' नेपाल ग्यासका कार्यकारी निर्देशक गोकुल भण्डारीले भने । जोखिमपूर्ण सिलिन्डरको प्रयोगबाट जनधनको क्षति हुँदै आएको छ । कम्पनीका अनुसार गत वर्ष ३ हजार ४ सय र त्यसको अघिल्लो वर्ष २ हजार ८ सय पुराना तथा प्रयोग गर्न नमिल्ने सिलिन्डर नष्ट गरिएको थियो । नेपाल ग्यास पूरा र प्रयोग गर्न नमिल्ने सिलिन्डर सार्वजनिक रूपमै नष्ट गर्ने एक मात्र कम्पनी हो । कतिपय ग्यास कम्पनीले म्याद गुजि्रएका जोखिमपूर्ण सिलिन्डर प्रयोग गरिरहेको व्यवसायीहरूको भनाइ छ ।



 

प्रकाशित : पुस १६, २०७० ११:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एनसेल सेयर खरिद–बिक्री प्रकरणमा नियामक निकाय निष्क्रिय राखेर छुट्टै छानबिन समिति गठन गर्नुको कारण के हो?