कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५६

‘मिर्गौलासम्बन्धी रोग आप्रवासी कामदारको ठूलो स्वास्थ्य समस्या हो’

काठमाडौँ — जनस्वास्थ्य अनुसन्धानकर्ता डा. निर्मल अर्याल बेलायतको बर्नमथ विश्वविद्यालय र नेसनल हेल्थ सर्भिस (एनएचएस) मा वरिष्ठ अनुसन्धानकर्ताका रूपमा कार्यरत छन् । उनले जनस्वास्थ्य अनुसन्धान (इपिडिमियोलोजी) विषयमा बेलायतको एबरडिन विश्वविद्यालयबाट स्नातकोत्तर र न्युजिल्यान्डको ओटागो विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन् ।

‘मिर्गौलासम्बन्धी रोग आप्रवासी कामदारको ठूलो स्वास्थ्य समस्या हो’

नसर्ने रोगहरू र जीवनशैलीका कारण यसमा पर्ने असरमा विज्ञता हासिल गरेका अर्यालको समूहले पछिल्ला आठ वर्षदेखि आप्रवासीहरूको स्वास्थ्यबारे बेलायत, नेपाल, भारत र मलेसियामा अनुसन्धान गरिरहेको छ । खाडी मुलुकहरू र मलेसियामा कार्यरत नेपाली र दक्षिण एसियाली कामदारहरूको स्वास्थ्यमा उनको विशेष रुचि छ । स्कोपस साइभलको तथ्यांकमा उनी र उनको समूहका वैज्ञानिकहरू आप्रवासी स्वास्थ्य अनुसन्धानमा विश्वकै उच्च ५ प्रतिशतभित्र पर्दछन् । आप्रवासी कामदारहरूको स्वास्थ्य जोखिम र यसका आयामहरूबारे कान्तिपुरका लागि जनकराज सापकोटास्वरूप आचार्यले गरेको कुराकानीको सम्पादित अंश :

आप्रवासी कामदारको स्वास्थ्य समस्याबारे नेपाल सरकार र सरोकारवालाहरूले नै ध्यान नदिएको अवस्थामा यस विषयको अनुसन्धानमा कसरी अभिप्रेरित हुनुभयो ?

आप्रवासी कामदारहरूलाई मिर्गौला समस्या हुने गरेको समाचार पढेपछि नै यस विषयमा अनुसन्धान गर्नुपर्छ भन्ने मलाई लागेको हो । यो हामीले आफ्नै वरिपरि पनि देखिरहेकै समस्या हो । तर, हाम्रो ध्यान त्यता गएको थिएन । अर्को कुरा, हामीकहाँ कुनै पनि विषयको प्रमाणित तथ्यांक वा सूचना भेट्न निकै कठिन हुन्छ; यो विषयमा त झन् कसैले केही गरेकै छैन । त्यसैले पत्रपत्रिकामा आएका कुराहरू पनि वैज्ञानिक रूपमा प्रमाणितभन्दा पनि अनुमानित नै हुन् । यस्तो कुराले नीति निर्माण तहमा खासै प्रभाव पार्दैन । विश्वका विकसित देशहरूमा नीति निर्माण गर्नका लागि वैज्ञानिक अनुसन्धानले प्रमाणित गरेको तथ्य आवश्यक पर्छ । उदाहरणका लागि, मैले न्युजिल्यान्डमा अध्ययन गरेको विश्वविद्यालयले नै त्यहाँको धूमपान सम्बन्धी नीति बनाएको हो । न्युजिल्यान्डलाई आगामी केही वर्षमा धूमपानरहित बनाउने उनीहरूको लक्ष्य छ । कुनै पनि देशको थिंक ट्यांक भनेको त्यहाँको विश्वविद्यालय हो । तर हाम्रोमा त्यस्तो छैन । त्यसैले पनि हामीले आप्रवासीहरूको स्वास्थ्यलाई लिएर राजनीतिक तहमा कुनै निर्णय लिँदा त्यसलाई बाहिरी दुनियाँले मान्ने अवस्था छैन । हामीले हालै मात्र मलेसियामै नेपालीहरूको अचानक मृत्यु किन हुन्छ भनेर अध्ययन गरेका थियौं । तर त्यहाँ अनुसन्धान गर्दा नेपालमै पनि यसरी अचानक मृत्यु हुनेको संख्या ठूलो छ भनेका थिए; नेपालमा रहेकाहरूमा पनि मुटुरोगको जोखिम धेरै छ भन्ने सुनेका छौं भन्ने उनीहरूको तर्क हुन्थ्यो । हामीसँग त्यस्तो हो या होइन भन्नका लागि ‘उमेर र लिंग’ विशेषको कुनै तथ्यांक नै छैन ।

अहिले नेपालमा मात्रै होइन, दक्षिण एसियामै युवावस्थामै हृदयाघात भएर मृत्यु हुनेको संख्या बढेको जस्तो देखिन्छ । यस्तो अवस्थामा कसरी आप्रवासी कामदारमा यो समस्या बढ्दो छ भनेर स्थापित गर्न सकिन्छ ? किनभने हाम्रो देशमै यस विषयमा कुनै प्रमाणित तथ्यांक छैन ।

मुटु सम्बन्धी समस्याका लागि विभिन्न जोखिमयुक्त अवस्थाहरू हुन्छन् । तर त्यो जोखिम हुँदैमा मुटु सम्बन्धी समस्या भएर मान्छे मरिहाल्ने भन्ने हुँदैन । त्यो अवस्था आउन लामो समय लाग्छ । तर अहिले कुनै जोखिम नभएका व्यक्तिको पनि हृदयाघात भएर मृत्यु भइरहेको छ । मैले सन् २०१५ देखि नै यस सम्बन्धी अध्ययन–अनुसन्धान गरिरहेको छु । अचानक हृदयाघात भएर मृत्यु हुने भनेको केही समयअघिसम्म केही पनि भएको थिएन तर १५–२० मिनेटमै असहज अनभुव गरेको बताउन नपाउँदै व्यक्तिविशेषको मृत्यु हुन्छ । यसको कारण छुट्टै हुन्छ, मुटु सम्बन्धी जोखिम भएको समूहभन्दा बाहिरको । कामदारहरूको अचानक मृत्यु हुनुमा कामको प्रकृति र बस्ने स्थानको अवस्था प्रमुख हुन्छ । गर्मीमा धेरै काम गर्नुपर्छ, पिउने पानी हुँदैन, सानो ठाउँमा कोचिएर बस्नुपर्छ । कामदारहरूकै जीवनशैली पनि यसमा कारक हुन्छ । मलेसियामा अचानक मृत्यु भएका ५० नेपालीमाथि अध्ययन गर्दा ७७.५ प्रतिशत कामदारले दैनिक अत्यधिक मद्यपान गर्ने गरेको पाइयो । मदिराको गुणस्तर पनि अत्यन्तै खराब थियो । त्यसमा विषाक्त मिथानोलको मात्रा धेरै थियो । हाम्रो अध्ययनमा नेपालीले खाने रक्सी कि त नक्कली कि अवैध रूपमा बजारमा बिक्री हुने र कडा खालको हुने रहेछ ।

तपाईंले कामदारहरूको मिर्गौला र मुटु सम्बन्धी समस्याबारे अध्ययन गर्नुभएको छ । त्यसमा के कारणले गर्दा त्यस्तो समस्या भएको पाउनुभएको छ ? कुन समस्यालाई प्रमुख ठान्नुहुन्छ ?

हामीले सबै विषयलाई सँगसँगै लिएर जानु जरुरी छ । कुनै पनि कुरामा रातारात परिवर्तन हुने अपेक्षा गर्न पनि सकिँदैन । पहिलो त, विदेश जानुअघि हुने स्वास्थ्य परीक्षणलाई नै व्यवस्थित र भरपर्दो बनाउनुपर्‍यो । अहिले जुन हिसाबमा भइरहेको छ, त्यसमा त कसैलाई पनि विश्वास छैन । अर्को कुरा, हामीले स्वास्थ्य जाँच गर्दा केही समस्या फेला पार्‍यौं भने उसलाई काम गर्न जानबाट रोक्नु हुँदैन । बरु उच्च रक्तचाप वा सुगर वा मिर्गौला सम्बन्धी के समस्या छ, त्यो बताएर के गर्नु हुन्छ र के गर्नु हुँदैन भनेर सिकाउनुपर्छ ।

तस्बिरहरू : अंगद ढकाल/कान्तिपुर

अहिले त स्वास्थ्य परीक्षण नै नक्कली हुन्छ । त्यसमै सुधार गर्नुपर्‍यो । कामदारहरू फर्किएर आएपछि पनि स्वास्थ्य परीक्षण गर्नु जरुरी छ । उनीहरूको अवस्था जाँदा कस्तो थियो र आउँदा कस्तो भयो भन्ने त थाहा हुनुपर्‍यो नि ! त्यो तथ्यांक भयो भने पो हामीलाई कुन देशमा कस्तो समस्या हुँदो रहेछ भनेर थाहा पाउन सहज हुन्छ । र, ती दुवै स्वास्थ्य परीक्षणको तथ्यांक इलेक्ट्रोनिक हुनुपर्‍यो । यहाँ बस्दाभन्दा वैदेशिक रोजगारीबाट फर्किंदा रक्तचापको समस्या दोब्बर भएको हाम्रो अध्ययनले देखाएको छ । तर त्यही व्यक्तिमा रक्तचापको समस्या पहिला थियो कि थिएन भनेर हामीले हेर्ने आधार नै भएन । हामीले अध्ययन सकेसम्म ‘पूर्वाग्रह’ नहोस् भनेर गर्ने हो । तर गोल्ड स्ट्यान्डर्डमा हामीले गर्न सकेका छैनौं ।

हालै तपाईंसहितको समूहले धनुषाका दुई स्थानीय तहमा गरेको अध्ययनले वैदेशिक रोजगारीबाट फर्केकाहरूमा मिर्गौला रोगको जोखिम रहेको देखायो । यो अध्ययनमा अरू के कुरा मुख्य देखिए ?

हामीले धनुषाका दुई स्थानीय तहमा वैदेशिक रोजगारीबाट फर्किएका ७१८ जना र स्थानीय ७२० जनाबीच तुलनात्मक अध्ययन गरेका थियौं । अनुसन्धानमा वैदेशिक रोजगारीमा कम्तीमा दुई वर्ष बसेका र फर्केको १२ महिनाभन्दा कम अवधिभित्रका कामदारहरू समेटिएका थिए । यो अध्ययनले वैदेशिक रोजगारीबाट फर्केकाहरूका मिर्गौलामा रगत फिल्टर गर्ने (ग्लोमेरुलर फिल्ट्रेसन) क्षमतामा कमी आएको देखियो । अनुसन्धानमा ग्लोमेरुलर फिल्ट्रेसन क्षमता वैदेशिक रोजगारीबाट फर्केकाहरूमा ५.८ प्रतिशत र स्थानीयमा ३.६ प्रतिशत देखियो । स्थानीयमा भन्दा वैदेशिक रोजगारीबाट फर्केकाहरूको पिसाबमा प्रोटिनको मात्रा धेरै देखियो ।

त्यस्तो किन भयो भनेर पनि थाहा भयो ?

एउटै अध्ययनले सबै कुरा निर्क्योल गर्न सक्दैन । हामी अब त्यो किन भयो भनेर अध्ययन गर्ने तयारी गर्दै छौं । रक्तचापलाई नै मुख्य मानेर त्यसको कारण पत्ता लगाउन हामीले काम गर्नुपर्छ । प्रारम्भिक रूपमा भन्नुपर्दा, कामदारको जीवनशैली र कार्यस्थलमा नै समस्या छ । हाम्रो अध्ययनले उनीहरू समस्यामा छन् भन्ने देखियो ।

वैदेशिक रोजगारीमा रहेका र पहिला रोजगारीमा गएर फर्केकाको जोखिमको अवस्था लगभग एकै रहेको पनि देखिएको छ, जुन आफैंमा डरलाग्दो अवस्था हो । धेरैमा शारीरिकका साथै मानसिक समस्या पनि देखिन थालेको छ । एचआईभीको समस्या झन् ठूलो छ । त्यसबारे त अनुसन्धान गर्नै पनि कठिन छ, किनभने हामीले खाडीका केही विश्वविद्यालय र अस्पतालसँग कुरा गर्दा उनीहरू औपचारिक रूपमा केही बोल्दैनन् । सन् २०१४ को कतारको तथ्यांक अनुसार, अचानक मृत्यु हुने अनुपात अन्य देशका नागरिकको तुलनामा नेपालीको धेरै छ । कतार विश्वकपका बेला कामदारहरूको समस्याबारे धेरै कुरा उठाइयो, त्यसमा अन्य देशको राजनीतिक स्वार्थ पनि गाँसिएको हुन सक्छ, तर खाडीकै अन्य देशमा रहेकाहरूबारे कुरै उठेन । त्यसैले यो निकै पेचिलो विषय बनेको छ ।

अन्य देशको राजनीतिक स्वार्थ भनेर के इंगित गर्न खोज्नुभएको हो ?

आप्रवासी कामदारको स्वास्थ्यको विषयमा राजनीति पनि मिसिएको छ । विश्वकपकै बेला कतारबाहेकका अन्य देशमा भएकाहरूको स्वास्थ्यको विषय पूरै ओझेलमा पर्यो । अन्तर्राष्ट्रिय अखबारहरूले पनि एकपछि अर्को गर्दै कतारकै विषय मात्रै उठाइरहे, जबकि आप्रवासी कामदारको समस्या त अन्य देशमा पनि उस्तै र जटिल नै छ ।

तपाईंले अध्ययन–अनुसन्धानमा आप्रवासी कामदारहरूको मानसिक स्वास्थ्यको विषय पनि समेट्नुभएको छ ?

आप्रवासी कामदारहरूको मानसिक स्वास्थ्यको विषयमा केन्द्रित भएर हामीले अनुसन्धान गरेका छैनौं । तर सन् २०१९ मा नवलपरासीमा आप्रवासी कामदारका श्रीमतीहरूको मानसिक स्वास्थ्यबारे अनुसन्धान गरेका थियौं । त्यसमा आप्रवासी कामदारहरूका श्रीमतीहरूको मानसिक स्वास्थ्यको अवस्था आम बुझाइभन्दा राम्रो रहेको देखियो । यसका पछाडि केही कारण पनि थिए । किनकि उक्त क्षेत्रका युवाहरूमा आंशिक सीप भएको र उनीहरू अलिक धेर तलब हुने चालक, इलेक्ट्रिसियनजस्ता काम गर्न प्रवास गएको देखियो । तुलनात्मक रूपमा राम्रो कमाइ र कार्यस्थलको सुरक्षाका कारण उनीहरू श्रीमतीसँग निरन्तर टेलिफोन कुराकानी गर्ने रहेछन् । अनि तिनका श्रीमतीहरू पनि स्थानीय तहमा कुनै न कुनै अर्थोपार्जनमा संलग्न भएका थिए । यसका साथै श्रीमान्को अनुपस्थितिमा उनीहरूले विभिन्न सामुदायिक कामको नेतृत्व पनि सम्हालिरहेका थिए । यस्ता तथ्यहरूका कारण पनि उनीहरूको मानसिक स्वास्थ्य राम्रो भएको हुन सक्छ भन्ने देखियो ।

आप्रवासी कामदारको मानसिक स्वास्थ्य सूक्ष्म रूपले नियाल्न वा तिनको स्वास्थ्य नबिग्रियोस् भन्नका लागि हामीले केके गर्न सक्छौं ?

हामीले गर्नुपर्ने पहिलो काम भनेकै विदेश जानुपुर्व नै कामदारहरूको स्वास्थ्य परीक्षणको दायरा फराकिलो बनाउनु हो । यसरी संकलन गरिएका स्वास्थ्य सम्बन्धी तथ्यांकहरू विश्लेषण गर्ने अभ्यासले पनि केही नयाँ जानकारी पाउन सकिन्छ । अघि नै भनें, वैदेशिक रोजगारीबाट फर्केकाहरूको पनि स्वास्थ्य सम्बन्धी तथ्यांक संकलन गर्नुपर्छ । यसो भयो भने काम गर्न जानुअघिको स्वास्थ्य सूचकांकमा फर्केपछि केके बदलाव आयो भनेर तुलनात्मक अनुसन्धान गर्न सकिन्छ । समुदायमा गई उनीहरूका स्वास्थ्य सूचकहरू ल्याउनुपर्दैन, हामीसँग भएकै तथ्यांकबाट विभिन्न निष्कर्षमा पुगेर नयाँ अनुसन्धानको बाटो खोल्न सकिन्छ ।

एकीकृत तथ्यांकको अभावमा हामीले आप्रवासी कामदारहरूको स्वास्थ्यका विषयमा धेरै काम गर्न सकिरहेका छैनौं । विदेश जानुअघि स्वास्थ्य परीक्षणकै क्रममा उनीहरूलाई दैनिक आनीबानी र जीवनशैलीले स्वास्थ्यमा पार्ने जोखिमहरूबारे पनि बुझाउनुपर्छ । वैदेशिक रोजगारीमा जानुपूर्व गरिने स्वास्थ्य परीक्षणमा पनि कडाइ गर्नुपर्छ । अर्को महत्त्वपूर्ण कुरा भनेको विदेशस्थित नेपाली दूतावासहरूको भूमिका पनि हो । हामीले मलेसियामा अनुसन्धान गर्दा थाहा पायौं, फिलिपिन्स दूतावासले त्यहां कार्यरत फिलिपिनो महिलाहरूसँग हरेक साता मनोपरामर्श गर्दो रहेछ । हामीले यस्ता राम्रा अभ्यासहरूबाट पाठ सिक्न सक्छौं । फिलिपिनो आप्रवासी कामदारहरू गल्फभरि छरिएका छन् तर उनीहरूमा स्वास्थ्य समस्या किन धेरै हुँदैन ? किनकि फिलिपिन्स दूतावाससँग कामदारहरूको स्वास्थ्य सुधार्ने सहायता प्रणाली छ । हाम्रो दूतावासले पनि त कामदारहरूको स्वास्थ्य सुधार्न यस्तै भूमिका खेल्न सक्छ नि ! कतैकतै नेपाली दूतावासहरूले यस्तो प्रयास गरेका छन् तर त्यो व्यवस्थित र प्रणालीगत रूपमा छैन । कामदारको मृत्यु भइसकेपछि मात्रै दूतावासले भूमिका खेल्ने होइन कि जीवित छँदै उनीहरूको स्वास्थ्य सुधार्ने काम गर्नुपर्छ । दूतावासले तालिका नै बनाएर कहिले कामदारको मिर्गौला, कहिले रक्तचाप, कहिले सुगर, कहिले मनोस्वास्थ्य परीक्षणजस्ता कामहरू गर्न सक्छ ।

खाडी र मलेसियामा कार्यरत नेपालीको मुख्य स्वास्थ्य समस्या के हो ?

अहिले खाडी र मलेसियामा रहेका नेपालीहरूको अचानक मृत्युको जुन भयावह अवस्था छ, यस्तै स्थिति सन् १९८० को मध्यतिर सिंगापुरमा कार्यरत थाई कामदारहरूको पनि थियो । त्यतिखेर थाइल्यान्डको विदेश मन्त्रालयले मेरो घरको कुकुरभन्दा सिंगापुरमा कार्यरत थाईहरूको अवस्था दयनीय छ भनेर टिप्पणी गर्दै सिंगापुरले कार्यस्थल र अधिकारमा सुधार नगर्ने हो भने कामदार नपठाउने भनेपछि सिंगापुरले कामदारहरूको अवस्था सुधार्न धेरै प्रयास सुरु गर्‍यो । सन् १९९० पछि आप्रवासी कामदारहरूको अवस्थामा व्यापक सुधार आयो ।

के यसरी हुने मृत्युको कारण पत्ता लगाउन अटोप्सी गरिन्छ ? गरिँदैन भने त मृत्युको कारण अज्ञात भयो नि ?

हाम्रो अहिलेको अध्ययन प्राविधिक भाषामा भन्दा भर्बल अटोप्सी अर्थात् मौखिक अटोप्सी हो । मलेसियामा पोस्टमार्टम त हुन्छ तर अन्तर्राष्ट्रिय मापदण्ड पालना गरिँदैन । जस्तो कि, अत्यधिक तातोका कारण कसैको मृत्यु भयो भने पोस्टमार्टम गर्दा पछ्याउनुपर्ने अन्तर्राष्ट्रिय मापदण्ड छ तर त्यहाँ त नाम, ठेगाना, कम्पनी, उमेर, मृत्यु हुँदाको समय र जे भएर मृत्यु भए पनि कार्डियोभास्कुलर डिजिज भनेर कारण लेख्ने चलन छ । यो विषयमा बिमाको कुरा पनि जोडिन्छ । अचानक मृत्यु भयो भने कतिपय केसमा बिमाले कभर नगर्दो रहेछ । त्यसैले उनीहरू कार्डियो भास्कुलर डिजिज भनेर लेखिदिन्छन् । गल्फको अवस्था पनि यो भन्दा फरक छैन ।

भनेपछि त मलेसियामा भएका नेपालीहरूको मृत्युमा अन्तर्राष्ट्रिय मापदण्डहरू पछ्याएर अटोप्सी गर्न जरुरी देखिन्छ ?

अचानक मृत्युको कारण पत्ता लगाउन पोस्टमार्टम मात्रै पनि पर्याप्त नहुने रहेछ । यो विषयमा मैले अन्तर्राष्ट्रिय विज्ञहरूसँग पनि धेरै परामर्श र छलफल गरें । कार्डियोलोजीमा एउटा विधा छ—इन्टरभेन्सनल कार्डियोलोजी । यसले मुटुका चालहरूको व्याख्या गर्छ । एक जना वरिष्ठ कार्डियोलोजिस्टले मसँग अचानक हुने मृत्युको कारण पोस्टमार्टमबाट मात्रै पत्ता नलाग्ने बताएका थिए । यद्यपि अहिले थप अनुसन्धान नहुनुभन्दा पोस्टमार्टम नै पनि एउटा विकल्प भने हो ।

हामीले मलेसियाका नेपालीमा भएको अचानक मृत्युको विषयमा थप बुझ्न नेपालका डाक्टर हरिहर अवस्थीदेखि मलेसियामा कार्यरत केही फरेन्सिक विज्ञहरूसँग सल्लाह लिएका थियौं । हामीले बनाएको प्रश्नावलीमा थप सुझाव पाएका थियौं । हामीले ५० नेपालीको मृत्युको अध्ययनपछि मदिरा पनि एउटा मुख्य कारक रहेको पत्ता लगायौं । अब उनीहरूले कुन ब्रान्डको मदिरा खाने गरेका छन, कति मात्रामा खाइरहेका छन्, उनीहरूको डाइट कस्तो छ भन्नेजस्ता विषयमा थप अनुसन्धान गर्नुपर्ने देखियो । कामदारहरूमा प्रोटिनको अवस्था के छ भनेर पनि हेर्नुपर्ने देखियो । ५० नेपालीको मृत्युमध्ये एकतिहाइ कारकचाहिँ अत्यधिक तनाव पनि देखियो ।

आप्रवासी कामदारहरूको स्वास्थ्य किन गम्भीर विषय हो र यसमा राज्यको गहिरो ध्यान किन जरुरी छ ?

अहिले आप्रवासी कामदारहरूमा सबैभन्दा धेरै देखिएको स्वास्थ्य समस्यामा प्रमुख मिर्गौला सम्बन्धी छ । मैले त भन्ने गरेको छु— किड्नी डिजिजेज अ डेथ ट्र्याप । आप्रवासी कामदारको हकमा मात्रै होइन, तपाईं–हाम्रो परिवारकै एक सदस्यमा मात्रै मिर्गौला सम्बन्धी रोग देखियो भने सिंगो परिवारमा असर पर्छ । केही दिनको अन्तरमा डायलसिसमा लैजानका लागि कमाउने एक सदस्य नै खटिनुपर्दा त्यसको असर परिवारको कमाइमा सोझै पर्छ । त्यसमा पनि आप्रवासी कामदारहरू त समाजको पनि तल्लो वर्गका हुन्छन् । सन् २०१९ मा पोखरामा गरिएको एक अध्ययनले डायलसिसको बिरामीले मासिक ३२ हजार रुपैयाँ खर्च गर्नुपर्ने देखाएको थियो । यसैले आप्रवासी कामदारको स्वास्थ्य सिंगो समाजको चासोको विषय हो ।

कामदारहरूका अरू केकस्ता स्वास्थ्य समस्या देखिएका छन् ?

यसमा थप अध्ययन–अनुसन्धानको खाँचो छ । काठमाडौंको सिभिल अस्पतालका डाक्टर विशेष पौडेलले एउटा कुराकानीमा सुनाउनुभएको थियो— वैदेशिक रोजगारीबाट फर्केकाहरूमा रक्त क्यान्सर सम्बन्धी समस्या पनि देखिएको छ । विदेशमा रङ र पेट्रोलियमसम्बन्धी काम गरेकामा यस्तो समस्या देखिएको छ । यसले अब वैदेशिक रोजगारीबाट फर्कर्कोहरूको स्वास्थ्यमा नयाँ समस्या देखिन थालेको संकेत गर्छ ।

भनेपछि कामदारहरूको स्वास्थ्यको मुद्दालाई सिंगो परिवार र समाजसँग पनि जोड्नुपर्ने भयो ?

अचानक मृत्युको विषयले भन्दा मिर्गौला सम्बन्धी वा रक्त क्यान्सरजस्ता रोग लिएर फर्केकाहरूको विषय बढी गम्भीर छ । किनकि त्यसको असर सिंगो परिवारमा लामो समयसम्म रहिरहन्छ । हाम्रो अनुसन्धानमा समेत संलग्न वीर अस्पतालमा कार्यरत मिर्गौला रोग विशेषज्ञ डाक्टर अरुण सेढाईले आफूकहाँं विमानस्थलबाट सोझै डायलसिस गर्न आउने कैयन् आप्रवासी कामदार रहेको सुनाउनुभएको थियो । अहिलेसम्म हेर्दा आप्रवासी कामदारको सबैभन्दा ठूलो स्वास्थ्य समस्या मिर्गौला सम्बन्धी रोग नै हो । मिर्गौला रोगले त मान्छेलाई मृत्युसम्म दुःख दिइरहन्छ । यस्तो रोग लागेकाहरूले आफ्नै मृत्युको कामना गर्नुपर्ने दुःखद अवस्था छ ।

कामदारको स्वास्थ्यको विषयले रेमिट्यान्सको उल्लासमा रमाइरहेको नेपाली समाजमा अर्को खतरनाक अवस्थातर्फ संकेत गरिरहेको छ ?

यो त टाइम बम जस्तो हो, टिकटिक गरेर खतरातर्फ संकेत गरिरहेको टाइम बम । तर नकारात्मक कुराहरू मात्रै छैनन् । आप्रवासी कामदारहरूको स्वास्थ्यमाथि सुरु भएका छलफल, अध्ययन र अनुसन्धानबाट सकारात्मक कुराहरू पनि आइरहेका छन् । कतारले आप्रवासी कामदारका पक्षमा धेरै सुधार गरेको छ । गत वर्ष मात्रै एमनेस्टीको रिपोर्टले पनि दक्षिण एसियाका कामदारहरूको स्वास्थ्य सम्बन्धी समस्यामा कार्डियाक डेथ र किड्नी मुख्य समस्याका रूपमा रहेको निष्कर्ष निकालेको छ । अर्को सकारात्मक कुरा भनेको, प्रमाणहरूमा आधारित अनुसन्धानहरू अघि बढेका छन् । मलेसियामा हामी आप्रवासी कामदारहरूको जीवनशैलीसम्बद्ध जोखिमहरू घटाउने उपायमाथि काम गर्ने योजनामा छौं ।

तपाईंहरूले गरेको अध्ययन–अनुसन्धानलाई नेपाल सरकारले चाहिँ कसरी लिइरहेको छ ?

पछिल्लो अनुसन्धानको रिपोर्ट प्रकाशित भएपछि योजना आयोगले आगामी योजनामा आप्रवासी कामदारहरूको स्वास्थ्यको विषय पनि समेट्ने भनेको छ । वैदेशिक रोजगारीमा जानुपूर्व दिइने तालिम सम्बन्धी पाठ्यक्रममा पनि हामीले केही सुधार गर्न खोजेका छौं । नेपालका अनुसन्धानकर्मीहरूले पनि आप्रवासी कामदारहरूको स्वास्थ्यका विषयमा केही गर्न खोजिराख्नुभएको छ । प्रमाणमा आधारित अनुसन्धानका नयाँनयाँ काम सुरु भएका छन् ।

प्रकाशित : आश्विन २८, २०८० ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचार अभियुक्तसँग आर्थिक लेनदेनमा मुछिएका मुख्यसचिव बैकुण्ठ अर्याललाई अब के गर्नुपर्छ ?