कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

इसीडी शिक्षा सुधार गर्ने शिक्षामन्त्री श्रेष्ठको प्रतिबद्धता

काठमाडौँ — शिक्षामन्त्री सुमना श्रेष्ठले प्रारम्भिक शिक्षा तथा बालविकास (इसीडी) शिक्षा सुधार गर्ने प्रतिबद्धता जनाएकी छन् ।

इसीडी शिक्षा सुधार गर्ने शिक्षामन्त्री श्रेष्ठको प्रतिबद्धता

शिक्षामन्त्रीको लिखित प्रतिबद्धता पछि ११ देखि माइतीघर मण्डलामा उभिएर धर्ना दिँदै आएका समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईंले आइतबारदेखि दबाव तथा विरोधका कार्यक्रम स्थगित गरेका छन् ।

चापागाईं इसीडी शिक्षा सुधारको माग राख्दै जेठ २ गते देखि दैनिक ८ घण्टाका माइतीघरमा उभिँदै आएका थिए । शिक्षामन्त्री श्रेष्ठले चापागाईंले उठाएका मागहरु सम्बोधन गर्न प्राथमिकता दिने घोषणा गरेकी छन् ।

बालबालिकाले पाउने दिवा खाजाको रकम वृद्धि गर्न पहल गर्ने उनको प्रतिबद्धता छ । ‘विद्यार्थीलाई दैनिक खाजा खर्च १५ रुपैयाँ पर्याप्त नरहेकोमा हामी सहमत छौँ । तर नेपालको आर्थिक अवस्थाका कारण अनिवार्य दायित्व समेत पूरा गर्न सम्झौता गर्नु पर्ने अवस्थामा एकै शीर्षकमा तीन गुना भन्दा बृद्धि हुने थप व्ययभार एकैपटक थप्न सम्भव नहुने देखियो । यसकारण सर्वप्रथम कुपोषणले ग्रसित बनाएका कर्णाली प्रदेशमा भने कम्तिमा २०–२५ सम्म प्रति विद्यार्थी लक्षित दिवा खाजाको कार्यक्रमका लागि पहल सुरू गरिसकेका छौँ,’ उनले सामाजिक सञ्जालमा लेखेकी छन् ।

दिवा खाजाकै लागि मेघा किचन तथा स्थानीय अनाजहरूको प्रयोग जस्ता कार्यक्रमलाई बजेटमार्फत लागू गराएर कम खर्चमै पनि ताजा, पोषिलो र गुणस्तरीय खाजा खुवाउने तथा अन्य स्रोतहरूको खोजी गर्न मन्त्रालयले नीति तथा कार्यक्रम र बजेटमा योजना प्रस्ताव गरेको उनको भनाइ छ । आउँदो आर्थिक वर्षबाटै केही स्थानमा पाइलट प्रोजेक्टको रुपमा उक्त कार्यक्रम लागु हुने जनाइएको छ ।

इसीडी शिक्षकलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीको दायरामा ल्याइने शिक्षामन्त्री श्रेष्ठले बताएकी छन् । चापागाईंले न्युनतम पारिश्रमिकमा काम गरिरहेका इसीडी शिक्षकको पारिश्रमिक वृद्धि गर्नुपर्ने माग गरेका थिए ।

‘इसीडी शिक्षकको न्युनतम पारिश्रमिकको सुनिश्चितताका लागि अन्तरसरकारी पहल गरिनेछ । यसले सबै अस्थायी, करार शिक्षकलाई मात्र होइन, हाम्रा इसीडी शिक्षक समेत समेट्नेछ । साथै, अब आउने बजेट वक्तव्य र बजेटमा इसीडी शिक्षकलाई केन्द्रीत गहन प्रशिक्षण सम्बन्धी नयाँ कार्यक्रम समेत प्रस्ताव गरेका छौँ,’ उनले लेखेकी छन् ।

इसीडी शिक्षामा एकरुपता ल्याउन मन्त्रालयले अध्ययन गरिरहेको उनको भनाइ छ । निजीमा ३ वर्षे र सरकारी विद्यालयमा एकवर्षे पूर्वप्राथमिक शिक्षाको कार्यक्रम सञ्चालन हुँदै आएको छ । त्यसमा एकरुपता ल्याउनुपर्ने चापागाईंले औंल्याएका थिए ।

अध्ययनबाट आउने सुझावका आधारमा इसीडीलाई संस्थागत र सार्वजनिक दुवैतिर समान वर्षको बनाउने व्यवस्था गरिने उनले घोषणा गरेकी छन् । शिक्षामन्त्री श्रेष्ठले आन्दोलन गरेर इसीडी शिक्षा सुधारको बहसमा मुलधारमा ल्याएको भन्दै अभियन्ता चापागाईंलाई धन्यवाद समेत दिएकी छिन् ।

प्रकाशित : जेष्ठ १३, २०८१ २०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?