कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५
कान्तिपुर एजुकेसन समिट

'हामी बजार मागअनुसार परिमार्जित भएनौं भने बेरोजगारीको समस्या सिर्जना हुन्छ'

अहिले सूचना दिनेभन्दा पनि सूचना कसरी लिने भन्ने महत्त्वपूर्ण छ । त्यसका लागि रचनात्मक सोच आवश्यक पर्छ । सिर्जनात्मक, नयाँ नयाँ अवसर सिर्जना गर्ने र मागअनुसार अपडेट हुने शिक्षा चाहिन्छ ।

काठमाडौँ — अमेरिकाको प्रतिष्ठित विश्वविद्यालय हार्भर्डमा शिक्षा नीति र विश्लेषण विषयमा स्नातकोत्तर गरेर फर्किएका विवेक बस्नेत हाल शिक्षा क्षेत्रमा क्रियाशील छन् ।

'हामी बजार मागअनुसार परिमार्जित भएनौं भने बेरोजगारीको समस्या सिर्जना हुन्छ'

नेपालको उच्चशिक्षाको गुणस्तर र रोजगारीको अवसर साँघुरो बन्दै गएको गुनासो बढ्दै गएका बेला बस्नेतसँग प्रतिष्ठित विश्वविद्यालयको अनुभवसहित गत मंगलबार आयोजित कान्तिपुर एजुकेसन समिटमा ‘पिरलोमा डिग्रीधारी, सीप र रोजगारी’ विषयक छलफलमा कान्तिपुरका घनश्याम खड्काले गरेको कुराकानीको सम्पादित अंश :

प्लस टुसम्म विज्ञान विषय पढ्नुभयो । इन्जिनियरिङको परीक्षा दिन तयारी गर्दै हुनुहुन्थ्यो । अमेरिका गएर लिबरल आर्ट्सको विद्यार्थी हुनुभयो । हार्भर्ड विश्वविद्यालयमा गएर शिक्षा नीति र विश्लेषणमा स्नातकोत्तर गर्नुभयो । नेपालमै भएको भए बुबाआमाकै दबाबमा इन्जिनियर नै हुनुहुन्थ्यो कि ?

सायद नेपालमा भएको भए इन्जिनियर नै हुन्थें । किनकि मेरा समकक्षी धेरै साथीहरू इन्जिनियर नै हुनुहुन्छ । यता इन्जिनियरिङ पढेर अहिले अमेरिकामा पढ्न जानुभएको छ । शिक्षाले खुसी बनायो भन्नुअघि के शिक्षा खुसी बनाउनका लागि गरिराछौं भनेर सोच्न जरुरी छ । हामीले केका लागि शिक्षा दिइरहेका छौं ? नेपालबाट अमेरिका गएर किन इन्जिनियरिङको सट्टा लिबरल आर्ट्स जस्ता विषय पढ्न गएँ भन्दा यसमा मेरो रुचि भयो । आफ्नो स्वभावअनुसार रुचि पछ्याउने अवसर नेपालमा थिएन । म राम्रो विद्यार्थी । विज्ञान पढें । यो यो क्षेत्र छ, पत्रकार पनि बन्न सक्छु भन्ने अवसर थिएन । न बुबाआमाले त्यतातिर गाइड गर्नुभयो । फोर्सफुल्ली गरेको होइन ।

यद्यपि परिपाटी त्यही हो । अमेरिकामा म त्यसरी बाँधिएर बस्नुपरेन । आफ्नो स्वस्फूर्त ढंगले आफ्नो रुचिका विषय रोज्न पाएँ । त्यहाँ कसरी पढाइ भयो ? त्यसले पनि मलाई आफ्नो विषय छान्न र म के गर्छु भन्ने थाहा पाउन मद्दत गर्‍यो ।

नेपालमा पढेपछि जागिर नपाउने समस्या धेरै हुन्छ । हाम्रो शैक्षिक संस्था शिक्षित बेरोजगार जन्माउने कारखाना हुँदै छैन् भन्ने प्रश्न उठ्छ । बाहिर चाहिँ पढेपछि जब प्लसेमन्टको अवस्था कस्तो पाउनुभयो ? फरक के छ ?

हामी सबैलाई थाहा छ, नेपालको भन्दा राम्रै छ । त्यहाँ बेरोजगारको दर कमै छ । उद्योग र कक्षाकोठाबीचको सम्बन्ध कत्तिको छ ? हामीले शिक्षा बाँच्न, रोजगारी र सीपका लागि हो भने त्यो सीपलाई रोजगारीमा जाने बाटो कत्तिको सहज छ ? स्थानीय स्तरमै इन्टर्नसिपको अवसर खुलायौं भने शिक्षाबाटै स्थानीय कर्मचारी आउँथे होलान् । विदेशमा त्यो एउटा सिस्टम छ । मैले स्नातक तहको कोर्समा ४ वटा इन्टर्नसिप गरें ।

त्यसका लागि नेपाल पनि आएँ । बजनिया भन्ने देश पनि गएँ । विभिन्न क्षेत्र र ठाउँअनुसारको अनुभव पाएपछि ग्य्राजुएट भएपछि मलाई सजिलो भयो । किनभने मैले विभिन्न ठाउँ र क्षेत्रको अनुभव लिइसकेको थिएँ । कि पहिले नै बजार हुनुपर्‍यो । जस्तै, मैले कम्प्युटर साइन्स पढें भने त्यस क्षेत्रको जागिर खुल्नुपर्‍यो । सहज हुन्थ्यो । यदि छैन भने कसरी नयाँ उद्योग खोल्ने भन्ने आन्टरप्रिनिअरल माइन्ड महत्त्वपूर्ण हुन्छ । जुन अमेरिका र अन्य देशमा छ । आज युवाहरूलाई म कसैकोमा आएर जागिर खान्छु भन्नेभन्दा पनि म कसरी जागिर सिर्जना गर्छु भन्ने कुरा बच्चैदेखि सिकाउनुपर्छ । अर्को कुरा, क्लासरुम नै प्रयोगशाला हुनुपर्छ । त्यहाँ सिकाइ हुनुपर्छ ।

तपाईं शिक्षाको विश्वव्यापी नीतिमा काम गरिरहनुभएको छ । पाठ्यक्रम चाहिँ कति समयमा परिमार्जन गर्नुपर्ने रहेछ ? कति समयमा प्रतिस्थापन गर्नुपर्ने रहेछ ?

समयअनुसार पाठ्यक्रममा अपडेट गरिरहनुपर्छ । अहिले जुन रफ्तारमा परिवर्तन भइरहेको छ, त्यहीअनुसार हुनुपर्छ । अहिले सूचना दिनेभन्दा पनि सूचना कसरी लिने भन्ने महत्त्वपूर्ण छ । त्यसका लागि रचनात्मक सोच आवश्यक पर्छ । सिर्जनात्मक, नयाँ नयाँ अवसर सिर्जना गर्ने र मागअनुसार अपडेट हुने शिक्षा चाहिन्छ । हामी बजार मागअनुसार परिमार्जित भएनौं भने बेरोजगारीको समस्या सिर्जना हुन्छ ।

कान्तिपुर एजुकेसन समिटका सम्पूर्ण बहसका समाचार र विचारहरु यो लिंक https://ekantipur.com/tag/id-1636 मा क्लिक गरेर हेर्न सकिन्छ ।

प्रकाशित : पुस २०, २०८० १६:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?