२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

प्राध्यापक छनोट रोक्न त्रिविमा सुनियोजित तालाबन्दी !

समाजशास्त्र विषयको प्राध्यापक र सहप्राध्यापक छनोटका लागि लिइन लागिएको अन्तर्वार्ता रोक्न प्राध्यापककै सेटिङमा नेविसंघ सम्बद्धले सुनियोजित तालाबन्दी गरेको आरोप
सुदीप कैनी

काठमाडौँ — सत्तारूढ कांग्रेसनिकट नेपाल विद्यार्थी संघमाथि प्रतिस्पर्धामा सहभागी सहप्राध्यापकको सेटिङमा पटक–पटक त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयमा तालाबन्दी गरेको आरोप लागेको छ ।

प्राध्यापक छनोट रोक्न त्रिविमा सुनियोजित तालाबन्दी !

नेविसंघ त्रिवि समितिको लेटर प्याडमा सभापति विष्णु बडैलाले विज्ञप्ति जारी गर्दै गत बिहीबारदेखि सेवा आयोग कार्यालयमा तालाबन्दी गरेका छन् । सेवा आयोग अध्यक्ष घनश्याम भट्टराई र सदस्य हेमराज ढकाललाई विश्वविद्यालय प्रवेशमा समेत रोक लगाइएको छ । तालाबन्दीका कारण समाजशास्त्र र हिन्दी विषयका प्राध्यापक र सहप्राध्यापकको छनोट अन्तर्वार्ता रोकिएको छ । आयोगको दैनिक प्रशासनिक काम पनि ठप्प भएको प्रमुख केदारनाथ ढकालले जनाए । तालाबन्दी गर्नुको कारण भने सेवा आयोगले सञ्चालन गर्न लागेको अन्तर्वार्ता अनियमितता र अपारदर्शी रहेको आरोप लगाइएको छ ।

नेविसंघको नाममा समाजशास्त्र विषयको अन्तर्वार्तालाई लक्षित गरी तालाबन्दी गरिएको यो पहिलो पटक भने होइन । दुई वर्षअघि पनि नेविसंघको सोही समूहले तालाबन्दी गरेका कारण समाजशास्त्र विषयको उक्त अन्तर्वार्ता रोकिएको थियो । प्राध्यापक, नेविसंघ विद्यार्थीको सेटिङमा कसरी तालाबन्दीको तानाबाना बुनियो भन्ने कुरा बुझ्न समाजशास्त्र केन्द्रीय विभागको आन्तरिक राजनीतिक किचलो, सेवा आयोगको विज्ञापन हेर्न जरुरी रहेको त्रिविका एक प्राध्यापकले बताए ।

सेवा आयोगले समाजशास्त्रमा १ जना प्राध्यापक आन्तरिक बढुवा प्रक्रियाबाट माग गर्दै ०७७ फागुन ९ मा विज्ञापन गरेको थियो । समाजशास्त्र विभागका प्रमुख तथा सहप्राध्यापक युवराज लुइँटेल र विभागकै सहप्राध्यापक टीकाराम गौतम प्राध्यापक पदका लागि मुख्य प्रतिस्पर्धी छन् । राजनीतिक रूपमा लुइँटेल एमाले र गौतम कांग्रेसका हुन् । उनीहरूसहित सहप्राध्यापक सुशीलकुमार यादव पनि प्रतिस्पर्धामा छन् । सबै विषयमा गरी प्राध्यापकका लागि ६३ र सहप्राध्यापक पदका लागि ८० वटा विषयमा आन्तरिक विज्ञापन गरिएको थियो । लगभग ती सबै विषयमा अन्तर्वार्ता भएर प्राध्यापक, सहप्राध्यापक नियुक्तिका लागि सिफारिस भइसकेको तर समाजशास्त्रको अन्तर्वार्तामा अवरोध हुँदै आएको छ । आयोग स्रोतका अनुसार विभागीय प्रमुख लुइँटेल अनुभव र ज्येष्ठताका आधारमा प्राध्यापकमा बढुवा हुने निश्चित छ । तर लुइँटेलकै पूर्वविद्यार्थी गौतम नेविसंघका विद्यार्थीलाई उचालेर तालाबन्दी गर्दै उनलाई रोक्न लागिपरेको ती प्राध्यापकको आरोप छ ।


‘सँगै विज्ञापन भएका अन्य विषयका प्राध्यापक, सहप्राध्यापकले दुई वर्ष ग्रेड बढुवा खाइसके,’ उनले भने, ‘समाजशास्त्रमा आफू हुन नसके अर्कोलाई पनि प्राध्यापक हुन नदिने दूषित खेल चलिरहेको छ ।’ एक सय पूर्णाङ्कबाट गरिने बढुवामा अन्तर्वार्तामा १० अंकभार मात्रै हुन्छ । ‘लुइँटेल र गौतमको आन्तरिक द्वन्द्वमा तालाबन्दी गर्ने पक्ष प्रयोग भएको देखिन्छ । तालाबन्दीमा संलग्न अधिकांश नियमित विद्यार्थी पनि होइनन्,’ त्रिविका ती पदाधिकारीले भने, ‘जुनियरले म प्राध्यापक बन्दिनँ भन्ने ठानेपछि सिनियरलाई रोक्ने इगो बोकेर लागिपरेको देखिन्छ ।’ बढुवामा चित्त नबुझे लापरबाही भए पुनरावलोकन आयोग, अदालत जान सकिने विकल्प हुँदाहुँदै बलपूर्वक अवरोध गरिएको उनको टिप्पणी छ । ‘१८ गते (गत बिहीबार) अरू विषयको अन्तर्वार्ता भयो । पाँच बजेपछि आएर ताला लगाइयो,’ सेवा आयोगका एक कर्मचारीले भने, ‘१९ गते समाजशास्त्रको अन्तर्वार्ता थियो । त्यसलाई रोक्नका लागि नै भनेर तालाबन्दी गरिएको देखियो ।’


सोही अन्तर्वार्ता ०७९ साउनमा पनि नेविसंघको सोही समूहले तालाबन्दी गर्दा रोकिएको थियो । पुरानो विज्ञापनको नतिजा प्रकाशन नगर्दा आयोगले नयाँ विज्ञापन पनि गर्न सकेको छैन । ०७९ साउन १५ देखि १७ सम्म समाजशास्त्रसहित अन्य विषयका अन्तर्वार्ताको मिति तोकिएको थियो । नेविसंघको नाममा ०७९ साउन १३ देखि सेवा आयोगको कार्यालयको मूलगेट तथा कार्यालय भवनको प्रवेशद्वारमा अनिश्चितकालीन तालबन्दी गरेका कारण अन्तर्वार्ता स्थगित भएको थियो । त्यसअघि ०७८ माघ ७ देखि सञ्चालन हुन लागेको अन्तर्वार्ता पनि उक्त समूहको दबाबका कारण सेवा आयोगले कोभिड महामारीको कारण देखाउँदै स्थगित गरेको स्रोतले जनायो । आरोपित गौतमले अन्तर्वार्ता स्थगित गर्नु पर्नाका कारण सेवा आयोग र सरोवालाहरूसँग बुझ्नुपर्ने बताए । ‘यो सेवा आयोगसँग जोडिने कुरा हो । किन परीक्षा स्थगित गरियो, उहाँहरूलाई सोध्नुपर्छ । सम्बन्धित पक्षलाई सोध्नुपर्छ,’ उनले भने । तपाईंलाई विद्यार्थी प्रयोग गरेर तालाबन्दी गर्न लगाउनुभयो भन्ने आरोप लागेको छ नि भन्ने प्रश्नमा उनले आरोप लगाउने मान्छे देखाउन आग्रह गरे ।


तालाबन्दीमा ३ वर्षअघि समाजशास्त्र विभागकै उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने नेविसंघका विद्यार्थी समूह जोडिएको छ । आक्रमणमा संलग्न रहेको आरोप लागेका योगेन्द्र रावलले तालाबन्दीको नेतृत्व गरेको प्रत्यक्षदर्शी विद्यार्थी, त्रिवि कर्मचारीले बताए । लुइँटेल विभागीय प्रमुख नियुक्ति भएर आएपछि विभागमा भएको तालाबन्दीसँग जोडेर चलाउने सोही समूहबाट कुटिएका थिए । त्यतिबेला नेविसंघ अध्यक्ष हरि आचार्य र सचिव योगेन्द्र रावल थिए । उनीहरू कुटपिटमा संलग्न रहेको कर्तव्य ज्यान मुद्दा जिल्ला अदालतमा विचाराधीन छ । लुइँटेलअघि तुलसीराम पाण्डे विभागीय प्रमुख थिए । पाण्डेलाई हटाएर केही समय गौतम विभागीय प्रमुख बने । विश्वविद्यालयले वरिष्ठताका आधारमा विभागीय प्रमुख नियुक्ति गर्ने मापदण्ड ल्याएपछि गौतम हटेर लुइँटेलले नियुक्ति पाए । ‘विभागीय प्रमुख छाड्नुपरेकोमा टीकाराम सर आक्रोशित थिए,’ विभागका एक अध्यापकले भने, ‘त्यतिबेला पनि नेविसंघको नाममा अहिलेकै समूहले ३ महिनासम्म तालाबन्दी गरेको थियो । त्यही केसमा चलाउने सर कुटिए ।’ सहप्राध्यापक गौतम र नेविसंघको उक्त समूहको सोही बेलादेखि साँठगाँठ रहेको विभागका अध्यापकहरू बताउँछन् ।

नेविसंघका केन्द्रीय अध्यक्ष दुर्जाङ शेर्पाले पछिल्लो तालाबन्दी गर्ने नेविसंघको आधिकारिक कार्यसमिति नभएको जनाए । ‘विष्णु बडैला नेविसंघको सदस्य त हुन् तर त्रिविमा आधिकारिक समिति छैन,’ शेर्पाले भने, ‘तालाबन्दी खोल्न भनेका छौं, नखोले कारबाही हुन्छ ।’ नेविसंघ केन्द्रीय समितिले चैतमा स्ववियु निर्वाचनअघि नै त्यहाँको समितिलाई बर्खास्त गरेको थियो । शेर्पाले नेविसंघको तालाबन्दी गर्ने नीति नरहेको पनि बताए । नेविसंघ त्रिवि कीर्तिपुरका विद्यार्थीले समेत सेवा आयोगमा गरिएको तालाबन्दीको विरोध गरेका छन् । करिब १८ जना नेविसंघका विद्यार्थीले सामूहिक विज्ञप्ति जारी गर्दै तालाबन्दी र अराजक गतिविधि बन्द हुनुपर्ने माग राखेका छन् । केन्द्रीय समितिको निर्देशनअनुसार विश्वविद्यालयमा तालाबन्दी गर्न नहुने स्मरण गराइएको छ । तालाबन्दी छलफल र परामर्शबिनै गरिएकाले कुनै समर्थन नरहेको उल्लेख छ । गत असोज १९ को तालाबन्दीले हिन्दी विषयको पनि अन्तर्वार्ता रोकिएको छ । समाजशास्त्रको अन्तर्वार्ता रोक्ने उद्देश्यले गरिएको तालाबन्दीले हिन्दी विषयका प्रतिस्पर्धी पनि मर्कामा परेको एक सहप्राध्यापकले कान्तिपुरसँग भने ।

स्ववियु विश्वविद्यालय क्याम्पस कीर्तिपुरले पनि तालाबन्दीप्रति असन्तुष्टि जनाएको छ । स्ववियू अध्यक्ष श्यामराज ओझाले विज्ञप्ति जारी गर्दै सेवा आयोगको समस्या, वार्ता, छलफल र न्यायिक तरिकाले गर्न र अन्तर्वार्ता सुचारु गर्न माग गरेका छन् । उनी नेविसंघका तर्फबाट अध्यक्षमा निर्वाचित भएका हुन् । प्रतिपक्षी एमालेनिकट अनेरास्ववियुले नियोजित र षड्यन्त्रपूर्वक तालाबन्दी गरेर अन्तर्वार्ता रोकिएको आरोप लगाएको छ । त्रिवि जिल्ला कमिटीका अध्यक्ष समीरराज बिष्टद्वारा जारी विज्ञप्तिमा अमुक व्यक्तिको स्वार्थपूर्तिका लागि तालाबन्दी गरिएको उल्लेख छ । तालाबन्दीको कारण देखाएर सेवा आयोग अध्यक्षले अन्तर्वार्ता स्थगित गरेकाले उनलाई समेत कारबाही गर्न माग गरिएको छ ।

अनेरास्ववियु केन्द्रीय कमिटीका अध्यक्ष समिक बडालले सेवा आयोग अध्यक्ष घनश्याम भट्टराई र नेविसंघको सेटिङमा निश्चित स्वार्थ पूरा गर्न तालाबन्दी गराएर अन्तर्वार्ता रोकिएको दाबी गरेका छन् । अन्तर्वार्ता तत्काल सुरु गर्न भन्दै विज्ञप्तिमार्फत बडालले माग गरेका छन् । त्रिवि प्राध्यापक संघले पनि तालाबन्दीको विरोध गरेको छ । सभापति बसन्त ढकालले तालाबन्दी, प्रवेश निषेध बन्द जस्ता क्रियाकलापले आयोगको नियमित कार्यमा अवरोध सृजना भई प्राध्यापक, कर्मचारीको नियुक्ति, वृत्तिविकास र पदोन्तिमा असर पुगेको जनाइएको छ । असहमति भए न्यायिक प्रक्रियाबाट हल गर्न संघले अपिल गरेको छ ।

प्रकाशित : आश्विन २२, २०८० ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदा प्रदेश सभाको बैठकमै उपस्थित नहुने कांग्रेसको शैलीबारे तपाईंको के टिप्पणी छ ?