दोस्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सव सुरु

रासस

काठमाडौँ — काठमाडौँमा सोमबारदेखि दोस्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सव तथा बृहत चित्रकला प्रदर्शनी सुरु भएको छ ।

अन्तर्राष्ट्रिय जलरङ समाज नेपालको आयोजनामा काठमाडौँको बबरमहलस्थित नेपाल कला परिषद्मा आयोजित महोत्सवमा विभिन्न ३८ देशका २७० चित्र प्रदर्शनमा रखिएको छ।सोमबार नैस्वदेश र विदेशका १३ जना चित्रकारले स्थलगत रुपमा चित्र कोरेका थिए।

प्रदर्शनीमा नेपालसहित अमेरिका, भारत, बंगलादेश, अल्वानिया, अष्ट्रेलिया, मंगोलिया, बेलायत, चीन, जर्मनीलगायत देशका कलाकार सहभागी छन्। यही मंसिर २३ गतेसम्म चल्ने जलरङ महोत्वस अन्तर्गत मंगलबार र बुधबार भने लुम्बिनीमा विशेष कार्यक्रम हुँदै छ।

चित्रकारले लुम्बिनीमा क्यान्भासमा दृष्य उतार्ने छन् भने चित्रकला सम्बन्धी कार्यशालासमेत हुने आयोजक अन्तर्राष्ट्रिय जलरङ समाज नेपालका अध्यक्ष एनवी गुरुङले जानकारी दिए। कला समीक्षक रमेश खनालले फरक/फरक देशका फरक/फरक विषयका कला प्रदर्शनीले ती देशबीचको सम्बन्ध प्रगाढ बनाउने बताए। उनले कलाकार देशको राजदूत जस्तै भएको समेत उल्लेख गरे।

अन्तर्राष्ट्रिय जलरङ समाज नेपालले दुईवर्षअघि पहिलो महोत्सव कास्कीको घान्द्रुकमा आयोजना गरेको थियो। विश्वका ९० देशमा गठन भएको समाज सन् २०१२ मा स्थापना भएको हो।

नेपालमा सन् २०१४ मा स्थापना गरिएको थियो। विश्वमा हराउँदै गएको जलरङ पछिल्लो समयमा संस्था नै गठन भएर प्रदर्शनी हुन थालेपछि भने यसको महत्व बढ्दै गएको कलाकारले बताएका छन्।

प्रकाशित : मंसिर १७, २०७५ १६:१२
प्रतिक्रिया
पठाउनुहोस्

वैदेशिक रोजगारबाट फर्केकामा एचआईभीको संक्रमण

रासस

बर्दिवास — महोत्तरी जिल्लामा वैदेशिक रोजगारीमा गएका र तीनका परिवारजन बढीजसो एचआईभी संक्रमित पाइएका छन् ।

एचआईभी जाँच रक्त परीक्षण र उपचार सेवा दिँदै आएको नेपाल परिवार नियोजन संघ महोत्तरी परियोजना बर्दिवासले जनाएको छ ।

विश्व एड्स दिवसका अवसरमा परियोजना प्रमुख धीरज पौडेलले हालसम्म आफ्नो ल्याबको परीक्षणबाट संक्रमित पाइएका ५० मध्ये ३१ पुरुष वैदेशिक रोजगारबाट फर्केका पाइएको जानकारी दिए ।

संक्रमित १९ महिला मध्ये ६ जना संक्रमित पुरुष (पति) का पत्नी रहेको परियोजनाले जनाएको छ । जिल्लामा कूल संक्रमित संख्या मध्येका पाँचजना बालबालिका भने गर्भदेखि नै संक्रमित पाइएको परियोजना प्रमुख पौडेलको भनाइ छ ।

सन् २००७ देखि एचआईभी र विभिन्न यौन रोगबारे परामर्श, स्वेच्छिक रक्त परीक्षण र उपचार सेवासमेत दिँदै आएको परियोजनाले सन् २०१३ यता भने एचआईभी संक्रमण न्यूनीकरणमा राम्रो सुधार आएको जनाएको छ । सन् २००७ देखि २०१२ सम्म प्रत्येक वर्ष दुई/चार संख्या संक्रमित भेटिए पनि २०१३ यता भने यसै वर्ष गत अक्टुबरमा एक मात्र संक्रमित भेटाइएको परियोजना प्रमुख पौडेलले जानकारी दिए ।

विभिन्न स्वास्थ्य संस्था, स्वयंसेवी संस्था, एड्स तथा यौन रोगविरुद्धका सघन सचेतना अभियान र कण्डमको प्रयोग बढेसँगै एचआईभी संक्रमित घटेको परियोजनाको ठम्याइ छ ।
जिल्लामा संक्रमितको तथ्यांकअनुसार सबै नै असुरक्षित यौन सम्पर्कको कारण पाइएको परियोजना प्रमुख पौडेलले बताए । संक्रमण पनि भारत र मलेशियाबाट फर्केका बढी पाइएको परियोजनाले जनाएको छ ।

यसैबीच स्वास्थ्य क्षेत्रमा काम गर्दै आएका सामाजिक संघ संस्थाले विदेशबाट फर्कनेलाई विमानस्थल र दुईदेशीय सीमा क्षेत्रमा अनिवार्य एचआईभी परीक्षण गरेर मात्र प्रवेशको व्यवस्था गर्न राज्यसँग माग गरेका छन् ।

प्रकाशित : मंसिर १७, २०७५ १५:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्