कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

किराती मोनालिसा

प्रदीप मेन्याङबो

सुनसरी — मोनालिसालाई पूर्वेली युवतीले लगाउने गरगहना लगाइदिँदा कस्तो देखिएला ? यहाँका चित्रकार धीरज राईले चित्रकार लियोनार्दो दा भिन्चीका त्यही विख्यात सिर्जनालाई त्यही परिकल्पनामा उतारेर नयाँ प्रयोग गरेका छन् ।

किराती मोनालिसा

धरानको बुद्धचोकस्थित कवि विमल स्मृति पुस्तकालयको सभाहलमा बुधबार सम्पन्न तीनदिने कला प्रदर्शनीमा चित्रकार राईले भिन्चीकी मोनालिसालाई कानमा सुनको चेप्टे सुन, शिरबन्दी र शिरफूल, नाकमा ढुंग्री र बुलाकी, गलामा कण्ठले सजाइदिएका हुन् । एक्रेलिक माध्यमको यो पोट्रेटमा उनले मोनालिसालाई पूर्वेली युवतीका रूपमा उतारेका हुन् । झट्ट हेर्दा लिम्बुनी जस्तै देखिने ।


‘यो एउटा कल्पना हो । धेरैले मन पनि पराए,’ प्रदर्शनी समापन क्रममा राईले भने । उनले उक्त पोट्रेटलाई बिक्रीका लागि भने राखेनन् ।


पूर्वका चित्रकारहरूको संस्था युवा कलाकेन्द्र पूर्वाञ्चलको सहयोगमा धरान प्रज्ञा प्रतिष्ठानले चित्रकारहरूलाई थप जागरुक र प्रोत्साहित गर्ने उद्देश्यले गरेको प्रदर्शनीमा २४ कलाकारका ५५ भन्दा बढी चित्र थिए । अर्का चित्रकार सञ्जय पाण्डेले जीवित देवी मानिने कुमारीको पोट्रेट प्रदर्शनीमा राखे ।


स्वयंप्रकाश श्रेष्ठले सामाजिक एकता देखाउन एक्रेलिक पेन्टिङ प्रदर्शनी गरे । युवा कला केन्द्र पूर्वाञ्चलका अध्यक्षसमेत रहेका श्रेष्ठले भने, ‘प्रदर्शनीमा राखिएका सबै चित्र कुनै न कुनै थिममा तयार पारिएका हुन् । काठमाडौंपछि सबैभन्दा बढी चित्रकार सक्रिय भएको थलो धरान भएकाले पुराना र नयाँ चित्रकार एकसाथ जुटेका हौं ।’


लेख मगरले एक्रेलिक माध्यमबाट ल्यान्डस्केपमा प्रकृतिलाई उतारेका थिए भने प्रनोद दत्तले सहरको अद्र्ध अमूर्त भीडभाड । चित्रकार महेन्द्र राईले पनि एक्रेलिक माध्यममा चित्र बनाए । उनका समकालीन जीवन पौडेल ‘शिव’ ले सिटिस्केप थिममा धरानको घण्टाघर र आसपासलाई क्यानभासमा उतारे । मूर्तिकारसमेत रहेका पौडेलको उक्त चित्र एक्रेलिक माध्यममा थियो । आइस्था राई र पूजा श्रेष्ठले आ–आफ्ना क्यानभासमा वाटर कलर खेलाएका थिए । श्रद्धा श्रेष्ठले बलात्कार पीडित महिलाको मानसिक अवस्थालाई पेन्टिङमा उतारेकी थिइन् ।


देवलकुमार राई, दिलकृष्ण आले, युमेनहाङ राई, भिषण परियार, सुधीर सुनुवार, शुक्रराज राई, हरिलाल उदास, मिलन तामाङ, विगेन राई, पवन राई, यशोदा सिंह लम्साल, अनुपम राई, मनीष राई, हेमन्त थापालगायतले बनाएका चित्रहरूले प्रदर्शनीलाई अर्थपुर्ण बनाएको थियो ।


धरान प्रज्ञा प्रतिष्ठानले गत असोज ६ गते गरेको चित्रकला कार्यशालामा तयार गरिएका पेन्टिङमा अन्य पनि समेटेर यो अयोजना गरेको थियो । ‘प्रदर्शनीबाट पक्कै पनि नयाँ कलाकार प्रोत्साहित हुन्छन्,’ प्रतिष्ठान अध्यक्ष अम्बिकाकुमार सम्बाहाम्फेले भने, ‘हाम्रो उद्देश्य पूरा भयो ।’

प्रकाशित : मंसिर ६, २०७५ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?